विकासन्युज

त्रिशुलीको आईपीओ बिहीबार बाँडफाँड हुने

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बिहीबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको भोलि दिँउसो एक बजे सिंहदरबारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको सभा हलमा बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”को उपस्थितिमा आईपीओ बाँडफाँड हुने भएको छ । कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म निष्काशन गरेको आईपीओमा १८ गुणा बढी आवेदन परेको थियो । उक्त आईपीओमा कुल एक लाख ५४ हजार ६२४ जनाले आवेदन दिएका थिए । उक्त आईपीओमा कुल ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ बराबरको ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ता सेयरको माग परेको थियो । कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

कोरिया जान चाहनेको संख्या बढ्यो, भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

काठमाडौँ । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि बुधबार अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै, सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनाल सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चितालगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको हुनसक्ने बताउँछन् । उनका अनुसार इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै, सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउने छन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।

सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरोको सम्झौतालाई जारी राख्ने

काठमाडौं । काठमाडौंमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रालीले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ । सिजी फुड्सका सीईओ जीपी शाहले भने, “यो सुरुवातले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दै किशोर किशोरीलाई फाइदा पुर्याएको छ । त्यहि विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता दिँदैछौँ । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्ने छ ।” ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुरले वाई वाईसंगको सम्झौतालाई निरन्तरता दिँदै किशोर किशोरीको सुरुवातलाई उत्थान गरी शशक्तिकरण गर्न अझै अघि बढ्ने बताएका छन् । यस कार्यक्रमले किशोर-किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको राष्ट्रिय सम्मान गर्न अझै प्रोत्साहित गरेको छ । साथै, यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आवेदन २०७६ साल बैशाख २१ गते खुल्दै छ ।

एशियाली विकास बैंकका उपाध्यक्ष चेनले गरे थप सहयोगको प्रतिबद्धता

काठमाडौँ । लगानी सम्मेलन २०१९ मा सहभागी हुन आएका एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेन र अर्थमन्त्री डा.युवराज खतिवडाबीच बुधबार भेटवार्ता भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडा र उपाध्यक्ष चेनबीच उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो । उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताए । खास गरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको अनुभव सुनाए । छलफलको क्रममा उपाध्यक्ष चेनले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खास गरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।

मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो- खानेपानी मन्त्री 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । खानेपानी मन्त्री मगरले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताएकी  छिन् । आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति समेत दुःख व्यक्त गरेकी  छिन् । आफ्नो  कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मन्त्रीले बताएकी  छन् । ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यस विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नभएको मन्त्री मगरको भनाइ छ । कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै उनले राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिवद्ध रहेको स्पष्ट पारेकी छिन्। मन्त्री मगरले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र  मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिएकी छिन् । मेलम्ची खानेपानी आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएकाले आफूले मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै आयोजनाको निर्माण कार्य द्रुत गतिमा अघि बढेको उनले स्पष्ट पारिन् । ठेकेदार कम्पनीले हात झिक्नुको पछाडिको मूख्य कारण सिएमसी कम्पनि नै आर्थिक रुपमा टाट पल्टनु रहेको र आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको विज्ञप्तिमा भनिएकाे छ। मन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ । ती कानूनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि । यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्देशित ऐन, कानूनहरुप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्प हो । यसमा म दृढ छु, सधैं दृढ रहनेछु ।’ ‘म आफै जनताको मुक्ति सुशासन, समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न कठोर सङ्घर्षबाट आएको व्यक्ति हुँ । न्याय, समानता, विकास, सुशासन र समृद्धिका लागि मैले पनि जेलनेल र कठोर यातनाको अनुभूति होइन, अनुभव गरेको छु । ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ यो मेरो मुलमन्त्र हो र यसमा सधै अडिग रहन्छु ।’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘केही समयअघि रञ्जु दर्शनाले आफ्नो चरित्रहत्या भएको भन्दै गुनासो गरेकी थिइन् । मेलम्ची आयोजनामा मैले अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’ ‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ । मेलम्ची आयोजनामा मन्त्रीका हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकाय छन्, तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधैं त्यसको पक्षमा छु र रहन्छु ।’ मन्त्रीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

प्रभु बैंकको ऋणपत्र निष्काशनमा सनराइज क्यापिटल, एक अर्बको बिक्री गर्दै

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले “प्रभु बैंक डिबेन्चर २०८६”काे १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच हस्ताक्षर भएको छ । सम्झौता सँगै बैंकले यस क्यापिटल मार्फत १० प्रतिशत ब्याज सहित दश वर्षको लागि सो मात्राको ऋणपत्र निष्काशन गर्ने छ ।

सिद्धार्थ बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँले हस्ताक्षर गरेका छन् । सो अवसरमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरुमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

नेपाली बैज्ञानिकले विकास गरे अति सुक्ष्म-प्रकाशकीय चिप, स्वासप्रस्वासका बिरामीलाई उपयोगी

काठमाडौ । फुटुंग रिसर्च इस्टिच्यूटका बैज्ञानिकहरुले नेपालको पहिलो अती–सुक्ष्म–प्रकाशकीय चिपको विकास गर्न सफल भएका छन् । सो चिप नेपाली बैज्ञानिकहरुले नेपालमै सिमुलेशन (गणितिय) डिजाइन तथा भौतिक परीक्षण गरी निर्माण गरेका हुन् । स्वासप्रस्वासका बिरामीलाई उपयोगी हुने चिप बनाइएको हो । नेपाली बैज्ञानिकको यो उपलब्धीमा फ्रीवेयर, थ्रिडी प्रिन्टीङ प्रविधिको व्यापक विकास र प्रयोग र थोरल्याब्स (यूएसए), ल्यूमेरिकल (क्यानाडा) र लुसीडा फोटोनिक्स (बेल्जियम) लगाएतका कम्पनीहरुले फुटुङका बैज्ञानिकलाई सहयोग गरेका छन् । बुधबार राजधानीमा बैज्ञानिक संस्थाहरुले आफ्नो खोजको बारेमा समेत जानकारी दिएका छन् । कार्यक्रममा शिक्षा विज्ञान र प्रविधि मन्त्रालयका अधिकारीहरु, नास्टका तथा त्रिवि बैज्ञानिकहरु, समाज कल्याण परिषद्का अधिकारीहरु, अभियन्ता महाबिर पुन, चिकित्सकहरु, म्यान्चेस्टर विश्व विद्ययालयका प्राध्यापकहरु, वोल्ड इनोभेसन फोरम (जेनेभा) का अध्यक्ष लगायत स्वदेशी र विदेशी बिज्ञहरुले सहभागिता जनाएका थिए । प्राविधिक विकासका लागि छलफल गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल उपस्थित थिए । कार्यक्रममा डाक्टर गोपाल लामाले नेपालमा बढ्दो वायू प्रदुषणले दमको रोग वृद्धीमा सघाउ पुर्याएको भन्दै आगामी दिनमा यसको औषधी खोज्न भन्दापनि सकेसम्म रोग नै नलाग्ने बातावरण निर्माण गर्न जोड दिनुपर्ने बताए । साथै, आगामी दिनमा फोक्सोको समस्याका लागि अती–सुक्ष्म–प्रकाशकीय चिप सहयोगी हुने बताए ।