ललितानिवास प्रकरणः सरकारी जग्गामा ठडिए भाटभटेनी र एनआरएनए भवन
काठमाडौं । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएका हुन्। स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ । भाटभटेनीका सञ्चालकले राणा परिवारबाट तथा एनआरएनएले जग्गा हडप्ने मुख्य योजनाकार (मतियार) मध्ये रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट सो जग्गा खरिद गरेका थिए । भाटभटेनीका सञ्चालकहरूका नाममा व्यक्तिगत र संयुक्त गरी करिब ६० रोपनी तथा एनआरएनएका नाममा तीन रोपनी एक आना जग्गा बिक्री गरिएको छ । त्यसबाहेक ललितानिवासका तत्कालीन भोगाधिकारीले अन्य भूमाफिया र मालपोत कार्यालका तत्कालीन कर्मचारीलाई पनि जग्गा बिक्री गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ। २०७१ फागुन तेस्रो साता प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन भवन शिलान्यास गरेका थिए । भवन शिलान्यासका क्रममा तत्कालीन एनआरएनका अध्यक्ष शेष घलेले भवनको लागत ३० करोडभन्दा बढी रहेको बताएका थिए । वास परिसरको जग्गामध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहितले ६० रोपनी र एनआरएनएले तीन रोपनी एक आना आफ्नो स्वामित्वमा ल्याइसकेका छन् । ललितानिवासले चर्चेको जग्गा हडप्ने योजनामा भक्तपुर जिल्लाका तत्कालीन भूमिसुधार अधिकारी हाल निर्वाचन आयुक्त सुधीर शाहको पनि नाम जोडिएको स्रोत बताउँछ। शाहको परिवारका नाममा ललितानिवासको दुई रोपनी जग्गा खरिद भएको विषय पनि अनुसन्धानको घेरामा छ। ‘ललितानिवास र त्यसले चर्चेको जग्गा पुनः सरकारका नाममा ल्याउने र जग्गा हडप्नेमाथि कारबाही चलाउने गरी अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो, ‘जुनसुकै तह र तप्काका भए पनि सरकारी सम्पत्ति हडप्नेमाथि कारबाही हुन्छ।’ ललितानिवासले चर्चेको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा रजिस्ट्रेसन गर्न सघाउने मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीमाथि आयोगले छानबिन गरिरहेको छ । जग्गा हडप्न मतियार बनेका ढकाल, सुवेदी तथा राणा परिवारबाट जग्गा खरिद गर्ने व्यापारी मीनबहादुर गुरुङलगायतमाथि पनि ब्युरोले अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
पाइपलाइन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्ब
अमलेखगन्ज, बारा । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ । हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ। भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ। मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ। निकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ। ‘माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गर्यो, त्यसको डेढ महिनापछि काम सुरु भएको हो,’ आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ।’ ६ हजार ५ सय ६३ रुख काटिँदै छन्। जंगलको ९ किमिमध्ये २ किमि क्षेत्रमा पाइप विस्तार गरी सकिएको छ। काटिएका रुख व्यवस्थापन गर्दै पाइप विस्तार गर्ने काम जारी राखिएको छ। ‘१ करोड ९५ लाख रुपैयाँ हामीले निकुञ्जलाई दिनेछौं,’ उनले भने, ‘जति रुख काटिन्छन्, त्यति नै संख्यामा हुर्काउन आयल निगमले उक्त रकम दिन लागेको हो।’ पाइपलाइन विस्तार गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नियुक्त भएलगत्तै निकुञ्जको समस्या टुंग्याएका थिए। तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको जानकारी यादवले दिए। उनका अनुसार एउटा मर्मत हुँदै छ। जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
आरोहीबाट २५ करोड बढी रोयल्टी उठ्यो, ४६ आरोही समूहलाई आरोहण अनुमति
काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ । कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई÷दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ । सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका बताइन्छ । रासस
त्रिविको थेसिस किनबेचमा प्राध्यापकको संलग्नता, ठगी मुद्दा लगाउने चेतावनी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो गरेका छन् । गोइत अकाउन्ट विषयका शिक्षक हुन् । प्राध्यापकहरूले थेसिस र प्रोजेक्ट रिपोर्ट आफैँले तयार गरी प्रतिविद्यार्थी १५ देखि २५ हजारसम्म रकम असुल्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षकले बार्गेनिङ गरेको गुनासो अभिभावकले क्याम्पस प्रमुखसँग गरेपछि यस्तो तथ्य बाहिरिएको हो । क्याम्पसका केही स्थायी, करार र आंशिक शिक्षकले समेत विद्यार्थीसँग बार्गेनिङ गरेको पाइएको छ । क्याम्पसवरिपरिका फोटोकपी सेन्टरले समेत शिक्षकसँगको मिलेमतोमा विद्यार्थीलाई थेसिस बेच्ने गरेको आरोप लाग्दै आएको छ । यता, बिबिएस चौथो वर्षमा ५० पूर्णांकको प्रोजेक्ट वर्क र एमबिएस तहमा सय पूर्णांकको थेसिस तयार गर्नुपर्छ । शिक्षकले आफैँले त्यस्तो सामग्री तयार गरेर विद्यार्थीसँग रकम असुल्न थालेपछि क्याम्पसले उनीहरूमाथि ठगी मुद्दा चलाउने चेतावनी दिएको छ । क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले सूचना जारी गरी बिचौलियालाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्ता काम दोहोरिन गएमा थेसिस/प्रोजेक्ट रिपोर्टमा चलखेल गर्ने शिक्षकलाई क्याम्पसबाट हटाउने, बढुवा रोक्ने वा त्रिवि सेवाबाट हटाउन सिफारिस गर्ने र ठगीसम्बन्धी मुद्दा चलाउने तथा किन्ने विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिनेछ,’ सूचनामा भनिएको छ । क्याम्पसमा प्रत्येक वर्ष बिबिएसमा करिब सात सय र एमबिएसमा हजार विद्यार्थीले थेसिस तथा प्रोजेक्ट रिपोर्ट बुझाउँछन् । विद्यार्थीको चाप र डिन कार्यालयको बाध्यात्मक नीतिको मौका छोपी केही शिक्षकले नाजायज काम गरेको क्याम्पस प्रमुख आचार्यको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
श्रीकृष्ण क्याम्पस चलाउन महायज्ञ सुरु, पहिलो दिन सवा ३ लाख रुपैयाँ संकलन
नुवाकोट । तारुका श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको लागि जग्गा खरिद तथा भवन निमार्णाथ श्रीमद भागवत सप्ताह महायज्ञ शुरु भएको छ । शनिवार प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले महायज्ञको उद्घाटन गरेका छन् । ७ दिनसम्म पंडित उत्तम भट्टद्वरा कथा वाचन हुने महायज्ञमा पहिलो दिन विभिन्न दाताबाट नगद ३ लाख २१ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सूर्यमान श्रेष्ठले बताए । कार्यक्रममा क्याम्पस संचालक समितिका पूर्व सदस्य दिलबहादुर भुजेल तथा स्थानिय समाजसेवी पूर्णबहादुर भुजेलद्वरा नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ, तथा रामचन्द्र अधिकारीद्वरा १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोगको घोषणा गरेका छन । माहायज्ञमा स्थानिय र अन्यबाट करिव १ करोड संकलन हुने अनुमान गरिएको प्रचार प्रसार समिति संयोजक राजेन्द्र न्यौैपानेले बताए । विद्यालय प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटन गर्दै सांसद तामाङले शिक्षाको विकास विना समाजको विकास संभव नभएको बताए । उनले बिद्यालयको भवन तथा पूर्वाधार निर्माणका लागी सरकारसँग आवश्यक पहल गर्ने बताए । उनले शिक्षा राज्यको दायित्व रहेकाले राज्यले सहयोग गर्नुपर्ने बताए । मुल आयोजक समितिका अध्यक्ष तथा तारकेश्वर गाउँपालिका वाड नं. २ का वडाअध्यक्ष समर बहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का सांसद नारायण प्रसाद खतिवडाले विद्यालय जोगाउन र आधुनिक र प्रविधियुक्त शिक्षाको लागी महायज्ञ लगाउनु परेको बताए । सांसद खतिवडाले राज्यको ध्यान गाउँको विकासमा जोड दिए । शनिबार विहान कलस यात्रा सहित सुरु भएको महायज्ञको उदघाटन समारोहमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ती, उपाध्यक्ष तारादेवी रिमाल, जिल्ला समन्वय समिति नुवाकोटको सदस्य सुविना प्रधान, स्कुल व्यावस्थापन समिती अध्यक्ष ज्ञानबहादुर बख्रेल, क्याम्पस संचालक समिति सदस्य विणारत्न शाक्य, वडा नं. ५ का वडाअध्यक्ष चुडामणी गजुरेललगायतले महायज्ञ सफलताको शुभकामना व्यक्त गरे ।
नेपालबाट भारततर्फ मदिरा तस्करी बढ्दा प्रहरी र राजश्वकाे आँखा पनि त्यतै
वीरगंज । भारतको विहारमा मदिराजन्य पदार्थ बन्द गरेको मौका छोपी मदिरा तस्करहरूले नेपालको विभिन्न नाकाबाट नेपालमा उत्पादित विभिन्न ब्राण्ड तथा घरेलु मदिरा भारततर्फ तस्करी गरी लैजाने क्रमले व्यापकता पाएको छ । खुल्ला सीमाको फाइदा उठाउ“दै र सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीका प्रमुखहरूलाई प्रभावमा पारी तस्करहरूले दिनहु“ भारी मात्रामा मदिराजन्य पदार्थ भारततर्फ तस्करी गरी लैजाने गरेका समाचारहरू प्रकाशमा आएका छन् । सोही क्रममा बाराको वलरामपुरमा रहेको प्रहरी चौकीबाट खटेका प्रहरीले १० कार्टुन मदिरा बरामद गरेको छ । चोरी निकासी गरी भारततर्फ मदिराजन्य पदार्थ निकासी पैठारी हुन लागेको विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलीले सीमावर्ती क्षेत्रबाट विभिन्न ब्राण्डका मदिरा बरामद गरी नियन्त्रणमा लिएको चौकी इन्चार्ज कुमार खड्काले बताए । बराबद गरिएको ती मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाउने तयारी भइरहेको चौकी प्रमुख खड्काले बताए ।
जनता बैंक १० औं वर्षमा, सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना
काठमाडैं । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले समाज प्रतिको दायित्व पुरा गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले चैत्र २३ गते बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहिते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । त्यसमा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ । त्यस्तै, बैंकले देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्दै नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यसै लक्ष्यलाई अवलम्बन गर्दै १०औं बर्ष प्रवेशको अवसरमा मिति २०७५÷१२÷२३ मा कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरमा १९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७जनाले सेवा लिएका थिए । साथै सुर्खेत शाखा,विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए, उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । त्यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो । वार्षिक उत्सवको अवसरमा बैंकले थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । बैंकले हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्ग सञ्चालबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले रु. ७०.९४ अर्ब निक्षेप संकलन र रु. ६५.६९ अर्ब कर्जा लगानी गरेको छ ।
बारा र पर्सा पाँचसय वढी परिवारलाई राहत सामग्री प्रदान
काठमाडाैं । बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रसले तत्कालको सहयोगस्वरुप गैरखाद्य सहयोग सामग्री सेट शुक्रबार साँझसम्म उपलव्ध गराएको छ । यसबाट २६०० बढी मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन् । वितरित हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् । यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी, १०० वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि वितरण गरिएको छ । तयारी खाना भने ३६४ परिवारलाई वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन, पानी सुद्धिकरणको लागि एकलाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री ५०० सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको छ । ५०० वटा झूल वारामा पठाइएकोमा १०० वटा परिवारलाई आज वितरण गरिएको रेडक्रश नेपालले जनाएकाे छ । प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । बारामा १,८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । विस्तृत सर्बेक्षणको लागि बारा र पर्सा दुवै जिल्लामा तालिम सम्पन्न भैसकेको र पर्सामा सर्वेक्षण भोली सम्म सकिनेछ । बारामा आइतबार बेलुकीसम्म विस्तृत सर्बेक्षण सकिने अनुमान छ । विभिन्न सहयोगको लागि रेडक्रसका ९९ स्वयंसेवक हरेकदिन खटिएका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र लेखाजोखा तथा समन्वयको लागि २ वटा टोली खटिएको छ । खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली आजैदेखि कार्यसुरु गरेको छ । केन्द्रीय कार्यालयमा आपत्कालीन केन्द्रले कार्यगरिरहेको र समय सिफ्ट मिलाई हरेक दिन २१ जना कर्मचारीहरु त्यसमा खटिएका छन् ।