सपोर्ट माइक्रोफाइनान्सको सञ्चालकमा दुई जना निर्वाचित
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको हो । नव नर्वाचित सञ्चालक भट्टराई र दाहालको शैच्छिक योग्यता स्नातकोत्तरसम्मको रहेको संस्थाले जनाएको छ ।
सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा
भक्तपुर । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने भत्केको पार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । यहाँका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयवासीको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको २५१ सदस्यीय सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । समितिले आगामी पाँच महीनाभित्र सडक निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा ‘रिटेनिङ वाल’ लगाउनुपर्ने, निर्माणकार्य गुणस्तरीय हुनुपर्नेलगायतका माग राखी समितिले आन्दोलनको घोषणा गरेको हो । नगरकोट सडकका पीडितले निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुवाँ, हिलो र खाल्डाखुल्डीका कारण जनजीवन प्रभावित बनेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन् । भेलामा सहभागी निर्माण व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईँ, गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), स्थानीय मधुराम लामिछाने, पुष्पराज बाँस्तोला, हरिहर गिरी, पद्म लामा, इन्द्रप्रसाद कायस्थ, जीवन खत्री, चाँगुनारायण नगरपालिका ६ नं। वडाका अध्यक्ष सन्तबहादुर वाइवा, रामप्रसाद लामिछाने ‘पीडित’लगायतले निर्माण सम्झौता भएको अवधिभन्दा बढी समयदेखि अटेर गरी निर्माण कार्य अवरुद्ध गर्ने व्यवसायीलाई कारवाही गर्न माग गरे । सङ्घर्ष समितिले आफ्नो सङ्घर्षको कार्यक्रमअन्तर्गत नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, सङ्घ तथा प्रदेश सांसद, शैलुङ कन्ष्ट्रक्सनको प्रोपाइटर शारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । व्यवसायीले तत्काल निर्माणकार्य अगाडि नबढाए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिए । रासस
नेप्से बढेर ११८८ अंकमा, नेको इन्स्योरेन्सको बढी कारोबार
काठमाडौं । सोमबारकोे नेप्से परिसूचक ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशत बढी हो । सामान्य अंकले बढेको बजारमा सेयर कारोबार पनि सामान्य रुपमा भएको छ । सोमबारको बजारमा कुल ३० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२२ रुपैयाँ रहेको छ । सोमबार एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले बढी कमाएका छन् । इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ७.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२५ रुपैयाँमा रहेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.९० प्रतिशत गुमाएका छन् । त्यसैगरी, माइक्रोफाइनान्स, होटल, बैंकिङ, विकास बैंक, निर्जीवन बीमा र उत्पादनमूलक समूह उकालो लागेका छन् । बाँकी हाइड्रो पावर, फाइनान्स, जीवन बीमा र अन्य समूह ओरालो लागेका छन् ।
पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै, दैलेखको पादुका प्राथमिकतामा
काठमाडौँ । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन गर्यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित भएको थियो । नाकाबन्दीबाट आहत भएका नागरिकलाई सरकारले केही गर्दैछ भन्ने सन्देश दिने लक्ष्यका साथ दैलेखको पादुका क्षेत्रमा अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गर्यो । विसं २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षरसमेत भयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उक्त समझदारी भएको थियो । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको र पादुका क्षेत्रमा निरन्तर बलिरहेको प्राकृतिक ग्यासको उत्खनन तथा अन्वेषण अगाडि बढ्ने जानकारी पाएका नागरिक सरकारको कदमसँगै एकाकार भए र खुशी व्यक्त गरे । तर सरकार परिवर्तन भएपछि अन्वेषण तथा अध्ययनको काम अगाडि बढ्न सकेन । लामो प्रक्रिया र कसरतपछि खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेसँग गत फागुन १६ गते बिहीबार चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार चिनियाँ टोली सन् २०१९ को मे मध्यतिर नेपाल आउने तयारी गरेको छ । शुरुको समझदारीअनुसार काम भएको भए यतिखेर नेपालको भूभागभित्र के कति मात्रामा पेट्रोलियम पदार्थ छ र आर्थिक रुपमा त्यस्ता खानी सञ्चालनमा ल्याउन सम्भव हुन्छ कि हुँदैन भन्ने समेत पत्ता लागिसक्थ्यो । ढिलै भए पनि चीनको चाइना जिओलोजिकल सर्भेको टोली नेपाल आउन लागेको छ । सो टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागका अनुसार पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्जलगायतका क्षेत्रमा चिनियाँ टोलीले अध्ययन गर्ने तयारी गरिएको छ । चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्नेछ । इन्धन भण्डार पत्ता लगाउन विभिन्न क्षेत्रमा ड्रिलिङ गर्ने र भण्डार के कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ । पत्ता लागेका खानीमा विशेष अध्ययन गरेपछि मात्रै पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रुपमा सम्भाव्य छ÷छैनसमेत पत्ता लगाउनेछ । विभागका उपमहानिर्देशकसमेत रहनुभएका रजौरेले भने, “चिनियाँ टोलीले पहिलो चरणमा पूर्व तयारीको काम गर्नेछ । पूर्वतयारी सम्पन्न गरेपछि प्राविधिक टोलीले आगामी वर्षदेखि मात्रै ड्रिलिङको काम गर्नेछ ।” अध्ययनपछि मात्रै नेपालको भूभागभित्र रहेको इन्धनको भण्डार र क्षमता कति छ ? खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भव छ वा छैन ? भन्ने तथ्यसमेत पत्ता लाग्ने भएकाले पूर्वतयारीको काम थप बढी प्रभावकारी बनाउनु आवश्यक छ । सरकारले गत पुसमा खानी अन्वेषण तथा अध्ययनको सम्झौताका लागि स्वीकृति दिएको थियो । दैलेखको पादुका क्षेत्रमा बलिरहेको ज्वालाले पेट्रोलियम पदार्थ छ भन्ने देखाए पनि त्यहाँ के कति मात्रामा उपलब्ध छ भन्ने विषय पत्ता लगाउन भने थप अध्ययन तथा ड्रिलिङको आवश्यकता पर्ने रजौरेले बताए । जानकारहरुका अनुसार चुरे पर्वत शृङ्खलाको आसपासमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ । मोरङको बाहुनी भन्ने स्थानमा त ०४२ सालमा नै पत्ता लागेको थियो । नेपाल, इटाली, स्विटजरल्याण्ड र नेदरल्याण्ड्सका प्रतिनिधिको सहभागितामा अध्ययन गरिएको थियो । इटालीको साइपम नामक कम्पनीले तीन हजार ५०० मिटर बराबरको ड्रिलिङ गरी पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको थियो । तर लामो समयसम्म बाहुनी क्षेत्रमा अन्वेषणको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । विसं २०७२ को वैशाखमा चिनियाँ टोलीले सोही क्षेत्रमा स्थलगत निरीक्षणबाहेक हालसम्म अरू काम अगाडि बढेको छैन । भारत र पाकिस्तानले पनि चुरे जस्तै पर्वत शृङ्खलाको आसपासमा भएको पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धान गरिरहेको छ । त्यस आधारमा पनि नेपालको चुरेभन्दा दक्षिणको क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । खानी विभागले ती क्षेत्रको समेत प्रारम्भिक अध्ययन गरेको र थप विस्तृत अध्ययन गर्ने प्रक्रियासमेत अगाडि बढाएको छ । रासस
नेपाल टेलिकमको ‘स्प्रिङ अफर’, कति रुपैयाँमा कस्तो प्याक ?
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा २०७५ चैत ३० गते देखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर ल्याइएको जनाइएको छ । स्प्रिङ अफरका प्याकेज यस्ता छन् : १. एक घण्टा अनलिमिटेड प्याक यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा दश मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असिमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ । २. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँ देखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि ४२ दिनसम्म हुनेछ । साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपैयाँको १०० एमबी, ७ दिनका लागि १०० रुपैयाँको ५०० एमबी र २८ दिनका लागि ५०० रुपैयाँको ४५०० एमबी भोल्युमको इको प्याक समेत उपलब्ध गराइएको छ । ३. डे डाटा प्याक डे डाटा प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिने छ । ४. १ जीबी पर डे डाटा प्याक यस प्याक अन्तर्गत ४५ रुपैयाँमा १ दिनका लागि १ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै २५० रुपैयाँमा ७ दिनका लागि ७ जीबी र ८५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । ५. नाइट डाटा प्याक नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि ९ रुपैयाँमा १२५ एमबी र ७ रातका लागि ४५ रुपैयाँमा ६३० एमबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक राती ११ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । ६. अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातका लागि १५ रुपैयाँमा र ७ रातका लागि ८५ रुपैयाँमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ । सो प्याक अन्तर्गतको डाटा राती ११ बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ । ७. सोसियल मिडिया प्याक सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा १ दिन, ३० रुपैयाँमा १५० एमबी डाटा ३ दिन र ६० रुपैयाँमा ३२५ एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुनेछ । ८. डाटा स्ट्रिमिङ प्याक डाटा स्ट्रिमिङ प्याक अन्तर्गत १२ रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ३० रुपैयाँमा ४०० एमबी डाटा ३ दिनका लागि र ६० रुपैयाँमा ९०० एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुने छ । ९. अल टाइम भ्वाइस प्याक अल टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँ देखि ५०० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत १४ मिनेट देखि ११०० मिनेट सम्मका भ्वाइस प्याक खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि १ दिन देखि ४२ दिन सम्म हुनेछ । भ्वाइस प्याकको रुपमा एक दिनका लागि १२ रुपैयाँको १४ मिनेट, ३ दिनका लागि ३० रुपैयाँको ४० मिनेट, ७ दिनका लागि ६० रुपैयाँको ७५ मिनेट, २८ दिनका लागि २४० रुपैयाँको ४९० मिनेट र ४२ दिनका लागि ५०० रुपैयाँको ११०० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी २५ रुपैयाँमा १ दिनका लागि ४० मिनेट र १०० रुपैयाँमा ७ दिनका लागि १९० मिनेटको इकोनोमी प्याक समेत उपलब्ध गराइएको छ । १०. नाइट टाइम भ्वाइस प्याक नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा १ रातका लागि ६० मिनेट, १५ रुपैयाँमा ३ रातका लागि १७० मिनेट र ३० रुपैयाँमा ७ रातका लागि ३४० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । सो प्याक अन्तर्गत राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र कल गर्न सकिने छ । ११. अनलिमिटेड नाइट भ्वाइस प्याक यस प्याक अन्तर्गत १२ रुपैयाँमा १ रातभर कम्पनीकै नेटवर्क भित्र जति पनि (असीमित) कल गर्न सकिने छ । सो कल राती १० बजेदेखि विहान ६ बजेसम्म गर्न सकिन्छ । १२. डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी ९० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । १३. एसएमएस प्याक एसएमएस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस उपलब्ध गराइने छ । त्यसैगरी १५ रुपैयाँमा ७ दिनसम्म ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म ३०० वटा एसएमएस गर्न सकिने छ । १४. एप डाउनलोड गर्दा निःशुल्क डाटा कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलो पटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क उपलब्ध गराइने छ । साथै पहिले देखि नै विन्टर अफरका रुपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सीयूजी प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज, एफटीटीएच ब्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, मिस्ड कल अलर्ट र एफटीटीएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ मंगलबार
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटम थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्ने छन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा मङ्गलबार बिहान ११ बजे आयोजना हुने ‘ब्रेक थ्रु’ कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । “नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन जडान गरी निर्माण भइरहेको यो नमूना आयोजना हो”, उनले भने, “विभिन्न अवरोध, आशङ्काकाबीच निर्धारित समयभन्दा ठीक एक वर्षअघि नै सुरुङ निर्माण गर्न सफल भयौंँ, यसले आयोजनालाई मात्र होइन सिङ्गो मुलुकलाई ठूलो हौसला मिलेको छ, त्यही सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको उपस्थितिमा ‘‘ब्रेक थ्रु’ को तयारी गरेका हौँ ।” सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । सिँचाइ विभागका प्राविधिक भेरी–बबईको सफल परीक्षणका कारण अन्य स्थानमा पनि यस्ता आयोजना सञ्चालन गर्न सकिने बताउँछन् । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना शुरु भएको हो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक बरालले पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । आयोजनास्थलका बासिन्दाले रोजगारी पाउनुका साथै प्रभावित क्षेत्रका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । रु १० अर्ब ५० करोडमा सम्झौता भएको यस आयोजनाको सुरुङ निर्माणका लागि फागुन मसान्तसम्म झण्डै रु आठ अर्ब खर्च भएको छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार सुरुङ निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न रु ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य छ । प्रभावित क्षेत्रलाई सम्बोधन गर्न माग प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारीजस्ता कार्यक्रमको प्रत्याभूति दिनुपर्ने बताएका छन् । स्थानीयवासीले यही विषयमा मङ्गलबार प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । गुर्भाकोट, भेरीगङ्गा र लेकबेँसी नगरपालिकाका भेरी र बबई किनारका बासिन्दाको भेलाले भेरी–बबई सरोकार समाज गठन गरेको छ । संयोजक जेवी सुनारले भेरी बबई आयोजनाले पुर्याउने क्षतिको न्यूनीकरण गर्न समयमै सम्बन्धित निकायलाई सचेत गराएको बताए । “प्रवेशद्वार र निकास दुवै भेरीगङ्गा नगरपालिकामा पर्छ, हामीले पाउने लाभ के हो ? अहिलेसम्म यकिन छैन”, उनले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजनामा हामी अवरोध गर्न चाहदैनौँ, तर स्थानीयका मागलाई कुनै न कुनै हिसाबले सम्बोधन हुन जरुरी छ ।’ भेरी बबई सरोकार समाजले आयोजनाबाट उत्पादन हुने विद्युत्मा स्थानीय जनताको शेयर तथा स्थानीय सरकारलाई निःशुल्क शेयर दिनुपर्ने माग अघि सारेको छ । त्यस्तै, भेरीगङ्गाका साथै प्रभावित क्षेत्रमा पर्ने गुर्भाकोट र लेकबेँसी नगरपालिकाले सिँचाइ सुविधा र विद्युतको स्वामित्व पाउनुपर्ने र भेरी करिडोरलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग छ । रासस
प्रियंका र दिलीप ‘पशुपतिमा सुनैको गजुर’ मा पहिलो पटक (भिडियो सहित )
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनयमा देखा परेको छन् । ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएका हुन् । दुर्गा खनाल घिमिरेकाे रचना रहेकाे गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने गीत र म्युजिक भिडियो मार्फत देखाईएको छ । अभिनेता दिलिप प्रियकां कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतमा देख्न सकिन्छ । नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् । गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनिक गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय, रुपन्देहीमा संख्या ६ पुग्यो
खस्यौली । शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरिद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनु पर्ने अवस्थाको अन्त्य भएको छ । “केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि ९३४० नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भने । भैरहवामा शेयर खरिद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनु पर्ने बाध्यता थियो । बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ । बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हुँदै आएको छ । रासस