बिपी कोइराला अस्पतालको चैतदेखि आफ्नै फार्मेसी सञ्चालनमा आउँदै, औषधिकाे मूल्य ६०% सस्ताे हुने
चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि फार्मेसी सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । फार्मेसीमा काम गर्ने १० जना कर्मचारी नियुक्त भइसकेको बताउँदै उनले तीन ठाउँमा फार्मेसी सञ्चालन हुने जानकारी दिएका छन्। चौबिसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ । सञ्चालक समितिले औषधि खरिदका लागि बोलपत्र स्वीकृत गरिसकेको छ । निर्देशक आचार्यका अनुसार अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा औषधि बिरामीले पाउने छन् । अस्पतालमा हाल रहेको साझाको फार्मेसीले औषधि बिक्री गर्दै आएको छ । अस्पतालमा आउने बिरामीले भित्र रहेका फार्मेसीबाट एक वर्षमा २० करोड हाराहारीको केमो मात्र खरीद गर्ने गरेको उनको भनाइ छ । महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । आफ्नै फार्मेसी भएसँगै यो समस्या हल हुने विश्वास अस्पतालले लिएको निर्देशक आचार्यले बताए।
नेप्से घटेर ११०० अंकमा झर्दा नेपाल लाइफ इन्स्योरेन्सको बढी कारोबार, यस्ताे छ कारण
काठमाडौं । आइतबारको नेप्से परिसूचक ४.९५ अंकले घटेर ११००.५८ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले घटी हो । करिब ५ अंकले घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कम्पनीले सेयरधनीलाई बोनस सहित ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको आइतबारको उच्च कारोबार रकमले देखाएको छ । सो दिन कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.४५ प्रतिशतले बढेर प्रतिकित्ता १०४८ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बाँकी कम्पनीको एक करोडभन्दा कम रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल १७४ कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ४ हजार ८०४ वटा कारोबारमा ८ लाख ७३ हजार ४९५ कित्ता सेयर बिक्री भएका छन् । त्यस्तै, निर्जीवन बीमा र होटल समूह क्रमशः ५३.०८ र ४.२३ अंकले हरिया भएका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २७ अंकले घटेको छ ।
प्राइम बैंकद्धारा काभ्रेपलाञ्चोकको एक क्याम्पसलाई सहयोग प्रदान
काठमाडौं । काभ्रेपलाञ्चोकको एक क्याम्पसमा प्राइम बैंकले बेन्च डेक्स सहयोग गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाँउपालिका मंगलटार स्थित मंगल जनविजय क्याम्पसका विद्यार्थीहरुलाई अध्ययनमा सुविधा लिने उद्देश्यले ६० वटा बेन्च डेक्स बनार्ई प्रदान गरेको हो । एक समारोहबीच सो सामान नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका हुन् । साथै सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले बैंकिङ्ग चेतना मूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराएका थिए।
वनले विकासलाई रोक्नु हुन्न तर एउटा रुख काट्दा २५ वटा रोप्नैपर्छ : झलकराम अधिकारी
झलकराम अधिकारी, महानिर्देशक, वातावरण विभाग निजामति सेवामा २० वर्ष बिताउनु भएका झलकराम अधिकारी हाल महानिर्देशकका रुपमा वातावरण विभागमा कार्यरत हुनुहुन्छ । २०५४ सालमा निजामति सेवामा प्रवेश गर्नुभएका अधिकारी सहसचिव भएको ३ वर्ष भइसकेको छ । यसभन्दा अघि उहा“ आन्तरिक राजश्व कार्यालय बबरमहलमा कार्यरत रहनु भएको थियो । वातावरण संरक्षणमा सक्रिय भूमिका खेलिरहनु भएका अधिकारी शक्तिशाली वातावरण प्राधिकरण आवश्यक रहेको बताउनु हुन्छ । प्रस्तुत छ, महानिर्देशक अधिकारीसँग विकासन्यूजका लागि खेमराज श्रेष्ठले गरेको कुराकानी : वातावरणलाई संरक्षण गर्न विभागले के कस्ता योजना र कार्यक्रम सञ्चालन गरिरहेको छ ? वातावरण विभागले हरियाली क्षेत्र भन्दा ब्राउन क्षेत्रलाई हेरिरहेको छ । ब्राउन सेक्टर भन्नाले प्रदुषण बढाउन सक्ने क्षेत्रहरुलाई आधार मानी काम गरिरहेका छौं । प्रदुषण बढ्ने कारण पत्ता लगाई नियन्त्रणको काम गर्ने गरिरहेका छौं । प्रदुषण गर्ने उद्योगधन्दा कलकाखानालाई कारबाही गर्ने गरेका छौं । विभागले पछिल्लो समय १६७ उद्योग तथा कलकारखानाको अध्ययन गरेका छौं । त्यसमध्ये ५७ वटा संस्थालाई कारबाही सिफारिस गरेका छौं । विभागले काम गर्ने भन्दा पनि मोनिटरिङको भूमिका निर्वाह गर्दै आएको छ । विभागले जारी गरेको नियम कानून नमान्ने उद्योगधन्दालाई नियमित अनुगमन गरिरहेका छौं । हामी शुरुमा त्यस्ता उद्योगलाई सल्लाह दिन्छौं । यदि सुधार नगरे कारवाहीको प्रक्रिया अघि बढाउने गरेका छौं । साथै वातावरण क्षेत्रको संरक्षणका लागि जनचेतना जगाउने काम पनि हामीले गरिरहेका छौं । स्थानीय स्तरमा जनप्रतिनिधिहरुसँग सहकार्य गर्ने काम गरिरहेका छौं । संविधानले दिएको अधिकार अनुसार नै हामी काम गरिरहेका छौं । वातावरण विभागको सम्बन्धमा कुरा गर्नु पर्दा वातावरण संरक्षण ऐन, नियमावली इत्यादी कानूनलाई आधार मानी हामी काम गरिरहेका छौं । मूलतः हामीले अहिले नेपाल स्वच्छ वातावरण महाअभियान भन्ने मूल नाराकासाथ नदी किनार र धार्मिक स्थलमा वृक्षारोपण र पार्कको निर्माणको काम गरिरहेका छौं । वनजंगलको कुरा गर्नु पर्दा हाम्रो देशमा ४४ प्रतिशत वन क्षेत्र रहेको छ । यो हाम्रो लागि निकै ठूलो अवसर हो । पाकिस्तानमा २ प्रतिशत, भारतमा ७ प्रतिशत मात्रै वन क्षेत्र रहेको छ । वन क्षेत्रका हिसाबमा नेपाल निकै अघि रहेको छ । वातावरण संरक्षणको लागि वार्षिक कति रकम खर्च गरिरहनु भएको छ ? वातावरण संरक्षण गर्ने दायित्व विभागको मात्र होइन । वातावरण सम्बन्धी निकायहरुले आ–आफ्नो ढंगले भूमिका निर्वाह गरिरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन मन्त्रालयले समेत यो क्षेत्रमा काम गरिरहेका छन् । वातावरण संरक्षणका लागि गठन गरिएको संस्था भनेको यो विभाग हो । तर, वातावरण विभागले जुन ढंगबाट काम गर्ने अधिकार पाउनु पर्ने हो, जति बजेटको व्यवस्था गर्नुपर्ने हो त्यो हुन सकेका छैन । अहिले प्रदेश र स्थानीय तहमा वातावरण हेर्ने निकाय रहेको छ । ती निकायहरुसँग हामीले समन्वय गरिरहेका छौं । वातावरण प्रत्यक्ष मानिसको जनजीवनमा जोडिएको छ । स्थानीय स्तरबाट वातावरण संरक्षणका लागि कतिको सहयोग पाइरहनु भएको छ ? स्थानीय सरकार सबैभन्दा नजिकको सरकार हो । यो सरकार प्रतिबद्ध भए मात्र वातावरण संरक्षणमा सहजता हुन्छ । स्थानीय तहमा महानरपालिका र उपमहानगरपालिकामा वातावरण हेर्ने छुट्टै महाशाखा गठन भएको छ । यो शाखा अन्तर्गत वातावरण विज्ञान पढेका व्यक्तिहरुलाई राखेर संरक्षणको प्रयास भैरहेको छ । हाम्रो चासो के हो भन्दा विकास निर्माणको काम होस् या कलकारखाना निर्माणको काम होस् । सबै विषयमा वातावरण मैत्री व्यवहार हुनैपर्छ । यसको लागि हामीले ४ वटा प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरिसकेका छौं । यो अवधिमा स्थानीय स्तरमा वातावरण संरक्षण सम्बन्धी चासो बढ्दै गएको छ । तर, वातावरण संरक्षणमा जति लगानी हुनु पर्ने हो । अलि नभएको हो कि भन्ने मलाई लाग्छ । अहिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २० वर्षे पुराना सवारीलाई पनि सञ्चालनको अनुमति दिने तयारी गरिरहेको छ । यसले वातावरणलाई कस्तो असर पर्ला ? यदि यो क्रियाकलाप हुन लागिरहेको छ भने यो विल्कुल गलत कुरा हो । मैले यसको बारेमा विमति पनि जाहेरी गरिसकेको छु । अहिले सवारीको लागि वितरण गर्ने हरियो स्टीकर बजारमा ५० रुपैयाँमा पाइन्छ । हरियो स्टिकर दिने काम संघीय यातायात व्यवस्था विभागको हो । प्रदुषण मापदण्ड पालना भएको छ कि छैन भनेर जाँच्ने काम हाम्रो हो । यो दुई निकायको समन्वय हुनु आवश्यक छ । प्रदुषण नियन्त्रणको काम सबै वातावरण विभागबाट हुन सकेन भने सवारी प्रदुषण नियन्त्रण गर्न कठिन हुन्छ । प्रस्तावित कानून संसोधनमा हामीले यो कुरा समावेश गरेका छौं । शहरी क्षेत्रमा सबैभन्दा धेरै प्रदुषणको हिस्सा सवारी साधनले ओगटेको छ । सवारीमा पनि विशेष गरी १० वर्ष पुराना सवारीले ७२ प्रतिशत प्रदुषण गराइरहेको छ । समयमै प्रदुषण जाँच नगर्ने, सवारी सरसफाई नगर्ने गर्दा प्रदुषणको दर बढिरहेको छ । १० वर्ष भन्दा पुराना सवारीले त यति धेरै असर पारिरहेको छ भने २० वर्ष पुरानालाई स्वीकृति दियो भने कस्तो होला ? यो हुनै सक्दैन र भयो भने यसले गम्भीर असर पार्छ । सवारी साधनमा लगाइने हरियो स्टीकर व्यवस्थापन गर्न के गर्नु पर्ला त ? यसलाई व्यवस्थापन गर्नका लागि हामीले नयाँ प्रविधि निर्माण गरिरहेका छौं । यसको लागि सफ्टवेयर निर्माणको काम पनि भैसकेको छ । हामीसँग सर्र्भरपनि छ । हामीले जुनजुन सवारीको प्रदुषण जाँच गर्छौँ, सो सवारीको विवरण सिधैं सर्भरमा गएर बस्छ । र, यो सवारी प्रदुषणमा पास हो, यो फेल हो सिधैं सर्भरले नै प्रमाणपत्र दिने गर्दछ । ट्राफिक प्रहरीले सवारी चेक गर्दा प्रदुषण फेल वा पास हो सिधैं अनलाइबाटै थाहा पाउन सक्छन् । अहिलेको अवस्थामा यो स्टीकर नै सक्कली हो कि नक्कली हो भन्ने छुट्याउन सकिदैंन किनभने हामीसँग यस्तो प्रविधि नै छैन । हामीले अबको एक महिनामै नयाँ प्रविधिको प्रदुषण जाँच गर्ने मेसिन ल्याउदै छौं । सुरुमा काठमाडौं, भक्तपुर र ललितपुरमा यो प्रविधि प्रयोग गरिनेछ । यसको उपयोगिताको आधारमा देशभर विस्तार गर्ने प्रक्रियामा रहेका छौं । काठमाडौं दक्षिण एसियाकै सबैभन्दा प्रदुषित शहरमा परिरहेको छ । बेलाबेला सुनिन्छ वा राजनीतिक व्यक्तिले भन्ने गर्छन्, माक्स मुक्त बनाउँछौं । यसमा विभागले कस्तो भूमिका खेल्न सक्छ ? हामीले वातावरण संरक्षणमा ३ वटा काम गर्छाँै । पहिलो काम प्रर्वद्धनात्मक, दोस्रो निरोधात्मक र तेस्रो काम भनेको दण्डात्मक काम । जसमा अनुगमन र कारबाहीको काम गर्छौँ । उपत्यकाको प्रदुषण कम गर्न विभागले ७ स्थानमा प्रदुषण मोनिटरिङ स्टेशन राखिएको छ । त्यसबाट प्राप्त डाटा अनुसार हामीले कुन स्थानको प्रदुषण स्थिति कस्तो रहेको छ बुझ्ने गदर्छौैँ । जनताका लागि हामीले डिपार्टमेन्ट अफ इन्भारोमेन्ट एप्स सार्वजनिक गरेका छौं । कहाँ माक्स लगाउनु पर्छ, कहाँ लाउनु पर्दैन मोबाइलबाटै मानिसहरुले एप्सबाटै जानकारी लिन सक्छन् । विभागले आफ्नो क्षमता अनुसारको काम गरिरहेको छ । सरकारको कूल बजेटको ०.००१ वा ११ करोड मात्रै खर्च गरिरहेका छौं । यस्तो महत्वपूर्ण विषयमा थोरै बजेटले देशभर काम गर्न असहज हुन्छ । वातावरण ऐनलाई छाता ऐन बनाउने विभागलाई प्राधिकरण मार्फत सञ्चालन गर्ने ताकि राज्यका सबै निकायलाई निर्देशन दिन सकोस् । अहिले हामीले कुनैपनि निकायलाई निर्देशन दिन सक्ने कानून छैन । शक्तिशाली निकाय भए मात्र वातावरण संरक्षणमा प्रगति हासिल गर्न सकिन्छ । धुलो र धुवाँले शहरी क्षेत्रको वातावरण निकै कष्टकर बन्दै गैरहेको छ, अझ सार्वजनिक सवारी हेर्ने हो भने अत्याधिक फोहोर हुन्छ, यसलाई सुधार गर्न के गर्नु पर्ला ? विभाग र महानगरले सहकार्य गर्न सक्दैन ? हामीले सवारी प्रदुषण नियन्त्रणको काम विभागलाई दिनुपर्छ भनेर प्रस्तावित वातावरण ऐनमा पेश गरेका छौं । यो पास भएर आए विभागको क्षेत्राधिकार बढ्नेछ । यसपछि विभागले कानुन अनुसार कारबाही प्रक्रिया बढाउन सक्छ । अहिलेको अवस्थामा मापन गर्ने अधिकार यातायात व्यवस्था विभागसँग छ, कारवाही गर्ने अधिकार ट्राफिक प्रहरीसँग छ । यसले गर्दा प्रदुषण नियन्त्रणमा समस्या छ । कलकारखाना र साना उद्योगले शहरी क्षेत्रमा कस्तो किसिमको असर पारिरहेको छ ? विभागले यो वर्ष काठमाडौं उपत्यकाको सबै उद्योगधन्दाको स्थलगत अध्ययन गरिसकेको छ । सरकारले उद्योग, अस्पताल, कलकारखाना प्रदुषण मापदण्ड तयार पारेको हुन्छ । यसको हामीले स्थलगत अध्ययन गरिसकेका छौं । यो क्रममा हामीले प्रदुषण मापदण्ड पूरा गरेको पाइएको छैन । हामीले १६८ उद्योगको अध्ययन गर्दा हार्डली १० प्रतिशत भन्दा कम उद्योगले मात्र मापदण्ड पूरा गरेको पाइएको छ । यसरी मापदण्ड पूरा नगर्ने उद्योहरुलाई कार्यालयमा बोलाउने र स्पष्टिकरण लिने गरेका छौं । हाम्रो अनुगमनको निष्कर्ष भनेको नेपालमा रहेका उद्योगले प्रदुषण मापदण्ड पालना गरेका छैनन् भन्ने हो । अस्पतालहरुले पनि फोहोर व्यवस्थापनमा ध्यान दिइरहेका छैनन् । अस्पतालबाट निस्किएको फोहोरलाई अटो क्लिअरेन्स गर्नुपर्छ, तर सिधै जलाउने गरेको पाइएको छ । अझ कतिपय अस्पतालहरुले त नगरपालिकाहरुसँग सहकार्य समेत गरेका छैनन् । जस्तो एउटा व्यक्तिले केरा, बिस्कुट, चाउचाउ, चुइगम खाएर खोल जहाँ पायो त्यही फ्याँक्ने प्रवृति छ ? तपाईँहरुको अध्ययनले के भन्छ ? वातावरण भनेको संस्कारको कुरा पनि हो । वातावरण सफा राख्ने भनेको सबै नागरिकको कर्तव्य हो । हामी नेपाली विदेश गयौं भने चकलेट खाएर खोल गोजीमा राख्छौं, तर, नेपालमा जहाँ पायो त्यहि फ्याँक्छौं । भनेपछि हामीले हाम्रो संस्कारमा परिवर्तन ल्याउनु पर्छ । अहिले नसुध्रिए कहिले सुध्रिने, हामी नसुध्रिए को सुध्रिने ? हामीले हाम्रो संस्कारमा परिवर्तन गर्न सक्यौँ भने हामी भन्दा पछिल्ला पुस्ताले पनि सोही कुराको अनुशरण गर्ने हो । यसकारण सफा वातावरणका लागि हामी तल देखिकै मानिसहरुले व्यवहारमा सुधार गर्नुपर्छ । कृषि क्षेत्रमा प्रयोग गर्र्ने विषादीको सन्दर्भमा के गरिरहनु भएको छ ? यदि कसैले कृषि क्षेत्रमा प्रयोग गरेको विषादीले हामीलाई असर गर्यो भनेर निवेदन दियो भने हामी सो स्थानमा गएर स्थलगत अध्ययन गर्छाँै । सो क्षेत्रको माटो परीक्षण र हावा परीक्षण गरी नागरिकलाई सुचित गर्ने काम गर्छौँ । काठमाडौं उपत्यकाको वातावरण धेरै प्रदुषित रहेको छ, विभागको अध्ययनले घटिरहेको देखाएको छ कि बढिरहेको देखाएको छ ? विभागको पोलुसन मोनिटरिङ डिभाइसको रेकर्ड अनुसार ४० पीएम टु को प्रदुषणलाई सामान्य मानिन्छ । त्यो भन्दा माथिको अवस्थालाई नराम्रो मानिन्छ । अहिले काठमाडौंको अवस्था हेर्ने हो भने ८६ पीएम टु रहेको छ । पानी पर्दा पनि यो घटेको छैन । यो निकै संवेदनशील अवस्था हो । अहिले सबैभन्दा प्रदुषित शहर लुम्बिनी हो । दोस्रो चितवन हो र तेस्रो काठमाडौं हो । लुम्बिनी र चितवनको प्रदुषण नेपालको कारण नभएर विदेशी कारण हो । भारतको विहार र उत्तर प्रदेशमा १२ हजार भन्दा बढी इट्टा भट्टीहरु रहेका छन् । यसले प्रदुषण बढाएको छ । नेपालमा चीनबाट भन्दा पनि भारतको कारणले प्रदुषण बढीरहेको छ । काठमाडौंमा लुम्बिनी, चितवन, नौबिसे हुँदै प्रदुषण भित्रिन्छ । यसरी आएको प्रदुषण यहाँको वातावरणले ७५ प्रतिशत सहन सक्छ । तर, २५ प्रतिशत सहन सक्दैन यसले प्रदुषणमा वृद्धि हुन्छ । समग्रमा हाम्रो आफ्नो देशको कारणले भन्दा बढी अन्य देशको कारणले प्रदुषण बढेको छ । उपत्यकाको प्रदुषण घटाउन के गर्नुपर्ला ? शक्तिशाली वातावरण प्राधिकरण चाहिन्छ । सबै निकायले वातावरणमैत्री व्यवहार गर्नुपर्छ । निजगढमा २ लाख रुख कटान गरी निजगढ विमानस्थल बनाउन लागिएको छ, यसबारेमा के भन्नु हुन्छ ? हामीले ईआइए प्रतिवेदन स्वीकृत गर्दा जति रुख नोक्सान हुन्छ । एउटा रुख नोक्सान हुँदा २५ वटा विरुवा रोप्नुपर्छ । यो रुख जोगाउने नाममा आयोजना रोक्नु हुदैन । रुख काटे बापत अरु रुख रोप्नुपर्छ ।
स्मार्टफोन र इन्टरनेटको प्रयोगसँगै चीनमा अनलाइन शिक्षा बढ्दो
बेइजिङ् । चीनमा अनलाइन शिक्षा तिब्र रुपमा बढ्दै गएको अध्ययनमा देखाएको छ। गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बृद्धि भएर २० करोड १० लाख पुगेको छ । चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत अनलाइन शिक्षा लिएको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरले जनाएको छ । सन् २०१७ को तुलनामा यो ६३.३ प्रतिशतले बढी हो । स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इन्टरनेटको प्रयोग र पहुँचमा व्यापक सुधार भएकाले अनलाइन शिक्षाको लोकप्रियता बढेको अधिकारीहरुले बताएका छन् । अनलाइन शिक्षाका लागि प्राप्त विकल्पमध्ये स्मार्टफोन सबैभन्दा प्रभावशाली देखिएको छ । सूचना आदानप्रदानमा चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमा प्राप्त सुविधाका कारण पनि अनलाइन शिक्षाप्रति मानिसहरुको आकर्षण बढेको हो । रासस/सिन्ह्वा
बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सीसीको स्कूटर लञ्च
काठमाडौं । बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु।२ लाख २९ हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८।७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ । नेपालभर ७८ ठाँउबाट सुजुकीको प्रोडक्ट नेपालको ठुलो घराना भी जी आटोमोबाइलसले गर्दै आएको हो । बिर्तामोड़ तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने गजुर मुखी ट्रेड लिंक बिर्तामोडले सेल्स, सर्भिस र स्पियर्स सजीलो संग उपलब्ध गराउदै आएको गजुर मुखी ट्रेड लिंकका संचालक रूपक थापाको भनाई रहेको छ । प्रमुख अतिथि राष्ट्रिय उपभोक्ता मंच झापाको अध्यक्ष मदनगोपाल सुब्बाले सुजुकी बर्गम्यान स्कूटर को स्टाट गरेर र्यालिको सुरुवात गरेकन थिए । कार्यक्रममा बिशिस्ट अतिथि उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई , उद्योग वाणिज्य संघ बिर्तामोडका बरिष्ट उपाध्यक्ष प्रकास शिवाकोटी लगायतका ब्यक्ति हरु को उपस्थिति थियो । सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन्न ।
बोनसपछि कृषि विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । आइतबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३१४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७३.५८ रुपैयाँ रहेको छ ।
४८ प्रतिशत बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढ्यो
काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ । सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।