विकासन्युज

धनगढीमा खुल्यो अजोड इन्स्योरेन्सको प्रादेशिक कार्यालय

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले धनगढीमा सुदुरपश्चिम प्रादेशिक कार्यालय शुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

खल्ती डिजिटल वालेटले पायो राष्ट्र बैंकबाट अनुमति, अब मनि ट्रान्सफर सेवा शुरु गर्ने

काठमाडौँ । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुने छन् । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्ट अप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रित रहेको जनाइएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन थप उत्प्रेरित बनेको कम्पनीले जनाएको छ । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुनेछ । खल्तीले राष्ट्र बैंकबाट अनुमतीप्राप्त गरेको अवसरमा खुशी व्यक्त गर्दै कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने,‘हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौँ । बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवाप्रदानगर्ने र उनीहरुको जीवन सरल बनाउने पनि हाम्रो उद्देश्य रहनेछ ।” खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख रहेको कम्पनीले जनाएको छ ।

नेप्से दोहोरो अंकले बढ्दा ९५ करोडको कारोबार, वाणिज्य बैंकको मात्रै ३४ करोड

काठमाडौं । बुधबारको नेप्से परिसूचक १९.१४ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर उकालो लागेको सो दिनको नेप्से अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशतले बढेर १२७९.२९ अंकमा पुगेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा कुल १७२ कम्पनीको ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ९ हजार ६०९ वटा कारोबारमा कुल ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एकैदिन यो समूहको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल ३ हजार ५२३ पटकको कारोबारमा सो मात्राको सेयर किनबेच भएको छ ।वाणिज्य बैंक मध्ये पनि नेपाल बैंक लिमिटेडको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, मंगलबार सबैभन्दा बढी कारोबार गर्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । दोहोरो अंकले बढेको बजारमा पनि दुई समूहको सूचक राताम्मे भएका छन् । हाइड्रो पावर र उत्पादनमूल समूहको सूचक क्रमशः १०.६८ र २.६९ अंकले घटेका छन् । कारोबारमा आएका १० वटा समूह मध्ये होटल समूहको ६०.११ अंकले बढेर हरियो भएको छ । मंगलबार जस्तै बुधबार पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बुधबार यी कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशत कमाएका छन् । इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४२७ रुपैयाँ रहेको छ । नेप्सेका साथै ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.८० अंकले उकालो लागेर २७६.९४ अंकमा पुगेको छ ।

साढे ३ अर्ब खराब कर्जा उठाउँदै कृषि विकास बैंक, ५१ बिगाहा धितो बेच्दै

काठमाडौं । कृषि विकास बैंकले साढे ३ अर्ब खराब कर्जा उठाउन सुरु गरेको छ । बर्षाैदेखि नउठेर खराब कर्जाका रुपमा रहेको ऋण उठाउन प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए । खराब कर्जाका रुपमा रहेको सो कर्जा उठेसँगै बैंकको वासलातमा व्यापक सुधार आउने प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए । बैंकको ऋण उठाउनका लागि बासुलिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनी लिमिटेडको कैलाली जिल्लामा रहेको ५१ बिघा १३ कठ्ठा ६ धुर जग्गा लिलामी हुने भएको छ । कृषि विकास बैंकको ऋण नतिरेपछि जग्गा लिलामी हुने भएको हो । कम्पनीले चिनी उद्योग खोल्नका लागि बैंकसँग लिएको ऋण साँवा र ब्याज समेत गरी ३ अर्ब ४६ करोड १ लाख ५३ हजार २ सय ६२ पुगेको छ । सो रकम असुली गर्न ऋण असुली न्यायाधिकरणले २०६७ पौष २८ गते गरेको फैसलाबाट ऋण तिर्न आदेश दिएको थियो । तर, कम्पनीले कुनै प्रतिक्रिया नजनाएपछि न्यायाधिकरणले ८ वर्षपछि धितो लिलामी प्रक्रिया अघि बढाएको हो । ऋण असुलीका लागि न्यायाधिकरणले ७ दिने सूचना जारी गरिसकेको छ । सूचनामा निवेदक वादी कृषि विकास बैंक र प्रतिवादी बासुलिङ्ग सुगर एण्ड जनरल लिमिटेड समेत भएको मुद्दा नं ७२/१४८१ अनुसार तोकिएको रकम ७ दिनभित्र असुली शाखामा बुझाउनु भनी उल्लेख छ । मुद्दामा प्रमुख प्रतिवादी के ११ कैलाश कोलोनी नयाँ दिल्ली ४८ भारत घर भै कैलाली चुहा गाविस वडा नं ३, हाल चुम्किचुहा नगरपालिका वडा नं ५ विजयनगर बस्ने विजय कुमारगोयललाई मानिएको छ । यस्तै, अन्य प्रतिवादीहरुमा अरुण चन्द, शुसिला राणा, हर्कबहादुर चन्द, राजेन्द्रबहादुर चन्द, गणेशदत्त भट्ट र अरुण मल्ल रहेका छन् । कम्पनीको चुम्किचुहा नगरपालिमा रहेको २८ वटा कित्ता लगायत अन्य जमिन लिलामी प्रक्रियामा अघि बढेको हो । अदालती आदेश अनुसार पहिले नै जग्गा लिलामी प्रक्रिया अघि बढ्नु पर्ने हो, तर न्ययाधिकरणको ढिला सुस्तीले काम अघि बढेन । हाल जग्गामा केहि मानिसहरुको समेत बसोबास रहेकाले जग्गा लिलामी प्रक्रिया केही असहज बन्ने न्यायाधिकरणका श्रेस्तेदार भेषराज कोइराला बताउँछन् । मालपोत कार्यालय कैलालीका अनुसार कित्ता नं. ४९८, ३३७, २७६, ३३८, २७४, २७५, ६६८, ६८७, ४१२, ६९१, १०८, १५२, ४९९, ५०१, ६८६, ६८५, ७१२, ५०३, ११३, ४२३, ५००, ५८५, ५०८, ६८८, ६६५, ५८१, ६५५, र  ७१३ जग्गा कम्पनीको नाममा रहेको छ । न्यायाधिकरणले जग्गा मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको श्रेस्तेदार कोइरालाले बताउँछन् । ‘पहिले जग्गाको मुल्याङ्कन काम सक्छौं, कारखाना सहित ५१ बिगा जग्गा लिलामी गर्नुपर्ने भएकोले यो किस्ता किस्तामा निकाल्नु पर्ने हुन्छ ।’ श्रेस्तेदार कोइरालाले भने–‘प्रक्रियाको हिसाबमा हामी केहि ढिलो भएका हौं । अब केहि दिनमै जग्गा मुल्याङ्कनको काम अघि बढ्ने छ ।’ कृषि बैंकको ऋण निकै ठूलो आकारको रहेकोले लिलामीमा केहि चुनौति भएको श्रेस्तेदार कोइराला स्वीकार गर्छन् । उता, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बासुलिङ्ग कम्पनीसँग ऋण असुली प्रक्रियामै रहेको बताए । ‘ऋणी कम्पनी हाम्रो सम्पर्कमा आइरहेको छ, पछिल्लो समय कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी मोडेल एफडीआई बाट तिर्ने तयारी गरेको छ यसै प्रक्रियाको विषयमा हामी छलफल गरिरहेका छौं’ प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विकासन्युजसँग भने । उनका अनुसार कम्पनीले आन्तरिक रुपमा विवाद मिलाई अदालती प्रक्रिया अन्त्य गर्ने प्रयास गरिरहेको छ । यसको लागि कम्पनीले बैंकलाई पत्राचार समेत गरिसकेको छ । कम्पनीले पत्रमा एफडिआई मोडेल(प्रत्यक्ष बैदेशिक लगानी)मा रकम ल्याउन प्रयास भैरहेको उल्लेख गरेको बैंकले जानकारी दिएको छ । बासुलिङ्ग कम्पनीसँग ऋण असुलीबारे बैंक व्यवस्थापनले पटक पटक छलफल गरिसकेको छ । मुद्दा अदालती प्रक्रियाबाट अघि बढ्ने भएकाले बैंकले अब कस्तो निर्णय गर्ने भन्ने विषयमा सञ्चालक समितिले छिट्टै निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए । कम्पनीले सञ्चालन गरेको चिनी उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।

धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्तबक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट विक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथप्रताप सिंहले हस्ताक्षर गरेका छन् ।

सगरमाथाले शुरु गर्यो ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा, बीमा सेवा अब हातहातमा

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको क्षेत्रमा पहिलो पटक ‘इन्स्योरेन्स डिजिटल्ली’ सेवा शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष आरके मानन्धरले यो सेवाको बुधबार उद्घाटन गरेका हुन् । कम्पनीले प्रथम चरणमा मोटरसाइकलको तेश्रो पक्ष बीमालेख, घर बीमालेख, दुर्घटना बीमालेख र ट्राभलर्स मेडिक्लेम बीमालेखलाई अनलाइन पोर्टल मार्फत कम्पनीले विकास गरेको मोबाइल एपका माध्यमबाट कम्पनीका ग्राहकहरुले आफुसँग रहेको मोबाइलबाट एप डाउन लोड गरी आफूलाई चाहिएको बीमालेख खरिद गर्न सक्ने गरी इन्स्योरेन्स डिजिटल्ली सेवा शुरु गरेको हो । बीमा लेखहरुलाई सूचना प्रविधिसँग एकाकार गर्ने उद्देश्यका साथ बीमा सेवको पहुँचलाई सर्वसाधारणको आफ्नै हातमा रहेको मोबाइलबाट बीमालेख खरिदको पहुँच पुर्याउन आफ्ना प्रोडक्टहरुलाई इन्स्योरेन्स डिजिटल्ली कार्यक्रम लागु गदैै जाने कम्पनीले जनाएको छ । बुधबारबाट शुरु गरिएको इन्स्योरेन्स डिजिटल्ली सेवाबाट बीमाको पहुँच पुग्न नसकेको स्थानीय निकासमा समेत कम्पनीको पहुँच पुग्ने र कृषक तथा न्यून आय भएका व्यक्तिको सुरक्षालाई लक्षित गरी अनुदान समेतको व्यवस्था गरिएका लघु बीमा तथा बाली तथा पशुपन्छी बीमाका लागि दुर्गम बस्तीमा बसोबार गर्ने बासिन्दाले समेत यस प्रबिधिको माध्यमबाट सहजै बीमा सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक

काठमाडौं । सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सोन्ना अमात्यको स्वरमा रहेको सो गीतको लय तथा संगीत शशि विक्रम थापाले गरेका हुन् । अभिनयमा सोन्ना अमात्यका साथमा निरज बराललाई देख्न सकिन्छ । नविन अवालले उक्त म्युजिक भिडियो निर्देशन गरेका थियो । भिडियो हेर्न तल क्विल गर्नुहोस् ।

तीन वाणिज्य बैंकले २ अर्ब ७० करोडको म्युचअल फण्ड बिक्री गर्ने

काठमाडौं । बजारमा विभिन्न तीन वाणिज्य बैंकले कुल २ अर्ब ७० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष(म्युचअल फण्ड) बिक्री गर्ने भएका छन् । नबिल, सिटिजन्स र नेपाल इन्भेष्टमेन्ट बैंकले गरी २७ करोड इकाई फण्ड निष्काशन गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपश्चात यी तीन कम्पनीले सो मात्राको फण्ड निष्काशन गर्ने भएका छन् । सो मध्ये नबिल बैंकले एक अर्ब २० करोडको १२ करोड इकाई नबिल ब्यालेन्स फण्ड २ निष्काशन गर्न लागेको हो । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङबाट सो मात्राको फण्ड बिक्री गर्न बोर्डको अनुमति पाएको हो । त्यस्तै, सिटिजन्स बैंकले एक अर्बको १० करोड इकाई सिटिजन्स म्युचअल फण्ड २ बिक्री गर्न बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार बैंकले सीबीआईएल क्यापिटलमार्फत फण्ड निष्काशन गर्ने छ । साथै, बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ५० करोडको ५ करोड इकाई एनआईबिएल सहभागिता फण्ड निष्काशन गर्न अनुमति दिएको छ । यसको फण्ड म्यानेजको काम एनआईबिएल एस क्यापिटलले गर्ने छ ।