राष्ट्रिय बाणिज्य बैंकले ६६१ जना कर्मचारी माग्यो, बैशाख १२ गतेसम्म आवदेन दिन सकिने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगिताद्वारा ६६१ जना कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले शुक्रबार पदपूर्ति सम्बन्धी दरखास्त फारम भर्न सूचना प्रकाशित गरेको छ । वरिष्ठ प्रबन्धक देखि सहायक स्तरसम्मको पदपूर्ति गर्ने बैंकले जनाएको छ । नवौं तहको बरिष्ठ प्रबन्धक २ जना, आठौँ तहको प्रबन्धक ७ जना, सातौ तहको उपप्रबन्धक ११ जना, छैठाँै तहको सहायक प्रबन्धक १४२ जना, पाँचौँ तहको वरिष्ठ सहायक(प्रशासन) १०५ जना, वरिष्ठ सहायक(कानून) १० जना, वरिष्ठ सहायक(नगद) ३२ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) ४३, चौथो तहको सहायक(प्रशासन) २३९ र सहायक(नगद) ७० जना कर्मचारी माग गरिएको हो । बरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक र सहायक प्रबन्धक पदको आवेदन दिनका लागि स्नातकोत्तर उत्तीर्ण हुनु पर्नेछ । त्यसैगरी बरिष्ठ सहायकको लागि स्नातक र सहायक पदका लागि प्लस टु उत्तीण गरेको हुनु पर्नेछ । आवेदकले बैशाख १२ गतेसम्म आवदेन दिन सक्नेछन्, यो अवधिमा आवेदन नदिए दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ । अनलाइनबाट फारम भर्न सकिने जनाइएको छ ।
२५ ठेकेदार कम्पनी कालो सूचिमा, जमानत जफत हुँदै (सूचिसहित)
काठमाडौँ । सरकारले समयमा काम नगर्ने २५ ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ । सम्झौता मितिबाट म्याद थपको सुविधा दिंदा समेत काम अघि नबढेपछि कम्पनीलाई कालोसूचिमा राख्ने तयारी भएको हो । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले २५ कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको हो । कालो सूचिमा पर्ने कम्पनीहरुमा आषिश कन्स्ट्रक्सन, मैनाचुली-सरुची जेभी सव कन्ट्रयाक्टर मजदुर कन्स्ट्रक्सन, फ्राइन्डस् कन्ट्रक्सन प्रालि, बन्दन-भगवती, मजदुर जेभी, लोहोनी एण्ड ब्रदर्श एमपी कन्ट्रक्सन जेभी, गजुरमुखी कम्पनी प्रालि, एटलस खड्का-कृष्ण जेभी, अञ्जना निर्माण सेवा कम्पनी प्रालि, कुशेश्वर ब्रम्हायणी जेभी, अञ्जना निर्माण सेवा कम्पनी, सिद्धि साई द क्याराभान जेभी, रबिना-त्रिवेत्री-बडिमालिका जेभी, गाल्वा खड्का–कृष्ण जेभी रहेका छन् । त्यसैगरी धर्मेन्द्र नान्जिला एण्ड आकाँक्षा जेभी, कुशेश्वर निसान जेभी, नव निर्माण एण्ड कन्सल्टेन्सी सेवा प्रालि, आशिष कन्ट्रक्सन, एटलस थोदुङ खड्का-कृष्ण जेभी, धुलिखेल निशान-कुवर जेभी, सुनकोसी कन्ट्रक्सन नेपाल प्रालि, समानन्तर जगदम्बा नेशनल जेभी, शिभिल निर्माण सेवा र स्काई विल्डर्स प्रालि सहित २५ वटा कम्पनी कालो सूचिमा परेका छन् । यी कम्पनीहरुले प्रायः भवन निर्माण सम्बन्धी ठेक्का जिम्मा लिएका छन् । कार्यालयले कम्पनीहरुलाई पटक-पटक ताकेता गर्दा पनि चासो नदेखाएपछि कारबाही प्रक्रिया अघि बढाएको हो । कम्पनीहरु माथी खरिद ऐन र खरिद नियमावली २०६४ बमोजिम धरौटी वापतको रकम जफत ठेक्का सम्झौता रद्द र कालो सूचिमा राख्ने तयारी गरेको छ । कम्पनीहरुले म्याद सकिने बेलासम्म पनि काम सुचारु नगरेपछि कालो सूचिमा पर्ने निश्चित भएको हो । यो सँगै बाँकी काम गर्न लाग्ने खर्च र निर्माण स्थल सुरक्षमा लाग्ने खर्च समेत निर्माण कम्पनीले बेहोर्नु पर्ने आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
सुनको मुल्य बढ्यो, प्रतितोला ५९ हजार ५ सयमा कारोबार हुँदै
काठमाडौं । विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा विक्री भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुनको मुल्य बढेसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ बढेर ५९ हजार २ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने लामो समयदेखि प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी लिएको छ ।
मौसम बदलीसँगै वर्षा, केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ । त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।
एकै परिवारका तीन जनाले गरे आत्महत्या, घटना रहस्यमय
भरतपुर । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३-१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११-१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए । मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।
काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । रासस
मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम ९० प्रतिशत सकियो, एक हप्तामा सबै सकिने
गोरखा । मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनियर सीताराम अधिकारीले जानकारी दिए । प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रमा टावर राख्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । “गोरखा क्षेत्रमा ६६ हाइटेन्सन लाइन निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६३ निर्माण भइसकेको छ”, इञ्जिनियर अधिकारीले भने, “बाँकी रहेका तीन टावर निर्माण पनि करीब एक हप्ताभित्रमा सम्पन्न हुने गरी काम अघि बढेको छ ।” गोरखा जिल्लाका तीन गाउँपालिका हुँदै काठमाडौँको मातातीर्थसम्म पुग्ने प्रसारण लाइनको ३३ किलोमिटर क्षेत्र गोरखा जिल्लामा पर्छ । “‘गोरखातर्फ तार तान्ने काम मात्रै बाँकी छ भने पनि हुन्छ”, अधिकारीले भन्नुभयो, “लगभग सात किलोमिटर जति त तार तान्ने काम पनि भइसकेको छ ।” आयोजनाले तनहुँको आबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक र काठमाडौँको मातातीर्थमा सवस्टेशन निर्माण गरी प्रसारण लाइन निर्माणको काम अघि बढाएको थियो । जसअन्तर्गत मार्कीचोकदेखि मातातीर्थसम्म कूल २३१ हाइटेन्सन टावर निर्माण गर्नुपर्ने इञ्जिनीयर अधिकारीले बताए । आयोजनाको दुवै सवस्टेशन निर्माणको कामसमेत करीब ७० प्रतिशत सम्पन्न भएको जनाइएको छ । “सवस्टेशन निर्माण आउँदो कात्तिकभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकाले निर्धारित समयमा लगभग सम्पन्न हुने देखिन्छ”, उनले भने, “प्रसारण लाइन भने यही महिनाभित्र सक्नुपर्ने भए पनि ढिलाइ भएकाले छ महीना थपका लागि प्रस्ताव पठाएका छौँ ।” कुनै प्राविधिक समस्या नभएमा आगामी छ महीनाभित्रमा मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने इञ्जिनीयर अधिकारीले बताए । नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका लागि २२० केभी प्रसारण सञ्जाल निर्माण शुरु गरेसँगै पश्चिम क्षेत्रमा मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माणकार्य अघि बढेको हो । “यहाँबाट मस्र्याङदी करिडोर क्षेत्रमा उत्पादन हुने निजी तथा सरकारी सबै खालका विद्युत् उत्पादनलाई मार्कीचोक सवस्टेशनमा आवश्यकताअनुसार सङ्कलन गरी मुख्य शहरमा पठाउने काम हुन्छ”, इञ्जिनियर अधिकारीले भने । मस्र्याङदी करिडोर क्षेत्रमा उत्पादन हुने विद्युत्लाई काठमाडौँसहित पोखरा, चितवनलगायतका मुख्य शहरसम्म पु¥याउन बढी क्षमताको प्रसारण लाइन निर्माण गरिएको र यसबाट प्राविधिकरूपमा हुने चुहावट कम हुनेछ । “मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्मको विद्युत् प्रवाह गर्न सक्छ”, अधिकारीले भने, यो पश्चिम क्षेत्रकै अहिलेसम्मको एकमात्र २२० केभी प्रसारण लाइनको आयोजना हो ।” उक्त आयोजनाको प्रसारण लाइन विस्तारका लागि रु दुई अर्ब २० करोड तथा सवस्टेशन निर्माणका लागि रु दुई अर्ब १० करोड खर्च लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्रसारण लाइनमा एउटा टावर निर्माणका लागि एकदेखि दुई रोपनीसम्म जग्गा आवश्यकता पर्ने भएकाले सार्वजनिकबाहेकका जग्गा भने अधिग्रहण गरिएको अधिकारीले जानकारी दिए । त्यस्तै प्रसारण लाइनमुनि परेका जग्गाधनीलाई भने आयोजनाले क्षतिपूर्ति रकम उपलब्ध गराउने तयारी गरिरहेको छ । आयोजना निर्माणको काम सम्पन्न भएपछि गोरखा र आसपासका जिल्लामा प्राविधिकरूपमा हुने विद्युत् चुहावट कम हुनुका साथै भोल्टेज तलमाथि हुने समस्यामा कमी आउने उनले बताए । आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको छ भने सवस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी सेनजेन फाराड इलोक्ट्रिक कम्पनीले ठेक्का पाएको अधिकारीले जानकारी दिए । रासस
२०७६ मा होटल/रेष्टुरेन्टको नाफा उच्च हुने, २३ अर्ब ५९ करोडले लगानी बढ्ने प्रक्षेपण
काठमाडौं । होटल तथा रेष्टुरेन्टमा लगानी गर्नु भएको छ ? होटल रेष्टुरेन्ट चलेन भनेर चिन्तित हुनु हुन्छ भने नयाँ वर्ष २०७६ ले तपाईँको लागि खुशीको बहार ल्याउँदै छ । नयाँ वर्ष २०७६ मा होटल तथा रेष्टुरेन्टको ब्यापार बढ्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको ५ वर्षको तथ्याङ्कले आर्थिक वर्ष ०७६/७७ मा होटल/रेष्टुरेन्टमा लगानी बढ्ने र कारोबार समेत उच्च हुने देखाएको हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । भ्रमण वर्षले नै लगानी र कारोबार बढाउने अनुमान आयोगले गरेको छ । चालू आर्थिक वर्षमा ४१ अर्ब ९४ करोड होटल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानी हुँदैछ । अर्को आर्थिक वर्ष ०७६/७७ मा २३ अर्ब ५९ करोड बढेर ६५ अर्ब ५३ करोड पुग्नेछ । आव ०७७/७८ मा २२ अर्ब ३८ करोडले बढेर ८७ अर्ब ९१ करोड लगानी पुग्नेछ । यस्तै आव ०७८/७९ मा ५ अर्ब ७० करोड बढेर ९३ अर्ब ६१ करोड लगानी पुग्नेछ । आव ०७९/८० मा ९ अर्ब ४७ करोड बढेर १ खर्ब ३ अर्ब ८ करोड लगानी पुग्नेछ । यस्तो छ १५ औं पञ्चवर्षीय योजना चालु आर्थिक वर्षमा १०१२ डलर रहेको प्रतिव्यक्ति आय पाँच बर्षपछि अर्थात आर्थिक वर्ष ०८०/८१ मा ५ सय ८८ डलरले बढाएर १६ सय डलर पुर्याउने लक्ष्य तय गरिएको छ । आगामी पाँच बर्षमा देशको आर्थिक वृद्धि दर औषतमा १०.३ प्रतिशत कायम गराउने योजना छ । निरपेक्ष गरिबीको रेखा मुनी रहेको १८.७ प्रतिशतको जनसंख्यालाई १३ प्रतिशतमा झार्ने, औषत आयु हालेको ६९.६७ बर्षबाट ७२ बर्ष पुर्याउने, साक्षरतालाई ५८ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याउने, बेरोजगारीलाई ६ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । ७६ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने, ११२ किलोमिटर रेलमार्गको निर्माण सम्पन्न गर्ने योजना पनि बनेको छ । हाल ७६.९ प्रतिशत परिवार मात्रै आधा घण्टाको यात्रापछि यातायातको पहुँचमा पुग्छन्, आगामी पाँच बर्षपछि ९५ प्रतिशत नागरिकले आधा घण्टा पैदल हिडेपछि यातायातको सुविधा पाउनेछन् । ७५ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच विस्तार हुनेछ जुन हाल ५५.४ प्रतिशत रहेको छ । हाल १०२० मेगावाट जलविद्युत उत्पादन भैरहेको छ तर पाँच बर्षपछि त्यो बढेर ५ हजार मेगावाट हुनेछ । अर्थतन्त्रमा योगदान चालु आर्थिक बर्षमा ३४ खर्ब ४९ अर्ब ८ करोड हुने अपेक्षा गरिएको कूल गार्हस्थ उत्पादन आगामी पाँच बर्षपछि ५५ खर्ब ७५ अर्ब १९ करोडका हुनेछ । यसमा कृषि वन र खानीको योगदान २८.२ प्रतिशतबाट घटाएर २३ प्रतिशत कायम गराइनेछ भने उद्योगका योगदान १४.२ प्रतिशतबाट बढाएर १९ प्रतिशत पुर्याइनेछ । सेवा क्षेत्रको योगदान भने ५७.६ प्रतिशतबाट बढेर ५८.७ प्रतिशत पुग्नेछ ।