विकासन्युज

५५ अर्बको केबलकार परियोजनामा विदेशी लगानीकर्ता आकर्षित होलान ?

काठमाडौं । मनोरञ्जनको साधनको रुपमा विकास हुँदै गएको केबलकार पछिल्लो समय धार्मिक क्षेत्र केन्द्रित बन्दै गएको छ । मनकामना केबलकारबाट सुरु भएको यातायात अहिले देशभर फैलिने क्रममा रहेको छ । देशमा रहेको धार्मिक क्षेत्रलाई लक्षित गरि केबलकार योजनाहरु अघि बढिरहेको छ । राजधानीमा शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा पनि निजी क्षेत्रले केबलकारमा विदेशी लगानी भित्र्याउने योजना बनाएका छन् । ३ कम्पनीले विदेशी लगानी भित्र्याउन आफ्नो योजना अघि बढाएका छन् । यसरी योजना अघि बढाउनेहरुमा आइएमी ग्रुप, मुक्तिनाथ दर्शन प्राली र स्वर्गद्धारी दर्शन प्राली रहेका छन् । केबलकारको महत्वकांक्षी योजनामा मुत्तिलनाथ दर्शन केबलकार परियोजना रहेको छ । उसले ४४१ मिलियन डलरको योजना बनाएको छ । पछिल्लो समय चन्द्रागीरी केबलकारलाई सफल बनाएका आइएमी ग्रुपले २ वटा परियोजना अघि सारेका छन् । ग्रुपले अन्नपुर्ण सिक्लेस केबलकारका लागि ३१ मिलियन डलर र जालपादेवी केबलकारका लागि १६ मिलियन अमेरिकी डलरको शोकेस अघि सारिएको छ । यस्तै अर्को धार्मिक स्थल स्वर्गद्धारी केबलकारको लागि १६ मिलियन डलरको योजना अघि सारिएको छ ।

नेप्से बढेअनुसार सुधार भएन म्युचुअल फण्डको एनएभी

काठमाडौं । माघ मसान्तको तुलनामा फागुन मसान्तमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक २७.२७ अंकले बढ्यो । माघ मसान्तमा ११२८.१९ अंकमा बन्द भएको परिसूचक फागुन मसान्तमा ११५५.४६ अंक कायम भएको थियो । तर बजारको सकारात्मक वृद्धिका बाबजुद बजारमा सूचिकृत म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मुल्य भने साे अनुपातमा बढ्न सकेकाे छैन । बजारमा २.४२ अंकले वृद्धि देखिँदा म्युचुअल फण्डको मूल्यमा भने ०.९४ प्रतिशतदेखि २.३१ प्रतिशतसम्ममात्र वृद्धि भएको देखिएको हाे । फागुन मसान्तको वित्तीय अवस्थामा आधारित म्युचुअल फण्डहरुको रिपोर्ट अनुसार वित्तीय विवरण प्रकाशन गरेका १२ ओटा फण्डमध्ये सबैको खुद सम्पत्ति र सँगसँगै प्रतिइकाई खुद मुल्य बढे पनि नेप्से परिसूचकअनुसार बढ्न सकेकाे छैन । त्यसमध्ये सिटिजन्स म्युचुअल फण्डको प्रतिइकाई २४ पैसा (२.३१ प्रतिशत) र सबैभन्दा कम एनएमबि हाइब्रिड फण्ड १ को प्रतिइकाइ १० पैसा (०.९४ प्रतिशत) खुद मुल्य वृद्धि भएकाे हो । ग्लोबल आईएमई क्यापिटलको ग्लोबल आईएमई समुन्नत स्कीम–१ को भने वित्तीय विवरण हालसम्म सार्वजनिक भएको छैन । सामान्यतया म्युचुअल फण्डले जनताको ससाना लगानीलाई उठाएर पुँजी बजारमा लगानी गरेर प्रतिफल बाँड्ने काम गर्छ । यस्ता फण्डहरुका सञ्चालक हाई एक्स्पेरियन्सड प्रोफेशनल हुने भएकोले यसबाट बजारको आरोह अवरोहहरुको जोखिम कम गर्दै प्रतिफल सुनिश्चितताको अपेक्षा गरिन्छ । यद्यपि बजार उच्च रुपमा घटेको अवस्थामा सोही अनुरुप खुद मूल्य घट्दै आएका यस्ता फण्डहरुको बजार सकारात्मक देखिँदा पनि एनएभी बजारभन्दा कम दरमा मात्र बढेकाे हाे ।

‘बिप एप’ सार्वजनिक, १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न मिल्ने

काठमाडौं । सिजी लाईफसेलले नेपालमै डाटा सेन्टर रहने गरी एक सामाजिक सञ्जाल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी ‘बिप एप’ सार्वजनिक गरेको हो । ‘सिजी लाईफसेल’ चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो । सिजी ग्रुपले नेपालमै उक्त एपका लागि डाटा सेन्टरको स्थापना गर्दै उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ । यो एपका लागि नेपालमै यसको डाटा सेन्टर स्थापना गरेका छ । सामाजिक सञ्जाल एप सार्वजनिक कार्यक्रममा सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यसले नेपालीको डाटा बाहिर देशमा जानबाट जोगिनुका साथै नेपालको राजश्वमा पनि योगदान पुग्ने बताए । बिप एपबाट सिधै फोनमा पनि कल गर्न सकिने छ । बिप एपबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवम् फाईलको आदान प्रदान गर्न सकिने छ । साथै विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । कम्पनीले ल्याएको उक्त एपमा फोनको भाषा परिवर्तन गर्न सकिन्छ भने निःशुल्क गेमहरु अनलाईनमार्फत खेल्न सकिने लगायतका सुविधा रहेका छन् ।  यस्तै एपमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिने समेत विशेषता रहेको कम्पनीले जनाएको छ ।

आफु हिड्ने बाटोमा छोरीलाई छोड्दै छु, अब तपाईहरुको जिम्मा: निर्देशक झरना थापा

काठमाडौं । अभिनेत्री तथा नव निर्देशक झरना थापाले आफ्नी छोरीलाई चलचित्र क्षेत्रमा ल्याउन सफल भएकी छन् । लामो समय अभिनयपछि निर्देशकका रुपमा दर्शक सामु आएकी झरनाले छोरी सुहाना थापालाई ‘ए मेरो हजुर ३ ’ मा मेगा स्टार अभिनेता अनमोल केसीको जोडी रुपमा पर्दामा उतारेकी छिन् । ४ वर्षको उमेरमा ‘ए मेरो हजुर’ मा बाल कलाकारको रुपमा देखिएकी सुहानालाई हाल नायिकाको रुपमा देखिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’ को दुई गीतबाटै सुहानालाई चलचित्र क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । ‘फिल्मी ब्लड’ भएका कारण उनको काम राम्रो हुने विश्वास धेरैको छ । बुधवार चलचित्रको ट्रेलर रिलिज र आफ्नो बर्थडे केक काट्दै अभिनेत्री तथा निर्देशक झरनाले छोरी सुहानाको चलचित्र हेरेपछि जो कोहीले तारिफ गर्ने दाबी समेत गरिन् । उनले भनिन्, ‘जसरी म विगतमा यहाँहरुको मन मस्तिष्कमा बस्न सफल भएँ, त्यसरी नै छोरी पनि सफल हुने छिन् । उनले अगाडि भनिन्, ‘म आफू हिँडेको बाटोमा छोरीलाई पनि लिएर आएको छु । आजबाट तपाईंहरु माझ मेरी छोरी सुहानालाई सुम्पिएको छु ।’ चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल, सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत उपस्थित थिए । ट्रेलरमा अनमोललाई सुपरस्टार गायक र एक साधारण युवक गरि दुई अवतारमा देख्न सकिन्छ । चलचित्रले एक स्टार र फ्यानबीचको प्रेमकथा बोकेको निर्देशक झरनाले जानकारी दिइन् ।

नबिल बैंककाे नयाँ योजना, ३.९४% दरमा १५ लाख र ९.९९% मा डेढ करोडसम्म कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । नबिल नारी अन्तर्गत बैंकले नबिल प्रिमियम नारी बचत खाता र नबिल नारी कर्जाका साथै साना तथा मझौला कार्यक्रमअन्तर्गत महिलाद्वारा सञ्चालित साना व्यवसाय कर्जाको बिहीबार सार्वजनिक गरेको हो । नबिल बैंकले महिला बचत खातामा ४.५ प्रतिशत ब्याजदर दिने भएको छ । उक्त खाता अन्तर्गत क्रेडिट कार्ड, डिमान्ड ड्राफ्ट, लकर लगायतका सुविधा लगायतका सुविधा उपलब्ध हुने बैंकले जनाएकाे छ । कर्जाको ब्याजदर भने १५ लाखको सीमासम्म भए ३.९४ प्रतिशत र सो भन्दा बढी १ रोड ५० लाखसम्म भए ९.९९ प्रतिशतसम्म ब्याजदरमा प्रदान गरिने बताइएको छ । नारी कर्जाको न्यूनतम सीमा भने ५ लाख तोकिएको छ । नबिलले सार्वजनिक गरेको कर्जा योजनामध्ये नबिल नारी कर्जाका लागि आवेदन दिएका आवेदकले ५ कार्यदिनभित्र निर्णय गरिसक्ने बैंकले जनाएको छ । यो ऋण आवेदनका लागि कुनै पनि साझेखारी संस्था भए कम्तीमा ५० प्रतिशत हिस्सा महिलाको भएको र कम्पनी संरचनाको संस्थामा कम्तीमा ५१ प्रतिशत होल्डिङ महिलाको हुनुपर्ने अनिवार्य शर्तको व्यवस्था गरिएको छ । ३.९४ प्रतिशत ब्याजदरको १५ लाखसम्मको कर्जाका लागि भने २१ कार्यदिनसम्म समय लाग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए । यो कर्जा परियोजनाको धितोमा आधारित हुनेछ । यसमा सरकारले तोकेको ६ प्रतिशत ब्याज अनुदान उपलब्ध हुने भएकाले यो कर्जा सस्तो हुन गएको हो । बैंकले नायिका प्रियंका कार्कीलाई नबिल नारीका रुपमा प्रस्तुत गर्दै उक्त बचत तथा कर्जा योजना ल्याएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकलाई धनाढ्यहरुको मात्रै बैंक नभई आम जनताको बैंक बनाउन यस्ता स-साना बचत तथा कर्जा कार्यक्रम ल्याएको बताए ।

त्रिशुलीको आईपीओ बाँडफाँड, प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०-२० कित्ता मात्रै पर्यो

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओको बाँडफाँड बिहीबार भएको छ । कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म निष्काशन गरेको आईपीओमा आवेदक सबैले २० कित्ता शेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । १८ गुणा बढी आवेदन परेको उक्त आईपीओमा कूल एक लाख ५४ हजार ५ सय ५९ जनाले आवेदन दिएका थिए । सबैलाई २० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ३० लाख ९१ हजार १ सय ८० कित्ता बाँडफाँड गरी बाँकी रहेको ५ लाख २ हजार ६ सय ७० कित्ता शेयर गोलाप्रथाबाट ५० हजार २ सय ६७ जनालाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । यसो गर्दा १ लाख ४ हजार २ सय ९२ जनाले २० कित्ता र बाँकी ५० हजार २ सय ६७ जनाले ३० कित्ता शेयर प्राप्त गरेका हुन् । उक्त आईपीओको बिहीबार दिँउसो सिंहदरबारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको सभा हलमा बाँडफाँड भएको थियो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन “अनन्त”को उपस्थितिमा आईपीओ बाँडफाँड भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनलाई पनि २०-२० कित्ता मात्रै शेयर परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । प्रधानमन्त्री ओलीले १० हजार कित्ता र उर्जामन्त्री पुनले १ हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । उक्त आईपीओमा कुल ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ बराबरको ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ता सेयरको माग परेको थियो । आईपीओमा कुल आवेदनमध्ये ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये संस्थागतबाट परेको २९ वटा र दोहोरो आवेदन गरेका १९ जना आवेदकबाट कुल ३८ वटा गरी ६७ वटा आवेदन रद्ध भएको क्यापिटलले बताएको छ । कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो । हाल १० प्रतिशत रकम अग्रिम रुपमा माग गरिएकोमा आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएपछि बाँकी ९० प्रतिशत रकम माग गरिने बताइएको छ । उक्त कम्पनीको शेयरमा ८ प्रतिशतको न्यूनतम मुनाफा सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ । यो बाहेक जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत थप १८ वटा जलविद्युत कम्पनीको शेयर निश्काशन हुन बाँकी छ ।

उद्योग परिसंघलाई चुनाव लाग्यो, ३७ पदका लागि चैत २५ गते मतदान हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघलाई चुनाव लागेको छ । चैत २५ गते हुन लागेको परिसंघको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । परिसंघको १६ औं साधारणसभाले ३७ जनाको राष्ट्रिय परिषद् चयन गर्ने छ । साथै अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि परिवर्तन हुनेछन् । साधारणसभाबाट संस्थापक सदस्यहरु मध्येवाट २० जना, प्रतिष्ठानगत सदस्यहरु मध्येवाट १४ जना र संस्थागत सदस्यहरु मध्येवाट ३ जना चयन हुनेछन् । समूहगत आजीवन सदस्यहरु सोही समूहबाट निर्वाचित हुने परिसंघले जनाएको छ । परिसंघले २२ गते सदस्यहरुको अन्तिम नामावली प्रकाशन गर्ने, २४ गते उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता लिने र २५ गते मतदान हुने जनाएको छ । राष्ट्रिय परिषद्को निर्वाचन भएकै दिन परिसंघको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि परिवर्तन हुनेछ । परिसंघको नयाँ अध्यक्ष सतिशकुमार मोर हुनेछन् । परिसंघमा वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने अभ्यास छ । राष्ट्रिय परिषद् गठन भएको एक वर्षपछि सो परिषदले बरिष्ठ उपाध्यक्ष चयन गर्छ । सामान्यतय परिसंघमा सर्बसहमतिमा नेतृत्व चयन गर्ने अभ्यास रहेकाे छ । निर्वाचनसँगै वर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघबाट विदा लिने छन् । नेपाल उद्योग परिसंघ नेपालका ठूलो व्यवसायिक घरानाहरुको साझा हितमा काम गर्ने संगठन हो ।

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण शुरु, चुहावट घट्ने

काठमाडौ । आर्थिक अवस्था कमजोर भएका(विपन्न वर्ग) घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने सरकारको कार्यक्रम कार्यान्वयन शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निःशुल्क मिटर जडान सुरु गरेको हो । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरिदिने छ । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजार देखि तीन हजार पाँच सय रुपैयाँबराबरको लागत विपन्न वर्गले निःशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी (हुकिङ)मार्फत विद्युत प्रयोग गर्दै आएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका संजालमार्फत विभिन्न वर्गलाई निशुल्क वितरण भइरहेको जानकारी दिए । ‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ’,घिसिङले भने । यस कार्यक्रमले विद्युत्को पहुँच विपन्न वर्गसम्म विस्तार भएको उनले बताए । सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५/५ करोड रुपैयाँ बाँडफाँड गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको संख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन् । प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताए । कार्यालयले ३ हजारभन्दा बढी विभिन्न वर्ग घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ ।