विकासन्युज

तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्डको २४ लाख सहयोग

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई वित्तीय सहायता प्रदान गरेको छ । बैंकले आफ्नो देखिनु नै विश्वास गर्नु हो भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २४ लाख ६८ हजार ३९९ रुपैयाँ सहयोग प्रदान गरेको हो । यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तीय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो । परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रियाको सुविधाहरुको विकास गरेर अन्धोपना हुनबाट कम गराउने लक्ष्यका साथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक आँखा उपचार केन्द्रहरुमा सुविधाहरु स्तरोन्नति गराउनु रहेको छ । बैंकले बुधबार आयोजना गरेको एक विशेष समारोहबीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.का सिइओ अनिर्वान घोष दास्तीदारले उक्त सहयोग राशिको चेक तिलगंगाआँखा अस्पतालका सिइओ डा.रिता गुरुङ्गलाई हस्तान्तरण गरे ।

सनराइज बैंकबाट एशियन लाईफको बीमा सेवा पाइने

काठमाडौँ । सनराइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०४ वटै शाखाबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेडिसिटी अस्पतालमा पक्षघात बारे विशेष अन्तरक्रिया

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा पक्षघात तथा कम्मर पछाडिको दुखाईका लागि फिजियोथेरापी विषयक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँ  विश्वविद्यालय मेडिकल स्कुलकी प्राध्यापक डा.प्याट्रिसिया इ सुलिभनको उपस्थितीमा भएको कार्यक्रममा करिब ५० भन्दा बढी फिजियोथेरापिष्ट सहभागी थिए । विभिन्न क्षेत्रकी अनुभवी डा. प्याट्रिसियाले चेतनामूलक कार्यक्रमहरुमा सहभागिता जनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालमा भने पक्षघात तथा कम्मर पछाडिको भागलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि प्रशिक्षण दिएकी हुन् । नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापी विभागकी प्रमुख डा.मञ्जु ज्ञवालीले यस प्रशिक्षण कार्यक्रमले धेरै सहयोग पुगेको बताइन् ।

नेपाल एग्रोको आईपीओमा ४१.९० गुणा बढी आवेदन, कति जनाले भरे सेयर ?

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ४१.९० गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपीओमा कुल ६४ करोड ८७ लाख ३१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । बुधबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख १७ हजार ९५२ जना आवेदकले कुल ६४ लाख ८७ हजार ३१० कित्ताको लागि आवेदन दिएको मर्चेन्टले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले बुधबार नै सेयर बिक्री गर्न बन्द गरेको मर्चेन्टले बताएकाे छ । संस्थाले गत वैशाख ८ गते आइतबारदेखि सर्वसाधारणका लागि कूल एक करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री शुरु गरेको थियो । उक्त सेयरमा १० कित्ता देखि ८०० कित्तासम्म भर्न पाउने व्यवस्था रहेको थियो । संस्थाले कूल एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको साधारण सेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याई बाँकी रहेको सो मात्राको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । संस्थाले लघुवित्तका कर्मचारीलाई २४ सय ८९ कित्ता र सामूहिक लगानी कोषहरुलाई ८ हजार ८९ कित्ता सेयर छुट्याएको थियो।

दाङमा अजोड इन्स्योरेन्स लिमिटेडको शाखा बिस्तार

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लि.का संचालक रामबहादुर गुरुङ्गले शाखा उद्घाटन गरेका हुन् । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का दाङ्ग शाखा प्रमुख शिशिरकुमार लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध

हेटौँडा । मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौँडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनको आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागेको हो । निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध बिक्री गर्न नपाइने प्रशासनले जनाएको छ । सरकारले गत असोज ४ गते निर्देशिका पारित गरेको थियो भने गत चैत ४ गतेबाट नै लागू हुने सो निर्देशिका मकवानपुर जिल्लामा विभिन्न कारणले लागू हुन नसकेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ । यस सम्बन्धमा दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवसँग निर्देशिकाबारे बुझ्दा निर्देशिका लागू भएमा किसानले उत्पादन गरेको दूध बाह्रै महीना खरीद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मुक्त हुने बताए । किसानले पाउने मूल्य र उपभोक्ताले खरीद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएको र अन्य व्यक्तिले फाइदा लिएको स्वयं किसानको गुनासो छ । यो जिल्लामा आधा दर्जन डेरी उद्योग सञ्चालनमा छन् । रासस

अमेरिका-चीन व्यापार वार्ता हुँदै, अमेरिकी व्यापार प्रतिनिधि र अर्थमन्त्री बेइजिङ आउँदै

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन अर्को साता चिनियाँ प्रतिनिधिसँग वार्ताका लागि बेइजिङ प्रस्थान गर्ने उल्लेख छ । चिनियाँ प्रमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिऊ हेले गर्दै गर्देै छन् । बेइजिङ वार्तापछि वासिङ्टनमा फेरि आगामी मे ८ देखि अर्को चरणको वार्ता हुने पनि ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार आगामी वार्तामा बौद्धिक सम्पत्ति, जबर्जस्ती प्रविधि हस्तान्तरण, गैरकर अबरोध, कृषि, सेवा, खरिद र कानुन कार्यान्वयन समेतका व्यापारसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । विश्व अर्थतन्त्रमै असर गर्नेगरी अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले भने अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । रासस/एएफपी

चीनमा हुने अन्तर्राष्ट्रिय प्रबद्र्धन मेलामा नेपाल सहभागी हुने, ४ वटा स्टलमा नेपाली सामान प्रदर्शन गरिने

काठमाडौं । चीनको गोन्झाओमा हुने १२५ औं अन्तर्राष्ट्रिय प्रवद्र्धन मेलामा नेपाल सहभागी हुने भएको छ । नेपालले अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुलाई प्रवद्र्धन गर्न ४ वटा स्टलमा आफ्नो सहभागिता जनाउने भएको हो । चीनको अन्तर्राष्ट्रिय प्रवद्र्धन मेलामा नेपालले दोस्रो पटक सहभागिता जनाउन लागेको हो । चीनको गोन्झाओमा बैशाख १८ देखि २२ गतेसम्म हुने अन्तर्राष्ट्रिय मेलामा नेपालका उत्पादकले पनि सहभागिता जनाउने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । मेलामा सहभागिताका लागि २० लाख खर्च हुने केन्द्रले जानकारी दिएको छ । मेलामा हस्त निर्मित सामाग्री, अल्लो, थान्का, खोस्टबाट निर्माण गरिएका सामाग्री, लगायत ६ प्रकारका उत्पादन लिएर उद्यमीहरु मेलामा सहभागी हुने छन् । सो मेलामा १०० राष्ट्रका व्यवसायीको सहभागिता रहने बताइएको छ । केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले सो मेलामा सहभागिता जनाउँदा नेपालका हस्तकला सामाग्रीहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन हुने बताए । साथै नेपाली बस्तु निर्यातमा सहयोग पुग्ने र पर्यटक पनि आकर्षित हुने बताए । अघिल्लो वर्षको मेलामा बिक्रेताहरुलाई लगिएकोमा यस वर्ष उत्पादकहरुलाई मात्र सहभागी गराउने उनले बताए । स्रोत र साधनको उपलब्धता भएपनि दक्ष जनशक्ति नभएको कारणले माग अनुसारको सामान निर्यात गर्न नसकेको राणाले बताए । नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले अघिल्लो वर्ष १० लाख झोलाको माग भएकोमा ४८ सय मात्रै निर्यात गर्न सकिएको बताईन् । यो वर्ष मागको ५० प्रतिशत निर्यात हुने बताइन् । उनले भनिन्– अघिल्लो वर्षको मेलामा नेपाल पहिलो पटक सहभागी भएको र हस्तकलामा थोरैमात्र दक्ष जनशक्ति भएकाले माग अनुसार सामान निर्यात गर्न नसकेको बताइन् ।