नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित
काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । श्रेष्ठ प्रगतिशील, पेशागत तथा समावेशी समूह र पोखरेल वृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार बनेका थिए । यही चैत १९ गतेदेखि भएको मतगणना आज सकिएको हो । काठमाडौँ जिल्ला बार र उच्च अदालत बार एशोसिशनको मतगणना भएको थियो । मत परिणाम अनुसार श्रेष्ठले ४०२२ मत प्राप्त गर्दै विजयी भए भने पोखरेल ३८७३ मत सहित पराजीत भए । मत परिणाम अनुसार महासचिवमा पोखरेल प्यानलबाट विजयी भए भने बाँकी अधिकांश पदमा श्रेष्ठ समूहका उम्मेदवार निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा प्रदेश १ मानबहादुर रुम्दाली, प्रदेश २ रामचन्द्र सिंह, प्रदेश ३ ईश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेशः सुरेन्द्र थापा मगर, प्रदेश ५ सुनिलकुमार श्रेष्ठ, कर्णाली प्रदेश मिनबहादुर महत र सुदूरपश्चिम प्रदेशः उमेशप्रसाद बिष्ट निर्वाचित भएका छन् । खुला क्षेत्रतर्फ रक्षा बस्याल र महासचिवमा महासचिव लिलामणि पौडेल वियजी हुँदा कोषाध्यक्षमा कोषाध्यक्ष रुद्रप्रसाद पोख्रेल विजयी भएका छन् । सदस्य (दलित): मोहन साशंकर सदस्य(मधेशी/मुश्लीम) उपत्यका वाहिर: पंचनारायण मण्डल सदस्य(मधेशी/मुश्लीम) खुल्ला:मनोज चौधरी सदस्य(आदिवासी/ जनजाती) उपत्यका बाहिर: विना कुमारी सिंह (चौंधरी) सदस्य(आदिवासी÷जनजाती) खुला: बद्री नारायण नगरकोटी सदस्य महिला उपत्यका बाहिर: कल्पना कुमारी भण्डारी सदस्य महिला खुला : अन्जु कायस्थ सदस्य खुला उपत्यका बाहिर: डा. शिवराज पण्डित खुलातर्फ सदस्य गंगा सागर खत्री भिमसेन वन्जारा भुवन प्रसाद निरौला प्रकाश महर्जन बाल कृष्ण गैरे खिमानन्द अधिकारी
अब अत्यावश्यक यी सेवामा हड्ताल गर्न पाइदैनः सञ्चारमन्त्री बास्कोटा
काठमाडौँ । अत्यावश्यक सेवामा हडताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ । सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने निर्णय गरी सो को जानकारी राजपत्रमार्फत गराउने भएको हो । सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्त्रिपरिषद्को यही चैत १४ गतेको बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद्का निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन फोहरमैला व्यवस्थापन विद्युत्, दैनिक खाद्य वस्तु, बैंक बीमालगायतका क्षेत्रमा हडताल गर्न पाइने छैन । सो सम्बन्धी व्यवस्थासहितको सूचना छिट्टै राजपत्रमा प्रकाशित हुनेछ । सरकारले प्रत्येक ६÷६ महिनामा अत्यावश्यक क्षेत्र तोेकेर हडताल गर्न पाइने घोषणा गर्नसक्ने व्यवस्था छ । ती क्षेत्रमा कुनै समस्या देखिएको अवस्थामा सरकारले आवश्यक सहजीकरण गर्ने समेतमन्त्री बाँस्कोटाको भनाइ छ । हडताल निषेध गर्दा मजदूरको अधिकार समेत खोसिइला नी भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बाँस्कोटाले भन्नुभयो, “एकाध स्थानमा समस्या आउन सक्छन् । तर त्यसले समग्रतामा नै समस्या आउँछ भन्न मिल्दैन । अत्यावश्यक सेवामा अवरोध गर्न मिल्दैन ।” यस्तै सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरिएको छ । ठूला बस, ट्रक, साना तथा हलुका सवारी साधन र मोटरसाइकलको सडक उपभोग गरेवापतको उपभोग दस्तुरमा वृद्धि गरी त्यसको सूचना समेत राजपत्रमा प्रकाशित गरिनेछ । यस्तै सरकारले युनाइटेड सिमेन्टसको धादिङ नौबिसेस्थित सिमेन्ट काराखानास्थलसम्म जानेआउने औद्योगिक पहुँचमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धुनबेँसी–९ मा रहेको रहेको पोखरी डाँडा सामुदायिक वनको शून्य दशमलव १७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ ।
विज्ञ अर्थमन्त्रीको बजेट टिमः पुडासैनीलाई मस्यौदा, रायालाई नीतिको जिम्मा
काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको आन्तरिक प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले यस अघि नै कानुनले निर्दिष्ट गरेका राजश्व परामर्श लगायतका समिति गठन गरिसकेका थिए । कानुनतः गठित समितिहरुले धमाधम काम गरिरहेका बेला अर्थमन्त्री डा. खतिवडाले बिहिबार आन्तरिक तयारी अघि बढाएका हुन् । मन्त्री खतिवडाले बजेट निर्माणको गृह कार्यका लागि दुई जना सहसचिवलाई आन्तरिक नेतृत्व सुम्पिएका छन् । बजेटको मस्यौदा लेख्ने जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनीलाई दिईएको छ । त्यस्तै, नीतिगत सुधारका लागि आवश्यक सुझाव लिने जिम्मेवारी भने वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायालाई तोकिएको छ । ‘दुई जना सहसचिवको नेतृत्वमा बजेटको मस्यौदा समिति र नितीगत समिति गठन गरिएको छ, यी समितिहरुले बजेट निर्माणको आन्तरिक गृहकार्य गर्नेछन’, अर्थमन्त्रालय श्रोतले भन्यो । पुडासैनी र राया नेतृत्वमा बनेको समितिमा अन्य केहि सह सचिवलाई समेत समावेश गरिएको छ । अब यहि टिमले बजेटको मेरुदण्ड तयार पारेर अर्थमन्त्रीलाई बुझाउनेछ । अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले पनि बजेट निर्माणको आन्तरिक गृहकार्यका लागि अर्थमन्त्रीले कोर टिम तयार गरेको बताए ।‘यो औपचारिक समिति होेइन तर अर्थमन्त्रीज्यूले बजेटको तयारीका लागि कोर टिम तयार पार्नु भएको छ, यहि टिमले मस्यौदा लेख्ने, बुँदा टिपोट गर्ने लगायतका काम गर्नेछ’, अर्थका प्रवक्ता खत्रीले भने । सर्व साधारणलाई अर्थमन्त्रालय प्रवेशमा कडाई बजेट निर्माणको आन्तरिक गृहकार्यमा जुटेको अर्थ मन्त्रालयले सर्वसाधारणलाई प्रवेशमा कडाई गरेको छ । अर्थमन्त्राय प्रवेश गर्ने सबै गेटमा प्रहरी तैनाथ गरिएको छ । केहि ढोकाहरुमा लकिङ सिस्टम जडान समेत गरिएको छ । सर्व साधारणलाई कुन प्रयोजनका लागि मन्त्रालय आएको हो त्यसको विस्तृत विवरण फाइलमा टिपाएपछि मात्रै मन्त्रालय प्रवेश गर्न पाउने व्यवस्था लागु गरिएको छ । त्यसका लागि अर्थमन्त्रालयका मुल गेटलाई मात्रै प्रयोग गर्न पाइन्छ ।
नेपाल-भारत फ्रेन्चाइज लगानी एक्स्पो जेठ १ र २ गते हुने
काठमाडौं । नेपाल-भारत फ्रन्चाइज लगानी एक्स्पो काठमाडौंमा हुने भएको छ । राजधानीको होटल याक एण्ड यतिमा जेठ १ र २ गते एक्पो हुने भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगका ब्राण्डहरुले प्रर्दशन गर्ने मेलामा उच्च व्यवसायिक व्यक्तिहरुको सहभागिता हुनेछ । एक्स्पोमा नेपालमा काम गर्न चाहाने मल्टिनेश्नल कम्पनीहरुले लगानी गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रमबारे जानकारी दिदैं नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपालमा जोइन्ट भेन्चरको रुपमा काम गर्न चाहने व्यक्तिहरुका लागि अवसर प्राप्त गर्ने बताइन् । कार्यक्रममा २५० जना व्यवसायी, रिटेल, शिक्षा, फुड, बिभरेज, रियल एस्टेट, टेक्नोलोजी लगायतका १ हजार फ्रेन्चाइजका व्यवसायीहरु सहभागी हुनेछन् ।
ह्याम्स हस्पिटलको सेयरमा किचलो, एसविआई र सानिमा बैंकको १०० करोड लगानी जोखिममा
काठमाडौं । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिने लक्ष्यसहित खुलेको ह्याम्स हस्पिटलको सेयर स्वामित्व विवाद भएको छ । मुख्य प्रवद्र्धक तथा हस्पिटलका अध्यक्ष रामशरण भण्डारीले ख्याति कमाएका डाक्टरहरुलाई हस्पिटल भित्र्याउनु पूर्व कम्पनीको सेयर दिने कागज गरेपनि अहिले आएर सेयर दिन आनाकानी गरेपछि हस्पिटलमा किचलो बढेको हो । धुम्बाराहीमा स्थापना भएको यो हस्पिटलमा डा. भगवान कोइराला, डा. अर्जुन कार्की, डा. भोला रिजाल, डा. भास्करराज पन्त, डा. प्रकाश सायमी, डा. प्रकाश विष्ट लगायत ख्याति कमाएका डाक्टरहरु छन् । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारीले डाक्टरहरुलाई निश्चित सेयर दिने भन्दै आन्तरिक कागज गरेको, उनीहरुसँग पैसा पनि लिएको तर सेयर नदिएकोले विवाद बल्झिएको हो । तीन वटा बैंकबाट करिब सवा अर्ब रुपैयाँ ऋण लिएपछि भण्डारीले डाक्टरहरुलाई पैसा फिर्ता दिन खोजेका छन् । हस्पिटललाई नेपाल एसविआई बैंकले ८० करोड, सानिमा बैंकले २० करोड र सिद्धार्थ बैंकले १२ करोड रुपैयाँ कर्जा दिएका छन् । बैंकले कर्जा दिएपछि भण्डारीहरुले पहिला लिएको पैसा फिर्ता गर्ने र सेयर नदिने भनेपछि विवाद भएको नाम उल्लेख नगर्ने सर्तमा एक डाक्टरले बताए । डाक्टरहरु भने पैसा फिर्ता नलिई सेयर नै लिने अडानमा छन् । मेडिकल इक्वीप्टमेन्टको व्यापार गर्दै व्यवसायमा सफलता हासिल गरेको भण्डारीले डाक्टरहरुलाई धोका दिएपछि उनी विवादमा तानिएका छन् । अध्यक्ष भण्डारीले त्यस्तो विवाद नभएको बताए । ‘सेयरधनी धेरै जना छौं । मेरो लेबलमा स्वामित्व सम्बन्धि विवादको कुरा आएको छैन’ उनले विकासन्यूजसँग भने । स्रोतका अनुसार हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ५३ लाख रुपैयाँ छ । मुख्य लगानीकर्ता रामशरण भण्डारी र उनका आफन्त हुन् । रामशरण भण्डारीको १० करोड १८ लाख ६५ हजार ८०० रुपैयाँ बराबरको सेयर छ । दलबहादुर भण्डारीको ३१ लाख ५० हजार, प्रेमबहादुर भण्डारीको ३ करोड, रामकृष्ण भण्डारीको २ करोड ५० लाख रुपैयाँ सेयर लगानी रहेको छ । ह्याम्स होल्डिङ प्रालिको ३ करोड ४७ लाख १६ हजार ३०० रुपैयाँ लगानी छ । त्यस्तै, आमोदनाथ प्याकुरेलको स्वामित्वमा ९ लाख ८० हजार ६००, सिन्धिमा घिमिरेको ११ लाख ६५ हजार ६००, गोविन्दप्रसाद शर्माको १ लाख ६३ हजार ३०० रुपैयाँ सेयर लगानी छ ।
सीताराम दूधको ७ वटा उत्पादन बजारमा, भाटभटेनीमा नायिका दिपाश्रीले गरिन् उद्घाटन
काठमाडौँ । सीताराम दूधले बिहीबारबाट आफ्नो उत्पादन बिस्तार गरेको छ । यसअघि दूध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रिदही, पनिर लगायतका सम्पूर्ण उत्पादन अब भाटभटेनी सुपर स्टोर नक्साल र महाराजगञ्जमा पाइने भएको छ । भाटभटेनीमा एक कार्यक्रम गरेर सिताराम घिउका ब्राण्ड एम्बेसेडर नायिका दीपाश्री निरौलाले सीताराम दुधका उत्पादनको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्वदेशी उत्पादन आफूहरुले राख्न पाउँदा उत्साही भएको बताए । सीताराम दूधका अध्यक्ष सुमित केडियाले अब अन्य उत्पादन पनि गर्दै जाने बताए । आइसक्रिम लगायतका उत्पादनमा पनि जाने लक्ष्य रहेको समेत बताए । केडिया अर्गनाइजेशनको भातृ संस्था सिताराम गोकुल मिल्कस् नेपालको निजी क्षेत्रका सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो ।
ग्लोबल आइएमईद्धारा बाराका हावाहुरीबाट प्रभावितलाई राहत प्रदान
काठमाडौं । ग्लोबल आइएमई बैंकले बारा जिल्लाका हावाहुरीबाट पीडितहरुलाई राहत वितरण गरेको छ । उक्त हावाहुरीबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको हो । हावाहुरी र असिना पानीबाट घरबार विहिन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकले सो सामाग्रीहरु उपलब्ध गराएकोे हो । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ । भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।
नेपाल बीमक संघ फुट्यो, निर्जीवन बीमा कम्पनीहरुले गरे नयाँ कार्यसमिति गठन
काठमाडौं । बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ फुटेको छ । निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएका छन् भने जीवन बीमा कम्पनीहरु अर्कोतिर संगठित हुन छलफलमा जुटेका छन् । बिहीबार सम्पन्न संघको विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निर्जीवन बीमा कम्पनीका सीईओहरु मात्र चुनिएका छन् । संघको उपाध्यक्षमा नुरप्रताप प्रधान चयन भएका छन् । उनी लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री संघको महासचिवमा चुनिएका छन् । कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतम, प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य, अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी कुमार बहादुर खत्री र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवोधलाल श्रेष्ठ चयन भएकाे काेषाध्यक्ष यूगेश भक्त बादे श्रेष्ठले बताए । हाल ४० वटा बीमा कम्पनी रहेकोमा निर्जीवन बीमा कम्पनी २० वटा छन् । जीवन बीमा कम्पनी १९ वटा र एउटी पुर्नबीमा कम्पनी छ । निर्जीवन बीमा कम्पनीको सीईओहरुले एकातिर संगठित भएपछि जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरु पनि नयाँ संगठन गर्ने तयारीमा छ । ‘२/३ चरणमा छलफल भएको छ । अब छिट्टै नयाँ संस्था दर्ता हुन्छ’ एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । बीमक संघले जीवन बीमा कम्पनीहरुलाई स्थान नदिएको आरोप पहिले देखि नै थियो । पहिला १७ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी हुँदा जहिले पनि जीवन बीमा कम्पनीको प्रतिनिधिले निर्वाचन हार्दै आएका थिए । पछिल्लो समय भने जीवन बीमा कम्पनीको संख्या १९ वटा भएको छ । बीमक संघलाई नेपाल बैंकर्स संघ जस्तै प्रभावकारी संस्था बनाउनु पर्ने माग बीमा क्षेत्रमा भए पनि बीमकहरू छिन्नभिन्न भएका छन् । कम्पनीका सीईओहरू दुई संस्थामा विभाजित भएको छन् भने बीमा कम्पनीको प्रर्वद्धकहरुको अलग्गै संस्था सक्रिय छ ।