विकासन्युज

ग्रीनलाइफ हाइड्रोले १८ लाख कित्ता आइपीओ बिक्री गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

आरएमडीसीद्धारा मोरङ्गमा तीन दिने शाखा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा मोरङ्गमा ३ दिने शाखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पुस १८ गतदेखि शुरु भएको तालिम शुक्रबार मोरङ्गको गोकर्ण रिसोर्ट सुन्दरहरैचामा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६ जना शाखा प्रबन्धकहरुले भाग लिएका थिए। तालिमको उद्घाटन तालिमका संयोजक गोविन्दप्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पारेका थिए । साथै, यस तालिमले ज्ञान अभिवृद्धी गरी शाखाप्रभावकारी ब्यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने उनले बताए । उक्त तालिममा जीबन विकाश समाजका डेपुटी चिफ एक्स्क्युटिभ अफिसर संजयकुमार मण्डल, इन्टरनल अडिट डिपार्टमेन्ट हेड रोहित भण्डारी र ट्रेनिङ डिर्पाटमेन्ट हेड सुदिपकुमार मण्डलले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले शाखा व्यवस्थापनको अवधारणा, व्यवस्थापकको काम कर्तब्य, भुमिका तथा दायित्वबारे चर्चा गर्दै लघुवित्तको सिद्धान्त, महत्व, भाखा नाघेको ऋण, असुलीका विभिन्न उपाय तथा हालको अवस्था बारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मानिर्भरता र दिगोपना बनाई राख्न अवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गरिएको थियो । साथै तालिममा लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यहरुको अनुगमनतथा सुपरिबेक्षण, ग्राहक सदस्यको ब्यवस्थापन, सुरक्षण तथा विकास लगायतकर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिता बारे विश्लेषणत्मक अन्तर्क्रिया भएको थियो ।

दाङ्गको जँग्रहवामा एनआईसी एशियाको थप शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले थप शाखा दाङ्गको जँग्रहवामा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्सकोे सहकार्यमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जँग्रहवाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका छन् । हाल बैंकले २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । सक्षम युकेएडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा गुल्मीको रुरु गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम

काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंकले रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसगँ सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिङ्ग पहुंच पुराउन उक्त कार्यक्रम गरिएको हो । कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियत पुर्ण कर्जाका लागी व्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले अन्तरकृया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाको सम्बन्धमा जानकारी प्रदान गरि सर्वसाधारण जनतालाई कृषि उद्यम तर्फ आर्कषित गरी आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ ।

‘१८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं’

काठमाडौं। मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरुले बताएका छन् । केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन् । खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा कर्मचारी युनियन एकीकरण कार्यदलका उपसंयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न आफूहरु १८ घण्टासम्म खट्न तयार रहेको बताए । कर्माचार्यले मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउन केयुकेएलका कर्मचारीहरु दिनरात खटिन तयार रहेको प्रतिबद्धता जनाएका छन्। भेलालाई सम्बोधन गर्दै उनले भने, “मेलम्ची आएपछि हामी पानीको आपूर्ति व्यवस्थापन गर्न सक्षम छौं । दिनरात नभनी काम गर्छौं । हामी आफैं सक्षम छौं ।” भेलामा अधिकांश कर्मचारीहरुले छिटो भन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केही तत्वहरुले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । केही त्यस्ता तत्वहरुले मेलम्ची नआओस् भन्ने चाहेको बताउँदै उनले भने, “ मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई बिफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन् । सरकारप्रति जनताको अविश्वास पैदा गराउन केही व्यक्तिले भ्रम सिर्जना गरिरहेका छन् । तर सरकार कहीँ कतै विचलित हुने छैन । काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ ।” मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न कर्मचारीहरुमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको औंल्याए । उनले मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्य मुख्य शहरहरुमा खानेपानीको आपूर्ति गर्न केही ठूला आयोजनाहरु सुरु गर्न लागिएको जानकारी दिएका छन् । खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागिएको उनले स्पष्ट पारे । अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको क्षेत्रमा विधेयक बनाउन लागिएको उनको भनाई छ ।

मदिरा उत्पादन तथा नियन्त्रण सम्बन्धि मस्यौदा पेश, यस्ता छन्र विषयहरू

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले  गृहमन्त्री रामबहादुर थापा ’बादल’संग भेटमा मदिरा उत्पादन र बिक्रि वितरणको विषयलाई जोड दिएका छन् । मदिरा नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेश, २०७५ को मस्यौदा उपर सुझाव पेश गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पेश गरेको सो सुझावपत्रमा नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ, नेपाल मदिरा उत्पादक संघ, नेपाल वाइन उत्पादक संघ, नेपाल मदिरा महासंघ, होटल संघ नेपाल लगायतका अन्य सम्बन्धित व्यवसायीहरुबाट प्राप्त सुझावहरु समेत समावेश गरेका थिए । उक्त सुझावपत्रमा समावेश गरिएका बुँदाहरु निम्न बमोजिम रहेका छन् : १.मदिरालाई लागु औषध जस्तै हानिकारक दर्जामा राखेर हेरिएकोमा यसमा पुनर्बिचार हुन आवश्यक छ । २. विस्तारै बामे सर्न लागेको नेपालको पर्यटन क्षेत्र तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई नै प्रतिकूल हुने गरी यो आदेश जारी भएको महशुस भएको छ । ३. पर्यटन विभाग अन्तर्गत रहेको २०७० सालको होटलहरुको स्तर निर्धारण मापदण्डमा तारे होटलहरुमा अनिवार्य रुपमा २४ सै घण्टा खुल्ला हुने रेस्टुरेन्ट र ५ तारे होटलको प्रत्येक कोठामा मिनी बारको व्यवस्था हुनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था रहेकोले उक्त नीति प्रतिकूल भई विरोधाभाषपूर्ण रहने देखिएको छ । ४. होटल ब्यावसाय उद्योग रहेको हुंदा नेपालमा आउने ९० प्रतिशत विदेशी पर्यटकहरुको जिवनस्तर, रहनसहन र इच्छाअनुसारको सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहने र प्रस्तावित मदिरासम्बन्धी आदेशले पर्यटकहरुले लिने होटल भित्रकै सुविधामा पनि बन्देज लाग्ने भएकोले आतिथ्यतामा उद्योगको अभिवृद्धिमा समेत प्रत्यक्ष असर हुने भन्ने आम व्यवसायीको गुनासो आएको । ५. संसारभरि नै उपभोक्ता अधिकारको बलियो सक्षरण रहेको हुंदा नेपाल आउने कुनै पनि विदेशी पर्यटकहरुले १ वर्ष अघि नै बुकिङ गरी नेपाल आउने प्रचलन रहेको र बुकिङ गर्दा मदिरा सेवा उपलब्धता बारे गरिएको प्रतिबद्धता र नयां आदेश बीचको सामन्जस्य नभएको सम्झौता अनुसार सेवा नपाएको भनेर ठूलो रकम बराबरको हर्जाना पाउनुपर्ने जिकिर गरी मुद्दा मामिला हुन सक्ने हुदा अहिलेको मदिरा सम्बन्धी कार्यकारी आदेशका सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन समेतलाई मनन गरिनुपर्ने । ६. पर्यटन प्रवद्र्धनको दृष्टिकोणले गृह प्रशासनले काठमाडौंको ठमेल र दरबारमार्ग, चितवनको सौराहा र पोखराको लेकसाइड २४ सै घण्टा खोल्ने तर्फ प्रक्रिया मिलाएको सन्दर्भमा समेत सरकारले हाल जारी गर्न खोजेको कार्यकारी आदेश एक आपसमा नीतिगत रुपमा विरोधाभाषपूर्ण रहेको देखिएकाले पर्यटकीय क्षेत्रलाई विशेष व्यवस्था हुन अपरिहार्य रहेको ।

बैद्य माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई दले कालोमोसो

काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कालोमोसो दलिएको बैद्य माओवादीका कार्यकर्ताले जनाए । प्रतिनिधि सभा अन्तरगत लेखा समितिले गठन गरेको उपसमितिले कंसाकारलाई कारबाहीको सिफारसि गरेको थियो ।

नेशनल डेभलपमेन्ट को-अपरेटिभको १० प्रतिशत नगद र ५ प्रतिशत बाेनस पारित

काठमाडौं । नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटी लिमिटेडको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभा सेयरधनीलाई सो मात्रा अर्थात १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीले संस्थाले शेयर पुँजी बढाउँदै लगेको बताए । सहकारीको २०७५ मंसिर मसान्तसम्ममा कुल चुक्ता पुँजी ३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ४ करोड रुपैयाँ नाघ्ने छ । साथै, संस्थाले निक्षेप तर्फ ८८ करोड ३३ लाख रुपैयाँ संकलन गरि ८९ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।