विकासन्युज

नेपाल इन्जिनियरिङ कलेजको विज्ञप्तीमा आधिकारिकता विवाद, ‘लम्बोदर न्यौपानेले षड्यन्त्र गरे’

काठमाडौं । राजनारायण पाठक घुस प्रकरणपछि ९० करोड अनियमितता भएको खबर सार्वजनिक भएको नेपाल इन्जिनियरिङ कलेजमा विज्ञप्तीको आधिकारिकतामा अर्को विवाद सुरु भएको छ । सोमबार विभिन्न पत्रपत्रिकामा प्रकाशित ‘नेपाल इन्जिनियरिङ कलेजबाट जारी भएको प्रेस विज्ञप्ती’ नै आधिकारिक नभएको र यो विज्ञप्तीमा लम्बोदर न्यौपानेकोे षड्यन्त्र भएको भन्दै कलेजका प्राचार्य तथा सञ्चालक समितिका सदस्य सचिव प्रा.डा. हरिकृष्ण श्रेष्ठले अर्को विज्ञप्ती जारी गरेका छन् । उनले नेपाल इन्जिनियरिङ कलेज विधान–२०५१ र २०६० मा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदाको विधानमा समेत नेपाल इन्जिनियरिङ कलेजलाई मुनाफारहित उल्लेख गरेको भन्दै सोही समूहले कलेजले आफैंले जोडेको ३६ रोपनी जमिन र १ लाख वर्गफुटको घर समेतलाई हत्याउन २०७४ बैशाख २५ गते कलेजलाई प्रा.लि. बनाएको उल्लेख गरिएको छ । सरोकारवालाहरुले उक्त कार्यविरुद्ध आन्दोलन गरेपछि मंसिर २० मा उक्त प्रा.लि खारेज भएको समेत जनाइएको छ । श्रेष्ठको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तीमा लम्बोदर न्यौपाने, रामरत्न उपाध्याय, सूर्यबहादुर केसी लगायतको समूहले इन्जिनियरिङ कलेजबाट जम्मा २३ करोड रुपैंया लगेको र उक्त रकम फिर्ता नगरेपछि उनलाई सञ्चालक समितिबाट निष्कासन गरिएको उल्लेख छ । सो समूहले कजलेलाई ५३ करोड रुपैंया तिर्न बाँकी रहेको समेत उल्लेख गरिएको छ । कलेजमा कोही संस्थापक नरहेको भन्दै विज्ञप्तीले कलेज सञ्चालनका लागि लम्बोदर न्यौपाने समूहले ४२.८६ प्रतिशत ऋण दिएको र दीपक भट्टराई समूहले बाँकी ५७.२४ प्रतिशत ऋण दिएको भन्दै लम्बोदर समूहले त्यसलाई निजी सम्पत्ति बनाउन खोजेको आरोप लगाउँदै कलेज नवीकरण नभएर लिक्विडेसनमा जानुपर्ने अवस्था भए पनि त्यो सम्पत्ति सरकारको नाममा जाने स्पष्ट पारिएको छ । निजीकरणविरुद्ध अख्तियारमा उजुरी परेपछि छानविन थालेको अख्तियारलाई मिलाउन आयुक्त राजनारायण पाठकलाई घुस दिएको भिडियो सार्वजनिक भएपछि अहिल इन्जिनियरिङ कलेज प्रकरण चर्चामा छन् । सोही क्रममा निजीकरणको पक्षमा लागिपरेका लम्बोदर न्यौपानेकै समूहको योजनामा नक्कली विज्ञप्ती जारी गरिएको आरोप लगाइएको हो । आज जारी गरिएको विज्ञप्तीमा सोमबारको विज्ञप्तीमा सञ्चारमाध्यमप्रति लगाइएको लान्छनाप्रति समेत आपत्ति जनाइएको छ ।

चर्चित तर नभेटिने व्यवसायी थिए आङछिरिङ शेर्पा, यस्तो छ उनको व्यवसायिक यात्रा

काठमाडौं । बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा परी पर्यटन क्षेत्रका एक चर्चित व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भयो । सोलुखुम्बुमा जन्मे हुर्केका शेर्पा युवा अवस्थामा नै श्रमिकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । पछि उनी ट्रेकिङ र हवाई सेवाको क्षेत्रमा पायोनियरको रुपमा स्थापित थिए । साथै, पछिल्लो समय उनी ट्राभल, होटल तथा रेष्टुरेन्ट क्षेत्रकाे विजनेशमा पनि जमेका थिए । शेर्पा यति एयरलाइन्स, तारा एयरलाईन्सका प्रबन्ध निर्देशक हुन् । यति एयर नेपालको आन्तरिक उडान भर्ने दोस्रो ठूलो हवाई सेवा प्रदायक कम्पनी हो भने तारा एयर माउण्टेन फ्लाइट गर्ने लिडर कम्पनी हो । शेर्पा माउन्टेन टुरिजमको पायोनियर नै भएको पर्यटन व्यवसायी केशव पाण्डे बताउँछन् । त्यस्तै, उनी अन्तराष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलाईन्सका अध्यक्ष हुन् । उनले पछिल्लो समय डाइटेस्टिक हेलिकप्टर कम्पनी किनेको थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका थिए । नेपालको हवाई सेवाको बजारमा उनका कम्पनीहरुले करिब २५ प्रतिशत हिस्सा लिएको अनुमान गरिएको छ । थामशेर्खु ट्रेकिङ कम्पनीबाट उनी विजनेशमा माथि आएका थिए, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । आङछिरिकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन उनैले लिएका हुन् । चितवनको चर्चित रिसोर्ट ‘कसरा’ उनकै हो । सगरमाथा बेसक्याम्पमा पनि उनका होटलहरु छन् । यति माउन्टेन्ट लज लगायत हिमाली क्षेत्रका पर्यटकीय स्थलहरुमा र पोखरामा पनि उनका स–साना होटलहरु थुप्रै भएको पर्यटन व्यवसायीहरु बताउँछन् । काठमाडौंको लैनचौरमा सात तारेस्तरकाे  ‘बुटिक होटल’ सञ्चालन गर्ने उनको तयारी थियो । जसका लागि ठूलो भवन बनिरहेको छ । शक्ति केन्द्रकाे नजिक सार्वजनिक मञ्चहरुमा नदेखिने, आफ्नै कम्पनीले आयोजना गरेका पत्रकार सम्मेलनहरुमा पनि नदेखिने शेर्पा पछिल्लो दशक सत्ता शक्तिसँग नजिक देखिन्थे । पर्यटन मन्त्री चढेको हेलिकप्टरमा उनको यात्राले पनि सत्तामा उनको पहुँच र प्रभाव सजिलै अनुमान गर्न सकिन्छ । कुनै बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, क्याप्टेन रामेश्वर थापा र आङछिरीङ शेर्पा ‘इन्डोर गेम्स’का खेलाडी भएको र उनीहरु बीचको दोस्ती निकै राम्रो भएको बताइन्छ । पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्तीदेखि यस क्षेत्रको राजनीति नियुक्तमा आङछिरिङ शेर्पाको नाम जोडर चर्चा परिचर्चा हुने गरेको थियो । तत्कालिन पर्यटन मन्त्री कृपाशुर शेर्पाको नियुक्ती आङछिरिङ कै इच्छामा भएको बताइको थियो । त्यतिबेला नै धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पाले उपलब्ध गराएका हुन् । हिमालयन एयरलाइन्समा केपी शर्मा ओलीको अनाैपचारिक रूपमा ८८ करोड रुपैयाँ लगानी रहेकाे बताइन्छ । तर, नेपाल उद्योग परिसंघले यहि फागुन दुई गते आयोजना गरेको उद्यमशीलता सम्मेलनमा ओलीले अहिलेसम्म कुनै पनि कम्पनीमा एक कित्ता पनि सेयर नभएको बताएका थिए । लाक्पा सोनाम, आङछिरिङ र टेण्डी शेर्पा तीन दाजुभाइ हुन् । टेण्डीको पनि २०५५ सालमा सोलुखुम्बुमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । आङछिरिङको श्रीमती, दुई छोरा पासाङ र नुर्वु छन् ।

पर्यटनमन्त्रीकाे राजकीय सम्मानका साथ अन्तेष्टि हुने, बिहीबार सार्वजनिक बिदा

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहित ७ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । मन्त्री अधिकारीको भोलि राजनीय सम्मानका साथ अन्तेष्टि हुनेछ । उनको निधनको शोकमा सरकारले भोलि एक दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ ।

रवीन्द्र अधिकारीः निभ्यो कास्कीबासीकाे आशाको दियो, देश नै शोकाकुल

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उनको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ । बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको खबरले प्रत्येक कस्केलीलाई अत्यन्त चिन्तित बनाएको थियो । दुर्घटना र उनको निधनको पुष्टि नहुँदासम्म पोखरेलीले यो घटना सत्य सावित नहोस् भन्दै कामना गरिरहेका थिए । कस्केलीको कामनाको अन्ततः केही लागेन, मन्त्री अधिकारीको निधन भएको पुष्टि भयो । कास्कीको भरतपोखरीे गैरागाउँमा जन्मेका अधिकारीप्रति यहाँका स्थानीयको धेरै आशा एवं विश्वास थियो । विकासप्रेमी अधिकारीकै पहलमा कास्कीमा विकास निर्माणका लागि पहल पनि उत्साहजनकरुपमा नै अघि बढेको थियो । मिलनसार र भद्र छविका रुपमा राजनैतिक व्यक्तिव बनाउन सफल भएकै कारण उनले कास्कीबाट लगातार तीनपटक निर्वाचन जितेका थिए । अधिकारीको निधनले यतिखेर कस्केली आफूले असल अभिभावक गुमाएको महसुस गर्दै चिन्तित बनेका छन् । कास्कीको साविक भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्र प्रसादका जेठो छोराका रुपमा विसं २०२६ वैशाख २२ गते आइतबार अधिकारीको जन्म भएको थियो । गाउँकै श्री ब्रह्म ज्योति प्रावि, शान्ति पधेंरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि पाण्डेथुमबाट प्रवेशिका उत्तीर्ण गर्नुभएका उनी विद्यालय अवस्थादेखि नै अनेरास्ववियु, रेडक्रस जस्ता सङ्गठन एवं सङ्घसंस्थामा क्रियाशील थिए । प्रवेशिका उत्तीर्ण गरेसँगै वन विज्ञान अध्ययन संस्थानमा भर्ना हुनुभएका अधिकारीले केही समयपश्चात् विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्न थाले । विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने उनी विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बने । विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा अधिकारी निर्वाचित भएका थिए । विसं २०५३ मा उनी स्ववियु काउन्सिल नेपालको संयोजक बने । विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारीले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । । पञ्चायतकालीन समयमा नै अत्यन्त क्रियाशील अधिकारी विसं ०४६ को जनआन्दोलनताका नै पटकपटक छ महिना जेल र हिरासतमा परेका थिए । पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दानै अधिकारीले क्याम्पस भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माणका साथै शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि आदिमा धेरै काम गरेका थिए । शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्रविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमासुरक्षा अभियान आदिमा उनले नेतृत्व गरे । लक्ष्मणपुर बाँधको विरोध तथा तत्कालीन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्धको आन्दोलनका साथै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलन जस्ता धेरैमा उहाँले अगुवाइ गरेका थिए । विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेका अधिकारी विसं २०३९ मा नै पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित बनेका थिए । विसं २०४० मा इलाका पार्टी कमिटीमा, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ मा पार्टी जिल्ला कमिटीमा रहनुभएका अधिकारी त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे । विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव बन्नुभएका अधिकारी ०६३ मा पुनःसचिवमा निर्वाचित बने । विसं ०६२÷६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक जेल बसेका अधिकारी विसं २०६४ र विसं २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित बने । विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद्का लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी पछिल्लो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । यसअघि उनले विकास समितिको सभापतिका रुपमा जिम्मेवारी सम्हालेका थिए । अधिकारीले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलङ्का, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण गरेका थिए । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उहाँले उल्लेख्य भूमिका खेलेका थिए । उनका संविधानसभा, लोकतन्त्र र पुनसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित भएका छन् । कास्कीको उदाउँदो नक्षेत्रका रुपमा रहेका अधिकारीको ४९ वर्षको अल्पायुमै निधन भएको खवर कस्केलीका लागि निकै पीडादायी बनेको छ । अधिकारीका बुबा आमा, श्रीमती र दुई छोरा छन् । रासस

जेबिल्स फाइनान्सले ३.५७ प्रतिशत बोनस सेयर दिने, पायो राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । जेबिल्स फाइनान्सले सेयरधनीलाई ३.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको हो । संस्थाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट सो मात्राको बोनस वितरण गर्न स्वीकृति पाएको हो । लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले स्वीकृति दिएको हो । फाइनान्सले यसअघि १०० प्रतिशत र ४० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । ३.५७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । साथै, बोनसको कर प्रयोजनको लागि १५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।

फागुन ३० र चैत १ गते मानव संसाधन मेला हुँदै

काठमाडौँ । मानव संसाधन मेलाको १२ औं संस्करण ‘एच आर मिट’ फागुन ३० र चैत १ गते हुने भएको छ । प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित मेला हुन हुन लागेको हो । आयोजक ग्रोथ सेलर्सले बुधबार पत्रकार सम्मेलन गर्दै मानव संसाधनका विषयमा आफना सत्रहरु प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरु हुने गरायो । इकम एक्स्प्रेस प्रालिका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत सौरभदीप सिङ्गला प्रमुख वक्ता हुने आयोजक पत्रकार सम्मेलनमा बताइयो । ३ सय भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरुलाई लक्षित यस कार्यक्रमका प्रमुख आर्कषणमा प्रमुख कार्यकारी अधिकृतहरु तथा मानव संसाधन विज्ञहरु ‘इन्भेष्टमेन्ट एण्ड इम्लीमेन्टेशन इनएचआर टेक्नोलोजिः ए वेय फरर्वाड’ का विषयमा समूहगत छलफल चलाउने योजना रहेको आयोजकले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा चैत ११ गते, ३४ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा आगामी चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी फागुन २४ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सो दिन बिहान ११ बजे बस्न लागेको सभाले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । साथै, सभाले सेयरधनीलाई १० प्रतिशतका दरले एक करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । उक्त लाभांश बोनस सेयर र नगद लाभांशको करकट्टी नगद लाभांशबाट कट्टी गरी भुक्तानी गर्ने कर्पोरेशनले जनाएको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड २७ लाख ९३ हजार रुपैयाँ रहेको छ । २४ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १५ करोड २२ लाख रुपैयाँ नाघ्ने छ । त्यस्तै, सभाले सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ७ जनालाई निर्वाचित गर्दै छ ।

दुर्घटनाको कारण मौसम खराबीः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक क्षेत्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिए । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो । सो हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे रहेका थिए । छरपस्ट अवस्थामा सात शव फेला यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार फुङलिङ नगरपालिका–१० स्थित सिस्नेमा शवहरु फेला परेको हो । “हेलिकप्टर भिरमा ठोकिएको रहेछ”, प्रहरी नायब उपरीक्षक भण्डारीले भने, “छरपस्ट अवस्थामा सात वटा शव डढेको अवस्थामा प्रहरी टोलीले फेला पारेको छ ।” आज बिहान काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको उच्च तहको टोली आएको थियो । चुहानडाँडामा कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । ताप्लेजुङ सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको भिरमा हेलिकप्टर दुर्घटनामा परेको हो । रासस