स्वास्थ्य बीमा कार्यक्रम ४२ जिल्लामा बिस्तार, साढे १६ लाखले गराए बीमा
काठमाडौ । स्वास्थ्य बीमा बोर्डले ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरेको छ । अहिलेसम्म देशभरबाट साढे १६ लाख जना स्वास्थ्य बीमा कार्यक्रममा सामेल भएका छन् । स्वास्थ्य बीमा बोर्डका प्रमुख रमेशकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढेको बताए । २०७२ साल चैत २५ गते स्वास्थ्य बीमा बोर्डको स्थापना भएको हो । मध्यम वर्गीय परिवारका मानिसहरुलाई स्वास्थ्य बीमाको अपरिहार्यता रहेको उनले बताए । सरकारको योजना अनुसार यस आर्थिक बर्षमा बीमा विस्तार गर्ने भनिएपनि सहज ढंगले अघि बढ्न भने सकेको छैन । स्वास्थ्य बीमा बोर्डका प्रमुख पोखरेलका अनुसार इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टमको आधारमा बोर्डले काम गरिरहेको छ । बोर्डमा दक्ष कर्मचारीहरुको वृद्धी गर्दै जाने हो भने भोलिका दिनमा स्वास्थ्य बीमाका क्षेत्रमा निकै प्रगति हुने उनले बताए । सरकारले हालै ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक निःशुल्क बीमा गरिदिने निर्णय गरेको छ । सामाजिक सुरक्षाका हिसाबले राज्यले गरेको निर्णय ज्येस्ठ नागरिकहरु प्रतिको सम्मानपनि भएको उनले बताए ।
सिटिजन्स बारा-पर्सा हुरी पिडित राहत कोष २०७५ को स्थापना
काठमाडौं । सिटिजन्स बैंकले पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ । हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहतकोषमा बैंकले रू दस लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको हो । पीडितहरुको दुःखको घाउमा मलम लगाउने उद्देश्यले सिटिजन्स बैंकको जुनसुकै शाखा कार्यालयबाट “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ । उक्त खातामा सहयोग गर्नेको नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिने जानकारी दिएको छ । बैंकका देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सिटिजन लाइफको नयाँशाखा अब मेलम्चीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँ शाखा खोलिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालभर ६३ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । उक्त इन्स्योरेन्सको आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी गर्न सफल जानकारी दिएको छ ।
ज्योति विकास र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
१३.७२ अंकले बढ्यो नेप्से, आधा अर्बको कारोबार
काठमाडौ । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक १३.७२ अंकले बढेको हो । १.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ९३ हजार १ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ५० करोड ८ लाख ८१ हजार ७ सय ३८ रुपैयाँको कारोबार भएको छ । बैंक समूह १९.६७, होटल समूह २०.०१, विकास बैंक समूह ३.६१, वित्त समूह १.६८, उत्पादन मूलक समूह ८.७३, अन्य ५.६१, माईक्रोफाईनान्स २.२१ र जीवन बीमा समूह ३८.८६ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह ३.४८ र निर्जीवन बीमा समूह ६.७६ अंकले घटेका छन् । साताको तेश्रो दिन आज भार्गव विकास बैंकका लगानीकर्ताले ९.४० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
मेगा क्यापिटल मार्केट्सलाई मर्चेन्ट बैकिङ्ग कारोबार गर्न अनुमति
काठमाडौँ । मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्सले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँरहेको छ । मेगा क्यापिटल मार्केट्सले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, सांकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए । ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूलउद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने जानकारी दिएका छन् ।
नबिल बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्दै, व्यवस्थापन गर्न लक्ष्मी क्यापिटलसँग संझौता
काठमाडौं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ । उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको(२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ । सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
यी हुन् नेपालका १० ठूला कम्पनी, पुराना व्यवसायिक घरानालाई विस्थापित गर्दै नयाँ कम्पनी
काठमाडौं । कारोबार रकमका आधारमा नेपालका १० ठूला कम्पनी कुन कुन हुन सक्छन् ? व्यवसायिक क्षेत्रमा धेरैको चासो हुने गरेको छ । व्यवसायिक दुनियाँमा टप टेनको प्रतिस्पर्धामा को भित्र छिरे र को बाहिरन बाध्य भए ? धेरै रोचक विषय हुने गर्छ । प्रतिस्पर्धाको पहिलो स्थानमा नेपाल आयल निगम लिमिटेड छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेको छ । निगम पहिलो भएको यस पटक मात्र होइन, विगतमा पनि हरेक वर्ष पहिलो थियो । र, कम्तिमा आगामी एक दशकसम्म निगम नै पहिलो रहिरहने छ । तर, निगम पहिलो हुनुको अर्थ छैन । किनकी पेट्रोलियम पदार्थको व्यापारमा ऊ एक्लो छ । सरकारले पेट्रोलियम पदार्थको आयात गर्न निगमलाई मात्र लाईसेन्स दिएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने एजपीजी ग्यास लगायत पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । नेपालमा मात्र होइन, पेट्रोलिम पदार्थको बजार विश्वमा नै ठूलो छ । यो व्यवसायमा नाफा र प्रतिष्ठा दुबै छ । विश्वका धनाढ्यहरुको सूचिमा पेट्रोलिम पदार्थको व्यापार गर्नेहरु संख्या धेरै हुने गरेको छ । तर, नेपाली व्यवसायीहरु यो क्षेत्रको व्यापारमा प्रवेश गर्न सकेका छैनन् । कारोबार रकमका आधारमा एनसेल प्रालि दोस्रो स्थानमा छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा ६४ अर्ब ३९ करोड रुपैयाँ कारोबार गरेको छ । यो कम्पनीले ५ वर्षअघि नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई तेस्रो स्थानमा पार्दै दोस्रो स्थान हासिल गरेको हो । एनसेल विदेशी लगानी भएको कम्पनी हो । कानुनी रुपमा २० प्रतिशत लगानी नेपालीको देखिए पनि बास्तविक रुपमा सबै लगानी विदेशीको भएको सरकारी अधिकारीहरु बताउँछन् । एनसेल नेपालमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनी हो । १० करोड चुक्ता पुँजी भएको यस कम्पनीले एक वर्षमा २९ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गरेको देखिन्छ, जुन रकम सरकारलाई कर तिरेपछि लगानीकर्ताले लिन पाउने पैसा हो । एनसेलले दोस्रो स्थान अझै धेरै वर्ष सुरक्षित राख्ने देखिन्छ । किनकी तेस्रो स्थानमा रहेको दूरसंचार कम्पनीको कारोबार करिव २७ अर्ब रुपैयाँ कम छ । साथै, एनसेलले व्यापार विस्तार गर्दै लगेको छ भने दूरसंचारको व्यवसायिक यात्रा अधोगतिमा छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा एनसेलले ५ अर्ब रुपैयाँ कारोबार बढाएको छ । तर, दूरसंचार कम्पनीको कारोबार आर्थिक वर्ष २०७३/७४ तुलनामा २०७४/७५ मा करिव साढे ४ अर्ब रुपैयाँ घटेको छ । टेलिकमले गत वर्ष ३७ अर्ब ६५ करोडको कारोबार गरेको छ । नेपाल दूरसंचार कम्पनीले भविष्यामा तेस्रो स्थान पनि गुमाउने सम्भावना बढी देखिन्छ । किनकी यस कम्पनीलाई दुईटा रोग लागेको छ, राजनीतिकरण र भ्रष्टाचार । ९५ प्रतिशत सेयर सरकारको भएको यस कम्पनीको नेतृत्वले राजनीतिक नियुक्ती पाउँछ । क्षमताको आधारमा भन्दा राजनीतिक निकटता भएकोले व्यक्तिले यस कम्पनीको कार्यकारी प्रमुख पद पाउँछ । त्यसैको परिणाम हो विदेशी व्यवस्थापन भएको एनसेलले सञ्चार क्षेत्रको बजार हिस्सा बढाउँदै लग्दा सरकारी व्यवस्थापन रहेको दूरसंचार कम्पनीले बजार हिस्सा गुमाउँदै गएको छ, जबकी बजार, सेवा र प्रविधि एउटै हो । निकट भविश्यमा तेस्रो स्थान जगदम्बा स्टील्स प्रालिले लिनसक्छ । जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो स्टील उद्योग हो र हरेक वर्ष उकालो चढिरहेको छ । यस कम्पनीले गत वर्ष ३५ अर्ब ५ करोडको कारोबार गरेर चौथो स्थान हासिल गरेको छ । जगदम्बा स्टील्स शंकर ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । आक्रामक रुपमा लगानी विस्तार गरेको ग्रुपका दुई वटा कम्पनी टप टेनमा परेका छन् । ९ औं स्थानमा श्री जगदम्बा इन्टरप्राइजेज प्रालि छ । यस कम्पनीले गत वर्ष १६ अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको छ । गत वर्ष ३३ अर्ब ४१ करोड रुपैयाँको कारोबार गरेर पाँचौ स्थानमा रहेको छ सूर्य नेपाल प्रालि । कारोबार रकमका आधारमा पाँचौं नम्बरमा रहेपनि सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी हो यो । यस कम्पनीको मुख्य उत्पादन चुरोट हो भने पछिल्लो समय सलाई, धुपबत्ती पनि उत्पादन गर्दै आएको छ । साथै, यस कम्पनीले तयारी पोसाकको व्यापार गर्छ । भ्याट, अन्तशुल्क र आयकर सबै जोडेर सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले बताए । सूर्य नेपाल विदेशी लगानी भएको कम्पनी हो । छैटौ नम्बरमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले गत वर्ष २९ अर्ब ९३ करोड रुपैयाँको कारोबार गरेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङ सरकारलाई सबैभन्दा बढी भ्याट बुझाउने कम्पनी हो भने यसको लगानीकर्ता सिद्धार्थ राणा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको तर्फबाट ५ पटक सरकारबाट सम्मानित भएका छन् । राणाको लगानी रहेको अन्य कम्पनीहरु पनि छन् । सबै कम्पनीको कारोबार ५० अर्ब रुपैयाँ भन्दा बढी भएको राणाले एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए । सातौ नम्बरमा गोर्खा ब्रुअरी प्रालि छ, जसले गत आर्थिक वर्षमा २३ अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको छ । वियर उत्पादन गर्ने यस कम्पनीमा विदेशी लगानी छ । यसमा खेतान समूहको थोरै सेयर लगानी छ । आर्थिक संकटमा परेपछि राजेन्द्र खेतानले गोर्खा ब्रुअरीको सेयर बेच्दै आएका छन् । बजाज ब्राण्डको मोटरसाईकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गत वर्ष २० अर्ब ८१ करोड कारोबार गरेर ८औं स्थान लिएको छ । शेखर गोल्छाले नेतृत्व गरेको यो कम्पनी पहिलो पटक टप टेनमा उक्लिएको हो । यसले स्पेयर पार्ट, लुब्रिकेन्टको पनि व्यापार गर्दै आएको छ । १० औं स्थानमा अग्नी इन्कर्पोरेटेड प्रालि छ । यस कम्पनीले गत वर्ष १६ अर्ब २७ करोड कारोबार गरेको छ । कम्पनीले महिन्द्रा ब्राण्डको कार, जिप, मोटरसाईकल बिक्री वितरण गर्दै आएको छ । यसअघि टपटेनमा रहेको भाटभटेनी १२ औं स्थानमा झरेको छ । त्यस्तै यसअघि टप टेनमा रहेको स्याकर ट्रेडिङ कम्पनी १३ औं स्थानमा झरेको छ । जेजीआई डिस्ट्रीव्यूशन प्रालि, लक्ष्मी इन्टर कन्टिनेन्टल र आरती स्ट्राइप टप टेन नजिक पुगेका छन् । प्रतिस्पर्धामा रहेका कम्पनीहरुबीच कारोबार रकम अन्तरको अंकले दौडको दुरी छुट्याउँछ । आयल निगम पहिलो र एनसेल दोस्रो अझै धेरै वर्ष रहिरहने देखिन्छ भने तेस्रोदेखि तलको पोजिसनमा प्रतिस्पर्धा नजिक नजिक छ । चौधरी ग्रुप, ज्योति ग्रुप, बैद्य ग्रुप, दुगड ग्रुप, पञ्चकन्य ग्रुप लगायत पुराना व्यवसायिक घरानाका कुनै पनि कम्पनी टप टेनमा परेका छैनन् । एनसेल, जगदम्बा, सिप्रदी, अग्नी, भाटभटेनि, लक्ष्मी इन्टरकन्टिनेन्टल, शिवम् सिमेन्ट, राजेश हार्डवेयर जस्ता कम्पनीहरुले पुराना र स्थापित कम्पनीहरुलाई टपेर अगाडि बढिरहेका छन् । विश्व बजारमा जस्तै नेपालमा पनि पेट्रोलिमय पदार्थको कारोबार, प्रविधिमा आधारित कारोबार र अटोमोवाईल क्षेत्रमा आधारित कारोबार अगाडि आएका छन् । नेपालमा औद्योगिक क्षेत्र कमजोर भनिए पनि जगदम्बा स्टील्स, सूर्य नेपाल, गोर्खा ब्रुअरी, डावर नेपाल, शिवम् सिमेन्ट, हुलास स्टीलसहितका कम्पनीको कारोबार निकै ठूलो देखिन्छ । व्यापारको तुलनामा उद्योगमा कम नाफा भएकोले पछिल्लो समय व्यापारमा लगानीकर्ताहरु आकर्षित भएका छन् । सेवा क्षेत्रमा दुई टेलिकम कम्पनी माथि भएपनि पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रबाट टपटेनको प्रतिष्पर्धामा कोही पनि छैनन् । वासलात ठूला भए पनि वित्तीय क्षेत्रलाई यसमा समावेश गरिएको छैन ।