नाफिजको पहलमा अग्रज पत्रकार बुढाथोकीलाई ९२ हजार आर्थिक सहयोग
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को पहलमा अग्रज आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ९२ हजार रुपैंयाँ सहयोग प्रदान गरिएको छ । नाफिज कार्यसमितिका सचिवालय सदस्य अजमत अलिको समन्वयमा अग्रज पत्रकार बुढाथोकीलाई कतार च्यारिटीले ९२ हजार ४ सय ४२ रुपैंयाँ सहयोग गरेको हो । केहि समयदेखि उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल अट्षक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनका च्यारिटीले सहयोग प्रदान गरेको हो । बुढानिलकण्ठ नगरपालिका कपन स्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरे । नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानिया, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्तिथीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ । लामो समयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट गरे । यस प्रकारको सहयोगले आफुलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए । बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
ग्रिनलाइफ हाइड्रो पावरको शेयर बाँडफाँड, आवेदन दिनेले मागेजति पाए
काठमाडौँ । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको आइतबार बाँडफाँड गरिएको छ । बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाका वासिन्दाको लागि शेयर निष्काशन गरिएकोमा माग भन्दा कम आवदेन परेकाले माग बमोजिम सबैले शेयर पाएका छन् । आयोजना प्रभावित क्षेत्रका १२१६ जना स्थानीय वासिन्दाले भरेको आवेदन अनुसार नै १ लाख ३ हजार ६ सय कित्ता शेयर बाँडफाँड गरिएको बीओके क्यापिटलले जनाएको छ । आइतबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौँ प्लाजामा कम्पनी रजिष्ट्रारको कार्यालय, निष्काशन कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रालिका प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड गरिएको हो ।
सडक विभागमा केशव शर्मा, हटाईए श्रेष्ठ
काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका छन् । ‘आजै मात्र पत्र बुँझे, भोलीबाट कार्यालय सम्हाल्छु’, शर्माले भने । महानिर्देशक नियुक्त भएका शर्मा यस अघि सडक विभागकै वैदेशिक समन्वय महाशाखामा कार्यरत थिए । शर्माले आफ्नो नेतृत्वमा सडकहरुको तिब्र निर्माण र गुणस्तरियता अभिवृद्धि गर्ने प्रतिववद्धता व्यक्त गरे ।
सर्किट ब्रेकमा नयाँ व्यवस्था, चैत १९ गतेदेखि कार्यान्वयन हुने
काठमाडौँ । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर मूल्य चार प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने भएको छ । स्टकले सर्किट ब्रेकको प्रणालीमा नयाँ व्यवस्था गरी यही चैत १९ गते मङ्गलबारदेखि कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकको नयाँ व्यवस्थाअनुसार कारोवार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ । स्टकका अनुसार स्वचालित अनलाइन कारोवार प्रणाली कार्यान्वयनमा आएपछि तीन हजार ५५७ लगानीकर्ता समावेश भएका छन् । दैनिक अनलाइन कारोवारमा सक्रिय लगानीकर्ताको सङ्ख्या ५९६ रहेको छ । स्टकले अनलाइन कारोवारका लागि धितोपत्र दलाल व्यवसायीको कार्यालयमा गएर युजरनेम र पासवर्ड लिनसमेत आग्रह गरेको छ । अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित बनाउन ‘नेशनल क्लियरिङ हाउस लिमिटेड’को प्रणालीमा आवद्ध गराई त्यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइनमा नै रकमको हस्तान्तरणको व्यवस्था मिलाइएको छ ।
सोमबार एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री हुँदै
काठमाडौँ । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइताबार एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु एक अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, रु तीन अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
सहुलियत कर्जामा बैंकहरुको अटेरी, ६ जनाले मात्रै पाए प्रमाण धितो राखेर ऋण
काठमाडौं । बैंकहरुले सहुलियत कर्जा कार्यान्वयनमा अटेरी गरेका छन् । सरकारले महत्वकांक्षी योजनाका रुपमा अघि सारेको सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिले दिएका ७ प्रकारका कर्जा प्रवाहमा बैंकहरुले अनिच्छा देखाएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर हालसम्म ६ जनाले कर्जा पाएका छन् । ‘हालसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर ६ विद्यार्थीले ३८ लाख लिएका छन्, उच्च प्राविधिक तथा व्यवसायिक कर्जामा २ जनाले १० लाख लिएका छन् ’, डेपुटी गभर्नर श्रेष्ठले भने । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा वितरणमा आनाकानी गर्ने बैंकहरुलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ तर बैंकहरुले भने टेरिरहेका छैनन् । ‘बैंकहरुको अनिच्छा र सर्वसाधारणले सूचना नपाएकाले सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कर्जाले सफलता नपाएको हो’, राजधानीमा आयोजीत एक कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले भने । यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया स्नातक तहसम्म उतिर्ण गरेकाहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म् ऋण पाउनेछन् । शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।
कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको बानेश्वरमा
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नं १०, बानेश्वरमा बैंकका संचालक विश्वेश्वर सुबेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको शुरुवात गरेका हुन् । प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले राजधानीको लागि छैठौँ शाखा सूचारु भएको छ । थपशाखाहरु प्नि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकले हालसालै प्रस्तुत गरेका विभिन्न अभूतपूर्व प्रोडक्ट्सहरुको बारेमा जानकारी दिए । हाल कामना सेवा विकास बैंकले ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायतमा माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
नेपाल बङ्गलादेश बैंकको ८६ औं शाखा दमकमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा दमकमा विस्तार भएको छ । ८६औं शाखा संचालनमा ल्याउने क्रममा झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुरु भएको हाे । सो शाखाको उद्घाटनमा दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा गरिएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा बताए । बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । दमक शाखाहरु सहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ६७ वटा बैंकबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।