सगरमाथा नाप्न गएको नेपाली टोली चुचुरोमा पुगेर फर्कियो, उचाई घट्यो कि बढ्यो ?
काठमाडौँ । इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ ।विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि उचाइ) को मापन पहिलोपटक नेपाल आफैँले नाप्न सक्छ भन्ने सन्देश संसारलाई दिएको छ । सगरमाथा मापनको काम ६५ वर्षदेखि विभिन्न मुलुकले गर्दै आएका छन् । तर, नेपालले पहिलोपटक आफ्नै स्रोत साधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरेको हो । जुन इतिहासकै गौरवपूर्ण कामको थालनी थियो । यो महत्वाकाङ्क्षी यात्रालाई उत्साहमा परिणत गर्ने नेपालकै राष्ट्रसेवक कर्मचारी जसले जीवनको प्रवाह नगरी अहोरात्र खटेर इतिहास बनाए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वको टोलीले पहिलोपटक सगरमाथाको चुचुरामा पुगेर उचाइ मापन गरेको छ । विभागकै नापी अधिकृत रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धितालले अभियानलाई साथ दिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । पथपदर्शक छिरिङजाङ्बु शेर्पालगायतको दरिलो साथले अयिभानलाई सार्थकता तुल्यायो । नापी टोलीले सगरमाथाको चुचुरामा पुगेर एक घण्टा १६ मिनेट बिताएर सर्वेक्षण गर्नु निकै चुनौतीपूर्ण काम थियो । यही जेठ ८ गते बिहान ३ बजे उनीहरु सगरमाथाको चुचुरामा पुग्न सफल भएका थिए । असाध्यै जोखिमपूर्ण तर राष्ट्रको गौरवसँग जोडिएको विषय सगरमाथाको उचाइ मापन गर्ने कार्यमा आफैँ संलग्न भएर इतिहास कायम गर्न सकेकामा खुशीको सीमा नरहेको संयोजक गौतमले बताए । “संसारकै अग्लो हिमचुचुरोमा गएर सर्वेक्षण गर्नु निकै चुनौती थियो । इतिहास रच्नका लागि हामीमा अदम्य साहस र धैर्य थियो, जसले सफलता हात लाग्यो । भूकम्पपछि संसारभर सगरमाथाको उचाइप्रति विभिन्न धारणा आए तीनलाई चिर्न पनि हामीले महान् कार्यलाई पूर्णता दिनु नै थियो”, मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा गौतमले सुनाए । निजामती कर्मचारीका तर्फबाट सगरमाथा आरोहण गर्नेक्रममा गौतमले सफलता प्राप्त गरेका थिए । नापी विभागमा उपसचिव तहमा कार्यरत उनको यो दोस्रोपटकको सगरमाथा आरोहण हो । गौतमले भने, “नेपालको गौरव सगरमाथाको उचाइ अहिलेसम्म सरकार आफैँले मापन गरेको थिएन । वर्तमान सरकारले यो कार्यक्रम गर्यो जुन अत्यन्तै महत्वपूर्ण कार्यक्रम थियो । आफ्नै स्रोत साधन तथा उपकरणले सगरमाथा मापनको काम भएकोमा यसप्रति सरोकारवालाको दरिलो साथ रहेको छ ।” संसारका मुख्य स्याटेलाइटमध्ये ५२ वटा स्याटेलाइट सगरमाथाको चुचुरोको बिन्दुबाट मापन गर्नु विश्वकै नौलो परिघटना भएको गौतमको भनाइ छ । यसले संसारका वैज्ञानिकलाई सन्देश दिएको छ कि नेपाल आफैँ महान् काम गर्नसक्छ । अभियानको मुख्य सहयोगी छिरिङजाङ्बु शेर्पाको अनुभवमा यसपटक सगरमाथाको चुचुरोमा पुग्नु निकै चुनौतीपूर्ण थियो । “प्रतिकूल मौसमका कारण सगरमाथामा आरोहीको ट्राफिक जाम थियो । आठ हजार मिटर उचाइमा दुई रात बिताउनु असाध्यै कठिन कार्य थियो । आरोहण सकेर फर्कंदा हिलारी स्टेपमा दुई घण्टा पर्खनु परेको थियो । अक्सिजन सकिन्छ कि भन्ने अर्को चुनौती थियो”, शेर्पाले स्मरण गरे । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्प तथा त्यसपछिका परकम्पनले सगरमाथाको उचाइ घटबढ भएको विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेपछि विभागले भारत, चीन, जापान, संयुक्त राज्य अमेरिकालगायत नौ देशका विशेषज्ञसँग छलफल गरी मापनका लागि आवश्यक सुझाव लिएको थियो । विश्वभर सगरमाथाको उचाइबारे द्विविधा उत्पन्न गरायो त्यसलाई चिर्न सरकारले पहिलो चासो लिएर मापनको काम अघि बढाएको हो । गणितीय तथ्य प्राप्त गरी विश्लेषण गरेर आगामी छ महिनाभित्र सगरमाथाको उचाई सार्वजनिक गरिने यसअघि छिमेकी भारत, चीनलगायत देशले पाँच पटक सगरमाथाको मापन गरेका थिए । पछिल्लो पटक सन् १९५४ मा भारत सरकारले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर पत्ता लगाएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । सगरमाथा उचाइ मापनका लागि नापी विभागले यसका लागि जनशक्ति व्यवस्थापन गरेको थियो । समुद्री सतह बङ्गालको खाडीदेखि सगरमाथाको चुचुरोसम्म नापी विभागका प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । ओखलढुङ्गा, खोटाङ हुँदै सोलुखुम्बुका विभिन्न क्षेत्रमा उचाइ मापन प्रणाली जडान गरिएको छ । जसको सहयोगले गणितीय तथ्य प्राप्त गरी विश्लेषण गरेर आगामी छ महिनाभित्र सगरमाथाको उचाई सार्वजनिक गरिने योजना रहेको जनाइएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले चुनौतीको शिखर चुमेर महान अभियान सफल गर्ने टोलीसँग साक्षात्कार गर्ने अवसर पाउनु आफ्नालाई निकै खुशी र उत्साहको दिन भएको उल्लेख गरिन् । “संसारकै अग्लो उचाइ नेपाललाई आफ्नै स्रोत र जनशक्तिबाट मापन गर्नु सामान्य विषय थिएन । नेपाल अब स्वावलम्बी बन्दैछ, त्यसको उदाहरण हो सगरमाथा मापन कार्य, लेवलिङ, सर्भे, सेटलाइटको प्रक्रिया सकेर नापी विभागको आफ्नै प्रयोगशालाबाट सगरमाथाको उचाई पत्ता लगाइनेछ । बाँकी काम तीव्ररुपमा अघि बढाई छिट्टै परिणाम ल्याइनेछ ।” मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपाली प्रविधि र स्रोत साधन प्रयोग गरेर सगरमाथाको वास्तविक उचाई पत्ता लगाउने काम आफैँमा गौरवको विषय भएको र केही महिनामै परिणाम आउने उल्लेख गरे । रासस
हिमालयन डिष्टिलरीले ६८ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीलाई ६८.४२ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको संचित नाफामा रहेको रकमबाट सेयरधनीलाई लाभांसमा लाग्ने कर समेत गरी सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ ९ गते बसेको संचालक समितिको बैठकले गरेको हो । उक्त लाभांश आगामी जेठ १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई नक्सालस्थित कम्पनीको सेयर रजिष्टार नविल इन्भेष्टमेन्ट बैंकिङ्मा रहेको कम्पनीको सेयरधनी दर्ता कितावमा नाम दर्ता भएका सेयरधनीहरुले मात्र पाउने छन् ।
अखाद्य वस्तुको मिसावट र उत्पादन गर्ने विरुद्ध कारवाही, ७९ उद्योगमाथि मुद्दा दायर
फाइल फोटो हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट, चाउचाउ, अचारलगायत खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु रहेको उक्त कार्यालयद्वारा शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए । एक महिनासम्म मनाइने खाद्य सुरक्षा दिवसका अवसरमा खाद्य स्वच्छतासम्बन्धी माइकिङ, प्रचारप्रसार, उद्योगी–व्यवसायी तथा बुद्धिजीवीहरुसँग छलफल एवं होटल र पसलहरुको अनुगमन गरिने सो अबसरमा बताइएको थियो । रासस
बाँकेको खजुरामा आशा लघुवित्तले ४९ जनालाई दियो सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले जेठ ८, ९ र १० गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीयसंस्थाले शाखा कार्यालय खजुरा बाँकेमा आबद्ध सदस्यहरु मध्ये ४९ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख सञ्जीत वलीले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने तथा कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुनेसर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत हालसम्म झण्डै ९८२ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा शुरु, तीन दिनसम्म २० प्रतिशत छुट
काठमाडौँ । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखरावासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए । पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाई छ । लाउञ्जले पाएको सफलताको श्रेय देश तथा विदेशमा रहेका लाउञ्जका सेवाग्राहीलाई दिएका श्रेष्ठले गुनासो गर्ने अवस्था आउन नदिने बताए । लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनैपनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निःशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागी महिलाहरुलाई ककटेल निःशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ । लाउञ्जको औपचारिक उद्घाटन कार्यक्रममा दीपक बज्राचार्य तथा रिदम व्याण्डका साथै किंग्स लाउञ्ज व्याण्डले लाइभ प्रस्तुती दिएका थिए । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । विभिन्न पेशा र व्यवसायमा आवद्ध केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने जनाएको छ ।
गायक पुष्कल शर्माको ‘फाटेको मन’ भिडियो सहित सार्वजनिक
काठमाडाैं। प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो सहित बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरतप्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।
सिरहा र सर्लाहीमा नेपाल बङ्गलादेश बैंकको शाखा बिस्तार
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । जेठ ७ गतेदेखि सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलङ्गवा शाखा कार्यालय सञ्चालन गरेको हो । उक्त शाखाहरुकोे उद्घाटन सम्बन्धितनगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरेका हुन् ।
अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त, २५ विद्यार्थीलाई ‘उदय छात्रवृत्ति’ प्रदान
काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै e2o गाडीको चाबी खतिवडालाई प्रदान गरे । e2o गाडी वातावरण मैत्री विद्युतीय गाडी हो । अग्नि इन्कर्पोरेटेडका ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पूर्व मिस नेपाल खतिवडाले हर्षित हुँदै आफु निकै खुशी भएको बताइन् । अग्नि इन्कर्पोरेटेडले बिगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकहरुका एसइई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजारका दरले ‘उदय छात्रवृत्ति’ पुरस्कार र प्रसंशा पत्र प्रदान गरेको छ । कार्यकारी निर्देशक शर्मा र पूर्व मिस नेपाल खतिवडाले संयुक्त उक्त पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुन् । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका ग्राहकहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।