मन्त्री अधिकारीका परिवारलाई भेट गरी अध्यक्ष दाहालद्वारा समवेदना प्रकट
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन् । उनले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गरेको दाहालको सचिवालयले जनाएको छ । त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारसमेतलाई भेटी समवेदना दिएको सचिवालयले जनाएको छ ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । देशका अधिकांश विद्यार्थीले पठन पाठन गर्ने नेपालको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र देशको पहिलो बैंक नेपाल बैक लिमिटेड बीच सहकार्य सम्वन्धी सम्झौता भएको छ । वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कारोबार सेवा सञ्चालन सम्वन्धी उक्त सम्झौता पत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल बैंकका प्रेस संयोजक मुकुन्द्र अर्यालले जनाएका छन् ।
माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा नेविप्राका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मेवा क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजनाअपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निर्माण पूरा गरी आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ । यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६.४१करोड युनिट विद्युत उत्पादन कम्पनीले जनाएको छ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना टेक अर पेमा आधारित छ । कम्पनीले उत्पादनअनुमतिप्राप्तगरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनी काकार्यकारी संचालकश्री सञ्जीवन्यौपानेले बताए । यो आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ ।
पशुपतिनाथमा भारतीय साधुको आगमन बढ्ने, ५० लाख बजेट विनियोजन
काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी तयारी शुरु गरेको मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पशुपतिनाथ नेपालका राष्ट्रिय देवता हुन् । पाश अर्थात् बन्धनमा परेकालाई मुक्ति दिने पशुपतिनाथ देवताका पनि देवता मानिन्छन् जो कैलाश पर्वतमा बस्छन् । किरात शिवको विवाह आर्य हिमालय र मेनकाकी सुपुत्री पार्वतीसँग भएको थियो । तयारीका क्रममा रङरोगन, बत्ती व्यवस्था, सुरक्षालगायत तयारी तीव्ररुपमा अघि बढेको छ । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोजकत्वमा चन्दन, मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ । यसैगरी परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरण,सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था र परिषद् सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ । यस वर्ष भारतबाट आउने पर्यटक पनि बढी हुने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भमेला लगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । यस वर्ष शिवरात्रिको अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआजा एवं दर्शन गर्ने तयारी गरिएको छ । महाशिवरात्रि नजिकिँदै गर्दा साधुसन्त आउने क्रम पनि बढ्दै गइरहेको कोषले जनाएको छ । शिवरात्रिका लागि यस वर्ष अन्तरराष्ट्रियस्तरबाट पनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने अनुमान गरिएको छ । साधुसन्तका लागि खाने र बस्ने व्यवस्था कोषले नै गर्दै आइरहेको अधिकृत ढुङ्गानाले बताए । उनीहरुका लागि दाउरा र पानीलगायत वस्तु भने गुठी संस्थान र विभिन्न सङ्घसंस्थाका स्वयंसेवकले उपलब्ध गराउँदै आएका छन् । कोषले मलेसिया र भारतबाट आउने दर्शनार्थीलाई निःशुल्क खानाको व्यवस्था मिलाएको छ । कोषले यस वर्ष शिवरात्रिका लागि ५० लाख बजेट विनियोजन गरेको छ । शिवरात्रिका लागि विगत वर्षजस्तै यस वर्ष पनि विभिन्न सङ्घसस्ंथाले सेवा उपलब्ध गराउने भएका छन् । यसका लागि कोषले यही फागुन १० गतेसम्मका लागि निवेदन दिने समय तोकेको थियो ।
सिसी टीभी जडान काठमाडौँ महानगरले प्रहरी परिसरलाई दियो ३ करोड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई तीन करोड रकम सहयोग गरेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो । सो रकम काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे ।महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महानगर प्रविधिमैत्री हुनुपर्ने बताउँदै सुरक्षित शहर बनाउन सिसी टिभीको महत्वपूर्ण भूमिका रहेको बताए । “सिसी टिभीले अपराध नियन्त्रण, वैज्ञानिक प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,” उनले भने । महानरपालिकाका प्रमुख शाक्यले शहरलाई सुरक्षित र सुव्यवस्थित बनाउन नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । सिसि टिभीले समयमा नै सतर्कता अपनाई अपराध घट्न नदिने अवस्था बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जनता र शहरलाई सुरक्षित राख्न आपराधिक घटनालाई बाहिर निकाल्न तथा सूचना लिनेका लागि सिसी टिभीले सहयोग पुग्ने बताए । सोही अवसरमा सिसी टिभी जडान गर्ने सम्बन्धमा महानगरपालिकाका सहसचिव डा टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीबीच सझौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।
यसरी गरियो शवहरुको उद्धार (भिडीयोसहित)
काठमाडौं । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको उद्धार भिडियो पाथिभारा न्युजबाट साभार भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् https://www.facebook.com/NewsPathivara/videos/967437116800188/?t=139
भारत पाकिस्तानबीच तनाव : भारतीय शेयर बजारमा गिरावट
मुम्बई । भारत र पाकिस्तानबीच देखिएको तनावका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् । तनावका कारण बुधबार बिहान ११ बजे बम्बई स्टक एक्सचेन्ज एस एण्ड पी सेन्सेक्स कारोबारमा ३६ हजार ३६२ अङ्कको हाराहारीमा रहेकोमा मध्यान्न १२ः१५ सम्ममा व्यापक गिरावट देखिएको थियो । मध्यान्हसम्ममा ६१५ अङ्कको भारी गिरावट आई ३५ हजार ७४७ मा भरेको थियो । यद्यपि भारत र पाकिस्तानबीचको तनाव लामो समयसम्म नरहने बिश्लेषकहरूको भनाइसँगै बुधबार अपरान्ह्सम्ममा कारोबारमा सुधार आई ३५ हजार ९०५ अङ्कका साथ कारोबार बन्द भएको छ । त्यसैगरी राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा २९ बुधबार २९ अङ्कले गिरावट आई कारोबार १०,८०७ अङ्कसाथ बन्द भएको छ । बुधबार शेयरमा खास गिरावट आएका प्रमुख कम्पनी तथा फर्महरूमा विप्रो, इन्फ्रेटर, भेन्दाता, भारती पेट्रोलियम कर्पोरेसन लिमिटेड र टाटा मोटर्स देखिएका छन् । व्यवसायीहरूले भू–राजनीतिक तनाव थप केही दिन जारी रहेमा स्टक बजारमा पनि अनिश्चितता देखिनसक्ने बताएका छन् । यदि भारत पाकिस्तानको नकारात्मक मनोभाव कायम रहेमा बैंक, वित्तीय संस्थान, आधारभूत संरचना, धातु र गाडी कम्पनीहरूको शेयरमा प्रभाव पर्ने अनुमान गरिएको छ । यसैबीच, एशियाली स्टक बजारमा भने बढ्दो भू–राजनीतिक विवादको खतराको प्रभाव मिश्रित देखिएको छ । प्रायः एशियाली बजारले भारत–पाकिस्तान विवादलाई गौण देखेका र अमेरिका–चीन व्यापारमा विवादको निश्कर्षलाई नै हेरेका बजार विश्लेशकहरूको भनाई छ । बजार विज्ञहरूले बुधबार भियतनामको राजधानी हनोइमा भइरहेको अमेरिका–उत्तर कोरिया शिखर सम्मेलन र यसले दिने परिणामलाई पनि एशियाली बजार सूचकका रूपमा हेरेका छन् । यदि अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गराउन सफल बनेमा एशियाली बजारमा यसको उल्लेख्य लाभ हुने बताइएको छ । रासस/एएनआई
खुला मञ्चमा अन्तिम श्रद्धान्जलीपछि मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार पोखरामा हुने
काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् । स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ । पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए । रासस