विकासन्युज

एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यस बैंकमा करिब १४ लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ ।

हावाहुरीका कारण प्राधिकरणको १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ । हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् । क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटौँडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिए । हावाहुरीले प्राधिकरणका तार चुन्डेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ । प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिए । विद्युत् प्रणालीमा क्षति पुगे पनि विद्युतीय दुर्घटना हुन नदिन प्राधिकरणले सजगता अपनाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता अधिकारीले दैवीप्रकोपबाट हुन पुगेको प्रणाली सुधार गर्न सबै प्रकारको साधन र स्रोत परिचालन गरिएको बताए । बारा र पर्साका क्षेत्रका बाहेक देशभर विद्युत् प्रणालीमा कुनै पनि समस्या नरहेको प्राधिकरणले स्पष्ट पारेको छ । रासस

जनताको जलविद्युतमा समेटिए रसुवागढी र साञ्जेन, साधारण शेयर बिक्री कहिले ?

काठमाडौँ । सरकारले जनताको जलविद्युत् कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनालाई समावेश गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो । बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको ती दुई कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले सो कार्यक्रममा दुई आयोजना थप भएको जानकारी दिए । नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ । रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ वटा आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । रासस

हावाहुरी पीडितलाई नेकपाका सांसदले एक दिनको, काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने

काठमाडौँ । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र स्वास्थ्यलाभको कामना गरे । उपनेता नेम्वाङले पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्षणसमेत गराएका छन् । काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने यता, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । सो विपद्मा २९ जनाभन्दा बढीको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् । राजपाले पाँच लाख सहयोग गर्ने यता, राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताए । घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ । साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ । राजपाले प्राकृतिक विपत्को अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । बारा र पर्सामा आइतबार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म २७ जनाको मृत्यु भएको छ । रासस

अबको बजेटमा स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाइन्छः अर्थमन्त्री

लुम्बिनी । विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । रुपन्देहीको धकधइमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने, “लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम गर्ने सहमति गरेका छौँ ।” उनले लुम्बिनीका लागि विदेशी अर्बौं लगानी गर्न तयार भएको बताए । अर्थमन्त्री खतिवडाले लुम्बिनीमा प्रसूति गृहसहितको आधुनिक अस्पताल, सडक विस्तार जस्ता आयोजना हुने बताए । उहाँले आगामी बजेटमा बुद्ध सर्किटको आयोजना प्राथमिकतामा पर्ने बताउँदै सरकारले बेलहिया बुटवल छ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेको बताए । उनले बुटवलको सिद्धबाबामा टनेल वा अन्य प्रविधिका लागि स्वीस सरकारले विद्युत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको बताउँदै उक्त आयोजना निर्माणमा पनि उनीहरुलाई नै अनुरोध गरेको र सकारात्मक भएको बताए । मन्त्री खतिवडाले स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाउने गरी सङ्घीय सरकारले बजेट ल्याउन थालेको बताए ।

ग्लोबल ग्लोबल आइएमईको शाखा संखुवासभाको भोटखोलामा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्ला, भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार भोटखोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरुमा आफ्ना शाखा संचालनमा ल्याएको जनाएको छ । संखुवासभा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । ।

वीरगञ्जको मुरली चोकमा सिद्धार्थ बैंकको शाखा सञ्चालन

काठमाडौँ । सिद्धार्थ बैंकले वीरगंज महानगरपालिकाकोे मुरलीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्तशाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ, जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

ह्वावे पी ३० सिरिज अब प्रि–बुकिङ्गमा उपलब्ध

काठमाडौँ । फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी ३० लाईट विश्वव्यापीरुपमा सार्वजनिक ग¥यो । ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ । यी स्मार्टफोनहरूमा नवीनतम ह्वावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र ह्वावेको नयाँ टाइम अफ फ्लाइट( टीओएफ क्यामरा, परिस्कृत अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडान गरिएको छ । यी परिवर्तनकारी प्रविधिहरूसँगै ह्वावे पी ३०, ह्वावे पी ३० प्रोरपी ३० लाईट मा अविश्वसनीय तस्वीरहरू र भिडियोहरू खिच्ने गर्दछ । ह्वावे पी ३० सिरिज् नेपालभरि नै प्रि–बुकिङ्गको लागि उपलब्ध छ । नेपाली बजारमा ह्वावे पी ३० प्रो को मूल्य १, १९, ९०० रुपैयाँ पर्दछ । ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० र ह्वावे पी ३० लाईटको मूल्य ३९ हजार ९०० रुपैयाँ पर्नेछ । दराज अनलाइनबाट यो फोन प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको जनाइएको छ । प्रि–बुक गर्ने ग्राहकको लागि विशेष उपहारको पनि व्यवस्था छ । ह्वावे स्मार्ट स्केल पी३० लाईटको प्रि–बुकिङ्गको साथ आएको छ र ह्वावे फ्रिबड्स पी३० र पी३० प्रोको प्रि–बुकिङ्गको साथ आएको छ । चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ गतेसम्म उपलब्ध रहनेछ ।