विकासन्युज

विदेशी लगानीकर्तालाई विश्वास दिलाउन निजी क्षेत्र पनि उत्तिकै सक्रिय

काठमाडौँ । आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको, ऊर्जाको उपलब्धता सहज भएको, श्रम सम्बन्धसमेत सुधार भएको अवस्थामा निजी क्षेत्र पनि सरकारसँगै ‘काँधमा काँध’ मिलाएर अगाडि बढेको छ । निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घले नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने सन्देशसमेत विदेशी लगानीकर्तालाई दिन सफल भएका छन् । ती संस्थाले सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सरोकार भएका संस्थाको रूपमा सक्रिय सहभागिता जनाएका छन् । विदेशी लगानीकर्तालाई समेत विश्वास दिलाउन सरकारले जस्तै सक्रिय सहभागिता निजी क्षेत्रले पनि देखाएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न सरकार मात्रैको एक्लो प्रयासले नपुग्ने भएकाले निजी क्षेत्रसमेत होस्टेमा हैँसे गर्दै लागेको छ । सम्मेलनमा निजी क्षेत्रका मात्रै २५ वटा आयोजनालाई ‘शो केश’ मा राखिएको छ । विशेषगरी आइएमइ समूह, विशाल समूह, गरुड समूहलगायतले केही ठूला परियोजना सम्मेलनका क्रममा प्रस्तुत गर्ने भएका छन् । औद्योगिक घरानाका रूपमा स्थापित आइएमइ समूहले ऊर्जा, सिमेन्ट, केवलकार जस्ता परियोजनामा लगानी भित्र्याउने गरी काम शुरु गरेको छ । निजी क्षेत्रले यसअघि अध्ययन गरेका र अगाडि बढाएका आयोजनासमेत प्रस्तुत गर्ने तयारी गरिएको छ । सरकारसँगै निजी क्षेत्रले पनि वैदेशिक लगानी भित्र्याउने अभियान नै सञ्चालन गरेका छन् । सम्मेलनमा प्रस्तुत हुन लागेका निजी क्षेत्रका केही आयोजना आकर्षक र महत्वपूर्ण छन् जसमा ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् परियोजनासमेत समावेश गरिएको छ । सो आयोजनाको कूल लागत पाँच करोड ३० लाख अमेरिकी डलर रहेको छ । यस्तै, ५३.६ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् परियोजना समेत शो केशमा राखिएको छ । सो आयोजनाको लागत नौ करोड ६० लाख अमेरिकी डलर रहेको छ । त्यसैगरी १८ मेगावाट क्षमताको इन्गवा खोला जलविद्युत् परियोजना रहेको छ । सो आयोजनाको कूल लागत तीन करोड अमेरिकी डलर बराबरको रहेको छ । निजी क्षेत्रकै माथिल्लो चमेलिया जलविद्युत् आयोजनासमेत सम्मेलनका क्रममा प्रस्तुत गरिनेछ । सो आयोजनाको लागत सात करोड अमेरिकी डलर रहनेछ । कूल ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको लागत १० करोड अमेरिकी डलर रहेको छ । यसैगरी १३२ मेगावाट क्षमताको तल्लो वरुणखोला जलविद्युत् परियोजना समेत सम्मेलनमा प्रस्तुत गरिएको छ । आयोजनाको लागत २५ करोड अमेरिकी डलर रहेको छ । सम्मेलनमा १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् परियोजनालाई समेत समेटिएको छ । आयोजनाको लागत २६ करोड ९० लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्डले तयार पारेको आयोजनाको सूचीमा माथिल्लो बलेफी जलविद्युत् आयोजना रहेको छ । आयोजनाको लागत सात करोड २५ लाख अमेरिकी डलर रहेको छ । बोर्डका अनुसार ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत् परियोजना ‘ए’ समावेश गरिएको छ । आयोजनाको कूल लागत पाँच करोड ५५ लाख अमेरिकी डलर रहेको छ । यस्तै २६० मेगावाट क्षमताको नाम्लान खोला जलविद्युत् परियोजनालाई समेत सम्मेलनमा प्रस्तुत गरिने आयोजनाको रूपमा छनोट गरिएको छ । आयोजनाको लागत ३५ करोड अमेरिकी डलर रहेको छ । त्यस्तै ५० मेगावाट क्षमताको तारप खोला जलविद्युत् परियोजनालाई समावेश गरिएको छ । आयोजनाको लागत सात करोड ७० लाख अमेरिकी डलर रहेको छ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सम्मेलन नेपालमा लगानी भित्र्याउनका लागि सुवर्ण अवसर भएको बताउँछिन् । विगतमा राजनीतिक स्थिरता थिएन, लगानीयोग्य वातावरण थिएन भन्दै लगानीका लागि अनिच्छुक विदेशी लगानीकर्ता पछिल्लो दिनमा सकारात्मक बन्दै गएको जानकारी दिँदै अध्यक्ष राणाले सरकारले नै आर्थिक समृद्धिको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेका कारण पनि महत्वपूर्ण अवसर भएको उल्लेख गरिन् । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा सम्मेलनलाई सफल बनाउनु हामी सबैको दायित्व भएकाले कुनै पनि नकारात्मक टीकाटिप्पणी नगर्नसमेत आग्रह गर्छन् । पछिल्ला दिनमा लगानीका लागि वातावरण बनाउन सरकारले महत्वपूर्ण प्रयास गरेको जानकारी दिँदै अध्यक्ष शर्माले ऊर्जाको सहज उपलब्धताले पनि लगानीयोग्य वातावरण बनेको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षसमेत रहेका आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले देशले स्थिर सरकार पाएको अवस्थामा लगानीकर्ता, रोजगारदाता, ट्रेड युनियन तथा कामदारबीचको सम्बन्धमा विगतको तुलनामा पक्कै पनि सकारात्मक परिवर्तन ल्याएको टिप्पणी गरे । सरकारले लगानी प्रवद्र्धनका लागि एकद्वार नीति अख्तियार गरेको छ । रु छ अर्बसम्मका आयोजना उद्योग मन्त्रालयमार्फत् र त्योभन्दा बढीका लगानीबोर्डबाट हुने व्यवस्था गरिएको छ । लगानीकै लागि सरकारले कैयौँ कानूनमा संशोधन र सुधार गरेको छ । नेपालमा पछिल्लो दिनमा लगानी वृद्धिका सङ्केत देखिएको छ, केही क्षेत्रमा लगानी बढेको छ । सम्मेलन सरकारको राम्रो तत्परता भएको उल्लेख गर्दै ढकालले यसअघिका लगानी सम्मेलनबाट सिकेर थप समीक्षा गर्ने प्रतिबद्धता सरकारको तर्फबाट आउनु सकारात्मक कदम भएको टिप्पणी गरे । नेपाल विश्वको झण्डै एक तिहाइ जनसङ्ख्याको बीचमा रहेको छ । दुई छिमेकी देश विश्वकै ठूला अर्थतन्त्र पनि हुन् । यसलाई पनि विश्वका लगानीकर्ताले नियालेका छन् । व्यवसायीका अनुसार नेपालमा धेरै गर्न बाँकी छ किन भने यो ‘भर्जिन ल्याण्ड’ हो । यसैकारण लगानीका लागि नेपाल विश्वको आकर्षण हुनसक्छ । विदेशी लगानी भित्र्याउन लगानीकर्ताका आवश्यकता र समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिँदै ढकालले प्राप्त राजनीतिक स्थायित्वलाई आर्थिक विकासमा भरपुर उपयोग गर्नुपर्ने बताए । उनले भने, “नीतिगतरूपमा त विकासमा निजी क्षेत्रलाई साथ लिने कुरा स्पष्ट छ, अब त्यसलाई व्यावहारमा पनि उतार्नु पर्छ । यसरी नै स्वदेशी तथा विदेशी लगानीको वातावरण बन्नेछ ।” रासस

नेपाल लिकर्सले ८ महिनामा बुझायो १ अर्ब ९ करोड अन्तःशुल्क

विराटनगर । नेपाल लिकर्स प्रालिले चालु आर्थिक बर्षको ८ महिना अर्थात फागुन मसान्तसम्ममा अन्तःशुल्क बापत १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ बुझाएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्म ६३ करोड ८२ लाख अन्तःशुल्क बुझाएको थियो । आन्तरित राजश्व कार्यालय विराटनगरमा अन्तःशुल्क उठेको रकम मध्ये सबैभन्दा बढी नेपाल लिकर्सले नै बुझाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कार्यालयले २ अर्ब ८ करोड ६५ लाख अन्तःशुल्क संकलन गरेको छ, त्यसमध्ये नेपाल लिकर्सले नै १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ बुझाएको छ । उद्योगको स्थापना राजेशका स्वर्गीय पिता भक्तवीरसिंह तुलाधर र भारतका उद्योगपति विजय माल्याको संयुक्त साझेदारीमा भएको हो । नेपाल लिकर्सले सिग्नेचर रेड, सिग्नेचर प्रिमियर, म्याकड्वेल नम्बर वान, एन्टिक्विटी ह्विस्की र गोल्डेन ग्रेप ब्रान्डी लगायत उत्पादन गर्दै आएको छ । धेरै अन्तःशुल्क बुझाएर सरकारलाई योगदान गरिरहेको नेपाल निकर्सले सामाजिक क्षेत्रमा समेत आफुनो उपस्थिति जनाउदै आएको छ । प्रालिका कर्पोरेट महाप्रबन्धक कमल सिटौलाले सामाजिक क्षेत्रमा समेत विभिन्न योगदान पुर्याइरहेको बताए । उद्योगले प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन, सुनसरीको इटहरीमा मदन भण्डारी मेमोरियल गोल्डकपको सह-प्रायोजन लगायत खेल र सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको सिटौलाले बताए ।  

एनबीआईले आर्थिक पत्रकारलाई तालिम दिने, नाफिजसँग भयो संझौता

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र नेशनल बैंकिङ इस्टिच्यूट(एनबीआइ) बीच आर्थिक पत्रकारहरुलाई बैंकिङ क्षेत्रसँग सम्बन्धित तालिम दिने संझौता भएको छ । मंगलबार भएको सम्झौतामा नाफिजका बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्ठि तथा छलफलहरुमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने सम्झौतामा उल्लेख छ । त्यस्तैगरश्ी, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएल र सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीनवर्षसम्म हरेक वर्ष २५ जनालाई सहभागी गराउन सम्झौता भएको छ । त्यस्तै, आवश्यकता अनुसारका तालिमहरु एनबीआइको सहकार्यमा नाफिजको आवश्यकता अनुसार आर्थिक पत्रकारहरुको क्षमता अविवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने संझौतामा उल्लेख छ । नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षर बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको संस्था नै एनबीआइसँग सहकार्य गर्न आउँदा अझ सहज भएको एनबीआइका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताए । त्यस्तै, नाफिजका बरिष्ठ उपाध्यक्ष बानियाले आर्थिक क्षेत्रमा कलम चलाइरहका पत्रकारहरुले लेख्ने समाचार सही र तथ्यपरक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पूरा गर्ने धारण ब्यक्त गरे ।

बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या

काठमाडौं ।  नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो । बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले गर्दा ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले नेप्सेमा कारोबार नभएको नेप्सेले जनाएको छ । उक्त समस्या देखिएको करिब एक घण्टापछि केही छिन अपडेट भएकाे बजार पुनः २ बजेर ५३ मिनेटपछिकाे काराेबारमा समस्या देखिएकाे छ । उक्त समस्याले गर्दा नियमित तीन बजे बन्द हुने बजार बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ ।

सिद्धार्थ बैंकले शुरु गर्यो प्लाटिनम बचत खाता, यस्ता छन् फाइदा

काठमाडौँ । सिद्धार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पुर्याउन विभिन्न आकर्षक सुविधाहरु सहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । प्लाटिनम खाता खोल्दा डेविट कार्ड प्रयोग गरी देशभरी रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । देशभरि रहेका ४५० भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने र यो खातामा आकर्षक ६.५५ वार्षिक ब्याज दर रहने सिद्धार्थ बैंकले जनाएको छ ।

ओम र महालक्ष्मीबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न छ । सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लि.ले देशभर रहेका ५३ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमाकारोबार सञ्चालनको तयारी गरिरहेको जनाएको छ । सम्झौतामा ओम डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्याः उर्मिला श्रेष्ठ

बिर्तामोड । नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले उक्त धारणा राखेकी हुन् । अध्यक्ष श्रेष्ठले महिलाहरु समेत व्यवसायमा लाग्नुपर्ने बताईन् । उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’ अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी गराएकी थिईन् । कार्यक्रममा चेम्बर अफ कमर्स, १ नम्बर प्रदेश का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवसायमा साथ दिएर पनि महिला अब सशक्तिकरणका निम्ती जाग्ने बेला आएको बताए । झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए । सो कार्यक्रममा नेकपा बिर्तामोड नगरका अध्यक्ष ज्ञानुराम प्रसाई, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष शुभ कुमाई पाठक लगायतले मन्तव्य राखेका थिए । अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सचिव लिमा अधिकारीले सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिएकी थिइन् । नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा झापा चेम्बर अफ कमर्सका सचिव सुवास भट्टराईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रेमा भट्टराईले गरेकी थिइन् । प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा गठन नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता माझ बिर्तामोडमा आयोजित अन्तरक्रिया सहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको छ । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा रेखिका शर्मा, महासचिवमा शर्मिला शाक्य, उद्योग सचिवमा बिनु कट्टेल, वाणिज्य सचिवमा देवी पोखरेल र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा शुभकुमाईं पाठक, अनिता मैनाली, भावना घिमिरे, लुना सुवेदी, प्रमिला खरेल प्रसाई, बिना बिमली, पार्वता खतिवडा, सुनिता शर्मा, हिमा भण्डारी, पारु श्रेष्ठ, गंगा मेचे, कविता पौडेल, जानुका ओली, यशोदा प्रसाईं र गीता पौडेल चयन भएका छन् ।

नबिलले एक अर्ब २० करोडको म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नबिल ब्यालेन्स फण्ड-२ले एक अर्ब २० करोड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । फण्डले गत चैत १० गते सो मात्राको फण्ड बिक्री गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डको अनुमतिसँगै फण्डले कोष प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्ने छ ।