पूर्व बजेटकालीन अन्तरक्रियामा व्यवसायीको सुझावः ‘बजेटमा घरेलु उद्योगलाई प्राथमिकता देउ’
काठमाडौँ । सरकारी लक्ष्य अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डोर्याउन साना तथा घरेलु उद्योगको प्रवद्र्धन गरी निर्यातलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । व्यवसायीले प्रविधि र पूँजीको वृद्धि गरी साना उद्योगलाई प्रोत्साहनका कार्यक्रमसहित लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड दिएका छन् । आफ्ना उत्पादनतर्फ सरकारले ध्यान दिन नसकेकोमा चिन्ता प्रकट गर्दै उनीहरुले स्वदेशमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ काम गर्ने बेला आएको बताए । नेपाल राष्ट्र बैंकद्वारा आगामी वर्षको बजेटका विषयमा सुझाव सङ्कलन गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग सङ्घका अध्यक्ष चण्डिप्रसाद अर्यालले सन् २००१ मा रु ३९ अर्बको तयारी पोशाक निर्यात भएको नेपालबाट पछिल्लो समयमा रु पाँच अर्बको मात्रै निर्यात हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै साना उद्योगमा राज्यले ध्यान नदिँदा समस्या बल्झिँदै गएको जिकिर गरे । “निर्यातजन्य उद्योगको कच्चापदार्थ स्वदेशमै उत्पादन गर्ने वातावरण बन्नुप¥यो, चलनचल्तीकै ब्याजदर लिउन्, यसमा हामीलाई केही फरक पर्दैन, तर उद्योगमैत्री वातावरण भयो भने हामी आफैँ बाटो कोर्छौँ, यसतर्फ आगामी वर्षको बजेट केन्द्रीत होस्, अर्यालले भने । प्रविधि र पूँजी वृद्धि गर्न भने जरुरी भइसकेको उनको भनाइ थियो । नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले निर्यात व्यवसायमा राज्यको ध्यान नपुगेको उल्लेख गर्दै निर्यात क्षेत्रमा छुट्याएको बजेटको एक प्रतिशत मात्रै बजारीकरणमा खर्च गर्ने हो भने पाँच वर्षमा तेब्बर वस्तु निर्यात गर्न सकिने सम्भावना रहेको तर्क प्रस्तुत गरे । घरेलु तथा साना उद्योग महासङ्का अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु उद्योगलाई ध्यान नदिए उच्च आर्थिक वृद्धिदर कोरा कल्पना मात्रै हुने जिकिर गरे । उनले अनलाइन व्यापारतर्फ युवालाई आकर्षित गराउने बेला भइसकेको उल्लेख गरे । छलफलका क्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले वार्षिक सात खर्ब रेमिट्यान्स भित्रिरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी उद्योग धन्दाको विकास नगरी रोजगार घटाउने कुराले समग्र अर्थतन्त्रमा असर गर्न सक्नेतर्फ ध्यानाकर्षण गराए । अर्थशास्त्रका प्राध्यापक कुशुम शाक्यले आर्थिक वृद्धिदर १० दशमलव ३ प्रतिशत पु¥याउने लक्ष्य प्राप्त गर्न कृषि उद्योग र सेवा क्षेत्रमा संलग्न महिलाको योगदानलाई भुल्न नहुने र उनीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । आर्थिक समृद्धि हासिल गर्न पहिलो प्राथमिकता उद्यमशीलता नै भएको राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मेघराज पोखरेलको भनार्इ थियो । पोखरेलले भने, “प्रविधिको प्रयोगलाई अब राज्यले सहयोग नगरी हुन्न, स–साना पूँजीलाई एकीकृत गरी सहकारीका माध्यामबाट साना उद्योगको विकास जरुरी छ ।” उनले लघु तथा घरेलु उद्योगको संस्थागत विकासमा स्थानीय तहले नै सञ्चालन गर्ने गरी उद्योगग्राम बनाउनुपर्ने सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छाले राज्यको पूर्वाधार कमजोर रहेकाले पूर्वाधार निर्माण प्राथमिकता दिनुपर्नेमा जोड दिए । “विमानस्थल, राजमार्ग, सबै कमजोर छ, पर्यटक आउनेदेखि लगानीकर्ताले पूर्वाधार पहिलो हेर्छन्, यसको विकास गरी घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्छ ।” गोल्छाले भने । नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले साना तथा मझौला उद्योगलाई सजिलै पैसा पाउने वातावरण नगरेसम्म सोचेको आर्थिक विकास नहुने बताए । साना उद्योगले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै शर्माले भने, “कुनै भारतबाट सामान ल्याउनुपर्यो भने २२ वटा डकुमेन्ट पेश गर्नुपर्छ, यसरी कसरी उद्योगको विकास हुनसक्छ ?” इण्डोनेशीयाबाट बिस्कुट नेपाल आउदा मिति नलेखे पनि हुने, त्यही बिस्कुट नेपालबाट पठाउँदा मिति मात्रै होइन उनीहरुकै स्थानीय भाषामा पनि लेख्नुपर्छ, त्यसैले गुणस्तरतर्फ र आयातको अनुगमन पनि गर्नु जरुरी छ ।” नियम कानून वातावरणमैत्री बनाउँदै कृषि पर्यटन क्षेत्रमा लगानी बढाएर लगानीमा प्रोत्साहन गर्नुपर्नेमा शर्माको जोड थियो । कार्यक्रममा राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले आएका उपयुक्त सुझावलाई बजेट निर्माण तहमा पेश गर्ने जानकारी दिँदै विगत भन्दा फरक परिस्थितिमा र १५ औँ योजनाको पहिलो बजेट भएकाले यसको छुट्टै महत्व रहेको बताए । अर्थतन्त्रको इतिहास तीन वर्षदेखि लगातार बढ्दो क्रममा रहेको भन्दै उहाँले नयाँ समूह बजारमा आइरहेको अवस्थामा व्यापार घाटा र शोधनान्तर घाटा कसरी कम गर्ने भन्ने विषयमा सरकारको ध्यान केन्द्रीत रहेको बताए । मूलभूत रुपमा विकासशिल राष्ट्रबाट स्तरोन्नति गर्ने, आर्थिक वृद्धिदर उच्च र दिगो बनाउने, व्यापार तथा शोधनान्तर घाटा कम गर्ने, विपद् जोखिम न्यूनीकरण गर्दै अल्पविकसित राष्ट्रबाट विकाससिल राष्ट्रमा स्तरोन्नति गर्ने र २०३० सम्ममा मध्यमस्तर भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य रहेकाले पनि अहिलेको बजेट अर्थपूर्ण रहेको उनले जानकारी दिए ।
मिस नेपाल २०१९ का प्रतियोगी यामाहा फ्यासिनो स्कुटरमा सवार, विशेष कार्यक्रममा सहभागी
काठमाडौँ । यामाहा मोटरसाइकल र स्कुटको आधिकारिक वितरण मोरङ अटो वक्र्स इन्टरप्राइजेजले मिस नेपाल २०१९ का प्रतियोगीहरुका साथ बुधबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । यामाहा फ्यासिनो मिस नेपाल २०१९ को टाइटल स्पोन्सरको रुपमा रहेको छ । मिस नेपालको ग्राण्ड फिनालेको अवसरमा एक जना प्रतियोगीलाई यामाहा फेस अफ फ्यासिनो उपाधिबाट विभुषित गरिने बताइएको छ । बुधबारको विशेष कार्यक्रममा यामाहाको शोरुमबाट शुरु भई ट्राफिक कार्यालय बग्गीखानामा पुगेर समापन भएको थियो । सो कार्यक्रममा प्रतियोगिताका २५ प्रतियोगी फ्यासिनो स्कुटरमा सवार रहेका थिए । यसैक्रममा ट्राफिक मुख्यालयमा भएको ट्राफिक सुरक्षा र यसका नियमहरु सम्बन्धी गोष्ठीमा २५ प्रतियोगी सहभागी भई जानकारी हासिल गरेका थिए ।
आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले दिए राजिनामा
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका संचालक प्रतापजंग पाण्डेले आफ्नो पदबाट राजिनामा दिएका छन् । संचालक पाण्डेले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै वैशाख १० गते संचालक समिति समक्ष राजिनामा पत्र दिएका हुन् । संचालक पाण्डेले दिएको राजिनामालाई सोही दिन बसेको कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीका नायब महाप्रबन्धक तथा कम्पनी सचिव शरण रेग्मीले जानकारी दिएका हुन् ।
अर्घाखाँचीमा एचएच बजाजको नयाँ शोरुम
काठमाडौँ । एचएच बजाजले अर्घाखाँचीको ‘बस्याल ब्रदर्स अटोलिङ्क प्रालि’ मा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफूहरुको जिम्मेवारी भएको बताए । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने उनले बताए ।
परिसंघका अध्यक्ष मोर चीन प्रस्थान, नेपाली–चिनियाँ लगानीकर्ताबीच छलफल हुने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको बैशाख ११ गतेदेखि प्रारम्भ भएको मित्रराष्ट्र चीनको राजकीय भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर समेत संलग्न भएका छन् । राष्ट्रपतिको उपस्थितिमा उद्योग तथा व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ परिषद्द्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ताबीच आयोजित सेमिनारमा परिसंघ अध्यक्ष मोर सम्मिलित हुनेछन् । सीसीपीआईटीका पदाधिकारीहरुसँग बैशाख १३ गते छुट्टै भेटघाट गरी परिसंघ र उक्त संस्था बीचको सहकार्यमा दुबै संस्थाबाट नेपाल र चीनमा गरिने कार्यक्रमको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । परिसंघका अध्यक्ष मोरको पहलमा नवलपरासीमा संयुक्त लगानी गर्ने नेपालमा अहिले सम्मकै ठूलो होङ्सी शिवम् सिमेन्ट उद्योगको स्थापना भई सञ्चालनमा समेत आइसकेको छ ।
एनआईसी एशिया बैंकले खोल्यो ५ नयाँ शाखा
काठमाडौँ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमीशाखाको सोहि वडाका वडाअध्यक्ष ईन्द्रबहादुर प्रजापतिले उद्घाटन गरे । यसैगरी कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापाबाट उद्घाटन गरियो । यसैगरी सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमलनाथ आचार्यले उद्घाटन गरे भने चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङगलचोक स्थित सतुङगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन् । यता, बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ स्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले बुधबार उद्घाटन गरेको बैंकले जनाएको छ ।
गण्डकी विकास बैंकद्वारा गण्डकी समृद्धि बचत खाता सञ्चालन
काठमाडौँ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । खाता खोल्ना साथ बैंकले रु. १००/- जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क अन्तर शाखा कारोबार, एटीएम सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको बैंकले जनाएको छ ।
बेल्ट रोड फोरममा भाग लिन माधव नेपाल उडे चीन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल चीन भ्रमणमा गएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने दोश्रो बेल्ट रोड फोरम फर इन्टरनेशन कोअपरेशनमा सहभागी हुन उनी चीन गएका हुन् । उनले फोरमलाई महत्वपूर्ण वत्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेता नेपालले बेल्ट रोड फोरममा नेपालको आवद्धता र लाभका विषयमा सम्बोधन गर्नेछन् । नेता नेपालसँगै नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बराल र अनेरास्ववियुका सचिव सुदेश पराजुली चीन भ्रमणमा गएका छन् ।