विकासन्युज

कोलोरेक्टल क्यान्सरबारे नर्भिक हस्पिटलले गर्यो जनचेतनामूलक कार्यक्रम

काठमाडौं । रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिक इन्टरनेशनल हस्पिटलले कोलोरेक्टल क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग(क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने÷गराउने महिनाका रुपमा लिइन्छ । सोही अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अस्पतालले जनाएको छ । ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ विरामीहरू देखापर्ने गर्छन् भने तिनीहरु मध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्दछन् । हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् । नर्भिक हस्पिटलका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच/परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ । हस्पिटलले गरेको कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए । रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुन सक्ने चिकित्सकहरु बताउँछन् । शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने बताइएको छ । कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा/मलाशयको अर्वुदरोग (क्यान्सर) हुने जोखिम उमेरसँगै बढ्दै जान्छ । सबै महिला तथा पुरुष जो ४५ वर्ष कटिसकेका छन्, तिनलाई ठूलो आन्द्रा र मलाशयको अर्वुदरोग हुनसक्ने जोखिम समान रुपमा बढेर जान्छ । तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रुपमा रोग परीक्षण/जाँच गराउनु अत्यावश्यक हुने नर्भिक हस्पिटलले जनाएको छ ।

हावाहुरीबाट भएको जनधनको क्षतिप्रति घरेलु तथा साना उद्योग महासंघ दुःखी

काठमाडौं । आइतबार साँझ बारा र पर्सा जिल्लामा हावाहुरीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले गहिरो दुःख व्यक्त गरेको छ । दैवी विपत्ति आइलागेको सो क्षेत्रमा हावाहुरीबाट ठूलो मात्रामा मानवीय क्षति पुग्नुका साथै घरपालुवा चौपाया तथा घर टहरा, भौतिक पूर्वाधारहरु समेत तहसनहस हुन पुगेको भन्दै महासंघले सर्वसाधारणको जीवनयापनमा परेको ठूलो कठिनाईलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी उद्धारका लागि सम्बन्धित निकाय समक्ष महासंघले आग्रह गरेको छ । हावाहुरीबाट पीडित क्षेत्रमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुमा समेत क्षति पुग्न गएको सन्दर्भमा महासंघका जिल्ला शाखा, सम्बन्धित पालिका संघ र प्रदेश संघहरुले समेत पिडित परिवार तथा क्षतिग्रस्त भएका उद्योग व्यवसायीको संरचनाको उद्धार तथा पुनः सञ्चालनका लागि हरसम्भव सहयोग गर्न सम्बन्धित सबैलाई महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गरे ।

कृषि विकास बैंकको सञ्चालकमा ३ जना निर्वाचित

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडमा ३ जना सञ्चालन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाले सञ्चालन निर्वाचित गरेको हो । साधारण सभाले भरतपुरका सञ्जीव पौडेल, पोखराका हरिप्रसाद पराजुली र काभ्रे खोपासीका विनोदकुमार गुरागाईँलाई निर्वाचित गरेको हो । सञ्चालकहरुले कार्यभार सम्हालेको र यसअघिका सञ्चालक मनोज बस्नेत र घनश्याम अवस्थीको पदावधि सकिएको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जनाएका छन् ।

३ नम्बर र सुदूरपश्चिम प्रदेश सरकारले एक–एक करोड दिने, ‘विपदमा यो वा त्यो प्रदेश नभनी सहयोग गरौँ’

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले बारा र पर्सा हावाहुरी पिडितलाई १ करोड सहयोग गर्ने घोषणा गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले गत १७ गते राती आएको हावाहुरीका कारण घरबार बिहिन जनताको आवास निर्माणका लागि राहत स्वरुप १ करोड सहयोग गर्ने निर्णय गरेको हो । बैठकले २ नम्बर प्रदेश सरकार मार्फत पीडितलाइ राहत रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीसहितको टोली प्रभावित क्षेत्रको निरिक्षण गरेर फर्केको थियो । निरिक्षण कै क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका थिए । प्रभावित क्षेत्रको निरिक्षण पश्चात बाराको कलैया अस्पताल र वीरगंजको नेशनल मेडिकलमा गएर घाईतेहरुको अवस्थाको जानकारी लिएका थिए । प्रारम्भिक रुपमा एक करोड सहयोग गरेपनि अन्य विभिन्न खाले सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले जानकारी दिए । यस्तो विपदको घडिमा यो वा त्यो प्रदेश नभनी सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली तथा आफन्तजनप्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरे । यता, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

सिविआईएल क्यापिटलको अध्यक्षमा बोधराज देवकोटा नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिविआईएल क्यापिटलमा बोधराज देवकोटा अध्यक्षमा नियुक्त भएका छन् । संस्थाको अध्यक्ष रहेका गणेशराज पोखरेल मुख्य कम्पनी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै संचालक समितिको बैठकले बोधराज देवकोटालाई अध्यक्ष पदमा नियुक्ति गरेको हो । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापनको साथै डिम्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्ने अनुमति सिविआईएल क्यापिटलले लिएको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको सो संस्थाले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । सो कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह लगानी रहेको छ ।

सर्वोच्चका लागि पाँच न्यायाधीश सिफारिस, को को परे ?

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्चका लागि सिफारिस गरेका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, काठमाडौँबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए । न्यायाधीश नियुक्तिका लागि सोमबारदेखि बसेको बैठक आज सम्पन्न भएको थियो । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त रहेको थियो । बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरु कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिकको उपस्थिति रहेको थियो ।

देशभर ९४ पुल निर्माण, २६ वटाको काम जारी

काठमाडौँ । सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । चालू आवमा १२० पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा गत फागुनसम्ममा ९४ पुल निर्माण सम्पन्न भएका छन् । निर्माणाधीन सडक, पुल तोकिएको अवधिमा नै सम्पन्न हुने भौतिक योजना तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । विभिन्न राजमार्गमा र स्थानीय सडकमा पुलको निर्माण भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताए , उनका अनुसार यसवर्ष कतिपय पुल समयभन्दा पहिले नै सम्पन्न भइरहेका छन् । उहाँले भन्नुभयो, “पुल निर्माणका क्रममा कुनै समस्या भए त्यो हटाएर चाँडो काम सम्पन्न गराउन हामी लागेका र्छौँ ।” आगामी वर्षमा कम्तीमा दुई सय पुलको निर्माण सम्पन्न गर्ने योजना बनाइने प्रवक्ता सापकोटाले बताए । उनका अनुसार मन्त्रालयले आगामी वर्षको कार्यक्रम बनाउने क्रममा सडक पुललाई प्राथमिकता दिनेछ । बजेट व्यवस्थापन हुन सके तीन सयसम्म पुल योजनामा पारिने उहाँले जानकारी दिए । विगतका वर्षहरुमा वार्षिक ५०-६० वटा मात्रै पुल निर्माण हुने गरेको मन्त्रालयले जनाएको छ । चालु आवमा देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । काम गर्ने ठाउँमा अवरोध नहुँदा र ठेकेदारले नियमित रुपमा काम गर्दा यी पुलको निर्माण समयभन्दा पहिले सम्पन्न भएको हो । सिन्धुली जिल्लामा रहेको कमला नदी पुल, मरिण नदी पुल, सुर्खेतको भेरी नदी पुल, जयरामघाट नदी पुललयायतका विभिन्न स्थानमा रहेका पुल तोकिएको अवधिभन्दा पहिले सम्पन्न भएका मन्त्रालयका प्रवक्ता सापकोटाले बताए । उनका अनुसार काम गर्न ठाउँ खाली हुँदा र ठेकेदारले पनि नियमित काम गर्दा यी पुलको निर्माण तोकिएको समयमै वा त्यो भन्दा अघि सम्पन्न भएको छ । समयमा सम्पन्न हुँदा त्यसले स्थानीयवासीको जीवन सहज बनाउने प्रवक्ता सापकोटाले बताए । उनले भने, “सडक पुल बनेपछि सडक आवागमनमा सहज हुनुको साथै स्थानीय उत्पादनले बजार पाएका छन् ।” सरकारले ठेकेदारमार्फत काम गराउँदा सम्झौता अवधिमा सकिँदैन भन्ने आमधारणा रहेपनि यी योजनाले यसलाई गलत प्रमाणित गरिदिएको प्रवक्ता सापकोटाले बताए । सडक विभागले ठेकेदारमार्फत गरेका काम समयमा भए नभएको मन्त्रालयले समेत अनुगमन गरिरहेको उनले बताए । उनले भने, “हामीले पुल निर्माणमा भएका अवरोध हटाएर समयमा काम गर्न भनिरहेका थियौँ ।” पुलमा नयाँ प्रविधि भित्रिनु पनि उपलब्धिका रुपमा रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँकै धोबीखोला र वाग्मती खोलामा नयाँ प्रविधिका पुल निर्माण भइरहेका छन् । ‘नेटवर्क आर्क ब्रिज’ भनिने प्रविधि हेर्दा पनि राम्रो देखिने उनले बताए । उनले भने,“अरु देशमा पहिलेदेखि नै रहेको प्रविधि हाम्रो देशमा पनि शुरु हुनु उपलब्धि हो ।” सडक, पुल मात्रै नभएर झोलुङ्गे पुल निर्माण तीव्रगतिमा भइरहेको छ । गतवर्ष देशभरमा गरेर ४१७ झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ले तुइन वा अन्य माध्यमबाट जोखिमपूर्णयात्रा गर्न विवश जनतालाई झोलुङ्गे पुलको निर्माणले सुरक्षित र भरपर्दो यात्रा गर्न तथा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुगेको छ ।

लामो समय पछि सुनको मूल्यमा कमी, प्रतितोला ५९ हजार ५ सयमा कारोबार

काठमाडौं । लामो समयपछि सुनको मूल्यमा २ सय रुपैयाँ कमि भएको छ । शुक्रबार प्रतितोला ५९ हजारमा ७ सयमा कारोबार भएको सुन एक्कासी मंगलबार ५९ हजार ५ सयमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोला शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ कमी भई ५९ हजार २ सय रुपैयाँमा कारोबार बिक्री भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ घटेर ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।