विकासन्युज

मृतक ग्राहक सदस्यको ऋण साधनाले गर्यो मिनाह

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ । शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रकी स्व. सुकुमाया स्याङ्गतान माघ २० गते निधन भएकामा स्व. स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १ सय ९१ रुपैयाँ मिनाहा गरिएको हो । संस्थाले आइतबार स्याङ्गतान कै घर नजिक रहेको नागदह प्राविको प्राङ्गगडमा कर्जा मिनाह कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत ६ हजार १ सय ३० रुपैयाँ मृतकका श्रीमान् सानुकान्छा घलानलाई प्रदान गरिएको थियो । थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले सो रकम प्रदान गरेका र्थि । गर्नुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभागका लामिछानेले वित्तीय संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरी विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको जानकारी गराए ।

माैसमकाे भविष्यवाणीमा चुक्याे महाशाखा; आगलागी र हुरीले १ महिनामै १४ करोड क्षति

काठमाडौं । आइतबार जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र देशभरका विभिन्न भागमा बर्षा हुनसक्ने भविष्यवाणी गरेको थियो । पश्चिमी बायुको प्रभाव विस्तारै पूर्वतिर सर्दै जाने भएकोले पूर्व क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको जनाए पनि महाशाखाले आँधी र हुरी आउनेबारे पूर्वानुमान गरेन । तर सोही दिन भारतीय मौसम पूर्वानुमान प्रणालीले भने विहारको उत्तरी क्षेत्रमा त्यस्तो प्रकृतिको आँधिको भविष्यवाणी गरेको थियो, जसले नेपालको बारा र पर्सा कै क्षेत्र इंगित गरेको थियो । विगतमा वर्षा र हिमपातको भविष्यवाणी पनि नमिलाउने नेपालको मौसम पूर्वानुमान प्रणालीमा ल्याएको सुधारपछि पानी पर्ने र हिमपात पर्ने सन्दर्भमा गर्ने भविष्यवाणी केही हदसम्म मिल्न थाले पनि हावाहुरी आउनेबारे भने पूर्वानुमान गर्ने गरेको छैन । जसका कारण सम्बन्धित क्षेत्रका जनताले प्रकोपको पूर्व तयारी गर्न पाएनन् । जसकाे प्रभावस्वरुप भीषण हावाहुरीका कारण आइतबार मात्रै प्रदेश २ अन्तर्गत तराईका बारा र पर्सा जिल्लामा ठूलो मानवीय र जनधनको क्षति भएको छ ।  हुरीले ३१ जनाकाे ज्यान लिएकाे पुष्टि भइसकेकाे छ भने कराेडाैं बराबरकाे क्षति भएकाे बताइएकाे छ जसकाे विस्तृत विवरण आउन बाँकी रहेकाे राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । यदि नेपालकाे माैसम पूर्वानुमान प्रणालीले त्यस्तो भविष्यवाणी समयमा गरिदिएकाे थियो भने उक्त प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण हुन सक्थ्यो । फागुन महिनामा १४ कराेडकाे क्षति देशभर भएका प्राकृतिक प्रकोप र दुर्घटनामा एक महिनामा करिब १४ करोडको क्षति भएको छ । फागुन महिनाभर भएका विभिन्न घटनाहरुमा ११ जनाले ज्यान गुमाउँदा कुल १३ करोड ९५ लाख रुपैंया बराबरको क्षति भएको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । क्षति भएकामध्ये सबैभन्दा बढी आगलागीको कारणले १३ करोड ६७ लाख भएको छ । त्यस्तै, चट्याङले २३ लाख, बर्षाले २० लाख र जंगली जनाबरको आतंकले करिब साढे ३ लाखको क्षति भएको समेत केन्द्रले जानएको छ । केन्द्रका अनुसार उक्त अवधिमा २५१ ओटा घटना भएका थिए २९३ ओटा आगलागीका घटना भएका थिए भने २९ ओटा चट्याङ्, १८ ओटा जंगली जनावरको आक्रमण, ७ ओटा पहिरो तथा १/१ ओटा हिमपात, डुङ्गा दुर्घटना, भीषण वर्षा र असिनाका घटनाहरु भएका थिए । उक्त घटनाहरुमा मृत्यु भएका १५ जनामध्ये सबैभन्दा धेरै आगलागीमा परि ६ जना, चट्याङले ४ जना र अन्य घटनाहहरुबाट ४ जनाको ज्यान गएको छ भने ती घटनाहरुबाट जम्मा ८७ जना मानिसहरु घाइते भएका छन् । त्यस्ता घटनाले देशभरका ५८२ परिवार प्रभावित भएकोमा डँढेलोले सबैभन्दा धेरै ४४३ परिवारलाई प्रभावित बनाएको छ । जसबाट कुल १८३ ओटा घर पूर्ण र २२ ओटा घर आंशिक रुपमा नष्ट भएको छ । त्यस्तै, जम्मा १५८७ ओटा घरपालुवा जनावरहरुको क्षति हुँदा सबैभन्दा बढी असिनाका कारण १३८४ र आगलागीका कारण १७८ ओटाको क्षति भएको छ । एक महिनाको अवधिमा सडक दुर्घटनाबाट भने २०६ जनाको मृत्यु र ६३२ जना घाइते भएका थिए । उक्त प्रकोपका कारण ३१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने करोडौं बराबरको जनभनको नष्ट भएको बताइएको छ । यद्यपि क्षतिको पूर्ण विवरण आउन केही दिन लाग्नसक्ने र अहिले भने विपद्पछिको पहिलो सहायतामा नै ध्यान केन्द्रित गरेको केन्द्रले जनाएको छ । हुरीबाट कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश २ सरकारले भने ३ लाख रुपैंया राहत दिने निर्णय गरिसकेको छ ।

बारा-पर्सामा हावाहुरीः मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा । गएराति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् । प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, “हामीले प्रत्येक मृतकलाई रु तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।” त्यसैगरी तत्कालका लागि वासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए । रासस

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई)मा शून्य दशमलब ५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६०.४४ डलर भएको छ । जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको हो । इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध तथा ओपेक र अरु मुख्य तेल उत्पादक राष्ट्रहरुले गरेको आपूर्ति कटौतीले पनि यस वर्ष तेलको मूल्यवृद्धि भएको छ । यी प्रतिबन्ध र आपूर्ति कटौतीले विश्व अर्थतन्त्रको वृद्धि र अमेरिका–चीन व्यापार युद्धजस्ता जल्दाबल्दा विषयलाई समेत ओझेलमा पारेका छन् । अमेरिकी उप अर्थमन्त्री सिगेल माल्डेल्करले सिंगापुरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्ने बताए । अमेरिकी अधिकारीहरु मलेसिया, सिंगापुर र अरु मुलुकहरु गैरकानुनी इरानी तेलको कारोबार तथा प्रतिबन्ध छल्न इरानीहरुले अपनाउन सक्ने विधिका बारेमा पूर्ण जानकार रहेका छन्, मन्त्री माल्डेल्करले भने । अमेरिकाले तेलको व्यापार गर्ने कम्पनी र रिफाइनरीहरुलाई भेनेजुएलासँग सम्झौताहरु कम गर्दै लैजान आग्रह गरेको छ । त्यसो नगरिए त्यस्ता व्यापारिक फर्ममाथि अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ । ओपेक र यसका गठबन्धन मुलुकहरु जस्तै रुसबीचको सम्झौतामा प्रतिदिन करिब १२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने उल्लेख छ । यो सम्झौता गत जनवरी १ बाट कार्यान्वयनमा आएकाले पनि तेलको मूल्यमा क्रमिक रुपमा वृद्धि हुन थालेको छ । अमेरिकी तेल उत्पादन पनि मध्य फेब्रुअरीदेखि स्थिर छ । अमेरिकी सरकारको शुक्रबार प्रकाशित एक प्रतिवेदनमा विश्वकै ठूलो तेल उत्पादक राष्ट्र अमेरिकाको तेल उत्पादन जनवरी महिनामा प्रतिदिन १ करोड १९ लाख ब्यारेल रहेको देखाइएको छ । रासस/एपी

दस वर्ष पुराना अक्सिजन सिलिन्डर प्रयोगमा रोक

काठमाडौँ । पर्वतारोहीले आरोहणका क्रममा दस वर्षभन्दा पुराना अक्सिजन सिलिन्डर प्रयोग गर्न नपाउने भएका छन् । पुुराना सिलिन्डरले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै पर्यटन विभागले यस्तो व्यवस्था गरेको हो । मिति नाघेका सिलिन्डर प्रयोग गरेको अवस्थामा कारबाही हुने विभागले स्पष्ट पारेको छ । पुराना तथा म्याद गुज्रेका सिलिन्डरलाई नयाँ सिलिन्डरले प्रतिस्थापन गर्नुपर्ने व्यवस्थालाई विभागले अनिवार्य गरेको छ । यसबाहेक पनि विभागले सिलिन्डरसम्बन्धी निश्चित मापदण्ड नै तोकेर सो अनुसार हुनुपर्ने निर्देशन दिएको छ । विभागका अनुसार पर्वतारोहणका क्रममा प्रयोग हुने सिलिन्डर अमेरिकी र युरोपियन मापदन्डबमोजिमको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै प्रयोग भएका जुनसुकै सिलिन्डर हरेक दुई÷दुई वर्षमा नियमित मर्मत हुनैपर्ने व्यवस्था गरिएको छ । पर्वतारोहीले आरोहणका लागि पर्याप्त सिलिन्डर बोक्नुपर्ने विभागले जनाएको छ । नयाँ मापदन्डअनुसार कम्तीमा दस घण्टाका लागि पुग्ने गरी अक्सिजन सिलिन्डर तयार गर्नुपर्नेछ । त्यसरी सिलिन्डरमा भरिएको अक्सिजन ‘ड्राई’ हुनुपर्ने व्यवस्था विभागले गरेको छ । त्यस्तै विभागले अत्यधिक मूल्यमा अक्सिजन किनबेच हुने प्रवृत्ति नियन्त्रणको प्रयास पनि गरेको छ । जसअनुसार प्रचलित मूल्यभन्दा बढी मूल्यमा अक्सिजन बिक्री वितरण गर्न नपाइने विभागले जनाएको छ । कसैबाट बढी मूल्यमा बिक्री भएको गुनासो आएमा अथवा अनुगमनबाट देखिएमा सम्बन्धितलाई कडा कारबाही गरिने विभागले जनाएको छ । विभागले तोकेका मापदन्डको कार्यान्वयन अवस्था बुझ्न अन्य सरकारी निकायको सहयोगमा अनुमगन टोली गठन गर्ने जनाएको छ । सिलिन्डरकै कारण पर्वतारोहणमा कुनै किसिमको जोखिम पैदा नहोस् भन्ने उद्देश्यले मापदन्ड तयार गरिएको विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोरिया भाषा परीक्षा जेठ २५ र २६ गते, ९२ हजारको आवेदन

काठमाडौं । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९२ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस शाखाका अनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेदन दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् । गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

बारा र पर्सामा हावाहुरीको बितण्डाः कम्तीमा ३० को मृत्यु, ४०० भन्दा बढी घाइते

काठमाडौँ । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी धनजनको ठूलो क्षति भएको छ । हावाहुरीले कम्तीमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पताल सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले भने, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी कम्तीमा ३१ जनाको निधन भएको जानकारी आएको छ ।” उनले ४०० भन्दा बढी घाइते भएका र गाउँगाउँबाट विवरण आउन बाँकी रहेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ । यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उनले बताए । प्रजिअ भट्टराईले भने, “घाइतेको उपचारमा रगत अभाव नहोस् भनी रेडक्रस परिचालन गरी निःशुल्क उपलब्ध गराउन व्यवस्था गरिएको छ । ” विभिन्न स्थानबाट आएको जानकारीको विवरण दिँदै उनले भने, “गण्डक चोकमा यात्रु सवार गाडीलाई नै विनाशकारी हुरीले पल्टाइदिएको छ । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए । ” बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन् । त्यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिए । राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । घटनापछि ट्विट गर्नुहुँदै उनले उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।

बैंकले निःशुल्क बीमा गराउँदा बीमा कम्पनीलाई सकस, कहिलेसम्म पाइन्छ सित्तैमा बीमा ?

काठमाडौ । नबिल बैकले आफ्ना ग्राहकलाई निःशुल्क बीमा सेवा दिएको जनाएको छ । एउटा बचत खाता सम्बन्धि योजनामा बैंकले भनेको छ–‘निःशुल्क बीमा अब बचत खाताबाटै, बिना कुनै बिल र बीना झन्झन्ट ।’ बैंकको यस योजनामा दुईटा कुरा बढो प्रष्ट रुपमा लेखिएको छ । पहिलो, बीमा निःशुल्क हुन्छ । दोस्रो, बैंकमा भएको कारोबारको बील हुँदैन । उपभोक्ताको नजरमा नबिल बैंकले उत्कृष्ट काम गरेको छ । तर नियम, संस्थागत अभ्यास र संस्कारको दृष्टिले उसको काममा केही प्रश्न उठेका छन् । के बीमा सित्तैमा पाइने सेवा हो ? के बैंकले दिने व्यवसायिक सेवामा बील वा अन्य प्रमाणित कागज हुँदैन ? यस विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुरा गर्न धेरै प्रयास गर्यौं तर शाहले कुरा गर्न मानेनन् । नबिल बैंकले ग्राहकलाई लोभ्याउन प्रयोग गरेको प्रचारशैली गलत भएको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई बताए । ‘कुनै पनि बैकले बीमा योजनाको प्रचारमा निःशुल्क शब्द प्रयोग गर्नु गलत हो, त्यो भ्रम फैलाउने काम हो’ चापागाईले भने–‘बीमा सेवा निःशुल्क हुनै सक्दैन ।’ अध्यक्ष चापागाईँका अनुसार बीमा समितिले धेरै बीमामा शुल्क तोकेको हुन्छ । त्यसमा कसलाई कति छुट दिन सकिन्छ भनेर पनि स्पष्ट रुपमा लेखेको हुन्छ । त्यसबाट दायावायाँ कसैले पनि गर्न मिल्दैन । साथै, कुनै पनि बीमा कम्पनीले बीमा समितिसँग स्वीकृत नलिई बीमा लेख (इन्स्योरेन्स पोलिसी) बेच्न पाउँदैनन् । अहिलेसम्म कुनै पनि बीमा कम्पनीले यस्तो पोलिसी लिएका छैनन् । बीमा कम्पनीले दिन नसक्ने बीमा सेवा कुनै पनि बैंकले दिन सक्दैन । ‘कुनै पनि बैकले बीमा योजनाको प्रचारमा निःशुल्क शब्द प्रयोग गर्नु गलत हो, त्यो भ्रम फैलाउने काम हो । बीमा सेवा निःशुल्क हुनै सक्दैन ।’ -चिरञ्जीवि चापागाई पछिल्लो समय बैंकहरुले बीमा कम्पनीको संस्थागत अभिकर्ता भएर बीमा सेवा पनि दिईरहेका छन् । बैंकहरु पनि बीमा सेवा प्रदान गर्ने कार्यमा संलग्न भएपछि बीमाको पहुँच पनि बढेको छ । दुई वर्षअघि बीमाको पहुँच १० प्रतिशतभन्दा कम रहेकोमा अहिले १७ प्रतिशतभन्दा माथि पुगेको तथ्याङ्कले देखाउँछ । ‘बैंक र बीमा कम्पनी मिलेर बैंकास्योरेन्सको काम हुनु असाध्यै राम्रो काम हो । तर बैंकहरुले बीमा सेवा निःशुल्क भनेर प्रचार प्रसार गर्दा त्यसले भोलिका दिनमा बीमा कम्पनीहरुलाई व्याकफाएर गर्ने स्थिति आउँछ’ अध्यक्ष चापागाई विकासन्युजसँग भने । बैंकहरुले बीमालाई निःशुल्क भनेर प्रचार प्रसार गरेपछि बीमा कम्पनीहरुलाई बजारीकरण गर्न कठिन भएको सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमले भने । ‘बैंकहरुले घातक रोगको उपाचार समेत निःशुल्क भनेर प्रचारप्रसार गरेपछि बीमा कम्पनीहरुले शुल्क लिएर कसरी बीमा गराउन सकिन्छ ?’ गौतमले गम्भिर प्रश्न उठाए । पछिल्लो समय बैंकमा निक्षेप राख्दा वा बैंकबाट कर्जा लिँदा बीमा सित्तैमा हुन्छ भन्ने सन्देश बजारमा गएको र बीमा कम्पनीहरुले सर्बसाधारणलाई बीमा गर्नुपर्छ भन्दा पनि सित्तैमा गर्ने भए मात्र बीमा गर्छु भन्ने तर्क गर्न थालेका बीमकहरुको भनाई छ । सन नेपाल लाइफ इन्स्योरेन्सकाे याेजनामा बीमा शुल्क प्रष्ट लेखिएकाे छ । बैकहरुको नियमक नेपाल राष्ट्र बैक र बीमा कम्पनीको नियामक बीमा समिति भएकाले दुवै निकायले यो विषयमा गम्भीर भई सुधारको काम गर्नु पर्ने देखिएको समितिका अध्यक्ष चापागाईले बताए । ‘तपाईले उठाउनु भएको विषय गम्भिर छ । बीमा सित्तैमा हुनै सक्दैन । निःशुल्क बीमा भनेर प्रचार प्रसार गर्ने कार्य बन्द गर्नुपर्छ’ चापागाईँले भने–‘बैकहरुले निःशुल्क शब्द राख्नुभन्दा ‘रक्षाकवच’ भन्ने शब्द प्रयोग गर्दा उचित हुन्छ ।’ जहाँ प्रिमियम तिरिदैन, त्यहाँ बीमा नहुने अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको भनाई छ । ‘बैकहरु आफैले प्रिमियम तिर्ने भएकाले निःशुल्क भनिएको होला । तर यसमा निःशुल्क शब्द राख्नुको औचित्य छैन’ खत्रीले भने–बैंकहरुको यस्तो अभ्यासले निर्जीवन बीमाको क्षेत्रमा ठूलो असर नपरे पनि जीवन बीमाको क्षेत्रका लागि नकारात्मक असर पर्न सक्छ । बैंकर्सको फरक मत बैंकले बीमा गर्दा सेवाग्राहीसँग शुल्क नलिए पनि बीमा कम्पनीलाई बीमा शुल्क तिरेर नै बीमा गरिएको हुने बैंकर्सहरुको भनाई छ । एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको भन्छन् –‘बैकले एकै ठाउँबाट ग्राहकलाई बैकिङ र बीमाको सुविधा दिएका छन् । बैंकले ग्राहकसँग बीमा शुल्क भनेर नलिए पनि बीमा कम्पनीलाई शुल्क तिरेको हुन्छ । यसले ग्राहक वर्गलाई दोहोरो सुविधा भएको छ ।’ निःशुल्क बीमा भनेपनि प्रिमियम बैकले नै तिर्ने भएकाले यो योजनालाई ग्राहकलाई दिने सुविधाको रुपमा बुझ्न आवश्यक रहेको उनको भनाई छ । जीवनमा जोखिम हुने भएकाले बैकले आफ्ना प्रडक्ट तयार गर्दा बीमा सेवालाई पनि समावेश गरेको जनाउँदै यस्तो सेवाले बीमा तथा बैक दुवैको व्यापारमा सुधार हुदै जाने, ग्राहकलाई पनि सेवा सुविधा राम्रो हुने उनले बताए । कस्ता छन् बैंकका योजना ? नबिल बैकले आफ्नो प्रचार सामाग्रीमा लेखेको छ–‘निःशुल्क बीमा अब बचत खाताबाटै, बीना कुनै बील र बीना कुनै झन्झट’ बैकले व्यक्तिगत बचत खातामा २५ हजार रुपैयाँ वा बढी जम्मा गर्ने ग्राहकलाई ३ लाख सम्मको बीमा निःशुल्क हुने बताएको छ । १३ वटा प्राण घातक रोगका लागि बैकले यो बीमा सुविधा दिने जनाएको छ । साथै, ७५ हजार रुपैयाँ मृत्यु लाभ बीमा सुविधा हुनेछ । त्यस्तै, माछापूच्छ्रे बैकले ल्याएको स्मार्ट बचत योजनामा खातावालको दुर्घट्नामा परि निधन महिनाभरीको असौत वचतको पाँच गुणा वा बढीमा ५ लाख रुपैयाँको बीमा हुने छ । त्यस्तै, एनएमबी बैक र सनराईज बैंकले बचतकर्ताको १० लाखसम्मको बीमा हुने योजना ल्याएका छन् । सरकारको प्रत्यक्ष निर्देशनमा नेपाल बैंकर्स संघले निक्षेपको अधिकतम व्याजदर सीमा तोकेपछि बैंकहरुले बीमा सेवा निःशुल्क भन्दै ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेका छन् । तर उनीहरूकाे प्रयासले बीमा व्यवसायीहरूकाे लागि जटिल समस्या निम्त्याउँदैछ ।