विकासन्युज

सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने

काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ । स्वास्थ्य योजना अनुसार बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बैंकले जनाएको छ । चैत १ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट दिदै आएको जनाएको छ । यसअघि सनराइज बैंकले भारत स्थित अपोलो, बीएलके सुपर स्पेशालिटी र नानाभाटी हस्पिटलसँग पनि सम्झौता गरेको थियो । सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने छन् ।

अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमाः भारतीय प्रधामन्त्री मोदी

नयाँदिल्ली । भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन् । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।” भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताए । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उनले स्पष्ट पारे । भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।रासस/एएफपी

लगानी सम्मेलनः शोकेसमा ३७ अर्बका ३ सिमेन्ट उद्योग, चन्द्र ढकालको १० अर्ब, अरुको कति ?

काठमाडौं । सरकारले लगानी सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सम्मेलनको अन्तिम तयारी भैरहँदा स्वदेशी निजी क्षेत्रले पनि उल्लेख्य रुपमा सहभागिता जनाएका छन् । निजी क्षेत्रले २७ वटा आयोजनाको लागि विदेशी लगानी प्रस्ताव गरेका छन् । जसमध्ये सिमेन्ट उद्योगका ३ वटा प्रस्ताव छन् । सिमेन्ट उद्योगका लागि आईएमई ग्रुप, विशाल सिमेन्ट इण्डस्ट्री प्रालि  र गरुड सिमेन्ट इण्डस्ट्री प्रालिले प्रस्ताव पेश गरेका छन् । ३ प्रालिले ३ सय ६५ मिलियन अमेरिकी डलर(३७ खर्ब रुपैयाँ)को लगानी प्रस्ताव गरेका हुन् । आइएमई सिमेन्ट प्रालि आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलनमा १० अर्बको योजना अघि सारेका छन् । आइएमई सिमेन्ट लिमिटेड कम्पनीको लागी १०० मिलियन अमेरिकी डलरको आयोजना अघि सारेका हुन् । सम्मेलनमा ढकालले सिमेन्ट उद्योग प्रस्ताव गरेका हुन् । नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिकामा बन्ने सिमेन्ट उद्योगमा आइएमई ग्रुपले विदेशी लगानी भित्र्याउन लागेको हो । उद्योग ०.२३७ स्वायर किलोमिटरमा फैलिनेछ । आइएमई ग्रुपले तयार गरेको योजना अनुसार उद्योगको खानी पाल्पा मदनपुर स्थीत निस्डी गाउँ पालिकामा रहनेछ । जसको क्षेत्रफल १६ वर्ग किलोमिटर रहेको छ । कम्पनीले १८.७२ मिलियन टन चुनढुङगा मौजाद राखिसकेको छ । उद्योगको लागि ढुङ्गा २५ किलोमिटर सडकमार्गबाट ल्याइनेछ । कम्पनीले सिमेन्ट उत्पादन गरी ठूला पूर्वाधार निर्माणको लागि प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले आयोजना पूर्वअध्ययनका लागि १ वर्ष, आर्थिक व्यवस्थापन १ वर्ष र २ वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । आइएमई ग्रुपले सिमेन्टमा लगानी गर्न लागेको यो पहिलो उद्योग हो, यसअघि सो ग्रुपले केबलकार, बैंक तथा वित्तीय क्षेत्रमा लागनी गर्दै आएको छ । विशाल सिमेन्ट इण्डस्ट्री प्रालि विशाल ग्रुपले १५० मिलियन डलर (करिब १५ अर्ब रुपैंया)को सिमेन्ट उद्योगमा लगानी प्रस्ताव गरेको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बन्ने सिमेन्ट उद्योगको खानी खानीबाट ४ किलोमिटर मात्रै टाढा रहेको छ । ६ महिना पूर्वअध्ययनको ररकम व्यवस्थालाई पनि ६ महिना कै समय राखिएको छ । २ वर्षमा निर्माण सम्पन्न भैसक्ने उद्योगको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र आइईईको काम भैरहेको छ । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । उद्योग सुर्खेत जिल्लाको लखरपाटा पोखरीखण्ड नगरपालिकाको १.९६६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ । गरुड सिमेन्ट इण्डस्ट्री प्रालि गरुण सिमेन्ट प्रालिले सिन्धुलीको मरिनमा ११५ मिलियन अमेरिकी डलर लागतमा सिमेन्ट उद्योग खोल्ने तयारी गरेको छ । लगानी बोर्डको शोकेसमा राखिएको सो परियोजनामा प्रालिले काभ्रे खानीखोलामा खानी स्थापना गरी सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । खानीको क्षेत्रफल ६.९६ वर्ग किलोमिटरमा फैलिनेछ । १ वर्ष पूर्वअध्ययन राखिएको आयोजनालाई १ वर्षभित्र आर्थिक व्यवस्थापन गर्ने तयारी छ । करिब साढे ११ अर्ब लागत अनुमान गरिएको छ ।

बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्सको बोनस सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा थपिएको हो । सो मध्ये बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हनार २७० कित्ता बोनस नेप्सेम थपिएको हो ।

भवानी, हरिभक्त र राजेशकाजीलाई सँगै राखेर अर्थमन्त्रीले भने-‘स्वदेशी र विदेशी लगानीकर्ता बराबर’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको बताएका छन् । शुक्रबार र शनिवार हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा निजी क्षेत्रका प्रतिनिधिहरु नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई संगै राखेर उनले यस्तो कुरा बताएका हुन । नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) ल्याइएको र स्वदेशी लगानीकर्ताका लागि समेत सार्वजनिक औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको बताए । लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन बुधाबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले अहिलेको लगानी सम्मेलन २०७२ सालमा गरिएको लगानी सम्मेलनको निरन्तरता भएको बताए । विगतमा भन्दा व्यवस्थित ढंगले परियोजना प्रस्तुत गर्न लागेको उनले बताए । नेपालको कर प्रणाली विश्व कै उत्कृष्ट भएको पनि अर्थमन्त्री बताए । लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुबाट आउने प्रतिबद्धता अनुसारको लगानी आउने नआउने बारेमा निरन्तर फलोअप गर्ने बताउने उनले भने–‘मे महिनासम्म कुन क्षेत्रमा कति लगानी आउने भन्ने तय भइसक्छ ।’ लगानी सम्मेलन शुक्रबार र शनिवार २ दिने हुने भएपनि सम्मेलन अघिल्लो दिन र समापनपछि पनि लगानीकर्ताहरु सँग छलफल हुने अर्थमन्त्री खतिवडाले बताए । पत्रकार सम्मेलनमा निजी क्षेत्रका प्रतिनिधिहरु राणा, शर्मा र श्रेष्ठले लगानी सम्मेलन हुन लागेकोमा आफूहरु उत्साहित भएको बताए । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपाली अठोठ पूरा गर्न स्वदेशी लगानीकर्ताहरुले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रस्तुत गरिने परियोजना तयार भइसकेको बताए । प्रधानमन्त्रीबाट उद्घाटन, ६ सय विदेशी लगानीकर्ताको सहभागिता सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने छ । त्यसमध्ये १२० जना भारतीय लगानीकर्ता सहभागी हुनेछन् । त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैह्र आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ । उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा बताइयो । सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारी पत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको जनाएको छ । सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ । उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुने जनाइएको छ । त्यसैगरी, सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । लगानी सम्मेलन सफल रुपमा आयोजना गर्न अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।

वैशाखदेखि दैलेखमा पेट्रोलियम मिथेन ग्यासको उत्खनन, बेइजिङमा भयो सम्झौता

दैलेख । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । ।चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि विसं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खननको घोषणा गरेको थियो । त्यसबखत अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन हुने भएको हो । खानी तथा भू–गर्व विभागका परियोजना प्रमुख सुदीप रजौरेका अनुसार वैशाख १८ देखि औपचारिकरुपमा उक्त कार्यको थालनी हुने छ । उनले चीनको कम्पनीसँग दुई अर्ब २० करोडको सम्झौता भएको बताए । उनले देखिएको ग्यास मिथेन ग्यास हो भनेर प्रमाणित भइसक्यो, अब कति परिमाणमा छ, कहाँ छ, उत्खनन गर्दा हुने परिमाण र लागतको मेल खान्छ कि खाँदैन यस्ता विषयको ठोस अनुसन्धान गर्न पनि उत्खननको काम थालनीे हुने बताए । स्थानीयले यसलाई दैवीशक्ति भन्दै नियमित पूजा गर्दै आएका थिए । खानी तथा भू–गर्व विभागले पहिला नै दैलेखको खोलामा बगेको पेट्रोलियम पदार्थको नमूना सङ्कलन गरेर काठमाडौँ पु¥याएको १५ वर्षपछि ग्यास उत्खनन हुने भएपछि दैलेखका उद्योगी व्यापारी खुशी भएका छन् । विगतका १० वटा स्थानमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि लाखौँ रकम खर्च गरे पनि त्यसको पुष्टि भएर वास्तविक कुरा बाहिर आउन नसकेका बेला सरकारले पुनःदैलेखको पेट्रोलियम पदार्थ अन्वेषण गरी उत्खननका लागि काम थाल्ने भएपछि केही आशा पलाएको छ । दैलेखमै यसको उत्खननको शुरुआत गर्न पुनःदैलेखबाटै कामको थालनी गर्ने सरकारले निर्णय गरेको प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताए । सयौँ वर्षदेखि जमीनमुनिबाट पेट्रोलियम पदार्थका रुपमा ग्यास निस्किरहेको दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम उत्खनन शुरु हुने भएपछि दैलेखका जनता सम्पन्न हुने उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेश कमिटी सदस्य शान्तिप्रसाद शर्माले बताए । तत्कालीन द्वन्द्वकै बेला विसं २०६० देखि नै नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै खोजविन थालिएको थियो । अमेरिकाको टेक्सास कम्पनी र युकेको केएन इनर्जीलेसमेत लाखौँ डलर अन्वेषणमा खर्च गरिसकेका छन् । सरकारले उपलब्धिमूलक काम नगरेको भन्दै ती कम्पनीसँगको सम्झौता विसं २०७१ मा तोडेको थियो । सरकारको जिटुजि सम्झौताअनुसार अहिले चीनको कम्पनीसँग सम्झौतासँगै काम शुरु गर्ने योजना सरकारको रहेको छ । अहिले काममा थप सहजताका लागि पेट्रोलियम नियमावलीको समेत पाँचौँ संशोधन गरिएको छ । दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रुपमा समेत परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उलेख्य उपस्थिति हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटक दैलेखको पञ्चकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् । रासस

सुनको मूल्य घट्यो, प्रतितोला ६० हजार ४ सयमा कारोबार हुँदै

काठमाडौं । मंगलबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको तुलनामा तेजावी सुन प्रतितोलामा १ सय रुपैयाँ घटेर बुधबार ६० हजार १ सयमा कारोबार भईरहेको छ ।  त्यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ, लण्डन पहिलो नम्बरमा

काठमाडौँ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ । बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ । संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौथो र इण्डोनेशियाको बाली पाँचौ नम्बरमा छन् । उक्त साइटले घुम्नैपर्ने शहरको सूचीमा दुबईलाई १०औँ र संयुक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३औँ स्थानमा राखेको छ । रासस