विकासन्युज

ग्रामीण विकास लघुवित्तले तोक्यो बुक क्लोजको मिति, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

दक्षिण कोरियाका नेपालीलाई अब मेगा बैंकबाट रकम पठाउन सजिलो, ‘मेगा रेमिट’ को सञ्जाल बिस्तार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंकले ‘मेगा रेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् । यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ । मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधि मार्फत शून्य मौज्दात मै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले बिभिन्न सुविधा पनि दिएको छ । जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

सिभिल क्यापिटल र ग्राण्डी हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटिड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता भएको छ । संझौतामा ग्राण्डी हस्पिटलका मार्केटिङ हेड दिनेश पौडेल र सिभिल क्यापिटल मार्केट लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जनले हस्ताक्षर गरेका छन् । संझौतापछि सिभिल क्यापिटल मार्केट लिमिटिड मार्फत पूँजीबजारमा सहभागी ग्राहकहरुले अस्पतालले विशेष छुट पाउने छन् ।

अनलाइनबाटै सेयर किनबेच गर्नेलाई प्यान नम्बर पेश गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्न/गराउन दलाल व्यवसायी(ब्रोकर)लाई निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक विज्ञप्तिमार्फत अनलाईन लगइन युजर्स लिएका तर प्यान नम्बर पेश नगरेका ग्राहकलाई एकपटकमा ५ लाख रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्न प्यान नम्बर पेश गर्न गराउन ब्रोकरहरुलाई निर्देशन दिएको हो । नेप्सेले यसअघि नै २०७६ वैशाख १ गतेदेखि दोस्रो बजार मार्फत सेयर कारोबार गर्दा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्न र सो भन्दा कम लगानी गर्ने साना लगानीकर्ताले ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार आवश्यक काम गर्न गराउन ब्रोकरलाई निर्देशन दिएको हो ।

कञ्चनपुर र सुर्खेतमा मुक्तिनाथको नयाँ शाखा बिस्तार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि बिष्टले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । यसैगरी वीरेन्द्रनगर शाखाको वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल(भण्डारी)ले उद्घाटन गरिन् । शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

ग्लोरी–५८० मोडलको एसयूभी नेपाली बजारमा

काठमाडौँ । नेपाली बजारमा ब्राण्ड डोड्फेड सकोन(डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । नेपालको लागि उक्त गाडी कुजु नेपाल प्रालिले भित्र्याएको हो । उक्त गाडीको बिक्री विहीबार देखि नै शुरु भएको छ । डीएफएसकेको ग्लोरी–५८० को कम्प्याक एसयूभीमा १.५ लिटर टर्बोचाज्ड इञ्जिन रहेको छ । जसमा अटोमेटिक सीभीटी ट्रासमिसन रहेको छ । नेपाली बजारमा यी एसयूभीहरु इण्डोनेशियाली प्लान्टबाट उत्पादन भएका हुन् । ग्लोरी–५८० को नेपाली बजारमा लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसन उपलब्ध रहेको छ । यसको मूल्य ६२ लाख ८० हजार रुपैयाँदेखि ६९ लाख ९९ हजार ५ सय रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । गाडी बिक्रीपछिको सेवालाई मध्येनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

बिहीबारको बजार समान्य अंकले बढ्याे, शिवम् सिमेन्टको बढी कारोबार

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । सिमेन्टको एकैदिन २ करोड ६२ लाख ८४ हजार ८१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा ७ रुपैयाँले घटी हो । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको थियो । त्यस्तै, प्रभु बैंकको एक करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६८ कम्पनीको २४ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहिबारकाे नेप्से परिसूचक २.०१ अंकले बढेर ११४४.५३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत बढी हो । बजारमा सबैभन्दा बढी कमाउनेमा सिभिल लघुवित्त रहेका छन् । जसको सेयर मूल्य ५.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १३ गते बसेको संचालक समितिको बैठकले करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षकाे नाफाबाट लाभांश वितरण गर्न लागेकाे हाे । कम्पनीकाे साधारणसभा बैशाख ९ गते हुँदैछ ।