‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ’ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेताहरुको राजनितीले गर्दा स्वास्थ्य क्षेत्र बिग्रेको बताएका छन्। चितवनमा भईरहेको सातौँ फार्मा एक्स्पोमा मन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र नेताहरुको कामले गर्दा तहसनहस भएको बताए। एक्स्पोमा मन्त्री यादवले भने ‘अस्पताल बर्बाद गर्ने हो भने राजनीति गरौँ ।’ सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । त्यस्तै मन्त्री यादवले नेपाल सरकारले अब चाँडै नै नेपालमा पर्यापता मात्रामा उत्पादन हुने औषधीको आयतमा पनि रोक लगाउने बताएका छन्। नेपाल औषधी उत्पादक संघद्वारा आयोजित नेपाल फार्मा तथा हेल्थ एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहेको छ । नेपालमा हाल ४० प्रतिसत औषधी उत्पादन हुन्छ भने बाकीँ ६० प्रतिसत भने आयत गरिन्छ। नेपालमा उत्पादन गरिएको औषधीहरु अन्तर्राष्ट्रिय स्तरको रहेको छ। काठमाडौं बाहिर पहिलो पटक हुने उक्त एक्स्पोमा १० हजार भन्दा बढी अवलोकन गर्ने आयोजकले बताएका छन्।
एकैदिन ५ सयले घट्यो सुन
काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ६१ हजार ५ सयमा कारोबार भईरहेको छ । शुक्रबार सुन ६२ हजारमा बिक्री भएको सुन आइतबार ५सय रुपैयाँ घटेर ६१ हजार ५ सयमा कारोबार भईरहेको हो । शुक्रबारको तुलनामा तेजावी सुन प्रतितोला ६१ हजार ७ सयमा बिक्री भएको थियाे भने आइतबार ६१ हजार २ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला शुक्रबारको ७७० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ७६० रुपैयाँ कारोबार भैरहेको छ ।
भरतमोहन अधिकारीः विकास र सामाजिक सुरक्षाका ‘कोरियोग्राफर’
काठमाडौं । कम्युनिष्टले चुनाव जिते ६० वर्ष उमेर कटेकाहरुलाई मार्छन् भन्ने व्यापक हल्लाका बिच तत्कालिन एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा पहिलो दलको हैसियत प्राप्त गर्यो । अर्थमन्त्री कसलाई बनाउने भन्नेबारे पार्टीमा उपयुक्त पात्रको खोजी सुरु भयो । त्यतिबेला फेला परे भरत मोहन अधिकारी । अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै निजी सम्पति हडप्ने, ६० वर्ष माथीका जेष्ठ नागरिकलाई मार्ने जस्ता कु प्रचारलाई चिर्ने उपायको खोजी सुरु गरे अधिकारीले । व्यापक छलफलपछि फेला पारे कु प्रचार छिचाल्ने उपाय अनि आयो बजेटमा वृद्धि भत्ताको कार्यक्रम । उनै अधिकारीको कोरियोग्राफीमा सुरु भएको वृद्ध भत्ता कार्यक्रम आज पर्यन्त कम्युनिष्ट पार्टीका लागि जनमत बटुल्ने अस्त्र बनिरहेको छ । त्यसपछिका हरेक निर्वाचनमा तत्कालिन एमालेले वृद्ध भत्ताको कार्यक्रमलाई प्रमुख एजेण्डाका रुपमा अघि सार्दै आएको छ भने अहिलेको नेकपाले पनि २०७४ सालको निर्वाचनमा वृद्ध भत्तालाई प्रमुखताका साथ उठाएको थियो । आगामी पाँच बर्षभित्र वृद्ध भत्ता मासिक ५ हजार पुर्याउने घोषणा नेकपाले गरेको छ । अधिकारीलाई अमर बनाउने ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम पनि हो । देश अविकाशको भूमरीमा थियो, श्रोत साधन केन्द्रिकृत थियो, धारा, पानी, बाटो माग्न पनि सिंहदरबारमै आउनुपर्ने बाध्यता थियो । उनै अधिकारीले ल्याई दिए आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम । यहि कार्यक्रमले तत्कालिन गाउँ विकास समितिहरुले निश्चित रकम पाए र गाउँ गाउँमा सडक निर्माण आरम्भ गरेका थिए । त्यति मात्रै होइन, भरत मोहनकै कोरियाग्राफीमा गाउँ गाउँमा शहकारी, घर घरमा रोजगारी कार्यक्रम आएको थियो । तिनै शहकारीहरु आज ग्रामिण वस्तीमा आर्थिक उपार्जनका लागि वरदान सावित भैरहेका छन् । कम्युनिष्ट पार्टीका नेता भएर उनले सममालिन विश्वमा विकास भैरहेको अकाट्य आर्थिक उदारिकरण र समाजवादी कार्यक्रमको उपयुक्त संयोजन गराएका थिए । पुँजी बजारमा लाग्दै आएको संस्थागत तर्फको १५ प्रतिशत पुँजीगत लाभकरलाई १० प्रतिशत र व्यक्तिगत तर्फ १० प्रतिशत रहेको पुँजीगत लाभकरलाई ५ प्रतिशतमा झार्ने काम पनि उनैले गरेका थिए । अर्थशास्त्रमा एमए गरेका अधिकारीले संसारभर उभार ल्याईरहेको उदारीकरणको छालबाट जोगिँदै देशमा समाजवादका आधारभूत पक्ष समेटिएका कार्यक्रम ल्याएका थिए । उनको बजेटसँग पुँजीवादी पश्चिमा पनि सन्तुष्ठ थिए भने बामपन्थी मतदाता पनि कन्भिन्स थिए । गरिब र पुँजीवादीहरुलाई एकै पटक सम्बोधन गर्न सक्ने क्षमता अधिकारीमा थियो । उनलाई उद्योगी व्यवसायीका प्रिय मन्त्री मानिन्छ । अधिकारीलाई औद्योगीक घरानाहरुले पनि सम्झिरन्छ भने गरिबका झुपडीहरुमा पनि उनको नाम चिरस्थायी रहनेछ । ४ पटक अर्थमन्त्री र १ पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका अधिकारीले २ पटक उप प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।
पूर्व अर्थमन्त्री भरतमाेहन अधिकारीकाे निधन, वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔँ कार्यक्रम स्मरणीय
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको शनिवार राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिवार राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए । नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि नेताहरुले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन धुम्बाराही पुगेका थिए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, कानून, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिएका हुन्। मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको थियाे । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उनको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका संलग्न थिए । रासस
निजी क्षेत्रसँग हातेमालो हुन्छः मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन् । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला २०७५ को उद्घाटनमा उहाँले कला संस्कृतिका नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई छायामा पार्ने काम हुँदै आएकाले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य सङ्घलाई सुझाव दिए । उनले हेटौँडालाई ढिलो भए पनि हेटौँडालाई नै स्थायी राजधानी बनाउनेसमेत उद्योगी व्यवसायीलाई आश्वासन दिनुभयो । मेलामा निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवा राखिएको उद्योग वाणिज्य सङ्घ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताए । मेलामा ४४० वटा कक्ष रहेको आयोजकले जनाएको छ । मेलास्थलमा लोपोन्मुख चेपाङ जातिको घर, परम्परागत काठको रोटे पिङलगायतका निर्माण भइरहेको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाका कक्ष, मञ्च र बाल उद्यान राखिएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव आनन्दराज कठायत, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षलगायतका वक्ताले औद्योगिक वातावरण बनाउन र रोजगार बढाउने कृषि तथा उद्योगमैत्री नीति ल्याउन अनुरोध गरेका थिए ।
विधेयक संशोधन गर्न माग, व्यवसायीलाई २० अर्ब लगानी डुब्ने चिन्ता
काठमाडौँ । अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ । दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो । गत आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सैद्धान्तिक छलफलकै क्रममा सरोकारवाला निकायले विरोध गर्न थालेका हुन् । काठमाडौँमा आज आयोजना गरिएको सरोकारवालाको छलफलमा सरकारी तथा निजी क्षेत्रका सङ्घसंस्था तथा सरोकारवाला व्यवसायीले दूध, माछा र मौरीमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई मार्गप्रशस्त गर्न खोजिए यस क्षेत्रमा संलग्न २० लाख नेपाली बेरोजगार हुने धारणा राखेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षमा अण्डा, दोस्रो वर्षमा माछा र तेस्रो वर्ष दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना छ । हाल अण्डाबाहेक माछा र दूधमा नेपाल परनिर्भर छ । हाल पाँच लाख मेट्रिक टन दूध अपुग छ भने झन्डै वार्षिक जिउँदो र मरेको माछाको आयात एक अर्ब छ । निजी क्षेत्रको डेरी उद्योग एशोसिएशन तथा सरकारी क्षेत्रको दुग्ध विकास संस्थानले पशुपालन, माछा र माहुरीपालनमा वैदेशिक लगानी आवश्यक नरहेकाले विधेयक संशोधन गर्नुपर्ने धारणा अघि सारेका छन् । दुग्ध विकास संस्थानका कामु महाप्रबन्धक ईश्वरी न्यौपानेले सरोकारवाला निकायबाट पेश भएको मस्यौदा विधेयकलाई व्यापक तोडमोड गरी घुमाउरो तरिकाले सदनमा पेश भएको बताए । उनले स्वदेशी लगानीलाई धरासायी पार्ने गरी सदनमा पेस भएको सो विधेयक कानून बनेमा साना किसान, दुग्ध व्यवसायी, दुग्ध सहकारी संस्था र सिङ्गो दुग्ध विकास संस्थान धरापमा पर्ने जानकारी दिए । नेपालमा साना किसानको सङ्ख्या झन्डै ३० लाख र दुई हजार दुग्ध सहकारी संस्था छन् । छलफलमा डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले कृषि मन्त्रालयको सुझावलाई समेत बेवास्ता गरी सदनमा पेश भएको सो विधेयक बदनियतपूर्ण ढङ्गले अघि बढेको बताए । पछिल्लो तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलब शून्य पाँच प्रतिशत छ भने दूध व्यवसायको करीब नौ प्रतिशत छ । दूध बिक्रीबाट दैनिक रु तीन करोड ५० लाख गाउँमा पुग्छ । ग्रामीण जनताको दैनिक जीवन गुजाराको मेरुदण्ड पशुपालन हो । दुग्ध विकास संस्थानका सदस्य सीताकाजी श्रेष्ठले विधेयक संशोधन हुनुपर्ने माग गर्दै विधेयक पास भएमा बहुराष्ट्रिय कम्पनीसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकी पेशाबाट पलायन हुनुपर्ने अवस्था आउँछ भने । नेपाल डेरी सङ्घका अध्यक्ष राधाकृष्ण सापकोटाले एकातिर सरकार विदेशमा गएकालाई स्वदेशमा पशुपालन गर्न आउ पनि भन्ने अर्कातिरबाट स्वदेशी लगानीलाई निरुत्साहित गर्न विधेयक ल्याउन खोज्नु आश्चर्य भएको बताए । नेपालमा चार लाख ५० हजार व्यक्तिले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । उनीहरुले दैनिक ४९ लाख लिटर दूध उत्पादन गर्छन् । विधेयक पास भएमा ‘अमुल’ जस्ता बहुराष्ट्रिय कम्पनीसँग नेपाली उद्योगीले प्रतिस्पर्धा गर्न नसकी बजारमा लगानी भएको २० अर्ब डुब्ने अनुमान गरिएको छ ।
पशुपति क्षेत्रमा छ हजार साधुसन्त, सुरक्षाका लागि छ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए । शनिबार दिउँसोसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको उनले बताए । फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ । साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।
हाते ऊनका उत्पादनको निर्यात ११ % वृद्धि, एक तिहाइ अमेरिकामा खपत हुने
काठमाडौँ । समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन)का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा आव २०७४/७५ मा ११ दशमलव दुई प्रतिशतले ऊनी फेल्टका सामग्रीको निर्यात बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए । गएको वर्ष एक अर्ब ५९ करोडको सामान निर्यात भएको जानकारी दिँदै उनले कूल निकासीमध्ये ऊनी फेष्टका सामग्रीको हिस्सा भने एक दशमलव नौ प्रतिशत मात्रै रहेको बताए । तर, २०७० सालदेखि भने क्रमशः निर्यातमा वृद्धि भइरहेको कार्यकारी निर्देशक राणाको भनाइ थियो । मुख्यगरी यस्ता सामग्री अमेरिका, जर्मनी, क्यानडा, स्वीडेन, नेदरल्याण्ड, जापान र फ्रान्समा पुग्ने गरेको छ । निर्यात भएकामध्ये एक तिहाइ अमेरिकामा खपत हुने गरेको उक्त केन्द्रले जनाएको छ । विश्वबजारमा यस्ता सामग्रीको माग राम्रो भएको व्यवसायीले बताएका छन् तर सरकारको नीति नियम प्रभावकारी नहुँदा उत्पादन तथा निर्यातमा समस्या आइरहेको व्यवसायीले बताएका छन् । विश्व बजारमा शून्य दशमलव ०१ प्रतिशत ऊनी फेष्टको आयात हुने गरेकामा यसलाई १०० प्रतिशत मान्दा अमेरिकाले मात्रै सात दशमलव नौ प्रतिशत आयात गर्ने गरेको छ । आयात गर्ने दोस्रोमा मेक्सिको र तेस्रोमा जर्मनी रहेको कार्यकारी निर्देशक राणाले बताउ । विश्वको मागमा नेपालले एक दशमलव दुई प्रतिशत निर्यात गरिरहेको र निर्यातका हिसाबले नेपाल १८औँ स्थानमा रहेको उक्त केन्द्रले जनाएको छ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठले ठमेललगायत बजार क्षेत्रमा खुलारुपमा खरीद–बिक्रीसमेतलाई जोड्ने हो भने यसको निर्यात वार्षिक रु दुई अर्बको रहेको जिकिर गरे । “हाम्रो व्यवसाय ओझेलमा परेको र बीसौँ वर्षसम्म व्यवसाय चलिसक्दा पनि सरकारी निकाय फेल्ट भनेको के हो भनेर सोध्छन्, यसले हामीलाई दुःख लाग्छ ।” श्रेष्ठले भने । उनले थपे, “फेल्टिङ प्रविधिबाट हरेक चीज बन्छ, काँचो माटोजस्तै हो, कलात्मक आर्ट हो, जुत्ता, कार्पेट, झोला, खेलौना, क्रिसमस सामग्रीलगायत हरेक चिज बन्छ तर पनि सरकारको ध्यान यसतर्फ पुगेको छैन ।” विगतमा रु एक लाखबाट निर्यात शुरु गरिएको यो व्यवसाय अहिले अर्बौंको पुग्नु आफैँमा सफलता भएकाले सरकारले प्रोत्साहन गर्ने हो भने अझै निर्यात बढाउन सकिने बताए । बीस हजार महिलाले रोजगार पाएको यो व्यवसायमा दक्ष कामदारको भने अभाव रहेको व्यवसायीहरू बताउँछन् । अर्का व्यवसायी महेश्वर श्रेष्ठले निर्यातका लागि आवश्यक पूर्वाधार र उत्पादन बढाउनु पर्ने उल्लेख गर्दै यसका लागि स्पष्ट नीतिको खाँचो रहेको औँल्याए । “भियतनाम, श्रीलङ्का, कम्बोडियाले निर्यात बढाइरहेका छन्, उनीहरुकोमा स्पष्ट नीति नियम छ र सम्भव भएको हो, यसतर्फ नेपालले ध्यान दिनुपर्छ ।” नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेशभाइ शाक्यले निर्यातको नगद प्रोत्साहन बढाउनुपर्नेमा जोड दिँदै दक्ष जनशक्तिको समेत आवश्यकता रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले साना उद्यमीले नसोचेको प्रगति गरिरहेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहनको खाँचो रहेको औँल्याए । अर्थमन्त्री युवराज खतिवडाले उद्योग व्यवसायको विकास गरी निर्यात बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै आएका छन् । जनशक्ति उत्पादनका लागि तालीम दिन सरकार तयार रहेको उनको भनाइ थियो । रासस