विकासन्युज

दुई कम्पनीको ७ लाख ८० हजार कित्ता बोनस सूचिकृत, हेरौँ क-कसकाे ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कूल ७ लाख ८० हजार ९५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

देवः विकास बैंकको भूरीगाउँ शाखा उद्घाटन

काठमाडौँ । देवः विकास बैंक लि.को ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार भएको छ । बैशाख २५ गते ठाकुरबाबा नगरपालिकाका प्रमुख, घननारायण श्रेष्ठले शाखा उद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा नगर श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै संचालक समितिका सदस्य बिजयराज शर्मा भुसाल लगायतकाले मन्तव्य व्यक्त गरेको वरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले बताए ।

गुराँस लघुवित्तको आईपीओ बाँडफाँड, दुई लाख बढीको हात खाली

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार २३ हजार ३६३ जना आवदेकले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । उक्त आईपीओमा ३ लाख १ हजार ३९६ जनाले कूल ५५ लाख ४५ हजार ४५० कित्ता सेयर माग गरेको थिए । जुन संस्थाको माग भन्दा २३.८० गुणा बढी हो । कूल ३ लाख २ हजार ३८ जनाको आवेदन मध्ये ६४२ जनाले माग गरेको १४ हजार ८९० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएकाे छ । संस्थाले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

कालोपत्र नभएको भन्दै बौद्धमा सडक बन्द, ‘धुवाधुलोबाट मुक्त हुने कहिले ?’

साँखु । लामो समयदेखि निर्माणाधीन चावहिल-साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुवाधुलोबाट मुक्त हुनुपर्यो । विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले दुखेसो पोखे । चौलागाईंले सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प भएको मात्र नभई करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन हुनुपरेको पीडा सुनाए । व्यापारी लक्ष्मण दुलालले भने, “यो साङ्केतिक विरोध कार्यक्रम मात्र हो, भोलिका दिनमा थप कडा आन्दोलनसहित हामी प्रस्तुत हुनेछौँ”, उनले भने, “सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको छ, हाम्रो एक सूत्रीय मागको तत्काल सुनुवाइ हुनुपर्छ ।” लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब रु ८० लाख खर्चिएको दाबी गरेको छ । सडकको कालोपत्र गर्नका लागि नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो । बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो । सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन । रासस

सुदूरपश्चिममा सिमेन्ट आयात बन्द, भारतसँगको निर्भरता हट्दै

धनगढी । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ । दाङस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिका सञ्चालक श्याम तायलले सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लोपटक नेपालमा भएको उपलब्धिले भारतीय सिमेन्ट आयात रोकिएको बताए । “नेपालमा सिमेन्टको निर्माण लागत भने भारतमा भन्दा बढी छ”, तायलले भने, “सरकारले कोइलाको आयात र बिजुली महसुलमा छुट दिन सके निर्माण लागत कम पर्ने भई उभोक्ताले हालको भन्दा सस्तोमा सिमेन्ट पाउन सक्छन् ।” उत्पादन गर्ने कम्पनीअनुसार सिमेन्टको गुणस्तर पनि फरक–फरक हुने गरेको बताइएको छ । नेपालमा हाल सञ्चालनमा रहेका ५० भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै २० हजार टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ । नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौँडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुरलगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल रु ७६० देखि ७८० सम्म छ । कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले भन्सार नाका हुँदै विसं २०७४ सम्म भारतीय सिमेन्ट आयात भएकामा त्यसपछि आयात बन्द भएको जानकारी दिनुभयो । सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर भ्याट, भन्सार र अन्तःशुल्क लाग्ने गरेको छ । स्वदेशमा उत्पादिन सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा २०७४ अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट प्रयोग गर्ने गरिएको थियो । रासस

कोलगेटमा भेट्टियो क्यान्सर विकास गर्ने रसायन

काठमाडौं। भर्खरै निक्लिएको अनुसन्धानको रिपोर्टले कोलगेटमा ट्राईक्लोसा नाम गरेको घातक पदार्थ भएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको छ। टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि उक्त पदार्थ स्वास्थ्यको लागि हानिकारक रहेको पाईएको थियो। ट्रिक्लोसानले छालाबाट शरीरमा प्रवेश गरेर शरीरको हार्मोनमा असन्तुलन ल्याउने गर्दछ। २००८ मा २५१७ मानिसमा गरिएकोको टेस्टको नतिजा अनुसार ६ बर्ष देखी माथिको ७५ प्रतिसतको पिसाबमा ट्रिक्लोसान पाईएको थियो। यधापी अध्ययनले यस्तो देखाउँदा देखाउँदै पनि कोलेगेटले अझै पनि आफु स्वोस्थ टुथपेस्ट रहेको र यसले मानिसको स्वास्थ्यलाई कुनै पनि हानी नगरने दाबी गर्दै आएको छ। संसारमा प्रयोग हुने टुथपेस्टमा कोलेगेट प्रसिद्द टुथपेस्टमा पर्दै आएको छ।

अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटीमा हाजिरजवाफ प्रतियोगिता

काठमाडौं। अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बुधबार आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखीएको यस प्रतियोगिताका सहभागी मध्ये आस्मा प्रधानले प्रथम स्थान, श्रृजना श्रेष्ठले दोश्रो स्थान तथा रोमी महर्जनले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ । प्रत्येक वर्ष मे महिनाको ६ देखी १२ तारिखसम्म मनाइने सप्ताहव्यापी नर्सिङ दिवसको यस वर्षको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरीट‘ रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसरभर मनाउने गरिन्छ । नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पूुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

लमही-घोराही १३२ केभी लाइन सञ्चालन, घोराही वितरण केन्द्रबाट वितरण शुरु

लमही । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताए । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उनले भने, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु गरेर बुधबारदेखि मात्रै लोड लिन शुरु गरेका हौँ ।” उक्त प्रसारण लाइन शुरु भएसँगै विद्युत्मा यसअघि देखिएको ‘लो’ भोल्टेजको समस्या सुधार भएको भएको उनको भनाइ छ । यसअघि २३ किलोमिटर दूरी रहेको लमहीबाट विद्युत् ल्याएको भए पनि लमही–घोराहीअन्तर्गत झिग्नीको लाइन शुरु भएसँगै आठ किलोमिटर दूरीबाटै विद्युत् ल्याएर वितरण गर्दा यो समस्या हटेको उनको भनाइ थियो । “यसअघि लमहीबाट २३ किलोमिटर टाढाबाट ल्याउन बीचमै चुहावट हुने समस्या पनि थियो”, उनले भने, “तर अहिले नजिकै छ, आठ किलोमिटर मात्रै छ, त्यसले गर्दा पनि सहज थियो ।” यसअघि लमहीबाट ३३ केभी लाइन नै ल्याइएको थियो । लमहीबाट ल्याउँदा बाटोमै बिग्रिँदा पनि जङ्गलबीचमा लाइन जडान भएकाले समस्या पहिचान गर्न पनि ढिलाइ हुने गरेको उनले बताए । “लमहीबाट जङ्गलबीचबाट ल्याइएको थियो, त्यसले गर्दा बीचमा बिग्रिँदा पनि कहाँनेर बिग्रियो भन्ने समस्या हुन्थ्यो”, उनले भने, “तर अहिले दूरी नजिक भएकाले छिट्टै समस्या पहिचान गरेर समाधान गर्न सकिन्छ ।” झिग्नीको ३२ केभी लाइन घोराहीसँगै तुलसीपुर, सल्यान, रुकुम, रोल्पामा पनि वितरण हुने गरेकाले ओभरलोड जारी रहेको भन्दै पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदासम्म समस्या जारी रहने उनको भनाइ छ । “अहिले भोल्टेजमा केही सुधार त आएको छ, तर ओभरलोडको समस्या कायम छ”, उनले भने, “पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदा केही समस्या भएको हो ।” अहिले दाङका बढी विद्युत् खपत हुने समयमा कम्तीमा पनि २५ एमपीए लाइन खपत हुने गरेको उनको भनाइ छ । ३८ टावर निर्माण पूरा हुनुका साथै तार तानेपछि निर्माणको काम पूरा भएको हो । लमहीबाट १३ किलोमिटर तार तानेर झिग्नीमा प्रसारण लाइन राखिएको हो । दाङमा देखिएको व्याप्त विद्युत् अनियमितालाई रोक्न विसं २०७० देखि लाइन निर्माण शुरु गरिएको थियो । ३७ महीनासम्ममा पूरा गर्ने सहमति भए पनि केही ढिला गरी निर्माणकार्य पूरा भएको हो । स्थानीयको अवरोधले तुलसीपुर आएन यता, दाङ घोराहीको स्थानीयको अवरोधका कारण उक्त प्रसारण लाइनबाट ३३ केभी लाइन तुलसीपुर लैजाने भनिए पनि काम पूरा हुनसकेको छैन । सडकले स्वीकृति दिएको क्षेत्रमा सडक दायाँबायाँबाट पोल गाडेको भए पनि स्थानीयवासीले अवरोध गर्दा तुलसीपुर लैजाने काम अवरुद्ध भएको यादवले बताए । “सडकले दिएको स्वीकृतिअनुसार सडकको दायाँबायाँ विद्युत्का पोल गाडेका छौँ, स्थानीयको खेतमा कुनै अवरोध भएको छैन”, उनले भने, “तर स्थानीयवासीले अवरोध गर्दा काम अघि बढ्न सकेको छैन, त्यसैले पनि अहिले घोराही वितरण केन्द्रकै प्रसारण लाइनबाट तुलसीपुरमा वितरण भइरहेको छ ।” रासस