विकासन्युज

दिल्लीमा बेचिएका १२ नेपाली चेलीको उद्धार

नयाँदिल्ली । विभिन्न प्रलोभनमा भारत ल्याई बेचिएका १२ जना लेपाली महिलाको उद्दार गरिएको छ । दिल्ली महिला आयोगले नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको हो । उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ । तर किशोरीहरुलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन् । उद्धार गरिएका अधिकांश किशोरीहरुले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । तर दुई जनाले भने एजेन्टलाई दुई लाख रुपैयाँ दिएको दाबी गरेका छन् । उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ ।

सत्ताइस करदाताको सम्पत्ति रोक्काको तयारी, २२ कराेड उठ्न बाँकी

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि बक्यौता नतिरेका २७ फर्म सञ्चालकको सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको छ । कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सिनाका अनुसार ती करदाताको बैंकिङ तथा वित्तीय कारोवार रोक्का गरेकामा हालसम्म उक्त बक्यौता फरफारक नगरेको हुँदा अन्तिम तहको कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया शुरु गरिएको हो । उहाँका अनुसार ती करदाताको बक्यौता असुलीका लागि टेलिफोन, पत्राचार, स्थलगत भ्रमण, ताकेतापत्र, सार्वजनिक सूचना प्रकाशित गरी बैंक खाता रोक्का गरिसकिएको छ । बक्यौता नतिर्ने मूल्य अभिवृद्धि करतर्फका करदातामा जय सालासर ट्रेडिङ, सिडब्लु इ–ग्लोबल ज्वाइन्ट भेन्चर, पूर्ण स्टोर्स, त्रिशूल फुड्स प्रालि, आर के सप्लायर्स, एमएल क्षेत्र एण्ड सन्स कन्ट्रक्सन्स, भरतपुर ब्रदर्श कन्ट्रक्सन र श्रेष्ठ सप्लायर्स एण्ड सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी नवलपुर क्रसर उद्योग प्रालि, पावल निर्माण सेवा, फर्निचर एण्ड फर्निसिङ मार्क, नवरत्न कमर्सियल इन्टरप्राइजेज, डाइनामिक टावेल, स्वस्तिक नेपाल प्रालि र नेशनल ढुवानी सेवा रहेका छन् । यस्तै आयकरतर्फ नारायणी मैदा मिल्स, आरबी इन्टरप्राइजेज, बज्रगुरु विपी इसान जेबी, प्रकाश टे«डिङ सेन्टर, एयर केयर इन्टरप्राइजेज, श्रीशुभ मोर्टस, जलकन्या सप्लायर्स, युनाइटेड मोटर्स, श्रीजय भोले हार्डवेयर, मचान वाइल्ड लाइफ रिर्सोट, आरके सप्लायर्स र आस्था पेन्ट्स रहेका छन् । तिमिल्सिनाका अनुसार मूल्य अभिवृद्धि करतर्फका १५ करदाताको रु १२ करोड १२ लाख बक्यौता बाँकी छ । आयकरतर्फ १२ करदाताको रु तीन करोड ३३ लाख बक्यौता रहेको छ । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भई रु एक लाखभन्दा माथि बक्यौता रहेका तीन सय करदाताको बक्यौता रु २१ करोड ७० लाख रहेको छ । आयकरतर्फ सबैको बक्यौता रु १५ करोड ३३ लाख रहेको उनले बताए । वि. सं २०४० यताको बक्यौता थप हुँदै गएको हो । रिजालले कार्यालयले आफ्नो प्रक्रियाअन्तर्गत बक्यौता असुलीका लागि ताकेता गर्दा बेवास्ता गरेपछि अन्तिम कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको बताउनुभयो । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालले बक्यौता असुलीमा कार्यालय तीव्रगतिमा लागेको बताए । उहाँका अनुसार कार्यालयले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । साउनयता फागुन मसान्तसम्ममा लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार लक्ष्य तोकिएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धिकरमा आठ हजार ४३५ करदाता रहेका छन् । यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् । रासस

सिप्रदीयन र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

काठमाडौं । सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको वलेफी गाउपालिका ४ नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रि रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनिजका सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड ( कर्पोरेट भेइकल विजनेस युनिट ) अजयलाल र टाटा ट्रस्टका सि.ओ.ओ. हरिसकृष्ण स्वामीको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको छ । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । शारदा उच्च माध्यमिक बिद्यालय र जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य विद्यालयहरु क्रमश कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभुत बिद्यालय, तपी नारायण आधारभुत बिद्यालय, जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ ।

नेपाल एग्रो लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखराले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अतिथिहरु वित्तीय संस्थाका संचालक समितिका सदस्य विवेक श्रेष्ठ, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, विभागीय प्रमुख नयन देवकोटा लगायतको आतिथ्यमा भएको थियो । कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा उपयोगिता र सदुपयोगको महत्व, सदस्यता दोहोरोपनाले पर्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले स्पष्ट पारे । त्यसै गरि लघुवित्त वित्तीय संस्थाले महिला सशक्तिकरण तथा गरीवी निवारणमा सहायोग गर्ने, विना धितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने विषय तथा केन्द्र प्रमुखका काम कर्तब्य तथा अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा सोहि वित्तीय संस्थाका विभागीय प्रमुख नयन देवकोटाले स्पष्ट पारे । वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यवशायीक क्षेत्रमा लगानी गरि महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सृजना गरि युवा शक्ति विदेश जानबाट रोक्न सकिने अहम भुमिका खेलेको कार्यक्रमका अतिथि विवेक श्रेष्ठले आफ्नो सम्वोधनको क्रममा बताए । कार्यक्रममा उत्कृष्ठ केन्द्रहरुलाई प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना गरि चारवटा केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो । २०७३ सालमा स्थापाना भएको शाखाले यस अवधिमा १,११८ जना सदस्य समुहमा आवद्ध गराएको छ । शाखामा आवद्ध भएका सदस्यहरुले १ करोड साठी लाख बचत संकलन गरेको तथा शाखाको तर्फबाट ४ करोड १२ लाख लगानी सदस्यहरु माझ रहेको उक्त शाखाका शाखा प्रमुख आत्माराम पौडेलले बताए ।

सानिमा लाईफ र कैलाश विकाश बैैंकबीच वीमा सेवा संझौता

काठमाडौं । यस सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवनवीमा सेवा सम्वन्धि संझौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थिए । संझौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवाउपभोग गर्न सक्ने छ ।

शेयरको उतारचढाव मंगलबारदेखि थप खुकुलो, अनलाइन प्रयोगकर्ता ८ प्रतिशत मात्र

काठमाडौं । दैनिक ५ प्रतिशत भन्दा बढी घटबढ हुनै नसक्ने शेयर बजार परिसूचक मंगलबारदेखि खुकुले हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले बजारको कारोबार र सर्किट ब्रेकर प्रणालीलाई समयसापेक्ष बनाउने भन्दै सर्किट ब्रेकरसम्बन्धी नीति परिमार्जन गरेसँग अब दैनिक ६ प्रतिशतसम्म शेयरको घटबढ हुन सक्ने भएको हो । त्यस्तै पहिलो १ घण्टाभित्रै ४ प्रतिशतसम्मको घटबढ हुन सक्नेछ । यदि पहिलो घण्टामा ४ प्रतिशत मूल्य घट्ने वा बढ्ने भयो भने २० मिनेटको लागि कारोबार बन्द हुनेछ । यसअघि पहिलो १ घण्टामा ३ प्रतिशत उतारचढाव हुँदा १५ मिनेटका लागि बजार बन्द गरिन्थ्यो । त्यस्तै बजारमा कारोबार बन्द भई पुनः बजार खुलेको १ घण्टामा फेरि अर्को १ प्रतिशत घटबढ भएर ५ प्रतिशतको घटबढ भयो भने अर्को २० अर्को ४० मिनेट कारोबार बन्द हुने व्यवस्था गरिएको छ । यसअघि यस्तो घटबढ ३ प्रतिशतबाट बढेर ४ प्रतिशत पुग्यो भने आधा घण्टा बजार बन्द गरिन्थ्यो । दोस्रो पटक बजार बन्द भएर खुलेको बजार पुनः पहिलेकै अनुसार घट्ने वा बढ्ने भइरह्यो भने ६ प्रतिशत घटबढ भएपछि भने सा दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ । यसअघि दोस्रोपटक बन्द भएर कारोबार सुरु भएको अवस्थामा उचारचढाव कायमै रही ४ प्रतिशतबाट ५ प्रतिशत पुगेमा बजार बन्द हुने व्यवस्था थियो । किन चाहिएको थियो परिमार्जन ? अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार र मुद्रा बजारमा देखिएका समस्या समाधान गर्न गठित समितिले दिएको सुझावको प्रभाव हो यो अहिलेको परिवर्तन । सो समितिले हाल नेप्सेको सर्किट ब्रेकर प्रणालीलाई समानुकुल बनाउने भन्दै धितोपत्र बोर्ड र नेप्सेले गर्नुपर्ने कामको रुपमा सुझाव दिएको थियो । सोही सुझावअनुरुप नेप्सेले आफूलाई प्राप्त निर्देशनहरुको कार्यान्वयन गर्ने सन्दर्भमा अध्ययन गर्न आन्तरिक रुपमा समिति गठन गरेको थियो । सोही समितिको सिफारिस अनुसार यो संशोधन गरिएको थियो । यद्यपि नयाँ सर्किट ब्रेकर प्रणाली अन्तराष्ट्रिय मापदण्ड अनुरुप हो कि हैन भने भन्न नसकिने एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा पनि एउटै किसिमको सर्किट ब्रेकर प्रणाली कार्यान्वयनमा छैन । न्यूयोर्क स्टक एक्सचेञ्जमा एकैदिन २० प्रतिशतसम्म मूल्यको उतारचढाव हुनसक्छ, हामीले धितोपत्र बोर्डको निर्देशन र समितिले दिएको सुझावअनुसार नयाँ प्रणाली कार्यान्वयनमा ल्याएका हौं ।’ उनले विकासन्यूजसँग भने । अनलाइन प्रयोगकर्ता ३५ सय नाघे नेप्सेले बजारमा ३५ सय भन्दा बढीले अनलाइन कारोबारका लागि लइन र पासवर्ड लिएको जानकारी दिएको छ । आइतबारसम्म जम्मा ३५५७ जनाले अनलाइन कारोबारका लगइन र पासवर्ड लिएकोमा औसतमा करिब ६०० जनाले उक्त लगइनबाट शेयर कारोबार गर्ने गरेको बताइएको छ । कात्तिक २० गतेदेखि आइतबारसम्म आइपुग्दा जम्मा ३० अर्ब रुपैंया शेयर कारोबार भएकोमा २ अर्ब ५२ करोड रुपैंया बराबरको कारोबार अनलाइनमार्फत् भएको नेप्सेले जनाएको छ, यो ८.४ प्रतिशत हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा, विदेश मोह बढ्यो

काठमाडौं । चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु गर्यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाषणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्वदेशमा रोजगारी सिर्जना गर्त तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । अर्को आर्थिक वर्षको बजेट भाषण आउन करिब दुई महिना बाँकी रहँदा स्वदेशमा कति रोजगार सिर्जना भए भन्ने यकिन हुन नसके पनि युवाको विदेश मोह भने बढेको पाइएको छ । युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना हुन अपेक्षा गरिएको बेला कोरिया जान हालसम्मकै ठुलो संख्याले फारम भरेका छन् । सरकारले युवालाई स्वेदशमा रोजगारी उपलब्ध गराउने बताइरहेको बेला युवाको मोह वैदेशिक रोजगारीमा बढ्दा अब गम्भीर रुपमा सोच्ने पर्ने बेला आएको विज्ञहरुको ठहर छ । ‘रोजगारका लागि कोरिया जान जसरी ठूलो संख्यामा युवाको चासो देखियो, समधानका लागि सरकारले ठूलै हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ श्रमविज्ञ केशव बस्यालले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द

काठमाडौँ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि पहिलोपटक पूर्ण रूपमा नयाँ किसिमले कालोपत्रे गर्न सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा सोमबारदेखि धावनमार्गसहित ‘ट्याक्सी वे’को कालोपत्रे गर्न सुरु गरेको हो । विमानस्थल सञ्चालनको समय घटाएर नै कालोपत्रे सुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबारदेखि करिब तीन महिनाका लागि विमानस्थल १० घन्टा बन्द रहनेछ । विमानस्थल आइतबारसम्म बिहान ५ बजेदेखि राति ३ बजेसम्म २२ घन्टा सञ्चालन हुँदै आएको थियो । सोमबारदेखि भने बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र सञ्चालन हुनेछ । कालोपत्रको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुनेछ । विमानस्थलको कालोपत्रे पुरानो भएको र यसले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले पूर्ण रूपमा नयाँ कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको हो । गत पुसमा प्राधिकरणले कालोपत्रेका लागि चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार ७० दिनभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि प्राधिकरणले तीन महिनाको समय उपलब्ध गराएको छ । कालोपत्रेको काम सुरु भएपछि उडान पनि प्रभावित हुने भएका छन् । खास गरी बिहानीको समयमा हुने आन्तरिक उडानहरूको तालिकासमेत फेरिएको छ । त्यस्तै कतिपय अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई त्यसैअनुसार तालिका व्यवस्थापनको लागि आग्रह गरिएको विमानस्थलले जनाएको छ । काठमाडौँ विमानस्थलबाट बिहान लुक्ला उडान गर्ने सबै तालिका रामेछाप विमानस्थलबाट गर्ने गरी सारिएको छ । प्राधिकरणका अनुसार करिब तीन हजार ५० मिटर लम्बाइको धावनमार्गमा हरेक दिन करिब ७० मिटरका दरले नयाँ कालोपत्रे हुनेछ । पुरानो कालोपत्रे उप्काएर त्यसै दिन नै कालोपत्रे गरेर अर्को दिनका लागि उडान योग्य बनाइने प्राधिकरणले जानकारी दिएको छ । कालोपत्रेको काम सुरु भए पनि वायुसेवा सञ्चालक सङ्घले सोमबार एक विज्ञप्ति जारी गर्दै तीन महिनाका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द गरिने जनाएको छ । त्यस्तै सङ्घले यस अवधिमा प्राविधिक कारणले उडान तालिका रद्ध हुन पुगेमा अर्को डिले उडान पाउने सम्भावना नरहेको समेत जानकारी गराएको छ । यसबीचमा करिब २० प्रतिशत आन्तरिक उडान कटौती गर्नुपर्ने अवस्था रहेको सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।