गायक श्रेष्ठको ‘बोतलको पानी’ गीत सार्वजनिक, अभिनयमा अनु शाह र लिगेश भट्टराई
काठमाडौँ । गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक बादल श्रेष्ठको नयाँ गीत बोतलको पानीको म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत नेपाली सांगीतिक बजारमा आएको छ । शब्द तथा संगीत बिशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाइ छायाँकार मदन कश्यप घिमिरेले छायांकन गरेका छन् भने निर्देशक लिगेश भट्टराईले निर्देशन गरेका छन् । नायिका तथा मोडल अनु शाह र मोडल निर्देशक लिगेश भट्टराईले अभिनय गरेको यस भिडियोलाई निर्माता बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस ।
लहानमा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुरु गर्यो कारोबार
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट मिति २०७५ फागुन २ गते ‘घ’वर्गको प्रादेशिक स्तरको इजाजत पत्र प्राप्त स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा वित्तीय कारोबार शुभारम्भ गरेको छ । विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रबर्तित सिरहाको लहानमा केन्द्रीय कार्यालय रहेको संस्थाको कार्यक्षेत्र प्रदेश नं. २ का लक्षित वर्गलाई वित्तीय सेवा उपलब्ध प्रमुख कार्यकारी अधिकृत बिजेन्द्र चौधरीले बताए ।
होली वाइन छोएको पनि छैन, धर्म परिवर्तन गराउनेलाई कारवाही गरौंः माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जबरजस्ती धर्म परिवर्तन गराउनेलार्ई कारवाही गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले हिन्दु धर्मावलम्बीरुलाई लोभ लालच देखाएर जबरजस्ती क्रिश्चियन बनाउने काम भैरहेकाले त्यस्तालाई कारवाही गर्नुपर्ने धारणा राखेका हुन् । नेता नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्दै भने,“व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।” उनले नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको स्पष्ट पारे । उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो । नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने “माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।” विसंं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो ।
अब चेकमा विद्युतीय हस्ताक्षर, अनलाईनमा प्रकाशित सामाग्री पनि अदालतको प्रमाण हुने
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रमाण ऐन संशोधन गर्न संसदमा पेश गरेको छ । कानून मन्त्री भानुभक्त ढकालद्धारा प्रस्तुत विधेयकमा डिजिटल वा विद्युतीय स्वरुपमा रहेका रहेका लिखतहरुलाई प्रमाणको रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो । प्रमाण ऐनको उद्देश्य र कारण मै विद्युतीय कारोबार तथा विद्युतीय हस्ताक्षरबाट भएको कारोबारलाई रितपुर्वक हस्ताक्षर भएको मानिने उल्लेख गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थालाई विद्युतीय हस्ताक्षरबाट कारोबार गर्न बाटो खुला हुनेछ । सरकारी तथा गैरसरकारी संस्थामा व्यक्तिले जुनसुकै स्थानबाट आफ्नो हस्ताक्षर गर्न सक्नेछन् । यस व्यवस्थाले विशेषगरी विदेशमा रहेर नेपाली बैंक तथा वित्तीय संस्थामा काम गर्न सहज हुनेछ । यसअघि विद्युतीय आर्थिक कारोबारलाई कानुनी मान्याता दिइएको थिएन । ऐनमा विद्युतीय सञ्चार माध्यमबाट प्रकासित प्रसारित भएका सामाग्रीलाई अदालतले प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । श्रव्य, दृष्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख कुराहरु प्रमाणमा लिने तथा अदालतले श्रव्य दृष्य सम्वाद मार्फत मौखिक प्रमाण बुझ्न सक्ने लगायतका विषयहरु समावेश गर्न सकिने उल्लेख गरिएको छ । यस व्यवस्थाले अदालतमा प्रयोग गरिने सामाग्रीको दायार फराकिलो बनाएको छ । यसअघि पत्रपत्रिकामा छापिएको सामाग्री मात्र प्रयोग गर्दै आएको अदालतले अब विद्युतिय माध्यमबाट प्रकाशित तथा प्रसारण गएका सामाग्रीलाई समेत प्रयोग गर्न पाउनेछ । यस ऐनको नाम प्रमाण दोस्रो संसोधन ऐन २०७५ राखिएको छ । विद्येयकको ४ नम्बर बुँदाले मुलुकी ऐनको दफा ६ लाई संशोधन गरेको छ । जसमा (ङ१) अन्तर्गत, “डिजिटल वा विद्युतीय कारोबारबाट सम्झौता वा लिखित भएकोमा रितपूर्वक नै सम्झौता वा लिखत भएको हो” भनी अदालतले अनुमान गर्नेछ । यस्तै, बुँदा ८ ले मुलुकी ऐनको दफा १३(क) ‘श्रव्य दृस्य माध्यम भिडीयो कन्फरेन्स मार्फत अभिलेख भएको विवरण १ श्रव्य दृश्य माध्यमबाट विद्युतिय अभिलेखमा उल्लेख भएका कुराहरु प्रमाणमा लिन हुन्छ’ भनी उल्लेख गरिएको छ । उपदफा १ ‘प्रयोजनको लागि श्रव्य दृश्य माध्यम मार्फत अभिलेखित कुराहरु सोहि रुपमा वा लिपिवद्ध गरी अदालतले अभिलेख राख्न सक्नेछ’, भनी उल्लेख गरिएको छ । विद्येयकमा ‘डिजिटल वा विद्युतीय कारोबारबाट भएको सम्झौता वा लिखत रितपूर्वक नै भएको र विद्युतीय हस्ताक्षरले कानुनी मान्यता प्राप्त गरेकोले विद्युतीय कारोबारलाई रितपूर्वक नै कारोबार भएको अदालतले अनुमान गर्ने व्यवस्था थप गरिएको’ भनी व्याख्या गरिएको छ । यस्तै श्रव्य दृश्यका माध्यमबाट पनि प्रमाण अभिलेखमा हुन सक्ने हुँदा सो विषय समावेश गर्न श्रव्य दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरु प्रमाण लिन हुने तथा श्रव्य दृश्य माध्यम मार्फत अभिलेखित कुराहरु अदालतले अभिलेख राख्ने व्यवस्था थप गरिएको व्याख्या गरिएको छ । यसैगरी, ऐनले पति र पत्नीको मन्जुरीले कृत्रिम गर्भाधान प्रणालीद्धारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको हो भनी अदालतले अनुमान गर्नेछ । प्रमाण ऐन २०३१ लाई संशोधन गर्न बनेको यस विद्येयक ३२ बुँदामा प्रस्तुत गरिएको छ भने ३१ बुँदामा व्याख्या गरिएको छ । ऐन मन्त्रिपरिषदबाट पारित गरी संघीय संसद सचिवालयमा मंगलबार मन्त्रालयले दर्ता गरेको हो । संसदबाट पारित भएपछि औपचारिक रुपमा कानून लागू हुनेछ ।
काठमाडौँमा ब्रुमरले सडक सफा गर्न शुरु, रातको समयमा सफाई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि बु्रमर (यान्त्रिक कुचो)को प्रयोग गरी सडक सफा गर्न शुरु गरेको छ । कामपाले आज शुभारम्भ कार्यक्रमको आयोजना गरी गत फागुन २८ गते इटलीबाट ल्याइएका पाँच ब्रुमर प्रयोगमा ल्याएको हो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हरेक दिन साँझ आठ बजेदेखि बिहान चार बजेसम्म सडक सफाई कार्य हुने जानकारी दिए । उनका अनुसार उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग गरिनेछ । कामपाका उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले यस यन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि सडक विभागको मातहतमा रहेको सडकमा रहेका खाल्डाखुल्डी पुर्न अत्यावश्यक रहेको जानकारी गराए । कामपामा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाका अनुसार काठमाडौँलाई धुलोमुक्त बनाउन पाँच ब्रुमर अपुग रहेको भन्दै १५ वटा आवश्यक रहेको बताए । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको छ । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण कार्य तीव्र रुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । कहाँ कहाँ हुन्छ सफाई यी बु्रमर सञ्चालनको लागि हाल पाँच वटा सडक क्षेत्र तय गरिएको छ । जसमा टेकुबाट शुरु गरी सोल्टीमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्म रहेको छ । त्यस्तै टेकुबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो क्षेत्रका सडक रहेको छ । टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौँ प्लाजासम्मको रहेको छ । दरबारमार्गमा रहेको महेन्द्र शालिकबाट नारायणहीटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरी धारा, प्रधानमन्त्री निवास, रसियन दूतावास, हुँदै शितल निवास, पानी पोखरी, लौनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिने छ । त्यस्तै कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल एअरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुचेपाटी, बत्तीसपुतली, प्रदर्शनी मार्ग रहेको छ । पाँचौँ क्षेत्र अन्तर्गत न्युरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कुल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायण गोपाल चोक, चाबहिलको सडक सफा गर्ने छ । रासस
विभिन्न सात कलरमा फोर्डले भित्र्यायो नयाँ गाडी, मूल्य २५ लाख रुपैयाँ मात्र
काठमाडौं । फोर्डले २०१९ संस्करणको फोर्ड फिगो नामक नयाँ गाडी नेपाल बजारमा भित्र्याएको छ । कम्पनीले गाडीको मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई परिमार्जित गरी उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो । बजारमा कम्पनीले उक्त नयाँ गाडीको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । न्यु इन्टिरियेर ब्राण्डको उक्त गाडीमा नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ । नयाँ फिगोमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनका साथ उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन रहेको छ । कम्पनीका अनुसार नयाँ फोर्ड फिगो गाडी दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध रहेका छन् । उक्त गाडीले ग्राहकहरुलाई अझ बढी सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
सनराइज बैंकले १ अर्बको ऋणपत्र बिक्री गर्दै, सर्वसाधारणलाई भन्दा संस्थापकलाई बढी
काठमाडौं । सनराइज बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आगामी चैत २० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ४ लाख कित्ता बराबरको ४० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्न लागेको छ । साथै, बाँकी ६ लाख कित्ता बराबरको ६० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले चैत २० गतेदेखि छिटोमा चैत २५ गतेसम्म र ढिलोमा वैशाख १९ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालबाट न्युन कर्जा जोखिम “केयर एनपी ए माइस” रेटिङ्ग प्रदान गरेको उक्त ऋणपत्रमा सर्वसाधारणले न्यनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । अथार्त २५ हजार रुपैयाँदेखि ४० करोड रुपैयाँसम्मको आवेदन दिन पाउने छन् । बैंकले पाँच वर्ष अवधि भुक्तानी भएको वार्षिक १० प्रतिशत व्याजदर भएको अर्धबार्षिक ब्याज भुक्तानी गर्ने गरी सो मात्राको ऋणपत्र बिक्रीमा राखेको हो । साथै, यस ऋणपत्र नेप्सेममा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी रहेको छ । बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
राजनारायण पाठकले घुस लिएको अख्तियारको ठहर, बिशेष अदालतमा मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आफ्ना पूर्व आयुक्त विरुद्ध बिशेष अदालत काठमाडौंमा ७८ लाख बिगो दावी गरि मुद्धा दायर गरेको हो । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त्व विवादमा आयोगले छानविन गर्दा पाठकले मुद्दा मिलाईदिने भन्दै कलेजका सञ्चालक लम्बोदर कुमार न्यौपानेसँग ७८ लाख घुस लिएका थिए । पाठकसँगै उनलाई घुस दिने कलेजका तत्कालिन सञ्चालक लम्बोदर न्यौपाने विरुद्ध पनि ७८ लाख नै विगो दावी गरि आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।