
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
उक्त सभा पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीको सभापतित्वमा सम्पन्न भएकाे छ ।
सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साथै, सभापछि बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।
साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखा परीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमाससम्ममा ३७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, २०७५ असोज मसान्त सम्ममा बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७१ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले हालसम्म ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवाबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।