विकासन्युज

पुनःनिर्माणमा सात अर्बभन्दा बढी खर्च, के भयो प्रगति ?

हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा रु सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार भत्किएको निजी भवन र सामुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा रु सात अर्ब ४३ करोड खर्च भएको जनाएको छ । भूकम्पबाट भत्किएका निजी आवास पुनःनिर्माणतर्फ रु पाँच अर्ब पाँच करोड १३ लाख र सामुदायिक विद्यालय भवन निर्माणतर्फ रु दुई अर्ब ३८ करोड खर्च भएको पुनःनिर्माण प्राधिकरण मकवानपुरका प्रमुख सोमराज तिम्सिनाले जानकारी दिए । मकवानपुरमा पूर्ण रुपमा घर क्षति भएको ३३ हजार ९७४ लाभग्राही रहेका छन् । तीमध्ये ११ हजार घरपरिवारले सरकारबाट रकम लिएर पुनःनिर्माण गरेको प्राधिकरणले जनाएको छ ।

मध्यभोटेकोशीको काम ६ वर्षमा ५० प्रतिशत मात्रै, स्थानीयवासीको लगानीनै जोखिममा

मेलम्ची । सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माण कार्य शुरु गरिएको थियो । सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन । स्थानीय जनताको शेयर पनि रहेको आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका स्थानीय बासिन्दालाई मर्का परेको भन्दै स्थानीयतहको ध्यानाकर्षण भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । उनले एक विज्ञप्ति नै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको उल्लेख गरेका छन् । आयोजनाको काम सम्पन्न गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले विभिन्न बहाना गरेर निर्माणमा ढिलाइ गरेको उनको भनाइ छ । शुरुमा रु साढे १३ अर्बमा सम्पन्न गर्ने योजना रहेको उक्त आयोजनाको लागत अहिले रु २० अर्ब भन्दा माथि पुग्ने अनुमान गरिएको छ । रासस

साओमीको ‘रेडमी नोट ७’ र ‘रेडमी ७’ मोबाइल नेपाली बजारमा

काठमाडौ । साओमी मोवाइल कम्पनीले ‘रेडमी नोट ७’ र ‘रेडमी ७’ नेपाली बजारमा एकसाथ भित्र्याएको छ । उक्त मोवाइलमा ४८ मेगा पिक्सलको क्यामेरा रहेको छ । ती मोबाइल फोनमा(४८ एमपिको रियर क्यामेरा) उज्यालो कम हुँदा समेत उत्कृष्ट तस्बिर खिच्न सक्ने क्षमता रहेको छ । साथै, ब्याट्री समेत (४ हजार एमएएच) टिकाउ हुने किसिमको रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीले दाबी गरेको हो । फोन स्पेश ब्लाक, नेप्चुन ब्लू, नेबुला रातो गरी ३ रंगमा उपलब्ध छन् । रेडमी नोट ७ः रेडमी नोट ७को ३ जिबी र्याम र३२ जिबि रोम भएको मोवाइलको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यस्तै ४ जिबि यार्म र ६४ जिबि रोम भएको मोवाइलको २४ हजार ९ सय ९९ रुपैयाँ पर्छ । साथै,४ जिबि र्याम र १ सय २८ जिबि रोम भएको मोवाइल भने २६ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ । रेडमी ७ : रेडमी ७ मोवाईल सेटको ७.२ जिबि र्याम र १६ जिबि रोम भएको मोवाईल १४ हजार ९ सय ९९ रुपैयाँ पर्छ । सोही मोवाईलको ३ जिबि र्याम र ३२ जिबि रोम भएको मोवाइललाई भने १६ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । नेपालका लागि साओमीको तर्फबाट जेनेरल म्यानेजर रहेका शौरभ कौठारीले भने -‘ग्राहकको आवश्यकता अनुसार आफ्नो कम्पनीले गुणस्तर, मूल्य र प्रविधि मैत्री बन्न सो मोडेल भित्र्याएको हो ।’

हावाहुरी प्रभावितका काठमाडौँ महानगरको २५ लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तराईका बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि रु २५ लाख सहयोग गर्ने भएको छ । बिहीबारको ३१ औँ कार्यपालिका बैठकले हावाहुरीबाट प्रभावितलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । कामपाले प्रदान गर्ने उक्त रकम जनप्रतिनिधि र कर्मचारीकोको एक दिनको पारिश्रमिकबाट सङ्कलन हुने रकम हो । बैठकले नगरसभामा चारवटा विधेयक प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । प्रस्तुत हुने विधेयकमा सार्वजनिक निजी साझेदारी, सवारी तथा यातायात व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र शहरी योजना आयोग सम्बन्धी रहेका छन् । बैठकमा विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले विधेयकका दफावार व्यवस्था पेश गरेका थिए । प्रस्तुत विधेयकमा कार्यपालिका सदस्यले सुझाव दिनुभएको थियो । यही चैत २४ गते महानगरको नगरसभा हुनेछ । शहरी व्यवस्थापनलाई जन अपेक्षा बमोजिम बनाउन आवश्यकपर्ने कानून तर्जुमा गर्ने क्रममा उल्लेखित विधेयकलाई कार्यपालिकाको गत फागुन १७ गते बसेको ३०औँ बैठकले अवधारणागत सहमति दिएको थियो । त्यही बैठकले नगरसभाको मिति समेत तय गरेको थियो ।

श्रम र रोजगार क्षेत्रमा यसरी हुँदैछ सुधारः मन्त्री विष्टले के गरे, अब के गर्दैछन् ?

काठमाडौं । दुई तिहाई सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । वर्तमान मन्त्री मण्डलका सदस्य मध्ये गोकर्ण विष्टले मन्त्री भएको १ वर्षको अवधिमा धेरै काम देखाएका छन् । जसले गर्दा विष्ट अहिलेको मन्त्री मण्डलका चर्चित मन्त्री बनेका छन् । मन्त्री विष्टको कामले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चर्चा चुलिएको छ । मन्त्री हुने बित्तिकै २-३ महिना जति अध्ययनमा जुटेका विष्ट अहिले एकपछि अर्को समस्याको पहिचान गर्न व्यस्त रहे । देशमा बेरोजगारी व्याप्त छ, त्यसमा अझ दक्ष जनसक्ति नहुँदा समस्य थपिने नै भयो । देशका अधिकांश मानिस कृषिमा आधारित र वैदेशिक रोजगारको लागि दौडधुप गरिरहेको अवस्थामा बिष्टले एक वर्षमा श्रम क्षेत्र सुधारको लागि सक्दो प्रयास गरेका छन् । बिष्टले श्रमिकको तलब बैंक खाताबाटै प्रदान गर्नु पर्ने, सामाजिक सुरक्षा कोषको स्थापना, वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने प्रयास गरेका छन् । सामाजिक सुरक्षाकोष सञ्चालनमा निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि पेन्सन दिने सामाजिक सुरक्षाकोष सञ्चालनमा आएको छ । न्यूनतम पारिश्रमिकको १० प्रतिशत रोजगार दाताले जम्मा गर्ने र ११ प्रतिशत श्रमिकको गरी २१ प्रतिशत कोषमा जम्मा गर्ने गरी सामाजिक सुरक्षाकोष सञ्चालनमा आएको छ । अहिले कोषले रोजगारदातालाई कोषमा दर्ता र श्रमिकको संख्या पहिचान गर्ने काम गरिरहेको छ । यसले निजी क्षेत्रमा काम गर्नेहरुले समेत पेन्सन, बीमा लगायतका सुविधाहरु लिन सक्नेछन् । फ्रि भिषा फ्रि टिकट बैदेशिक रोजगारीको शिलशिलाम खाडी मुलुकमा जानेहरुका लागि लागि मन्त्री बिष्ट फ्रि भिसा र फ्रि टिकटको पक्षमा दरिलो भएर लागेका छन् । बैदेशिक रोजगार व्यवसायीहरुको चर्को दबावका बीचमा मन्त्री विष्टयसलाई लागू गराएरै छोड्ने तयारीमा छन् । रोजगार नभए भत्ता प्रधानमन्त्री रोजगार कार्याक्रम अन्र्तगत रोजगार कार्यक्रमलाई मन्त्री बिष्टले अघि बढाईसकेका छन् । ७५३ वटै स्थानीय निकायमा बेरोजगारको संख्या यकिन गरी १०० दिनको रोजगारी नभए निर्वाह भत्ता प्रदान गर्ने गरी कार्यक्रमको सुरुवात भैसकेको छ । यो कार्यक्रम न्युन आय भएका मानिसहरुका लागि लक्षित रहेको छ । कल सेन्टरको स्थापना रोजगार सम्बन्धी गुनासो, समस्या, सल्लाह सुझाव दिनको लागि मन्त्रालयले कल सेन्टरको स्थापना गरेको छ । जुनसुकै देशबाट फोन गरी आफ्नो समस्याको बारेमा उजुरी वा सुझाव दिन सकिनेछ । यसको लागि मन्त्रालयले बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म कल गर्न सकिने व्यवस्था गरेको छ भने अवस्था हेरेर २४ सै घण्टा सञ्चालनमा ल्याउने मन्त्रालयको तयारी छ । श्रम सम्बन्धी आउन सक्ने सबै प्रकृतिको समस्या यसमा टिपाउन सकिन्छ । यदि कुनै म्यानपावर कम्पनीले ठगी गर्यो, कर्मचारीले काम गर्न आनाकानी गरे, स्वदेशी कम्पनीहरुले समयमै तलब दिएनन्, विदेशमा काम गर्ने क्रममा जेल परे, या कुनै किसिमको समस्या भए सिधै कल सेन्टर मार्फत उजुरी गर्न सकिनेछ । गम्भीर प्रकृतिको उजुरी आए सिधै मन्त्री विष्टको मोबाइलमा जाने व्यवस्था पनि कल सेन्टरले गरेको छ । ७ प्रदेशबाट श्रम स्वीकृति वैदेशिक रोजगारबाट जान चाहने व्यक्तिको लागि ७ वटै प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मन्त्रालयले मिलाइसकेको छ । यसअघि स्वीकृति लिन काठमाडौं मै आउनु पर्ने बाध्यता रहेको थियो । विदेशबाट फर्केका कामदारको सिप परीक्षण विभिन्न मुलुकमा काम गरेर फर्केका कामदारहरुसँग भएको सिप परीक्षण गरी मन्त्रालयले प्रमाण पत्र प्रदान शुरु गरेको छ । प्रमाण पत्रकै आधारमा कुनै व्यवसाय गर्न चाहेमा त्यस्ता व्यक्तिले सहुलियत ऋणको समेत सरकारले व्यवस्था गरेको छ । रोजगारीको क्षेत्र पहिचान गर्दै रोजगारीको आकर्षक देश मानिएको जापानसँग सरकारले श्रम सम्झौता गरिसेको छ । नेपाली रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक, इजरायल लगायतका देशमा अझ बढी रोजगारीको क्षेत्र पहिचानमा मन्त्रालय व्यस्त रहेको छ ।

चैत्र २९ गते बुढामगर दम्पतिले नाचघरमा गर्ने भए ‘युगल साँझ’

काठमाडौं । चैत्र २९ गते लोक गायक बुढामगरका दम्पत्तिले नाचघरमा ‘युगल साँझ’ को आयोजना गरेका छन् । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्कबहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढामगरले यही २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा हुने उक्त कार्याक्रममा साँझ सम्म तयारी हुने बुढामगरले बताए । उनका अनुसार दिउँसो २ बजेदेखि शुरु हुनेछ । त्यस दिन साँझ सभ्य र भव्य रुपमा सम्पन्न हुने दम्पत्तिले विश्वास दिलाए । उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने,‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’ आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् । खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनीलगायतको समुहले गर्नेछ । मादल वादकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ । उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ । कार्यक्रमबाट बचत भएको रकम संस्थाको अक्षयकोष निर्माणको लागि जम्मा हुने सल्यान सरोकार समाज परिवार अध्यक्ष संघर्ष सदिक्षा घर्तीले जानकारी दिईन् । उक्त कोषबाट आउने वार्षिक ब्याजले सल्यानबाट आउने विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई विगतमाझैं आउने दिनमा पनि सक्दो आर्थिक सहयोग गरिने उनले बताईन् । कार्यक्रम समाजका महासचिव फौद बहादुर बस्नेत, सचिव तुलसी भण्डारी, पर्यटन व्यवसायी भीम भारती र सल्यान युवा सञ्जाल काठमाडौंका सुदर्शन बुढाथोथकीको पनि सहभागिता रहेको थियो । उक्त युगल साँझमा सहभागी हुनेहरुको लागि पाँच सय र हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको पनि समाजले जनाएको छ । उक्त युगल साँझको आयोजक नै सल्यान सरोकार समाज रहेको छ ।

सनराइज बैंकको नयाँ वर्षको क्यालेन्डर विमोचन

काठमाडौं । सनराइज बैंकको नयाँ वर्ष २०७६ को क्यालेन्डरको विमोचन भएको छ । औपचारिक समारोहका बीच बैंकको केन्द्रीय कार्यालय, गैरिधारामा क्यालेन्डरको विमोचन गरेको हो । विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओमकृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्धारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेको छ । बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकिरी पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ ।  स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको हो ।

हावाहुरी पीडितलाई प्रदेश नं १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने

विराटनगर । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं-१ मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ । बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको, दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला व्यवस्थापन मूल सहयोगसमिति प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठन गरेको र मेलाका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश प्रहरीको गठन, सेवा शर्त र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान भएको, सङ्घ संस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृति भएको, चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधि, २०७५ स्वीकृत प्रदान भएको र चैत १७ गते बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यको कामना पनि बैठकले गरेको छ । बैठकले गाउँ तथा नगर सभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । रासस