प्राइभेट र बैंकिङ क्षेत्रका कर्मचारीलाई गतवर्ष निराशाजनक, कृषि क्षेत्रको आम्दानी सर्वाधिक बढ्यो
काठमाडौं । निजी तथा बैंकिङ क्षेत्रका कर्मचारीको लागि २०७५ साल निराशाजनक रहेको देखिएको छ । एक वर्षको उक्त अवधिमा देशभरका विभिन्न क्षेत्रमध्ये निजी क्षेत्र र बैंकिङ क्षेत्रका कर्मचारीको आम्दानीको वृद्धिदर सबैभन्दा कम रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकको राष्ट्रिय ज्याला तथा तलब सुचकांकले सो वर्ष निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब शुन्य प्रतिशतले बढेको देखाएको छ भने बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीको तलबमा पनि १.१ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । सो अवधिभित्र समग्र ज्याला र तलबको कुल आम्दानी ९.६ प्रतिशतले बढेकोमा तलबभत्ता तर्फ ६.६ प्रतिशत र ज्यालातर्फ १०.५ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सन् २००४ काे मूल्यमा आधारित ज्याला तलब सुचकांक (स्राेत : नेपाल राष्ट्र बैंक) तलबतर्फ वृद्धि भएको ६.६ प्रतिशतमध्ये निजामति कर्मचारीको ७.४ प्रतिशत, सार्वजनिक संस्थानका कर्मचारीको ५.८ प्रतिशत, सुरक्षा निकायसँग सम्बन्धित सेना र प्रहरीको ८.१ प्रतिशत तथा शिक्षा क्षेत्रमा काम गर्नेहरुको तलब १०.३ प्रतिशतले बढेको छ । ज्यालातर्फ औसत १०.५ प्रतिशतको वृद्धि रहँदा कृषि क्षेत्रमा मजदुरको ज्याला भने सबैभन्दा धेरै बढेको छ । कृषि क्षेत्रका श्रमिकहरुले यो वर्ष आफ्नो आम्दानीमा ११.३ प्रतिशतले वृद्धि गरेका छन्, यसमध्ये महिला श्रमिकको ज्याला वृद्धिदर १२.१ प्रतिशत र सोही क्षेत्रका पुरुपहरुको ज्याला वृद्धिदर १०.१ प्रतिशत देखिएको छ । त्यस्तै, उद्योग क्षेत्रका श्रमिकको ज्याला ८.८ प्रतिशत र निर्माण क्षेत्रका श्रमिकको ८.८ प्रतिशतले वृद्धि भएको छ । तलब इन्डेक्समा अधिकृत वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरुको आम्दानीकाे बृद्धिदर तल्ला तहका कर्मचारीहरुको भन्दा बढी देखिएको छ । औसत ६.६ प्रतिशतल बढेको सो सूचकमा अधिकृत वा सोभन्दा उपल्लो तहको आम्दानी ८.१ प्रतिशतले बढ्दा तल्लो तहका कर्मचारीको ५.९ प्रतिशतले मात्रै त्यस्तो आम्दानी बढेको देखिएको छ । औद्योगिक क्षेत्रका उच्च दक्षतायुक्त कर्मचारीहरुको तलब भने सबैभन्दा बढी १२.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सन् २००४ को मूल्यमा आधारित भएर उक्त सुचकांकको सर्भेक्षण गरेको हो । सो वर्षको तलब सूचकांकलाई १०० मानेर राष्ट्र बैंकले हालको सुचक निकालेको हाे ।
बाराको कलैयामा सिटिजन लाइफ इन्स्योरेन्सले खोल्यो नयाँ शाखा
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नयाँ शाखा उद्घाटन गरेका हुन् । कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।
करोडौँ नक्कली भारु लिन जाँदा यूनुस अन्सारी सहित ६ जना पक्राउ
फाइल फोटो काठमाडौँ । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुस मिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । “एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारु फेला परेको छ, अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ”, रञ्जितकाले जानकारी दिए । पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।
नेपाल राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिनसमेत पाइनेछ ।ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । घटीमा रु पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।
सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’
काठमाडौं । शंकरदेव कलेजले आयोजना गरेकाे ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट २०१९’ को उपाधि नेपाल कमर्श क्याम्पस(एनसीसी)ले हात पारेको छ । मुलपानी किक्रेट मैदानमा शुक्रबार(आज) भएको अन्तिम खेलमा सेन्ट जेभियरर्स कलेज (एसएक्ससी)लाई हराउँदै एनसीसीले उपाधि आफ्नो पक्षमा पारेको हो । टस जितेर बलिङ रोजेको एनसीसीले १७ ओभरमा जम्मा ४ विकेट गुमाएर १४० रनको टार्गेटलाई पुरा गरेको हो । उता सेन्ट जेभियरर्सले भने २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । जुन एनसीसीले १७ ओभरमै सजिलै १४० रनको टार्गेटलाई मिट गरी खेल जितेको छ । जितसँगै एनसीसीले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता अर्थात रनरअप बनेको सेन्ट जेभिएरर्सले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ । त्यस्तै, प्रतियोगिताको ‘म्यान अफ द मेडल’ एनसीसीका कप्तानसमेत रहेका दिपेन्द्र मैनालीले जितेका छन् । मैनालीले ट्रफी सहित सपिङ भौचर र स्पेशल फुडको कुपन प्राप्त गरेका छन् । यस प्रतियोगिता गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । जसमा ७ कलेजका खेलाडीहरु सहभागी भएका थिए ।
सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुने, ‘फिफाले ३६ करोड डलर कमाउने’
लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । रासस/एएफपी
कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लि. ले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शाखा उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकको चन्द्रौटा शाखा कार्यालयबाटस्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।
नयाँ शहर बनाउन १३ अर्ब खर्चिँदै सरकार, ‘काठमाडौंमा स्मार्टसिटी, मोफसलमा नयाँ शहर’
काठमाडौं । आधुनिक, सुविधा सम्पन्न र व्यवस्थित शहर निर्माण गर्ने लक्ष्यसहित शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका र त्यसभन्दा बाहिरका शहरहरुमा आगामी आर्थिक वर्षदेखि नयाँ शहरको निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयले यसका लागि करिब १३ अर्ब खर्च गर्नेगरी योजना बनाएको हो । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ मा ती शहरको निर्माण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग कुल १३ अर्ब २६ करोड रुपैंया माग गरेको हो, जसमध्ये २ अर्ब एकीकृत शहरी विकास कार्यक्रमका लागि तथा बाँकी सघन शहरी विकास कार्यक्रमका लागि ११ अर्ब २६ करोड रुपैंया विनियाेजन गरेको हो । सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण गरिने उक्त शहरमध्ये तराईमा २० ओटा जिल्ला सदरमुकाम, १२ ओटा नयाँ नगरपालिका सहित अन्य केही स्थानहरुमा एकीकृत शहरी पूर्वाधार विकास निर्माणकाे कार्य हुनेछ । त्यस्तै, वृहत् शहरी क्षेत्र विकास कार्यक्रम अन्तर्गत ३ ओटा मेगासिटीका लागि अध्ययन र पूर्वाधार विकास गर्ने, १३ ओटा स्मार्टसिटीको गुरुयोजना तयार गर्ने तथा हिमाली जिल्लाका ५ शहरहरुको अध्ययन गर्ने र ३५ नगरपालिकाहरुको डीपीआर तयार गर्ने कार्यक्रम छन् । उक्त कार्यक्रमअन्तर्गत रहेका उक्त परियोजनाहरु निर्माणका लागि मन्त्रालयले कुल ४९ अर्ब २४ करोड रुपैंया खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ । त्यसमध्ये १७ अर्ब ९६ करोड रुपैंया हालसम्म खर्च भएकोमा बाँकी ३१ अर्बको दायित्व सिर्जना भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नयाँ शहर आयोजना अन्तर्गत मन्त्रालयले २७ स्थानमा एकीकृत शहरी विकास योजना तयार गरी नयाँ शहर विकास गर्ने योजना बनाएको छ । उक्त शहरहरुमध्ये १३ ओटा मध्यपहाडी लोकमार्गमा, १० ओटा हुलाकी लोकमार्गमा र ५ ओटा तराई मधेशका अन्य स्थानहरुमा हुनेछन् । यसका लागि मन्त्रालयले कुल २ अर्ब रुपैंया विनियोजन गरेको छ । काठमाडौं उपत्यकामा शहरी विकासको पूर्वाधारका लागि भने काठमाडौं उपत्यका विकास प्राधिकरणलाई १ अर्ब १४ करोड रुपैंया विनियोजन गरिएको छ । प्राधिकरणले उपत्यकाका ४ कुनामा स्मार्ट सीटीको डीपीआर निर्माण गर्ने योजना मन्त्रालयले बनाएको छ । विनियोजित उक्त रकम डीपीआरका साथै निर्देशित जग्गा विकास, शहरी सडक विस्तार, सार्वजनिक जग्गा संरक्षण विपद् व्यवस्थापन पार्क, सडक स्तरोन्नती समेतका कार्यक्रम छन् ।