अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न
काठमाडौं । विश्व रंगमञ्च दिवस थिएटर मल कीर्तिपुरमा मनाईएको छ । मार्च २७ दिवसको अवसरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल कीर्तिपुरमा संक्षिप्त कार्यक्रम गरेर मनाएको हो । महोत्सव आयोजक सात संस्थाहरु एक्टर्स स्टुडियो, कथा घेरा, मण्डला थिएटर, वन वल्र्ड थिएटर, शिल्पी थिएटर, थिएटर मल र थिएटर भिलेजले कार्यक्रमको आयोजना गरेको हो । रंगकर्मी, कलाकर्मीको जमघटका माझ छोटो नाट्य प्रस्तुतिका र विश्व दिवसको सन्देश वाचन गर्दै दिवस मनाइएको हो । सबिर चुरौटे र सञ्जिता पराजुलीले तयार पारेको नाट्य प्रस्तुति ‘फादर करिअरः एन एक्सपेरिमेन्ट’बाट सुरु भएको कार्यक्रममा सम्पन्न नाट्य महोत्सको संक्षिप्त समिक्षा पनि गरिएको थियो । प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले रंगमञ्चसम्बन्धी सरकारी निकाय भएपनि उल्लेखनीय कामहरु हुन नसकेको स्वीकार्दै आगामी दिनमा नेपाली रंगमञ्च बारे योजनाहरु तय गर्न छलफल गर्न तयार रहेको बताए । कवि विप्लव प्रतीकले नेपाली रंगमञ्चको एकताको विम्वको रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफल रुपमा सम्पन्न भएको उल्लेख गरे । त्यस्तै सन् १९६५ पछि विश्व रंगमञ्च दिवस मनाउन थालिएको विश्व परिप्रेक्षमा बोल्दै डा. अभि सुवेदीले वर्तमान नेपाली रंगमञ्चलाई युवा पुस्ताले सक्रिय बनाइरहेको उल्लेख गरे । महोत्सव निर्देशक राजन खतिवडाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै विश्व रंगमञ्च दिवस समेत एकवद्ध भई मनाउन पाउनु नेपालको रंगमञ्च क्षेत्रका लागि सकारात्मक पाटो भएको बताए । रंगकर्मी सरिता गिरीले विश्व रंगमञ्च दिवसको सन्दर्भमा आएको विश्व सन्देश वाचन गरेकाे थिइन् । यस वर्ष क्युवाका रंगकर्मी कार्लोस सेल्ड्रानले विश्व सन्देश प्रेषित गरेका थिए । कार्यक्रममा रंगकर्मी केदार श्रेष्ठले नाटकघर खोलेकै महिना कीर्तिपुर रंगमञ्चमा विश्व रंगमञ्च दिवस पाउनु सुखद रहेको बताए । रंगकर्मी आकांक्षा कार्कीले उद्घोषणको क्रममा रंगमञ्च दिवसलाई आफ्नो जन्मदिन जस्तो लाग्ने बताइन् । कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलको सहकार्यमा गत महिना नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल, कीर्तिपुर रंगमञ्चको उद्घाटन गरेको थियो ।
४ वर्षे कार्यकाल पूरा गरेका नेपाल बैंकका सिइओ शाहको सम्मान सहित बिदाई
काठमाण्डौँ । ४ वषदेखि नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)को जिम्मेवारी सम्हाली आफ्नो कार्यकाल पूरा गरेका देवेन्द्रप्रताप शाहलाई बिहीबार एक समारोहका बीच बिदाई गरिएको छ । निवर्तमान सिइओ शाहलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी, नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी र विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरे । सो अवसरमा सञ्चालक समितिका अध्यक्ष अधिकारीले सिइओ शाहसँग छोटो समयमात्र काम गर्न पाएतापनि उहांको परिपक्व व्यवस्थापन शैलीबाट आफू अत्यन्त प्रभावित भएको बताए । उनले भने–उहाँको कार्यकालमा वित्तीय सवलिकरणमा बैंकले उच्च सफलता प्राप्त गरेको छ । सो अवसरमा निवर्तमान सिइओ शाहले नेपाल बंैक बिरामी रहेको र सुधारात्मक काम गर्दा गर्दै ४ वर्षे कायकाल पूरा गरेको बताए । खुद सम्पत्ति, पूँजी पर्याप्तता अनुपात, प्रति शेयर आम्दानी, खुद नाफा लगायतका अधिकांश परिसूचकमा बैंकलाई पाँचौ–छैठौं स्थानमा ल्याउन सकेको भन्दै उनले सन्तोष व्यक्त गरे । यस अवधिमा आफूले गर्न नसकेका कामहरुबारे बैक संचालक समितिलाई सुझाव पेश गरेको उनले बताए । बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण समय आएको बताउँदै उनले भने– आगामी दिनमा नयाँ सोच, खोज र कार्यशैलीका साथ ग्राहक केन्द्रित भई नतिजामुखी ढंगले अघि बढ्नु जरुरी छ । अब पूर्ण मानिस बन्ने प्रयत्न आगामी दिनमा योजनाबारे प्रकाश पार्दै शाहले आफू एक लेखक पनि भएको र यस बैंकमा आएपछिका सुनौला १४६० दिनमा हरेक दिन केही न केही लेखेको बताए । अब ती लेखिएका कुराहरु सम्पादन गर्ने र जीवनको लामो खण्ड व्यावसायिक व्यस्ततामा बिताउँदा पारिवारिक सामाजिक जीवनमा पूर्ण मानिस बन्न नसकेकोमा बताउँदै भने-अब पूर्ण मानिस बन्ने प्रयत्न गर्नेछु । उक्त कार्यक्रममा बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेडलाई वित्तीय हिसावले सवल र गतिशील बनाउन निवर्तमान प्रमुख कार्यकारी अधिकृत शाहले पुर्याएको योगदानको चर्चा गरे । उनले आगामी दिनमा बैंकको प्रमुख सद्भाव राजदूतको भूमिका निर्वाह गरिदिन शाहलाई आग्रह गरे । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजनमा प्रवन्धक अश्विनकुमार पुडासैनीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा बैक संचालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंकमा कार्यरत यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । शाहले खुल्ला प्रतिष्पर्धाबाट २०७१ चैत ११ गते नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल यही चैत ११ गते सकिएको थियो ।
विहिबार सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै
काठमाडौं । बुधबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार १ सय रुपैयाँ घटेर प्रतितोला ६० हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ सय रुपैयाँ घटेर विहिबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । वुधबार प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै विहिबार लामोदेखि स्थिर रहेको चाँदीको मूल्यमा परिवर्तन आएको । बुधबार प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको चाँदी विहिबार प्रतितोला ७३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
हस्ताक्षर गर्ने वित्तिकै झोलामा पैसा बोकेर केहि आउँदैनन्
हरिभक्त शर्मा काठमाडौं । लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले आ आफ्नो तर्फबाट योगदान गरिरहेका छौं । धेरै लामो समयपछि नेपालको माटोमा यति ठूलो संख्यामा विदेशी लगानीकर्ता आएका छन् । त्यसकारण नेपालको लगानीको वातावरण माथी उनीहरुको संशय हटाउने यो राम्रो अवसर हो । नेपाल विगतमा राम्रो लगानी गन्तव्यका रुपमा मानिदैनथ्यो । तर अहिले नेपाल परिवर्तन भएको छ । नेपालमा लगानी गरेर विदेशी कम्पनीहरुले व्यापक रुपमा मुनाफा कमाएका छन र कमाउन पनि सक्छन् । नेपालमा विदेशी लगानीको सफलताको जुन रेट छ, त्यो भनेको उच्च नाफा नै हो । नेपालमा विदेशी लगानीको प्रतिफल अद्दितिय छ । राम्रो मात्रै होइन की संसारकै सबै भन्दा बढी नाफा कमाउने बजारका रुपमा नेपाल रहेको छ विदेशीकर्ताका लागि । यद्यपी नेपालमा विदेशी लगानी कर्ताहरुको संख्या भने कम छ । त्यसकारण हामीले यसलाई नै बजारीकरण गर्नुपर्ने अवस्था छ । नेपालमा अहिले भएको परिवर्तनपछि बनेको सरकार र सरकारले विदेशी लगानीकर्ताका लागि लिएको नीति पनि राम्रो छ । यो लगानी सम्मेलन भनेको विदेशी लगानीकर्तालाई आफ्ना नीति बुझाउने अवसर हो । नेपालमा जति पनि कानुनहरु परिवर्तन भैरहेका छन् तिनमध्ये केहिमा व्यापक छलफल भएको छ भने कतिपय हतारमा पनि आएका छन् । त्यसकारण हामीले चीन, भारत, बंगलादेश, श्रीलंका या पाकिस्तान सरहका लगानी मैत्री कानुनहरु बनाउनुपर्छ भन्ने सहमति पनि भएको छ । कानुनहरु समयसँगै सुधार हुँदै जानेछन् । अर्काे कुरा नेपालको बजार आफैंमा ठुलो छैन भनेर विदेशीले भनिरहेका छन् । तर हामीसँग चीन, भारत र सिंगो दक्षिण एसियाको बजार उपलब्छ छ । त्यसकारण साढे ३ देखि चार अर्ब डलरसम्मको परियोजना तयार पारिएका हुन् । यी परियोजना युरोप वा अमेरिकाका भन्दा साना होइनन् । यी विकसित मुलुकका लागि पनि साना होइनन् । ठूला र विकसित देशमा पनि एक सय मिलियन डलर भन्दा माथीका परियोजना धेरै सानामा गनिँदैनन् । हामीले साइड लाइनमा प्रि समिट रिसेप्सन गर्दैछौं । निश्चित विदेशी लगानीकर्ता, सरकारी निकाय र स्वदेशी लगानीकर्ता बसेर साइडलाइन वार्ता गर्छाै । बिजनेश टु बिजनेश छलफल गर्छाै । त्यसले पनि धेरै विदेशी लगानीकर्ताका लागि नेपालमाथी विश्वास गर्ने वातावरण बन्छ । हामीले बुझ्नै पर्ने कुरा, आज सहि गरेर भोली पल्टै झोलामा पैसा राखेर हाम्रा बैंकमा राखिदिने कुरा कुनै पनि लगानी सम्मेलनमा हुँदैन् । लगानीकर्ताहरुले नेपालको लगानी र बजारका विषयमा अध्ययन गर्छन्, हामीसँग कुरा गर्छन् । सरकारसँग वार्ता गर्छन् । अनि मात्रै लगानी गर्ने हो । त्यसकारण पनि यो लगानी सम्मेलन नेपालका लागि ठूलो अवसर हो । यसको अधिकतम सदुपयोग गरेर नेपाललाई विश्वकै उत्कृष्ठ लगानी गन्तव्यका रुपमा चिनाउनुपर्छ । (नेपाल उद्योग परिसंघका अध्यक्ष शर्माले व्यक्त गरेको विचार)
एनएविएचमा सूचिकृत हुनेमा मेडिसिटी अस्पताल नेपाल कै पहिलो
काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएविएच) मा सूचीकृत भएको छ । बुधबार आयोजित एक समारोहमा नेशनल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गरे । बालगुरु आदित्यले ‘मूल्यबापत मात्र सेवा दान होइन, उपचार सेवाबापत जीवन उपहार देऊ’ भन्ने लिखित आशीर्वचन प्रदान गरेका थिए । अध्यक्ष महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिँदै अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने बताए । उनले भने, “समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थक बनाउन अरुको मुख ताक्नु हुँदैन आफैँले केही गर्नुपर्छ ।” सो अवसरमा एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले नेपालको स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरमा पुगेकामा बधाई दिए । अस्पतालका कार्यकारी निर्देशक चिकित्सक समता प्रसादले अस्पतालका सेवाका बारेमा जानकारी दिएका थिए । यता, सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएविएच) मा सूचीकृत भएको अवसरमा आयोजित कार्यक्रममा उनले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन, स्वस्थ्य हुनुपर्छ भने । राजनीति स्थायित्व पछि मुलुक आर्थिक समृद्धिको यात्रामा द्रुतरुपमा अगाडि बढेको चर्चा गर्दै उनले अब गरीबी र अभाव अन्त्य हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “लोकतान्त्रिक विधि र पद्धति, कानूनी शासन, जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक र सामाजिक जीवन माथि उकास्न लागिपरेको छ । गरीबी, पछौटेपन अन्त्य गर्न सरकार दृढ सङ्कल्प छ ।” आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उनले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको छ भने । प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताए । प्रधानमन्त्री ओलीले यहाँको हावापानी, वातावरण विश्वमा कमैमात्रमा पाइने हुँदा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा शिक्षा र स्वास्थ्यका क्षेत्रको उत्कृष्ट गन्तव्य केन्द्रका रुपमा विकसित गर्न सकिने धारणा व्यक्त गरे । हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको छ भने । प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेका पुरानो र ठूला वीर, शिक्षण अस्पताल, धरान अस्पतालले किन अन्तर्राष्ट्रिय मान्यता पाएनन् भन्ने प्रश्न गर्दै सार्वजनिक सम्पत्तिलाई अपनत्व ठान्दै जनताको सेवामा अधिकतम् उपयोगमा ल्याउन आग्रह गरे । उनले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताए । उनले समृद्धिको आधार नै स्वास्थ्य भएकाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको जानकारी दिँदै पछिल्लो समय नसर्ने रोग नियन्त्रणमा चुनौती थपिएको छ भने । उपप्रधानमन्त्री यादवले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना, नयाँ स्वास्थ्य नीति, सरकारी स्वास्थ्य संस्थालाई उपकरण, जनशक्ति तथा पूर्वाधारका क्षेत्रमा बलियो बनाउन लागिएको जानकारी दिए । के हो एनएविएच अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, प्रविधि, बिरामी मैत्री पूर्वाधार तथा मापदण्ड लगायतका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सूचीकृत एनएविएचले गर्दछ । नेपालकोतर्फबाट सो सूचीमा पाउने नेपाल मेडिसिटी अस्पताल पहिलो बन्न पुगेको छ । यसले अस्पताल र स्वास्थ्य सेवा प्रदायकको विभिन्न पद्धति र विधिबाट सूक्ष्म अनुगमन गरी स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरको हो भन्ने प्रत्याभूति गर्दछ । भारतका ठूला १७ हजार अस्पतालमध्ये ५९२ अस्पतालले मात्र एनएविएच प्राप्त गरेका छन् । भारत बाहिर फिलिपिन्सपछि नेपालको सो अस्पताले एनएविएच प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार पनि सो अस्पताल उत्कृष्ट बनेको छ । जनशक्ति, पूर्वाधार र प्रविधिको उत्कृष्ट समायोजनले गर्दा अस्पतालले सो उपाधि प्राप्त गर्न सफल रहेको बताइन्छ ।
चिनियाँ भन्सार कार्यालयले कटौति गर्दैछ करको दर, कमजोर उद्योगलाई धरासायी बन्न नदिने
बेइजिङ, चीन । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ । चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धरासायी बन्न नदिने प्रयासस्वरूप उक्त योजना ल्याउन लागेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ सामान्य भन्सार प्रशासनले बुधबार कर छुटबारे जानकारी गराउँदै भन्यो, “सरकारले आगामी अप्रिल १ देखि लागू हुनेगरी उक्त कर छुट योजना ल्याएको र सामान आयातमा दिइने छुटबाट सरकारले यस बर्ष ३३ अर्ब ५० करोड अमेरिकी डलर बराबरको दायित्व बहन गर्नुपर्नेछ ।” भन्सार कार्यालयले भनेको छ, “करदाताहरूले विदेशबाट ल्याउने सामानमा तिर्दै आएको १६ प्रतिशत करमध्ये तीन प्रतिशत कर छुट पाउनेछन् भने १० प्रतिशत भ्याट बुझाउँदै आएका कम्पनी तथा फर्मले नौ प्रतिशत मात्र कर बुझाए पुग्नेछ ।” सन् २०१८ को मे १ पहिले १७ प्रतिशत र ११ प्रतिशत कर उठाउँदै आएकोमा मे १ पछि सरकारले यसबाट एक प्रतिशत कम अर्थात क्रमश १६ र १० प्रतिशत मूल्य अभिवृद्धि कर उठाउँदै आएको थियो । पछिल्लो निर्णय अनुसार सीमापारबाट इ–कमर्समार्फत आयातित वस्तुको खुद्रा सामानको मूल्यमा पनि कर छुट हुनेछ जसबाट स्वदेशमा निर्माण गरिएका वस्तुको मूल्य सुलभ भई स्वदेशी कम्पनी तथा फर्मलाई एक खर्ब ३५ अर्ब युआन बराबरको लाभ हुने बताइएको छ । चीनको सरकारी कार्यक्रम प्रतिवेदन अनुसार ठूलो दरका कर तथा शुल्कमा यस बर्ष कटौति गर्ने र करदातालाई करको भारमा कटौति गर्ने र घरेलु कम्पनी तथा फर्मको विमाबाट प्राप्त हुने झण्डै दुई ट्रिलियन युआन बराबरको सामाजिक विमाको योगदानबाट मिलान गर्ने आश्वासन दिएको थियो । रासस/सिन्ह्वा
लगानी सम्मेलन लक्षित विप्लवको बन्द फिर्ता
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द फिर्ता लिएको छ । नेकपाले १६ गते शनिबार नेपाल बन्द घोषणा गरेको थियो । सरकारले हेमन्त प्रकाश ओली सुदर्शन लगायत सैयौं नेता कार्यकर्ताको गैर न्यायिक गिरफ्तारी गरेको भन्दै नेकपाले नेपाल बन्द घोषणा गरेको थियो । तर एसइई परिक्षा र नेपाल बार एसोसियसनको निर्वाचन परेकाले बन्दको कार्यक्रम फिर्ता लिएको चन्दले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् । चन्द नेतृत्वको नेकपाले लगानी सम्मेलन लक्षित गर्दै १६ गते शनिबारका दिन नेपाल बन्दको घोषणा गरेको थियो । सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । विदेशी लगानीकर्तालाई आकर्षित गर्न आयोजना गरिएको सम्मेलनमा ६ सय विदेशी लागनीकर्ता सहभागी हुनेछन् ।
लगानी सम्मेलनलाई सघाउँदै लगानीकर्ता संघ, शुभकामनादेखि आन्दोलन फिर्तासम्म
काठमाडौं । पुँजी बजारसम्बद्ध लगानीकर्ता संघहरुले सरकारको लगानी सम्मेलनलाई परोक्ष रुपमा सघाउने भएका छन् । पुँजी बजारको सुधारका लागि भन्दै आन्दोलन गर्दै आएको एउटा पक्षले लगानी सम्मेलनको लागि भन्दै आन्दोलन स्थगित गर्दा अन्य तीनओटा संगठनहरुले उक्त सम्मेलन पुँजी बजारको विकासका लागि सकारात्मक संवाहक भएको निष्कर्ष सहित सफलताको शुभकामना व्यक्त गरेका छन् । बुधबार शेयर लगानीकर्ता दवाव समूहले आफ्नो आन्दोलन लगानी सम्मेलन लक्षित नभएको भन्दै त्यस्तो प्रचारबाजी गरेर आफुहरुविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै सम्मेलनसम्मका लागि आन्दोलन स्थगित गर्दैगर्दा तीन लगानीकर्ता नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र पुँजीबजार लगानीकर्ता संघले उक्त सम्मेलनले लगानी भित्र्याई देशको आर्थिक समृद्धिमा सहयोग गर्ने भन्दै त्यसलाई सफल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । इन्भेष्टर्स फोरमका तर्फबाट अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका तर्फबाट अध्यक्ष उत्तम अर्याल र पुँजी बजार लगानीकर्ता संघका तर्फबाट अध्यक्ष राधा पोखरेले हस्ताक्षर गर्दै सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।