विकासन्युज

फेरि साझा यातायात धराशायी हुँदै, कनकमणि दीक्षित र महेन्द्रराज पाण्डेकाे भूमिका शंकास्पद

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको छ । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो । आर्थिक वर्ष २०७२/७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३/७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहाेर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियाे । त्यस्तै, २०७४/७५ मा १ करोड ७८ लाख घाटामा गएको भएकाे वित्तीय विवरण उल्लेख छ । बस सञ्चालनमै घाटा दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४/७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३/७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो । वार्षिक रुपमा बसहरुको संख्या थप्दै गएसँगै साझाको घाटा पनि थपिँदै गएको हो । साझाले जग्गा र भवनको भाडा तथा बसमा राखिएको विज्ञापनबापत आम्दानी गर्दा मात्रै खुद घाटाको आकार अघिल्लो वर्षको भन्दा कम भएको देखाएको हो । मुख्यतः बस सञ्चालन घाटा चुलिँदै जाँदा साझालाई फेरि विगतको जस्तै रुग्ण अवस्थामा पुर्याउने देखिएको छ । महानगर भित्र अधिक व्यस्त रुटहरुमा साझाले बस सञ्चालन गर्न अनुमति पाएको छ । ठूला बसहरु भएका कारण अन्य बसहरुको भन्दा तुलनात्मक रुपमा सञ्चालन लागत  कम छ । सरकारी अनुदानमा बसहरू किनिएकाेले न ऋणकाे व्याज तिर्नु परेकाे छ, न लगानीकर्तालाइ लाभांश दिनु परेकाे छ । साथै, सरकारले सित्तैमा दिएकाे जग्गा,  भवन र पार्किङस्थल र पेट्रोलपम्प साझाकाे स्वामित्वमा छ । यी पूर्वाधारबाट साझाले अतिरिक्त आम्दानी गर्दै आएकाे छ । यस्ताे अवस्थामा साझा यातायात पुन घाटामा जानुलाई सरोकारवालाहरुले व्यवस्थापकहरूकाे नियत र क्षमतामा प्रश्न गरेका छन् । तर चुलिँदै गएको घाटाका सम्बन्धमा साधारणसभामा समेत अध्यक्ष कनकमणि दीक्षितले न त कुनै चिन्ता व्यक्त गरे न त त्यसलाई सुधार्ने प्रतिवद्धता नै । ६ पृष्ठ लामो लिखित मन्तव्य दिएका उनले केही समय साझाको विगत र वर्तमानमा खर्चदा अधिकांश समय काठमाडौं महानगरपालिका लगायतका ‘दातृ’ निकायहको प्रशंसामा नै खर्चिए । बरु उनले काठमाडौं महानगरपालिकालाई पैसा थप्न लगाएर थप २० ओटा बस सञ्चालनमा ल्याउने घोषणा गरे । सञ्चालक र व्यवस्थापकको मिलेमतोमा ‘ठगी’ साझामा सञ्चालक समितिका अध्यक्ष र व्यवस्थापनका प्रमुखको मिलेमतोमा घोटाला हुने गरेको स्रोतले जनाएको छ । साझालाई सेन्टिमेन्टसँग बेचेर आर्थिक लाभ उठाउन अध्यक्ष कनकमणि दीक्षित र प्रबन्धक महेन्द्रराज पाण्डेले संस्थालाई बन्धक बनाएको आरोप सरोकारवालाहरुले लगाएका छन् । ठूला डिलहरु अध्यक्षमार्फत गरेर मिडिया स्टन्ट फैलाउने र प्रवन्धकमार्फत् भित्रभित्रै संस्थालाई खोक्रो बनाउने योजनासहित लागेका कारण संस्था विगतकै स्थितिमा पुग्ने चिन्ता समेत साझा यातायातकै कर्मचारीहरुले गर्न थालेका छन् । दीक्षितहरुकै अव्यवस्था र बन्दीका कारण विगतदेखि नै साझाले दूरावस्था भोग्दै आएको थियो । यसै कारण करिब १३/१४ वर्षसम्म साझा पूर्ण रुपमा बन्द अवस्थामा रहन गयो । २०६९ देखि १६ ओटा बस किनेर पुनः सञ्चालनमा आएको साझा यातायातले बस थपिँदै जाँदा घाटा भने उचाल्दै लगेको हो । हाल साझामा चालक परिचालक बाहेक ४ जना स्थायी, १६ जना करार र ५ जना दैनिक ज्यालादारीमा कर्मचारी कार्यरत रहेकोमा करार र ज्यालादारीका कर्मचारीहरु समेत साझाको सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । उनीहरु साझाले आफूहरुमाथि श्रम शोषण गरेको अप्रत्यक्ष रुपमा बताउँदै आएका छन् । महेन्द्र पाण्डे भन्छन्, ‘बस हेर्नुस्, आयव्यय किन चाहियो’ साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले सूचना लुकाउने प्रयास गरेका छन् । पाण्डेसँग साझा यातायातको साधारणसभाबाट पारित वित्तीय विवरणसम्बन्धी सूचना माग गर्दा  कनकमणि दीक्षितले महानगरपालिका र सरकारको भक्तिभावले ओतप्रोत गरेको मन्तव्य दिएर ‘यसैमा सबै छ, वित्तीय विवरण दिन मिल्दैन’ भन्दै सूचना लुकाउने प्रयास गरेका थिए । उनले आफ्नो कार्यालयबाट बाहिर निस्केर बसहरु देखाउँदै ‘बसहरु गुडिरहेका छन्, बन्दमा पनि सेवा दिइरहेका छौं, यतिभन्दा तपाईलाई किन चाहियो, यही लेख्नुस्’ भन्दै फर्काएका थिए । दीक्षितका विश्वासपात्र मानिएका पाण्डेले सूचनाको हकबमोजिम उपलब्ध गराउनुपर्ने सूचना समेत नदिएर सार्वजनिक निकायको गतिविधिको सूचना पाउने अधिकारबाट वञ्चित गराउने असफल प्रयास गरेका हुन् । स्थिर सम्पत्तिको चरम दुरुपयोग साझा सहकारीको नाममा हरिहरभवनमा २२ रोपनी जग्गा र अत्याधुनिक भवन छ । तर ती जग्गाहरुबाट साझाले गरेको अाम्दानी जम्मा १ करोड ४७ लाख रुपैंया मात्र हो । अघिल्लो वर्ष १ करोड ५१ लाख रुपैंया त्यस्तो आम्दानी गरेकोमा यो वर्ष यो आकार झन् घट्न पुगेको हो । साझाले नेपाल टेलिकम, साझा पसल लगायत ५ व्यक्ति तथा संस्थालाई उक्त जग्गा र भवन भाडामा दिएको छ । तर पुल्चोकको मुख्य भागमा रहेको त्यति मूल्यको सम्पत्तिको उचित रुपमा परिचालन गर्न नसक्दा त्यसको ह्रासकट्टी खर्चभन्दा पनि आम्दानी कम देखिन गएको हो । सर्भाइभलको ग्यारेन्टीविनै महानगरको अर्को लगानी त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्मलाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित काठमाडौं उपत्यकाका केही स्थानीय तहले हतारो गरेका हुन् । नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ । अरु स्थानीय तहले समेत काठमाडौंकै पदचाप पछ्याउँदै लगानीमा हतारो देखाएका हुन् । हाल चुक्ता पुँजी ४२ करोड ६८ लाख रुपैंया रहेको साझा यातायातमा तीन तहका सरकार वा तिनका निकायहरुको जम्माजम्मी ९९.२३ प्रतिशत शेयर छ । बाँकी ०.७७ प्रतिशत शेयरमध्ये जगदम्बा गुठी, जगदम्बा प्रेस, मदन पुस्तकालय, साझा सेवा पसल, सम्यक बचत तथा ऋण सहकारी लगायत संस्थाहरु र १५४ जना शेयर सदस्यहरु समेतको स्वामित्व छ । ९९.२३ प्रतिशत लगानी गरेकाे सरकारी निकायलाई गुमराहमा राख्दै ०.७७ प्रतिशत सेयरधरीले सरकारी कब्जामा लिएका छन् । साझामा शेयर भएका संघसंस्थाहरु सबै दीक्षित परिवारकै लगानी भएका संस्थाहरु हुन् । त्यस्तै व्यक्तिगत शेयरधनीको शेयर हिस्सा ५००० रुपैंया देखि १ लाख ८० हजार रुपैंयासम्म छ । महानगरले हाल भएको ३५ प्रतिशत शेयर हिस्सालाई बढाउनेगरी साझामा ठूलो लगानी गर्दैछ ।

दोहोरो अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार

काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८१.१० बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २७ लाख ८८ हजार ८ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखिए । बैंक समूह ९.३६, होटल समूह ०.९१, विकास बैंक समूह ३.३५, जलविद्युत समूह ६.८९, वित्तीय समूह ०.५८, निर्जीवन बीमा समूह ८६.५७, उत्पादनमूलक समूह ३६.३२, अन्य समूह ३.४८, लघुवित्त समूह १५.११ र जीवन बीमा समूह ८३.०२ अंकले घटेका छन् । बजार घटेको दिन नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.५२ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने जोशी हाइड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले ८.१२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्ने बताएका छन्। नेपाल आँखा अस्पताल त्रिपुरेश्वोरको ४५ औं वार्षिकोत्सव मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र राम्रो बनाउनको लागि सबैको सहयोग आवश्यक रहने कुरामा जोड दिँदै सरकारले सबै गर्दिन्छ भनेर आफुहरु केही नगरि बस्ने काम बन्द गर्न आग्रह गरे। स्वास्थ्य क्षेत्रको सुधारमा सरकारको मुख्य दायित्वो भएपनि सबैजनाको सहयोग आवश्यक रहेको उनले बताए। अस्पतालको ४५ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले नेपाल आँखा अस्पताल अन्य आँखा अस्पतालको जननी भएको र अस्पतालले आफुलाई भौतैक संरचना र उपकरणले युक्त बनाएको भन्दै प्रशंशा गरे। अस्पतालले वार्षिकोत्सवको अवसरमा आफ्नो उत्कृष्ट कर्मचारी, सामाजिक उत्तरदायित्वो निभाउने ४ वटा बैंक र निशुल्क आँखा दान गर्ने संस्थालाई सम्मान गरेको थियो। अस्पतालले वार्षिकोत्सवको अवसरमा ४५ जना मोतियाविन्दु भएका बिरामीको निशुल्क शल्यकृया गरेको छ। कार्यक्रममा उपचार गरिएको बिरामीको आँखाको पट्टी खोली अर्थमन्त्री खतिवडाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा अस्पतालका संस्थापक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले अन्धोपन हुनुको मुख्य कारणमा मधुमेह पनि भएकोले यसलाई ध्यान दिन जरुरी रहेको बताए। अस्पतालले वर्षभरि एक लाखभन्दा बढीलाई बहिरङ्ग सेवा र पाँच हजार बढी शल्यक्रिया गर्दै आएको छ।

नेप्सेमा १६ लाख कित्ता शेयर सूचिकृत, कस्को कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । दुई लघुवित्त र १ हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकरण भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

सरकार लगानीकर्ताले खोजे अनुसारको वातावरण दिन तयार छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा मंगलबार नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरू बीच नेपालमा संयुक्त लगानी सहकार्यका सम्भाव्यता खोजी गर्ने विषयमा भएको छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उक्त अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसाबले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरे । नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै आर्थिक सम्बन्ध पनि मजवूद हुनु पर्नेमा उनको जोड थियो । नेपालमा लगानी बढाउने इच्छाले यहाँ आएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधि मण्डललाई स्वागत गर्दै भने–फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग सहकार्यका विषयमा छलफल भइरहेको छ । फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी, यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता रहेको अर्थमन्त्री खतिवडाले बताए । कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि भर्जिन ल्याण्ड भएको बताइन् । सवै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानूनी सुधार भएको छ । सवै भन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबै नै बाह्य लगानी आकर्षणको अभियानमा छन् । अध्यक्ष राणाले भनिन्–यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बैदेशिक लगानी भित्र्याउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवम् मिनिष्टर अफ काउन्सिलर जो मार्ड फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेको बताए । नेपालमा लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा निकै गम्भीरतापूर्वक क्रियाशील रहेको आफूहरूले पाएकोले नेपालमा फ्रान्सेली लगानीको सम्भाव्यता खोजी गर्न आफूहरू यहाँ आएको बताए । छलफलमा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरु सहभागी रहेका थिए ।कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, चन्द्रप्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी लगायत सहभागी थिए ।

तारा गाउँको सरकारी सम्पति हडप्ने काण्डमा मुछिए पूर्व मन्त्री जितु गौतम नेपाली

काठमाडौं । तारा गाउँ विकास समितिको सरकारी सम्पति हडप्ने काण्डमा नेकपाका नेता जितु गौतम नेपाली मुछिएका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँमा जितु गौतम नेपालीको नियत गलत देखिएको बताएको हो । जितु गौतम नेपालीले पटक पटक फोन गरेर आफुलाई प्रभावित बनाउने प्रयास गरेको उप समितिका संयोजक अग्नि प्रसाद सापकोटाले बताए । गौतमले समितिका सदस्यहरुलाई एक्ला एक्लै भेटेर कुरा राख्न चाहेको तर आफुले उप समिति बैठकमै आफ्ना कुरा राख्न अनुरोध गरेपछि उनले सम्पर्क गर्नै छाडेको बताए । ‘बेला बेलामा जितु जीले श्रेष्ठ र सर्राफले भेट्न खोजेका छन भने कुरा ल्याउनु भएको थियो, धेरै पटक फोन र मेसेज गर्नु भयो, मैले चैँ उहाँलाई उप समितिको बैठकमै कुरा राख्नुस भने’, उप समिति संयोजक सापकोटाले भने । उप समितिले औपचारिक रुपमै चिठ्ठी लेखेर तारा गाउँ विकास समिति र सम्वद्ध पक्षहरुलाई आफुसँग रहेका कागजात र प्रमाण बुझाउन भनेको थियो । ‘जितु जीले नै श्रेष्ठ र सर्राफले मलाई मात्रै भेट्न चाहनु भएको सन्देश पठाउनु भएको थियो, मैले पुरै उप समितिको बैठकमा बेलाउँछु भने, सिंहदरबारको अन्तराष्ट्रिय सम्बन्ध समितिको कार्यकक्षमा भन्दा अन्त भेट्दिन भनेँ, त्यसपछि उहाँले फोन र एसएमएस गर्न छाड्नु भयो’, सापकोटाले भने । उप समितिका सदस्य नारदमुनी रानाले पनि तारा गाउँ प्रकरणमा पूर्व सामान्य प्रशासन राज्य मन्त्री गौतमको भूमिका संकास्पद देखिएको बताए । नेकपाका नेता समेत रहेका नेपाली हाल तारा गाउँ रिजेन्सी होटलको सल्लाहकार पदमा कार्यरत छन् । उप समिति सापकोटाले पूर्व राज्य मन्त्री भैसकेका नेपालीले सल्लाहकार पदमा नियुक्त लिनु नै संकास्पद भएको टिप्पणी गरे । पूर्व सामान्य प्रशासन राज्य मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका गौतम हाल सत्तासिन नेकपाको नेता समेत रहेका छन् । तारा गाउँ विकास समितिको १५४ रोपनी जमिन हडप्ने तथा तारा गाउँ रिजेन्स होटलमा रहेको ३९.७७ प्रतिशत सेयरलाई ९.०१ प्रतिशतमा झार्न समेत मुख्य भूमिका खेलेको आरोप गौतममाथी लागेको हो । उनले उप समितिका सदस्यहरुलाई पटक पटक फोन तथा एसएमएस गरेर गोप्य भेटघाटका लागि अनुरोध गरेको तथ्यबाट पनि उनको संलग्नतालाई पुष्टि गरेको छ । ‘उहाँ पूर्व सामान्य प्रशासन मन्त्री पनि हो, त्यो उचाईमा पुगेको मान्छेले तारा गाउँको सल्लाहकार बन्न मिल्छ की मिल्दैन भन्ने प्रश्न पनि उठ्छ’, उप समिति संयोजक सापकोटाले भने । अन्तराष्ट्रिय सम्बन्ध समितिले २०७५ मंसिर १९ गते अग्नि प्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यिय अध्ययन अनुगमन समिति गठन गरेको थियो । सो समितिमा सापकोटा सहित नारदमुनी राना, पुष्पा पभुषाल, प्रेम प्रसाद तुलाचन र सानु सिवा सदस्य रहेका थिए ।

फ्रान्सेली बैंकले १ हजार ६ सय कर्मचारी कटौती गर्ने, ल्यायो स्वेच्छिक अवकाश योजना

पेरिस । फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ । बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा “नाफामुलक र दिगो वृद्धि”लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य रहेको छ । फ्रान्समा कटौती हुने कर्मचारीलाई स्वेच्छिक अवकाश योजना उपलब्ध हुनेछ । अन्य देशका कर्मचारीलाई भने स्थानीय नियम र कानूनका आधारमा हटाइनेछ । फ्रान्सको सीएफडीटी युनियनका प्रतिनिधि खालिद बेल हादोईले प्रत्येक वर्ष कर्मचारी कटौती गर्दै जाने सहमति भएको जानकारी दिए । बैंकले यसअघि नै सन् २०२० सम्ममा वार्षिक ५६ करोड अमेरिकी डलर लागत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो । तर, बैंकले सन् २०१८ मा सोचेभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो । यस बैंकमा विश्वभर करिब एक लाख ४८ हजार कर्मचारी कार्यरत छन् । रासस/एएफपी

सिप्रदीयन र टाटा ट्रष्टको समन्वयमा आँधी प्रभावितलाई राहत बितरण

काठमाडौँ । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको समन्वयमा पर्सा जिल्लाको शुखचिना गाउँका ६५ आँधी प्रभाबित परिवारलाई आधारभूत आवश्यकताका सामानहरु राहतस्वरुप बितरण गरेको छ । यसअघि सिप्रदीयन सहायता संस्थाका २० जनाको स्वयमसेवक टिमद्धारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै आँधी प्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा बितरण गरिएको थियो । साथै बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै आँधिप्रभाबित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन र २ लिटर खाना पकाउने तेल बितरण गरेको थियो ।