सेयर बाँडफाँडको गति तीब्र, तर नेप्सेमा सूचिकृत हुन किन हुन्छ ढिलाई ?
काठमाडौं । विभिन्न कम्पनीहरुले पूँजी बजारमा साधारण सेयर(आईपीओ) निष्काशन गरी तीव्र गतिमा बाँडफाँड गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डले सेयरमा अनिवार्य सेन्ट्रलाइज्ड आस्वा अर्थात सीआस्वा प्रणाली लागू गरेपछि उक्त प्रक्रिया छिटो हुन थालेको हाे । उक्त प्रणाली अनुसार हाल कम्पनीहरुले निष्काशन बन्द भएको ढिलोमा ४ हप्ताभित्रै सेयर बाँडफाँड गरिरहेका छन् । यसअघि आईपीओ बाँडफाँड हुन लामो समय लाग्ने गर्थ्यो । सूचिकरणमा किन ढिलाई ? हाल बाँडफाँड भइसकेका शेयर(आईपीओ)हरु नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत हुन भने ढिलाई भइरहेको छ । केही कम्पनीको एक दुई सातामै सूचिकृत भएपनि कुनै कम्पनीको सेयर सूचिकृत हुन महिनौँ लागेको देखिन्छ । पछिल्लो समय पाँचथर पावर पावरको आईपीओ बाँडफाँड भएको करिब २ महिना बित्न लाग्दा बल्ल नेप्सेमा सूचिकृत भएको छ । २०७५ फागुन २३ गते बाँडफाँड भएको सेयर २०७१ वैशाख १९ गते मात्र नेप्सेमा सूचिकृत भएको थियो ।त्यस्तै, अपर तामाकोशीको ४५ दिनमा र स्पर्श लघुवित्तको ४२ दिनको अन्तरमा सेयर सूचिकृत भएको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘कम्पनीहरुले सेयर सूचिकृत गराउन आवेदन दिएको एक महिनाभित्र सूचिकृत गराउनु पर्छ भन्ने नियम छ । हामीले त्यही अनुसार गरिरहेका छौँ ।’ ‘सम्पूर्ण डकुमेन्ट आएको खण्डमा आवेदन दिएका कम्पनीहरुको २-४ दिनमै सूचिकृत गरेका छौं । कम्पनीहरुले आवेदन दिन ढिला गरेको वा पूरा विवरण अनुसारको डकुमेन्ट नआउँदा सूचिकृत हुन समय लाग्न सक्छ।’- उनले बताए । यस सम्बन्धमा मर्चेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा सिद्धार्थ क्यापिटलका सीईओ धु्र्व तिमल्सिनाले बाँडफाँड भएको आईपीओ सूचिकृत गर्नमा कम्पनी कै हात हुने बताए । उनले भने-‘शेयर सूचीकरण गर्नमा बिक्री प्रबन्धकहरुको भन्दा कम्पनी कै भूमिका हुन्छ ।’ बिक्री प्रबन्धकहरुले त सर्पोट गरिदिने मात्रै हो- उनले भने । सिडीएससीका सीईओ देवप्रकाश गुप्ताले कम्पनीहरुले आईपीओ सूचिकृत गराउँदा २४-२५ वटा डकुमेन्टहरु बुझाउनु पर्ने भएकाले बढी समय लागेको हुन सक्ने बताए । सेयर बाँडफाँड र सूचीकरण अवस्था:
सनराइज बैंकबाट सूर्या लाइफको बीमा सेवा, ग्राहकलाई सुबिधा
काठमाडौँ । सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।
५.६४ अंकले घट्यो नेप्से, ९४ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.६४ अंकले घटेको छ । ०.४३ प्रतिशतले घट्दा परिसूचक १२९१.९६ बिन्दुमा पुगेको छ । आज शेयर बजारमा १७४ कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार घटेको दिन २ समूह बाहेक सबै सूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह ५०.२१ र उत्पादनमूलक समूह ३६.०९ अंकले बढ्दा अरु सबै समूह घटेका हुन् । बैंकिङ समूह ८.३१, होटल समूह १२.१२, विकास बैंक समूह ७.६८, जलविद्युत समूह ३.५४, वित्त समूह २.४१, अन्य समूह ०.९६, लघुवित्त समूह ८.१८ र जीवन बीमा समूह ५३.८८ अंकले घटेका हुन् । बजार घटेको दिन सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.५१ अंकले नाफा कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.२४ प्रतिशतले गुमाएका छन् ।
गण्डकी विकास बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । सम्झौतामा गण्डकी विकास बैंकलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
काजकिरिया जटिल वा कठिन प्रकृया हैन
माता वा पिताको निधनपछि गरिने अन्तिम संस्कार काजकिरिया कर्मको बैज्ञानिक, मनोबैज्ञानिक, सामाजिक, संस्कृतिक र अनुभूति जस्ता अनेक पक्ष छन् । मेरो दृष्टिमा यस्तोमा यसलाई अनुभूति गर्न सन्तानले कहिले चुक्नु हुँदैन। किनभने जीवनमा जम्मा दुईपटक गरी २६ दिन मात्र सन्तानको जीवनका लागि भनेर सबै उत्सर्ग गर्ने मातापिताका लागि काजकिरियामा समर्पित गर्नु सन्तानका लागि कुनै ठूलो काम हुने हैन, यो गहन जिम्मेवारी तथा कर्तव्य पनि हो। यसलाई कम ऑक्न हुँदैन र यसो गर्न झिंझो मान्न पनि हुँदैन । यो जन्म दिने माता तथा पिता र आफ्ना लागि आधिदैहिक, आधिभौतिक र अध्यात्मिक शान्ति प्राप्त गर्ने प्रविधि र प्रकृया तथा विधि पनि हो। मेरो अनुभवमा काजकिरिया कुनै जटिल वा कठिन प्रकृया हैन र छैन । १३ दिनको किरिया अवधिलाई एक प्रकारको कडा अनुशासन, समर्पण, भक्ति, श्रद्धा, साधनाको रूपमा ग्रहण गर्ने, खानपीन, शुद्धता, श्रद्धा र कृतज्ञतामा अलि बढी ध्यान दिने मात्र हो। अनुशासनबिना कुनै कुरामा पनि त फल पाईने हुँदैन, अनुशासनबिना कोही सफल भएका पनि हुँदैनन्। यस्तो १३ दिने अनुशासनमा बस्दा आत्मबिश्वास अवश्य बढ्ने छ । तसर्थ, अन्तिम मृत्यु संस्कारको अनुभूति र छाप जीवनपर्यन्त रहने छ र जसका कारण मातापिता प्रतिको श्रद्धा अझ बढेर एक कर्तव्यनिष्ठ सन्तान बन्नेतिर आफूलाई उत्प्रेरित गरिरहने प्रेरणा दिईरहनेछ। जसलाई देख्दा आफ्ना सन्तानहरूमा पनि मातापिताप्रति भक्तिभाव बढ्ने र कर्तब्यबोध हुनेछ।
बजेटबारे ६० प्रश्नको उत्तर लेख्दै गभर्नर, बैंकर र उद्यमीहरु(फोटो फिचर)
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले बैशाख २६ गते विहीबार पूर्व बजेट छलफल कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, बैंकरहरु, उद्यमीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागीहरुलाई आव २०७६/०७७ को बजेटका प्राथमिकताबारे ६० वटा प्रश्न वितरण गरिएको थियो । बजेटबारे कार्यक्रममा सहभागीहरु उत्तर लेख्दै सहभागिहरु : तश्वीर/विकासन्यूज डट कम ।
सिभिल बैंकबाट ठूला प्रमोटर बाहिरिदै, साढे १७ लाख कित्ता सेयर लिलामीमा
काठमाडौं । सिभिल बैंक लिमिटेडको १७ लाख ५३ हजार ८५४ कित्ता प्रमोटर सेयर लिलामीमा राखिएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकी बढाबढ मूल्यमा बिक्री गर्न लागिएको उक्त सेयर किन्नेले कम्तिमा २ लाख कित्ता आवदेन गर्नुपर्नेछ । उक्त सेयर जेठ ९ गतेसम्म आवदेन गर्न सकिने सिभिल क्यापिटलले जनाएको छ । शुक्रबार बैंकले दुई आर्थिक वर्षको साधारणसभा गर्दैछ । साधारणसभाले सञ्चालक समिति पनि चयन गर्दैछ । दुई आर्थिक वर्षको लाभांश लिने, साधारणसभामा भाग पनि लिने तर सेयर बेचेर निस्कने प्रमोटर को को हुन् भन्ने स्पष्ट भएको छैन । थोरै थोरै कित्ता सेयर जोडेर धेरै जनाले सेयर बिक्रीमा राखेको बैंक व्यवस्थापन समूह सम्बद्ध स्रोतको दावी छ । तर किन्नले नै कम्तिमा २ लाख कित्ता आवेदन गर्नु पर्ने सर्त भएका कारण सेयर बिक्रेता ठूलै लगानीकर्ता भएको अनुमान गरिएको छ । ठूलो मात्रामा सेयर अध्यक्ष इच्छाराज तामाङ र उनी निकट समूहसँग मात्र भएकोले उनीहरुले नै सेयर बिक्री गर्न लागेको हुन सक्ने प्रमोटर सम्बद्ध स्रोतले बतायो । ‘अध्यक्षज्यूको नाममा भएको सेयर बोर्डमा रहेको अवस्थामा बेच्च मिल्दैन । उहाँको टिमबाट कसैले बेच्न लाग्नु भएको भन्ने सुनेको छु’ स्रोतले भन्यो । अध्यक्ष इच्छाराज तामाङले बेच्च लागेको सेयर आफ्नो नभएको बताए । ‘बैंकको लाभांश दर कम छ । बैंकमा भन्दा अरु क्षेत्रमा गरिएको लगानीको प्रतिफल राम्रो हुन्छ भन्ने बुझेका साथीहरुले बैंकको सेयर बेच्च लागेको हुनसक्छ’ तामाङले विकासन्युजसँग भने । शुन्य दलमलव ५ प्रतिशतभन्दा बढी सेयरभएका सेयरधनीकाे सूचि राष्ट्र बैंकको नियम अनुसार १ प्रतिशतभन्दा बढी संस्थापक सेयर बेच्च केन्द्रीय बैंकको स्वीकृति लिनुपर्छ । ‘बैंकले सेयर बिक्रीमा राखेको छ । जसले बढी मूल्यमा सेयर किन्न आवेदन दिन्छ, उसलाई सेयर बेच्च मिल्छ कि मिल्दैन भनेर राष्ट्र बैंकले त्यतिबेला हेर्नेछ । कसले सेयर बेच्च लागेको त्यतिबेला मात्र थाहा हुन्छ’ राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागेलाले भने । कोषले लिन सक्ने लिलामीमा राखिएको सेयर कर्मचारी संचय कोष वा नागरिक लगानी कोष वा बीमा कम्पनीले मात्र किन्न सक्ने देखिएको छ । न्यूनतम २ लाख कित्ता आवदेन गर्न कम्तिमा २ करोड रुपैयाँ चाहिने, उक्त रकममा लाग्ने कर तिरेको प्रमाण पेश गर्नु पर्ने, प्रमोटर सेयर लिन राष्ट्र बैंकले तोकेअनुसार सबै मापदण्ड पूरा गरेको हुनु पर्ने भएकोले व्यक्तिगत तवरमा उक्त सेयर किन्न सक्ने सम्भावना कम छ । यसअघि २७ लाख भन्दा बढी सेयर किनिसकेकोले सञ्चाय कोषले नै उक्त सेयर किन्न सक्ने अनुमान गरिएको छ । ‘वाणिज्य बैंकको सेयर १०० रुपैयाँमा किन्ने मौका राम्रो हो । बोर्डमा छलफल हुन्छ । अध्ययन हुन्छ, त्यसपछि किन्ने नकिन्ने निर्णय हुन्छ’ कोषका प्रशासक तुलसी गौतमले भने ।
जोमसोम विमानस्तरको स्तरोन्नति शुरु, नौ करोडमा ठेक्का सम्झौता
ठिनी । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “ग्रेड नमिलेकाले जमीन काटेर लेभल (तह) मिलाउन लागेका हौँ”, पौडेलले भने, “विमानस्थलमा ओभरले (कालोपत्र थप) पनि हुन्छ ।” हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चार÷चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ । विमानस्थल स्तरोन्नति आयोजनाका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत असोजमा रु नौ करोडमा ठेक्का सम्झौता भएको थियो । चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि काम हुन सकेन । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको एपेक्स कन्ट्रक्सनका इञ्जिनीयर लालध्वज लामाले बताए । गत असारमा १५ महिनाको आयोजना भए पनि अबको दुई महिनाभित्र सम्पन्न गरिसक्ने उनले बताए । विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम गरिएको छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावाहुरी चल्ने भएकाले सो समयमा जहाज आउँदैनन् । विमानस्थल स्तरोन्नति भएपछि जहाज अवतरणमा सहज भई दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ । हाल धावनमार्गको कालोपत्र उप्किएको, ग्रेगर निस्किएर खाल्डाखुल्डी परेकाले विमान अवतरण गर्दा समस्या हुने गरेको छ । पोखरा–जोमसोम हवाईमार्गमा समिट र तारा एयरका जहाजले दैनिक पाँच उडान भर्दै आएका छन् । पर्यटक र तीर्थयात्री ओसार्ने हेलिकप्टरको चाप पनि बढ्दो छ । रासस