केकी अधिकारी सिल्क वेयरको ब्राण्ड एम्बास्डर नियुक्त
काठमाडौँ । नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्राण्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ब्राण्ड एम्बास्डरको लागि केकी अधिकारी र कम्पनीका निर्देशक राजन झाबीच सम्झौता आदान प्रदान भएको छ । यस्तै, सिल्क वेयर ब्राण्डको धाराका सामानहरु भने जोन्स इन्टरनेशल प्रालिले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना प्रोडक्टहरुमा १० वर्षको ग्यारेन्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिइएको छ । उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्राण्डलाई बिस्तार गर्न कम्पनीले आफुलाई रोजेकोमा निर्देशक झालाई धन्यवाद दिइन् । साथै सो ब्राण्डलाई लोकप्रिय बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् । विदेशी ब्राण्डलाई महङ्गो पैसा तिर्नु भन्दा विदेशी ब्राण्ड सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि निर्देशक झाले अनुरोध गरे ।
एनबिआई र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
काठमाडौं । नेशनल बैंकिग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एनबिआई को तर्फबाट सहायक महा प्रबन्धक धनथापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेको हुन् । यस सम्झौतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एप्बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । वित्तीय साक्षरताको आवश्यक सामाग्री माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।
चन्द्रपुरमा बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम रौतहटको चन्द्रपुरमा सम्पन्नभएको छ । तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । इन्स्योरेन्सका प्रबन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम, कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ५० जना कृषि तथा पशु बीमा प्राविधिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रौतहट शाखाका शाखा प्रमुख ओमराज निरौलाले गरेका थिए भने २ नम्बर प्रदेशका क्षेत्रिय प्रबन्धक हुलाश यादव, केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेत र शाखा कार्यालयका कर्मचारीहरुले सहजीकरण गरेका थिए । अजोड इन्स्योरेन्स लिमिटेडले फागुन महिनादेखि रौतहटको चन्द्रपुर शाखाबाट निर्जीवन बीमाको सम्पूर्ण कार्य गर्दै आएको छ ।
एलजीले बजारमा ल्यायो डबल डोर रेफ्रिजेरेटर
काठमाडौँ । एलजीले नयाँ वर्षका अवसरमा डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ । डबल डोर रेफ्रिजेरेटरले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । साइड बाई साइड रेफ्रिजेरटरमा भ्याकुमक्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ । एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।
युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो, कोरियाली ब्ल्याकपिङ्कको भिडियो
काठमाडौं । दक्षिण कोरियाली पप सङ्गीतको समूह ब्ल्याकपिङ्ककाे म्युजिक भिडियो युट्युबमा सबैभन्दा धेरै १० करोड पटक हेरिएर कीर्तिमान राख्न सफल भएको छ । ‘किल दिस लभ’ नामक भिडियाले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्काे कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमानलाई भङ्ग गरेको हो । युट्युबका अनुसार पहिलो दिनमा सो भिडियोले ५ करोड ६७ लाख पटक हेरिएको थियो । सो भिडियो सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा बढी हेरिएर कीर्तिमान कार्यम राख्न ब्ल्याकपिङ्क सफल भएको जनाएको छ । यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडियोले कीर्तिमान बनाउन सफल भएको छ । युट्युबमा २४ घण्टामा बढी हेरिएको भिडियो यस्ता छन् ः १. ब्ल्याकपिङ्क किल दिस लभ, ५ करोड ६७ लाख २. आरियाना ग्रान्डे, थ्याङ्क्रयु नेक्स्ट, ५ करोड ५४ लाख ३. बीटीएस आइडल अफिशल, ४ करोड ५९ लाख ४. टेलर स्विफ्ट लुक ह्वाट यू मेड मी डु, ४ करोड ३२ लाख ५. एमिनेम किलसट, ३ करोड ८१ लाख सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् । ब्ल्याकपिङ्कले सन् २०१६को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो । यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ‘डु डु डु’ भिडियो युट्युबमा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो । भिडियो हेर्नुहोस् ।
नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन, सात उपाध्यक्ष मध्ये को होलान वरिष्ठ ?
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका उनी सोमबार सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् । मोर अध्यक्षमा चयन भएसँगै हरिभक्त शर्मा निवर्तमान भएका छन् । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । अबको २ वर्षसम्म मोरले परिसंघको नेतृत्व गर्नेछन् । लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् भने विभिन्न उद्योग तथा व्यवसायमा आवद्ध रहेका छन् । त्यसैगरी, साधारण सभाबाट अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे उपाध्यक्ष चयन भएका छन् । उपाध्यक्ष मध्यबाट एकवर्ष भित्र वरिष्ठ उपाध्यक्ष चयन हुने र वरिष्ठ नै आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।
९.५ प्रतिशत लाभांश वितरण गर्ने कामना सेवा विकास बैंकको घोषणा
काठमाडौँ । कामना सेवा विकास बैंकले ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्तापूँजीको ८ प्रतिशत अर्थात २० करोड २ लाख नगद लाभांश र १.५० प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । सञ्चालक समितिको बैंठकबाट पारित भएको लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने र स्वीकृति पछि साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाइएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्ब ५० करोड रहेको छ भने बोनस शेयर पछि चुक्तापूँजी २ अर्ब ५४ करोड पुग्ने कम्पनी सचिव हरिप्रसाद लम्सालले जनाएका छन् ।
सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि, प्रतितोला ६० हजार ३ सयमा कारोबार
काठमाडौं । मंगलबार सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ६० हजार रुपैयाँमा विक्री भएको सुन मंगलबार ३ सय रुपैयाँ बढेर सो मूल्यका विक्री भईरहेको हो । त्यस्तै तेजावी सुन सोमबारको तुलनामा प्रतितोलामा ३ सय रुपैयाँ बढेर मंगलबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।