सिद्धार्थ बैंकको ३ नयाँ शाखा बिस्तार, १५३ पुग्यो शाखा
काठमाडौँ । सिद्धार्थ बैंकले बिहिबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा बिस्तार गरेको छ । बैंकको इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईँले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार कित्ता सेयर लिलामीमा, मूल्य १०० मा बढाबढ
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको १ लाख ४७ हजार कित्ता हकप्रद सेयर लिलामीमा आएको छ । कम्पनीले १ लाख ४४ हजार ५९१ कित्ता साधारण सेयर र २ हजार ५११ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवदेन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले जनाएको छ । सेयरको प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । आगामी जेठ १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।
६८ करोड बाँकी राख्दै उद्योग बन्द, किसान फेरि निराश
रौतहट । करोडौं रुपैयाँ भुक्तानी बाँकी राख्दै उखु उद्योग बन्द भएपछि किसान फेरि निराश बनेका छन्। विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भयो । गत पुस महिनामा सञ्चालनमा आएको उद्योगले १३ लाख ७७ हजार एक सय चार क्विन्टल उखु क्रसिङ गरेको छ। गत वर्षको रकम निकै बाँकी रहेका बेला पनि उद्योगले अपेक्षाकृत राम्रो उखु पाएको थियो। उद्योगले उखु पाउन थालेपछि किसानको भुक्तानीमा उद्योगले चासो दिएको थिएन। समयमा भुक्तानी नदिँदा गत वर्षकै आठ करोड बाँकी रहेको छ। उद्योगले एक लाख १३ हजार क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ। उद्योग बन्द हुनासाथ चिनीको भाउ बढ्ने सम्भावना रहेको छ। चालू क्रसिङ सिजनमा नेपालका अधिकांश चिनी उद्योगले राम्रो मुनाफा कमाउने देखिएको विश्लेषक बताउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।
जनसेवी र स्वाभिमान लघुवित्तको आइपीओ खुला, कति कित्ता भर्न पाइने ?
काठमाडौं । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण शेयर(आइपीओ) आजदेखि खुल्ला भएको छ । जनसेवीको ४ करोड ६३ लाख ३० हजार रुपैंया बराबरका ४ लाख ६३ हजार ३०० कित्ता शेयर खुला भएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । उक्त शेयरमध्ये ५ प्रतिशतले हुने २३ हजार १६५ कित्ता शेयर म्युचुअल फण्ड र ७ हजार १४५ कित्ता कर्मचारीलाई वितरण गरी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि खुला हुने भएको हो । उक्त शेयरका लागि न्यूनतम १० देखि अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ । सर्बसाधारणलाई वितरण हुने शेयर कुल ४३ हजार २९९ जनाले १०-१० कित्ता शेयर प्राप्त गर्नेछन् । यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको एक लाख ९८ हजार ६१० कित्ता शेयर खुला भएको छ । सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको जनाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले आवदन गर्न सक्ने सक्नेछन् । आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ । बैशाख २७ गतेदेखि ३१ गतेसम्म दुबै लघुवित्तको शेयर आवेदन दिन सकिने जनाइएको छ ।
भान्छा चलाउन हम्मे, तरकारी पोहोरभन्दा दोब्बर महँगो
काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ। गत वर्षमात्र नभएर गत महिना (चैत) सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो। निरन्तर वषात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन्। भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता ९२६ गते० ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ। गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो। बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ। गोलभेंडामात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ। स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ। गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ। कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ। भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो, तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ। रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। सबै हरियो तरकारीको मूल्य बढे पनि आलु, प्याज, बन्दाको मूल्य भने यथावत छ। गाजरको मूल्य घटेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
लोकसेवा खुल्ने निश्चित, ११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदै
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ । मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो । त्यसरी माग गरेपछि ४ सय ३७ वटा स्थानीय तहले ११ हजार ४ सय ९२ पदको विवरण मन्त्रालयमा पठाएका थिए । स्थानीय तहको मागका आधारमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका पदमा लोकसेवाले अब छिट्टै विज्ञापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । ४ सय ३७ बाहेक अन्य स्थानीय तहबाट विवरण नआएकाले थप संख्या भने मन्त्रालयले आयोगमा पठाएको छैन । बाँकी स्थानीय तहबाट विवरण आएमा फेरि थप संख्यामा पदपूर्तिको माग गर्दै आयोग पठाइने मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्नेछ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ९४ का लागि २ हजार ५ सय ५ पदमा विज्ञापन हुनेछ । यसैगरी, प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहका लागि १ हजार ७ सय ४९, प्रदेश ३ स्थित १ सय १९ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ५ सय २७ पदमा विज्ञापन हुनेछ । त्यसैगरी, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ६ सय, प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये ७३ तहका लागि १ हजार ८ सय ७२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३५ तहका लागि ८ सय ५५ र सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ५६ वटाका लागि १ हजार ३ सय ८४ पदमा विज्ञापन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल २०१९ उपाधि
काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यस्तै मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस कन्फिडेन्सको उपाधि निशा पाठकले र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले पाए । प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् । अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो । उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
वैदेशिक रोजगारीमा जानेले दोहोरो बिमा गर्नुपर्ने
काठमाडौं । वैदेशिक रोजगारका लागि म्यादी जीवन बिमा गर्दै आएका कामदारले अब अनिवार्य रूपमा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा पनि गर्नुपर्ने भएको छ । यससँगै अब वैदेशिक रोजगारीमा जाने कामदारले दोहोरो बिमा गर्नुपर्ने भएको हो । सरकारले स्वास्थ्य बिमा नियमावली जारी गर्दै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गर्न निवेदनसाथ स्वास्थ्य बिमाको परिचयपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यक्रम लागू नभएका जिल्लाका हकमा भने यो व्यवस्था अनिवार्य छैन । कामदारले दोहोरो बिमा गर्दा झन्झटिलो हुनुका साथै आर्थिक रूपमा पनि भार पर्ने बिमाविज्ञ भोजराज शर्मा बताउँछन् । उनका अनुसार प्रक्रियागत रूपमा पनि २-२ वटा बिमा गर्नु कामदारका लागि अव्यावहारिक हुन्छ । तर, वैदेशिक रोजगार विभागका महानिर्देशिक भीष्मकुमार भुसालले भने दोहोरो व्यवस्थाले समस्या नहुने दाबी गर्छन् । ‘दुईवटा बिमाको अवधारणा फरक-फरक छ,’ उनले भने, ‘स्वास्थ्य बिमाले कामदारको परिवारको रक्षावरण गर्छ । वैदेशिक रोजगार बिमाले कामदारको सुरक्षण गर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।