जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा
काठमाडौँ । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बंैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश शाहीले ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने बताए । उक्त कार्यक्रममा सिभिल बैंकका यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।
नेपाल बैङ्कको नयाँ शाखा तुलसीपुरमा
काठमाडौं । नेपाल बैङ्कको नयाँ शाखा तुलसीपुरमा विस्तार भएको छ । नेपाल बैङ्कले प्रदेश नम्बर ५ ,दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका वडा नं ६ घोराहीरोड्मा शाखा स्थापना गरेको हो । राप्ती अन्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको उपमहानगरमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा ,निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैङ्किंग सेवा र सुविधाहरु उपलव्ध हुनेछ । वि.सं.१९९४ सालमा देशको अग्रणी बैङ्कको रुपमा स्थापित नेपाल बैङ्कले देशका ६१ जिल्लामा १६१ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किग सेवा पुर्यारहेको छ ।
तनहुँको मार्कीचोकमा १३२/३३ केभी सबस्टेसन सञ्चालन, लागत ६० करोड रुपैयाँ
काठमाडौँ । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी विहीबारबाट संचालन(चार्ज) मा ल्याएको हो । सबस्टेसन संचालनमा आएसँगै मध्यमस्र्याङदी-डुम्रे-दमौली-१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमस्र्याङदी –दमौली– मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइन यस अघि नै संचालनमा आइसकेको छ । मार्कीचोक सबस्टेसन संचालनमा आएसँगै गोरखामा रहेको भोल्टेज ड्रप, पटकपटक लाइन ट्रिप हुने, भोल्टेज नहुने लगायतका समस्यामा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दमौली-डुम्रे -आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, लामो दुरीबाट विद्युत आपूर्ति हुँदा धेरै समस्या थियो, अब मार्कीचोक सबस्टेसनबाट आँबूखैरेनी हुँदै गोरखातर्फ विद्युत् जान्छ, जसबाट ३३ केभी लाइनको दुरी कम हुँदा प्रणालीको चुहावट चुहावट घट्ने, भोल्टेज ड्रप तथा ट्रिपिङमा सुधार आई विद्युत आपूर्ति भरपर्दो हुने छ’, उनले भने । ‘मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनलाई मार्फत प्रवाह हुने विद्युतलाई निर्माणाधीन मस्र्याङदी-मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको १३२/२२० केभी सबस्टेसनमार्फत २२० केभीमा स्टेप अप गरी काठमाडौंमा विद्युत ल्याउन पनि सकिन्छ ।’ मस्र्याङदी-मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाले अहिले मार्कीचोकमै १३२/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । मध्यमस्र्याङदी-डुम्रे-दमौली-१३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख शुभारम्भ विक्रम शाहका अनुसार, अब मध्यमस्र्याङदी र दमौलीबाट आउने १३२ केभी प्रसारण लाइनलाई मार्कीचोक सबस्टेसनमा प्रवेश गराई (लुप इन) १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तल्लो मस्र्याङदीतर्फ पनि निकाल्न (लुप आउट) गर्न सकिने छ । आयोजनाले मार्कीचोकमा सबस्टेसन निर्माण गर्ने, मध्यमस्र्याङदी तथा दमौली सबस्टसनमा क्रमशः १ र २ वटा बे र तल्लो मस्र्याङदीमा जिआइएस बे विस्तार गर्न चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग आर्थिक वर्ष २०६९/७०मा ठेक्का सम्झौता गरेको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋण रहेको आयोजनाको अनुमानित लागत ६० करोड रुपैयाँ थियो । अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको प्रमुख शाहले बताए । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियान कै रुपमा चलाइरहेको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।
प्रेम कथानक चलचित्र ‘लभ स्टेशन’ प्रदर्शन
काठमाडौं । प्रेम कथानक चलचित्र ‘लभ स्टेशन’ प्रदर्शन भएको छ । अघिल्लो साता दुई वा सोभन्दा बढी चलचित्र प्रदर्शन भईरहँदा ‘लभ स्टेशन’ हलमा एक्लै प्रदर्शन भईरहेको छ । उज्ज्वल घिमिरेको निर्देशनमा रहेको सो चलचित्रमा प्रदीप खड्का र जसिता गुरुङको प्रमुख अभिनय रहेको छ । गत वर्ष प्रदर्शन भएको ‘लिलिबिलि’ को उक्त जोडीलाई मन पराएसँगै ‘लभ स्टेशन’मा पूर्ण देखिएका हुन् । चलचित्र निर्माणमा शाही गरेका हुन् । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टाई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल लगायतको पनि अभिनय रहेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् । ‘लभ स्टेशन’ मा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको हो ।
उद्योग वाणिज्य संघ नुवाकोटमा काङ्ग्रेस र नेकपाबीच लडाई, ताराबहादुर कार्की र रमेश श्रेष्ठ भिड्दै
विदुर/आजदेखि सुरु भएको नुवाकोट उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिक दलहरूकै चलखेल तीव्र भइरहेको छ । शत्तामा रहेको नेकपा र प्रतिपक्ष नेपाली काङ्ग्रेसले व्यावसायीको निर्वाचनमा अस्तित्वको लडाई लडिरहेका छन् । ०६९ सालपछि नेतृत्व गर्नेले सङ्घको गरिमालाई घटाउँदै दलहरूको पोल्टामा सङ्घलाई लगेर बुझाइदियो । अहिले सङ्घ व्यावसायिक एजेण्डाविहीन राजननीतिक दलको छायाँमा देखिन्छ । सङ्घका हरेक गतिविधि जिल्लाको उद्योगी–व्यवसायी हितमा भन्दा पनि राजनीतिक दलको फाइदा–बेफाइदामा गएर टुङ्गिरहेको छ । यस पटकको अधिवेशनमा सङ्घको नेतृत्व सर्वसम्मत गर्न वर्तमान कार्यसमितिले लिखित निर्णय गरी दुई पेजको नेपाली कागजमा आगामी कार्यसमितिको खाका कोरे पनि जिम्मेवार व्यक्तिहरूले तदारुकता नदेखाउँदा कार्यान्वयन हुन सकेन । आखिर निर्वाचन हुने नै भयो । फेरि पनि व्यवसायी दलको नाममा विभाजित भएका छन् । एकपटक फेरि नुवाकोटका उद्योगी–व्यवसायीले हारेका छन् । दलको इसारामा नुवाकोट उद्योग वाणिज्य सङ्घको निर्वाचनको लागि टिम बनेको छ । नेकपा र नेपाली काङ्ग्रेस समर्थित व्यवसायीबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । सङ्घको निर्वाचन प्रयोजनका लागि नेकपा पार्टीको समर्थनमा रमेश श्रेष्ठ र नेपाली काङ्ग्रेसको समर्थनमा ताराबहादुर कार्कीको प्यालन चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । व्यावसायिक संस्थामा राजनीतिक दलको आधारमा प्रतिस्पर्धा हुँदा सकारात्मक सन्देश नदिने भन्दै सहमतिका आधारमा नेतृत्व चयनको आम व्यवसायीको प्रयास सफल नभएपछि प्रतिस्पर्धाबाट पदाधिकारी छनोट हुन लागेको छ । अध्यक्षसहित सम्पूर्ण पदमा सत्तानिकट नेकपाबाट युवा व्यवसायी रमेश श्रेष्ठको प्यानल र काङ्ग्रेसले अनुभवी सङ्घका वर्तमान अध्यक्ष ताराबहादुर कार्कीको प्यानल तयार गरी मैदानमा उतारेको छ । सङ्घको दशौँ अधिवेशनले नुवाकोट उद्योग वाणिज्य सङ्घमा ८ पदाधिकारीसहित २२ सदस्यीयकार्य समितिको चयन निर्वाचनद्वारा गर्नेछ । वरिष्ठ उपाध्यक्षमा कार्की प्यानलबाट अहिलेका कोषाध्यक्ष गीता अमात्य र श्रेष्ठ प्यानलबाट सङ्घका पूर्वसचिव एवम् युवा इन्जिनियर रामकृष्ण राजभण्डारीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट सङ्घका वर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट सङ्घका वर्तमान कार्यसमितिका सदस्य उसनमान श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । द्वितीय उपाध्यक्षमा कार्की प्यानलबाट वर्तमान कार्यसमितिका प्रवक्ता सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट वर्तमान कार्यसमितिका सदस्य लिडर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी श्रेष्ठ प्यानलबाट महासचिवमा वर्तमान कार्यसमितिका महासचिव दीपक कायस्थ र कार्की प्यानलबाट सङ्घका पूर्वसचिव कृष्ण अधिकारीबीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै, सचिवमा कार्की प्यानलका वर्तमान कार्यसमितिका सदस्य उपेन्द्र बुढाथोकी र श्रेष्ठ प्यानलबाट वर्तमान कार्यसमितिका सदस्य राजु बोगटीबीच कडा प्रतिस्पर्धा हुनेछ । सङ्घको अर्को महत्वपूर्ण पद कोषाध्यक्षमा कार्कीको टिमबाट सङ्घका वर्तमान कार्यसमितिका सदस्य दिनेश श्रेष्ठ र श्रेष्ठको टिमबाट राजाराम अधिकारीबीच प्रतिस्पर्धा हुनेछ । प्रवक्तामा कार्की टिमबाट सङ्घका वर्तमान कार्यसमितिका सदस्य सविनराज भण्डारी र श्रेष्ठ प्यानलबाट सङ्घका पूर्वकोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । तीन महिला सदस्य पदमा श्रेष्ठ प्यानलको लक्ष्मीकुमारी प्रधान, विष्णुमाया डङ्गोल र शर्मिला अर्यालले र कार्की प्यानलको लिस्ना प्रधान श्रेष्ठ, ज्ञानुमाया गिरी र अञ्जली राजभण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी दुई वस्तुगत सदस्यको लागि श्रेष्ठ प्यानलबाट बुद्धिसागर रिजाल र प्रकाश भण्डारीको कार्की प्यानलका ध्रुवकुमार रावल र उत्तम ढकालसँग प्रतिस्पर्धा हुनेछ । नौजना खुला सदस्य पदका लागि श्रेष्ठ प्यानलबाट पवन नेपाल, सञ्जीव थपलिया, रामधन ढकाल, दीपक तिमल्सिना, नारायण पौडेल, ईश्वर पौडेल, सेल्बोन तामाङ, श्यामकुमार कुँवर र विनयप्रसाद लामिछानेले कार्की प्यानलका विष्णु प्याकुरेल, उद्धवराज पन्थ, निरोजकुमार खड्गी, सरोज श्रेष्ठ, सुमन भण्डारी, मधुसुदन थपलिया, गगन लामा, सुजित जोशी र मेघनाथ घिमिरेसँग प्रतिस्पर्धा हुँदै छ । सङ्घको १६औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशनको उद्घाटन भोलि शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष भवानी राणाले गर्ने जानकारी सङ्घले दिएको छ ।
सुवारेजको ‘वन टच’ बन्दुकको गोली जस्तै
काठमाडौं । तत्कालिन लिभरपुलमा व्यवसायिक फुटबल खेलिरहेका उरुग्वेका स्ट्राइकर लुइज सुवारेजलाई बार्सिलोनाले किन्ने निर्णय गर्यो । विश्वकपमा इटालिका डिफेन्डर चिलियनीलाई टोकेको प्रमाणित भएपछि ६ महिना सबै किसिमको फुटबल प्रतियोगितामा प्रतिबन्ध लाग्यो । प्रतिबन्धित खेलाडीलाई किनेको भन्दै बार्सिलोनाको पनि आलोचना भयो । सुवारेज बार्सिलोनामा आउँदा सबैको चिन्ता थियो । उनी लयमा फर्केलान । सबैको शंकालाई गलत साबित गर्दै उनले बार्सिलोनाको लागि मत्वपुर्ण गोल गरिरहका छन् । ६ फिट अग्गा सुवारेज बार्सिलोको संस्कारसँग अभ्यस्त भैसकेका छन् । टोलीलाई कसरी खेल जिताउने भन्ने कुरामा उनले कुनै कसर बाँकी राखेका छैनन् । गोल गर्न नसकेको अचोचना बढ्दा उनले मैदानमै गन्जी समेत च्यातेका छन् । यसबाट प्रष्ट हुन्छ उनलाई कुनै प्रशिक्षक वा समर्थकले आलोचना गर्नु पर्दैन । तुलनात्मक रुपमा बल होल्ड र छलाउने कम क्षमता भएका सुवारेज फिनिसिङमा तिखारिदै गएका छन् । जब विपक्षीले डिफेन्स बलियो बनाउँछ सुवारेजले स्कोर गर्न सक्दैनन किनभने उनको लागि ग्याप र वन टच आवश्यक पर्छ । गत बुधबार भिल्लारियलको होम ग्राउण्ड स्टाडियो डे ला क्यारामिकामा भएको खेलमा समर्थकहरु विजयको खुसि मनाउने तयारीमा रहेका थिए । तर अन्तिम समयमा पाएको कर्नर किकमा सुवारेजले सक्तिसाली वन टच प्रहार गर्दै खेल ४४ बराबरीमा ल्याए । यो गोलले भिल्लारियल समर्थकको आवाज बन्द गरायो । सुवारेज आफैंमा एउटा नौलो किसिमको फुटबल खेलिरहेका छन् । उनमा विपक्षीलाई कसरी ट्याकल गर्ने भन्ने विषयमा पनि उत्कृट सिप रहेको छ । विशेषगरी उनी डी बक्समा वन टच प्रहार गर्न रुचाउँछन् । उनले डि बक्समा १ देखि डेढ फिटसम्मको पास मागिरहेका हुन्छन् । यो सिजन उनले लालिगामा १९ गोल र ६ असिष्ट प्रदान गरेका छन् ।
स्थापना दिवसमा अपाङ्ग पुनर्स्थापना केन्द्रलाई फियुनको सहयोग, ५५ वालबालिका लाभान्वित
काठमाडौंं । नेपाल वित्तीय कर्मचारी संघ (फियुन)ले गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अपाङ्ग पुनस्र्थापना केन्द्रलाई सहयोग गरेको छ । आफ्नोे २९ औं स्थापना दिवसको अवसरमा फियुनले केन्द्रलाई फर्निचर र त्यहाँ रहेका बालबालिकाहरुलाई जुत्ता तथा स्टेशनरी सामानहरु वितरण गरेको हो । शुक्रबार केन्द्रमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाको समेत उपस्थितिमा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले केन्द्रका अध्यक्ष उदय लिम्बुुलाई सो फर्निचर, जुत्ताहरु तथा स्टेशनरीका सामानहरु हस्तान्तरण गरेका थिए । कार्यक्रम फियुनका अध्यक्ष रेग्मीले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित ४५ ओटा संस्थाको उपस्थिति भएको नेपाल वित्तीय संस्था कर्मचारी संघको गठन नै लोकतन्त्रान्तिक व्यवस्थाको एउटा सफलता भएको बताउँदै २०४७ सालमा लोकतान्त्र बहाली पछि गठन भएको संघले २९ औं स्थापना दिवस मनाउन लागेको बताए । उनले मानवीय सेवा अभियानको क्रममा केन्द्रलाई तेस्रोपटक सहयोग गरेको बताए । हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष लिम्बुले अपाङ्ग पुनर्स्थापना केन्द्रले ५५ जना अपाङ्ग बालबालिकाहरुको शिक्षा र पुनर्स्थापनाको काम गरिरहेको बताउँदै संस्थाले ३ वर्षदेखि निरन्तर रुपमा संस्थालाई विभिन्न किसिमका सहयोग गर्दै आएकोमा आभार प्रकट गरेका थिए । सोही कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सुरेश चालिसेले आफ्नो नगर क्षेत्रमा मात्रै ८ ओटा पुनर्स्थापना केन्द्र भएको बताउँदै त्यसमध्ये अपाङ्ग पुनर्स्थापनाको केन्द्रले उत्कृष्ठ काम गरेकोले नगरपालिकाको ध्यान केन्द्रमा गएको बताए । उनले नगरपालिकाले केन्द्रलाई सक्दो सहयोग गर्ने बताउँदै आफ्ना आवश्यकता र नगरपालिकाले गर्नुपर्ने सहयोग स्पष्ठ रुपमा माग गर्न आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले देशमा लोकतन्त्र रहे मात्रै यस्ता संस्थाहरुले जीवन्तता पाउने भन्दै लोकतन्त्रवादीहरु एकपटक फेरि जागरुक हुनुपर्ने दिन आएको बताए । नेपाल वित्तीय संस्था कर्मचारी संघ २०४७ साल बैशाख १७ गते बैंक कर्मचारी काँग्रेसको नाममा स्थापना भएको संस्थाले सोही वर्षको चैत २२ गते आफ्नो नाम परिवर्तन गरी नेपाल वित्तीय संस्था कर्मचारी संघ नामाकरण गरेको थियो । सोही आधारमा शुक्रबार संघले २९ औं स्थापना दिवस मनाएको हो ।
सातौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव , ३३ देशका ८१ वटा प्रर्दशन हुने
काठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ सुरु भएको छ । राजधानीको कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा शुभसन्ध्या ब्यान्डको सांगीतिक प्रस्तुतीबाट महोत्सव उद्घाटन गरियो । ‘सुरक्षित,व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित सुरु भएको चलचित्र महोत्सवमा ३३ वटा देशका ८१ वटा चलचित्र प्रर्दशन गरिने छ । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, एनिमेसन, फिचर लगायत सबै विधाका चलचित्रहरु प्रर्दशन गरिनेछ । सुरुवातमा जर्मनका चलचित्रकर्मी जिम क्र्याप्ट र बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ प्रदर्शन गरियो । नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्रहरु प्रदर्शन गरिनेछ । महोत्सवको निर्णायक मण्डल तर्फ नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा रहेका छन् । महोत्सव उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले समाजमा चेतना विस्तारका लागि चलचित्र सबैभन्दा महत्वपूर्ण साधन भएको बताए । ‘समाज परिवर्तनका लागि चलचित्र राम्रो साधन हो,’ दिमागमा बसेको ‘भिजोल’ले मानिसलाई तत्काल र सकारात्मक छाप बाँचुन्जेल पाछर्, उनले भने । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले राजधानीमा नेपाल मानव अधिकार चलचित्र महोत्सवको सातौं संस्करण सुरु भएको चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए । त्यस्तै, चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले स्वागत मनतव्य राख्दै महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापितको कथामा निर्माण भएका चलचित्रलाई प्राथमिकतामा राखिएको बताए । महोत्सवमा प्रत्येक दिन चलचित्र प्रर्दशन पछि चलचित्रका विभिन्न विषयक अन्र्तक्रिया गरिने छ, भने महोत्सवमा प्रर्दशन भएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत समेत गरिने छ ।