विकासन्युज

निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान मार्ने धम्की

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो । रमेश लागुऔषध कारोबार अभियोग तथा समीरमान र रिगल हत्या अभियोगमा कैद सजाय भोगिरहेका छन् । समीरमानलाई निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग पनि लागेको छ । प्रहरीले गौचन हत्यामै संलग्नमध्ये फरार दुई अभियुक्त पनि निर्माण व्यवसायीलाई धम्क्याउने धन्दामा लागेको जनाएको छ । ‘निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालमाथि केन्द्रित हुनु स्वाभाविक हो,’ महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘यीबाहेक व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरूको संलग्नताको केही आधार फेला परेका छन् ।’ पक्राउ परेपछि तीनैजनालाई केन्द्रीय कारागारस्थित गोलघरमा राखिएको थियो । उनीहरूले इन्टरनेट फोन प्रयोग गरेर धम्की दिएको भेटिएको प्रहरीले जनाएको छ । कतिपय अवस्थामा कारागारमा उपलब्ध सुविधाको टोलिफोन पनि पनि प्रयोग गरेको देखिएको प्रहरीले जनायो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

होटल अन्नपूर्णकी सिर्जना राणा हानको अध्यक्षमा निर्वाचित, कार्यसमितिमा अरु को को ?

काठमाडौँ । होटल संघ नेपाल(हान)को ४६ औं वार्षिक साधारण सभाले अध्यक्षमा होटल अन्नपूर्णकी सिर्जना राणालाई चयन गरेको छ । संघको साधारण सभाबाट चयन भएको नयाँ कार्यसमिति विहीबार काठमाडौँमा आयोजित एक समारोहका बीच घोषणा गरिएको हो । साधारण सभाले प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रबिनबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका साजन शाक्य र कोषाध्यक्षमा होटल बैशालीका विशालकुमारलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा निर्वमान अध्यक्ष अमरमान शाक्य(अमर होटल), सोल्टी होटलका दिनेशबहादुर विष्ट, ओरियन्टल÷र्याडिशन होटलका बिधाता श्रेष्ठ, होटल हिमालयका दिनेश तुलाधर, होटल शंकरका विनोदशंकर श्रेष्ठ, बाराही रिसोर्टका विप्लब पौडेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्टका गोपाल राना, शम्बाला होटलका टेस्टेन, होटल कमलका रामकुमार पुरी, होटल क्राउन प्लाजाका युवराज श्रेष्ठ, होटल गणेश हिमालका ठाकुरप्रसाद पोखरेल र होटल याम्बुका राजेन्द्र भट्ट चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको घोषणा सभा कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष राणाले इतिहास मै पहिलो पटक महिलालाई नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा सबै होटल व्यवसायी सदस्यहरुमा धन्यवाद दिइन् । होटल व्यवसायीहरुलाई राज्यले पनि सहयोग गर्नु पर्ने बताउँदै पर्यटनको माध्यमबाट देशको आर्थिक विकासमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइन् । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन होटल व्यवसायीहरुले आ–आफ्नो स्थानबाट सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

स्याङजामा एनआईसी एशियाको नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले गरेका हुन् । हाल बैंकले कूल २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अब डाक्टरले जस्तै इञ्जिनियरले पनि परीक्षा पास गरेर मात्र लाईसेन्स पाउने

काठमाडौं । अब इञ्जिनियरहरुले पनि लाईसेन्स परीक्षा पास गरेर मात्र काम गर्न पाउने भएका छन् । नेपाल काउन्सिलले ल्याउन लागेको व्यवस्था अनुसार अब डाक्टरहरुले जस्तै लाईसेन्सको लागि परीक्षा दिएर मात्र सम्बन्धित क्षेत्रमा काम गर्न पाउने भएका हुन् । हाल मेडिकल काउन्सिल, नेपाल बार काउन्सिल तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई नेपाल चार्टर्ड अकाउन्टेन्ट (आईक्यान) संस्था लगायतले मात्रै यसरी परीक्षा लिएर लाईसेन्स दिने व्यवस्था छ । नेपाल इञ्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण नेरौलाले नयाँ व्यवस्थासँगै इञ्जिनियरिङ शिक्षा र कामको गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गरे । ‘हाल नेपालको इञ्जिनियरिङ शिक्षाको अवस्था दयानीय छ, इञ्जिनियरिङ शिक्षा सकेर काममा लागेकाहरुकोउत्पादकत्व राम्रो छैन नयाँ व्यवस्था पछी त्यस्तो अवस्था अन्त्य हुनसक्छ’– अध्यक्ष नेरौलाले भने । मेडिकल काउन्सिलबाट सम्बन्ध प्राप्त गरेपछी मात्रै काम गर्ने व्यवस्थाका कारण नेपालको मेडिकल क्षेत्रलाई दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । काउन्सिलले उक्त प्रावधान लागु गर्ने भएसँगै नेपाली इञ्जिनियरिङका विद्यार्थी तथा कलेजहरुलाई गुणस्तर सुधारमा थप दबाब पर्ने भएको छ । हाल सम्म काउन्सिलले त्रिभुवन विश्वविद्यालयमा मात्र इञ्जिनियरिङ बिषयमा उत्तीर्ण गरेका वा त्रिबि बाहेक अन्य विश्वविद्यालका विद्यार्थीको हकमा समकक्षता प्रमाण पत्रको सिफारिसको आधारमा लाईसेन्स दिने गर्दै आएको थियो । हाल नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र मध्य पश्चिमाञ्चल विश्वविद्यालयलाई काउन्सिलले मान्यता दिँदै आएको छ। काउन्सिलले यस सँगै भारतको २३३, चिनको ४९, रसियाको ३७, अमेरिकाको ६५, बेलायतको २२ सँगै अन्य धेरै देशबाट इञ्जिनियरिङ पढेर आउनेलाई मान्यता दिँदै आएको छ । यदी कुनै पनि विद्यार्थी पढेको विश्वविद्यालय काउन्सिलको लिस्टिङमा नभएको खण्डमा काउन्सिलको बिषयगत समितिले सिफारिस गरेर बोर्डले पास गरेको अवस्थामा विद्यार्थीले लाईसेन्स पाउने व्यवस्था रहेको छ। नेपालमा हाल ५० हजार रजिस्टर्ड ईन्जिनियर रहेका छन्। नेपाल बाहेक भारत, बाङ्लादेश, चिन, रसियबाट ईन्जिनियरिङ्ग पढेर आउने विद्यार्थीको संख्या बढी रहेको छ। सबै इञ्जिनियरिङ कलेजको एउटै पाठ्यक्रम नेपाल इञ्जिनियरिङ काउन्सिलले सबै विश्वविद्यालयमा एउटै पाठ्यक्रम ल्याउन लागेको काउन्सिलका अध्यक्ष नेरौलालेले बताए । वर्तमान अवस्थामा नेपालका ५ वटा विश्वविद्यालयको आ-आफ्नै पाठ्यक्रम रहेको छ। शिक्षा र सिकाईको प्रणालीको एकरुपतामा ल्याउन यो कदम चाल्न लागेको उनले जानकारी दिए।

मिर्मिरेको साढे २ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कूल २ लाख ४९ हजार २६४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हाे । यस अघि संस्थाको कूल १० लाख ३८ हजार ५८५ कित्ता सेयर नेप्सेमा सूचिकृत थियो । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ रहेको छ ।

बैैंकमा पैसा राख्दा सुन चाँदीका सिक्का नपाइने, उपहार नबाढ्न निर्देशन

काठमाडौं । अब कैंक तथा वित्तिय संस्थाहरुमा पैसा राख्दा सुन चाँदीका सिक्का लगायतका उपहारहरु नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदै निक्षेप आकर्षित गर्नका लागि सुन चाँदीका सिक्का लगायतका कुनै पनि उपहार दिन नपाउने व्यवस्था गरेको हो । निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप तान्ने प्रतिष्पर्धाका लागि आकर्षक ब्याजदरका अलवा सुन चाँदीका सिक्का लगायतका बिभिन्न प्रकारका उपहार स्किमहरु दिँदै आएका छन् । अब बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप कर्ताहरुलाई कुनै पनि प्रकारका उपहार दिन पाउने छैनन् ।

बक्यौता नतिर्नेको लाईन काट्ने कुलमानको घोषणा, तिर्छन् त २४० व्यवसायीले ४ अर्ब ३० करोड ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी व्यवसायीले लिएका ६७ वटा ट्रङ्क लाइनको अध्ययन गरी यर्थाथ पत्ता लगाउने भएको छ । उद्योगी व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको विद्युतको महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेको छ । केही उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च र उच्च अदालतसमेत पुगेका छन् । केही उद्योगी तथा व्यवसायीलाई प्राधिकरणले तय गरेको महसुल तिर्न आदेश दिएको छ भने केहीको मुद्दा विचाराधिन अवस्थामा रहेको छ । प्राधिकरणले २९८ ग्राहकलाई विशेष सुविधा भन्दै नियमित विद्युत् आपूर्ति हुने लाइन उपलब्ध गराएको छ । त्यसमा २३१ वटा डेडिकेटेड लाइन छन् भने ६७ वटा ट्रङ्क लाइन छन् । ट्रङ्क लाइनबाट मात्रै गत असारसम्म रु चार अर्ब ३० करोड बराबरको महसुल उठ्न बाँकी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण सञ्चालक समितिको निर्देशनअनुसार सञ्चालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा ट्रङ्क लाइन लिएका व्यापारीको एक एक गरी छानबिनसमेत शुरु गरेको छ । डेडिकेडेट लाइनबाट विद्युत् लिएका उद्योग, व्यवसाय, अस्पताल, खानेपानी जस्ता संस्था वा निकायले नियमित रुपमा विद्युत् महसुल तिर्दै आएका छन् । तर कहिल्यै नकाटिने ट्रङ्क लाइनबाट विद्युत् लिएका व्यापारीले नियममानुसार बढी शुल्क तिर्नुपर्ने व्यवस्था छ । यद्यपी उनीहरु प्राधिकरणले बढी महसुल लिएको भन्दै अदालत जाने र महसुलसम्म तिर्दिन भन्ने अवस्थामा पुगेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घले प्राधिकरणले बढी महसुल लिएको भन्दै प्रतिवाद गर्ने यसअघि नै घोषणा गरेका छन् । प्राधिकरणले विद्युत्भार कटौती हुँदा पनि २० घन्टासम्म ट्रंक लाइनमार्फत् बिजुली उपलब्ध गराए वापत व्यवसायीलाई धमाधम अतिरिक्त शुल्क तिर्न पत्र पठाएको थियो । आफूहरुले उपयोग नै नगरेको सेवाको शुल्क तिर्न प्राधिकरणले पत्र पठाएको भन्दै तिर्न नसक्ने उद्योगी र व्यवसायीले आपत्ति जनाएका हुन् । प्राधिकरणको तत्कालीन नेतृत्वले विसं २०६९ देखि नै तजबिजीमा आधारमा पनि केही उद्योगलाई ट्रङ्क लाइनमार्फत विद्युत् उपलब्ध गराएको थियो । विसं २०७२ पुस २९ गते र माघ १० गते तत्कालीन सार्वजनिक लेखा समितिले ट्रङक लाइन र डेडिकेडेट लाइनको विद्युत् महसुल उठाउन र त्यसको व्यवस्था गर्न विद्युत् महसुल निर्धारण आयोगलाई समेत निर्देशन दिएको थियो । ट्रङ्क लाइन विद्युत् लिनका लागि व्यवसायीले प्राधिकरणमा निवेदन दिनुपर्ने र सञ्चालक समितिले स्वीकृति गर्नुपर्ने व्यवस्था छ तर विसं २०७२ जेठमा तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशकले केही उद्योगलाई सहमतिको आधारमा भन्दै तोकादेशका भरमा लाइनको स्वीकृति दिइएको पाइएको छ । स्वीकृति नलिइकन विद्युत् प्रयोग गर्ने त्यस्ता ग्राहकलाई चोरीअन्तर्गत कारवाही गर्न सकिने प्रावधान पनि छ । छानबिन समितिले विसं २०६९ देखि नै ट्रङ्क लाइन लिएका उद्योगी व्यवसायीले उद्योगमा जडान गरेको ‘टिओडी’ मिटर छानबिन गरी तथ्य पत्ता लगाउने निर्णय गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणले विसं २०७३ कात्तिकदेखि घरायसी ग्राहकलाई विद्युत्भार कटौती अन्त्य गरेको थियो भने उद्योग प्रतिष्ठानमा विसं २०७५ जेठदेखि विद्युत् कटौती अन्त्य गरेको थियो । प्राधिकरणले उद्योगलाई ११ केभी, ३३ केभी र ६६ केभी क्षमताका प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराइरहेको छ । कूल ३१५ मेगावाट विद्युत् उद्योगले खपत गरिरहेको छ । “हिउँदको समयमा उपलब्ध हुने जति सबै विद्युत् उद्योगलाई दिएर उपभोक्तालाई विद्युतभार कटौती गरिएको रहेछ । त्यस विषयमा समेत प्राधिकरणले गम्भीरतापूर्वक हेरिरहेको छ”, कार्यकारी निर्देशक घिसिङले भने । प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट सात रुपैयाँ ५० पैसामा विद्युत् खरीद गरेको छ भने उद्योगलाई औसतमा मात्रै छ रुपैयाँ २५ पैसामा विद्युत् उपलब्ध गराउँछ । दक्षिण एशियामा नै नेपालका उद्योगी व्यवसायीले सबैभन्दा सस्तोमा विद्युत् पाउने गरेका छन् । औद्योगिक ग्राहकको सङ्ख्यासमेत निरन्तर वृद्धि भएका कारण प्राधिकरणले उपलब्ध गराउने विद्युत्को प्रतिशत बढेर ५० भन्दा माथि पुगेको छ । तर महसुल भने असाध्यै न्यून रहेको छ । विद्युत् नियमन आयोग गठन भइसकेकाले अब आयोगले पनि सो विषयमा निर्णय गर्ला भन्ने अपेक्षामा आफूहरु रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । बुधबार मात्रै आयोगका अध्यक्ष र सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । प्राधिकरणले नियमानुसार महसुल नतिर्ने उद्योगी व्यवसायीको लाइन काटन सक्ने संकेत गरेको छ । केही उद्योगको हकमा अदालतले समेत महसुल तिर्नुपर्ने आदेश दिइसकेको छ । महसुल बुझाउन अटेर गर्ने उद्योगीको लाइन काटेर महसुल उठाउनुको विकल्पसमेत नभएको प्राधिकरणको भनाइ छ । अदालतले महसुल उठाउनु भनेर आदेश दिएकाको हकमा अब लाइन काटिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ तर अध्ययन समितिले उद्योगले के कति परिमाणमा कति विद्युत् लिएका छन् भन्ने विषयमा भने पहिले निक्र्योल गरिने छ । “हामी सबै उद्योगको यर्थाथ विवरण पत्ता लगाउँदैछौं । सबै टिओडी मिटरको अध्ययन भइरहेको छ । विद्युतभार कटौतीको समयमा कुन उद्योगले के कति मात्रामा विद्युत् प्रयोग गरे वा गरेनन् भन्ने पत्ता लगाइन्छ र दुधको दुध पानीको पानी छुट्याइन्छ”, कार्यकारी निर्देशक घिसिङले भने । रासस

झाडापखला लाग्दा झोल पदार्थ पिउनुहोस् तर दुध होइन : डा. अनुप बास्तोला

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये झाडापखालाका बिरामी उल्लेख्य मात्रामा छन् । अस्पताल श्रोतका अनुसार केही बर्ष यता अस्पतालमा सबैभन्दा बढी झाडापखालाका बिरामी आउने गरेका छन् । अस्पतालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार प्रमुख पाँच रोगमा पहिलोमा झाडापखाला पाईएको हो । अहिले गर्मी सिजन चलिरहेको छ, यो सिजनमा धेरै मानिसहरुलाई झाडापखलाले सताउने गरेको छ । झाडापखाला जाडो महिनामा पनि देखिने गर्दछ, तर गर्मी महिनामा यसले मानिसहरुलाई बढी सताउने गरेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाको अनुसार विशेष गरेर ब्याक्टेरिया र भाइरसको संक्रमणले हुने झाडापखाला दूषित पानी, सडेगलेका बासी र झिंगा भन्किएका खाना, फोहोर पानी, फोहोर हातका माध्यमबाट फैलिने गर्दछन्। खुला क्षेत्रमा गरिएको मानिसको र पशुपन्छीको दिशा पानीमा मिसावट हुने र त्यही पानी मानिसहरुले पिउदा झाडापखलाको हुनु गरेको डा. बास्तोलाले बताए। खानाको कारण पेटमा हुने एलर्जी, शरीरले कार्बोहाइड्रेट पचाउन नसक्दा पनि झाडापखाला हुने गर्दछ । झाडापखाला हुँदा शरीरबाट धेरै मात्रामा नुन, पोषनतत्व र पानीखेर जान्छ, जुन अवस्थालाई जलवियोजन भनिन्छ । यस्तो अवस्थामा समयमै उपचार नभए बिरामीको अकालमा मृत्यु पनि हुन सक्दछ। के खाने ? १। साधा खानेकुरा झाडापखला लागेको समयमा चिल्लो, पिरो रहित साधा खानेकुरा खानुपर्छ किनभने यस समय चिल्लो र पिरो खानाले पेटमा अझै समस्य निम्ताउँछ। त्यसैले यस समयमा निकै साधा खानेकुरा खानुपर्छ जस्तै ः – सेतो भात – पाउरोटी – केरा – उसिनेको आलु – जाउलो यी खानेकुराहरु झाडापखला लागेको पहिलो दिन निकै नै सहयोगी हुन्छ, किनभने साधा खानेकुराहरुले पेटको पाचन शक्तीलाई सन्तुलित बनाउन मद्त गर्दछ। के पिउने ? झोलिलो पदार्थ झाडापखलाको समयमा एकदमै फाईदाजनक तत्व हो । झाडापखला लागेका मानिसहरुले यस्तो समयमा पानी खाईरहनुपर्छ र शौचालय गएर आएको हरेक पटक पानी पिउनु पर्दछ । धेरै पानी पिउनाले शरीरमा पानी कम हुन नदिई शरीरलाई तागत दिईरहन्छ । यस समयमा शरीरले पानी मात्र नभएर मिनिरल जस्ता महत्वपूर्ण तत्व गुमाउँछ। त्यसैले यो अवस्थामा मानिसहरुले मिनिरलहरु पाइने झोल पदार्थ पिउनुपर्छ। मिनिरल पाइने झोल पदार्थ – नरिवल पानी के नखाने ? १। मसालेदार खाना मसालेदर खानेकुराले झाडापखला भएको अवस्थामा अझै पेटलाई बिगार्ने गर्दछ। यसकारण यो समयमा मसालेदार खानेकुराबाट टाढै बस्दा राम्रो हुन्छ। २। तारेको खानेकुरा तारेको खानेकुराले पाचन शक्तीलाई अझै कमजोर बनाउँछ। यसले झाडापखलालाई अझै जटिल बनाउने हुनाले यस अवस्थामा तारेको खानेकुरा खानु हुँदैन। यसको विकल्पमा उसिनेको तरकारी खानु स्वस्थ हुन्छ । ३। उच्च फाईबरयुक्त खानेकुरा झाडापखला लागेको समयमा उच्च फाइबरयुक्त खानेकुराले पनि समस्या निम्ताउन सक्छ । यधपी फाइबरले पाचन शक्तीलाई तन्दुरुस्त राख्ने भएपनि यसले झाडापखला लागेको समयमा अझै धेरै बिगार्न सक्छ। फाइबर युक्त खानेकुरा गहुँ, चामल, रोटी, बदाम हुन्, तर स्याउ, केरामा भएको फाइबरले भने झाडापखलालाई रोक्न मद्त गर्दछ। अन्य खानु नहुने खानेकुरा –प्याज र लसुन – प्याक गरिएको खानेकुरा – काँचो तरकारी – काउली, बन्दा, ब्रोकाउली, दुग्ध पदार्थ – सुंगुरको मासु