नगरभरीका विद्यालयमा एउटै रङ, १ करोड रकम बिनियोजन
लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति धनबहादुर शाहले सामुदायिक विद्यालय एकै खालको देखाउन बजेट विनियोजन गरेको बताए । “पहेँला र कलेजी दुई प्रकारको रङ लगाउने सहमति भएको छ”, स्रोतव्यक्ति शाहले भने, ‘‘सामुदायिक विद्यालयको छुट्टै पहिचान स्थापित होस् भन्ने चाहना पनि हो ।’’ शाहीले अधिकांश सामुदायिक विद्यालय एक दशकभन्दा बढी समयदेखि रङरोगन नभएको अवस्था रहेकाले यो अभियानले राहत हुने बताए । सब इञ्जिनीयर गम्भीरसिंह साउदले प्राविधिकले लागत अनुमान तयार गरिरहेको बताउँदै रु १० लाखभन्दा कम लागत लाग्ने विद्यालयमा व्यवस्थापन समितिको सहयोगमा रङरोगन गरिने बताए । उनले भने, “१० लाख माथिका योजना भए ठेक्कामा दिने प्रचलन छ । जेठभित्र रङरोगन सक्ने गरी काम थालेका छौँ ।” नगरपालिकाले रङगरोगन गरिदिने भएपछि शिक्षक पनि खुशी भएका छन् । त्रिभुवन मावि बटनपुरका प्रअ रवीन्द्र कठायतले स्थानीय सरकारले सबै विद्यालयलाई समेट्ने गरी उदाहरणीय कार्य शुरु गरेको बताए । ‘‘सबै विद्यालय एउटै खालका देखिन्छन्, यसले विभेद अन्त्यमा समेत सहयोग पुगेको छ”, प्रअ कठायतले भने, “वर्षौंदेखि आर्थिक अभावमा रङरोगन गर्न नसकेका विद्यालयलाई राहतसमेत भएको छ ।” नगरपालिकाले शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएपछि टीकापुरमा परीक्षा प्रणाली व्यवस्थित गरिएको जनाएको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले शैक्षिक गुणस्तर वृद्धिका लागि विषयगत पाठ्ययक्रमसहितको योजना बनाएको शैक्षिक पात्रो हरेक विद्यालयमा उपलब्ध गराइएको बताए । “हरेक महीना प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल हुन्छ”, नगरप्रमुख रावलले भने, “विद्यालयमा राम्रा काम र समस्याबारे छलफल हुन्छ, बजेट आवश्यक भए कार्यपालिकाले निर्णय गर्छ ।” कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्न थालेको छ । नगरप्रमुख रावलले शिक्षा नियमावली पनि अन्तिम चरणमा रहेको बताउँदै शिक्षा नियमावली स्वीकृत भएपछि अझ शैक्षिक विकासमा सहयोग पुग्ने बताए । रासस
चितवन महोत्सवको ५५ लाख नाफा क्रिकेट रङ्गशालालाई, ‘१ करोड पुर्याइने’
चितवन । चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउण्डेसनसहित विभिन्न सङ्घसंस्थालाई रु ७१ लाख १३ हजार सहयोगपश्चात् रु ६९ लाख ९९ हजार ७९१ बचत भएको जानकारी दिए । उनले महोत्सवलाई सहयोग पुर्याउने स्थानीय गणेश मन्दिरलाई रु पाँच लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई रु एक लाख, नेपाल आदिवासी जनजाति महासङ्घलाई रु एक लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई रु तीन लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनलाई रु एक लाख, नेवाः पुचः नारायणगढलाई रु ७५ हजार, नारायणी कला मन्दिरलाई रु ७५ हजार र जिल्ला प्रहरी कार्यालय अगाडि विश्रामस्थल निर्माण गर्न रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए । प्रधानले क्रिकेट रङ्गशालाका लागि रकम थप गरी रु एक करोड पुर्याइने बताउनुभयो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण गरिँदैछ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो । खर्च विवरणअनुसार भरतपुर महानगरपालिका आयोजक भएर पनि महोत्सवले महानगरलाई कर भुक्तानी गरेको छ । प्रत्येक कक्षको उठेको रकमको १० प्रतिशतका दरले बहाल कर रु आठ लाख ९५ हजार महोत्सवले महानगरलाई बुझाइसकेको छ । मनोरञ्जन कर रु तीन लाख ५० हजार र महोत्सव परिसर भाडाबापत रु १० लाख महानगरपालिकालाई महोत्सवले बुझाउन विनियोजन गरेको छ । प्रधानले महोत्सवमा बचेको रकमको २५ प्रतिशत आयकर रु १६ लाख ९९ हजार आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाएको बताए । महोत्सवको हिसाब सार्वजनिक गर्न ढिलाइ भइरहेको गुनासो आइरहेकाबेला महोत्सव मूल आयोजक समितिले खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गरेका थिए । रासस
बर्दियाको राजापुर सबस्टेसन संचालन, ‘विद्युत् आपूर्ति सुधार हुने’
काठमाडौँ । बर्दियाको राजापुर क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट (केभी) राजापुर सबस्टेसन बुधबारबाट संचालनमा आएको हो । यसबाट त्यस क्षेत्रका करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने जनाइएको छ । कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दुरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुने लगायतका समस्या थिए’,उनले भने । ‘अब टिकापुरबाट ३३ केभीबाट राजापुर सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्ने छ ।’ राजापुर सबस्टेसनबाट ३ वटा फिडरहरु राखिएको छ । त्यसमध्ये ११ केभीका दुई वटा फिडरहरुबाट विद्युत आपूर्ति गरिएको प्राधिकरणका नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । प्राधिकरणले सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष ०७१÷७२मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२ को असारबाट कार्यान्वयनमा आएको थियो । नयाँ सबस्टेशन बनाउने प्राधिकरणको अभियान प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजारकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको जनाएको छ ।
झापा अर्जुनधारामा सिभिल बैंक शाखा बिस्तार, ७४ पुग्यो शाखा संख्या
काठमाडौँ । सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालन गरेको छ । सो शाखाको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले उद्घाटन गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुलाई स्कुल पोशाक समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्व उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सिभिल बैंकको अर्जूनधारा शाखासहित कूल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको डेपुटी सिइओमा समिरशेखर बज्राचार्य नियुक्त
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ)मा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् ।त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।
प्रत्येक १-२ घण्टामा प्याड फेर्ने अवस्था आउनु असाधारण महिनावारी
काठमाडौं। महिनावारीको अनुभव हरेक महिलामा फरक फरक हुनसक्छ। त्यसैले यदी तपाईलाई महिनावारीको समयमा तपाईको साथीहरुको तुलनामा बढी दुखाई र रक्तश्राव हुन्छ भने डराउनु पर्ने अवस्था छैन। तर कुनै कुनै अवस्थामा भने भारी रक्तश्राव हुनु स्वास्थ्यमा देखिन सक्ने समस्याका कारण हुन्छन्। स्त्री रोग बिशेषज्ञ स्वास्थ्यका डा. सुशिला वैदको अनुसार महिनावारीलाई त्यो समयमा असाधारण मान्न सकिन्छ जब तपाईले प्रत्येक १ देखी २ घण्टामा प्याड परिवारअत्न गर्नुपर्ने हुन्छ। यो समस्या हुनुको मुख्य कारण शरीरमा भएको हर्मोनको असन्तुलन हो र यो गर्भ निर्धारणसँग सम्बन्धित छ। तर यो अन्य गंम्भिर स्वास्थ्य समस्याको बारेमा पनि संकेत हुनसक्छ। त्यसैले यदी तपाईको महिनावारीको समयमा द्खाई र रक्तश्राव केही समय यता अत्याधिक हुँदै छ भने तपाईले तुरुन्तै चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । महिनावारीको समयमा के कस्तो कुरामा ध्यान दिने : – सफा सेनेटरी प्याडको प्रयोग गर्ने । – कपडाको प्रयोग गर्दा सफा तथा नरम कपडाको मात्रै प्रयोग गर्ने । – नियमित नुहाउने तथा व्यक्तिगत सरसफाई विशेष ध्यान दिने । – महिनावारीको अवस्थामा प्रयोग गरेका भित्री कपडाहरु घामको प्रकाश पर्ने ठाउँमा सुकाउने । – पर्याप्त आराम गर्ने, तथा पोषिलो खाने कुराहरु खाने ।
शुक्रबार सुन एक्कासी प्रतितोला ५ सय रुपैयाँले वृद्धि
काठमाडौं । शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँ बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी बिहीबारको तुलनामा १० रुपैयाँ बढेर ७ सय १० रुपैयाँमा बिक्री भईरहेको छ ।
तेजपात भण्डारण प्रशोधन केन्द्रमा आगलागी, अढाई करोड क्षति
गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा रु अढाई करोड बराबरको क्षति भएको छ । बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिन सफल भएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए । तेजपातसहितको ठूलो भण्डारण घर र औषधि प्रशोधन केन्द्रसमेत भएको स्थानीयवासी भरत थापाको घरमा शुक्रबार साँझ अचानक आगलागी भएपछि घरमा भण्डारण गरिएको रु दुई करोड बराबरको तेजपात र अन्य प्रशोधन गरिएको औषधि पूर्णरूपमा जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ । साँझ अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर नगरपालिकाको दमकल झिकाएको थियो । बेलुका ८ बजे दमकल घटनास्थल पुगेपछि प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा रातको १२ बजे मात्र आगलागी नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख राईले बताए । आगलागी नियन्त्रण ढिलै भए पनि मुर्कुची बजारका अन्य घर भने आगलागी हुनबाट बच्न सफल भएको पनि प्रहरीले बताएको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि १५ कोष उत्तरपश्चिम पहाडी क्षेत्रमा रहेको मुर्कुची बजारमा दमकल र प्रहरीको टोली पनि पुग्न समय लागेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको प्रहरीले बताएको छ । औषधि प्रशोधन तथा तेजपात खरीदकर्ता भरत थापा राजधानी काठमाडौँतिर रहेको र घरमा औषधि प्रशोधन केन्द्रमा काम गर्ने मजदुर पनि कोही नभएको बेला अचानक आगलागी हुनुको कारण केही रहस्य भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले अहिले आगलागीको विषयमा अनुसन्धान शुरु गरिसकेको छ । आगलागी भएको औषधि प्रशोधन केन्द्रका सञ्चालक भरत थापा रौता मुर्कुची क्षेत्रको तेजपात खरीदकर्ता मध्यकै एक हुन् । उदयपुर जिल्लामा तेजपात उत्पादनमध्ये ५० प्रतिशत तेजपात रौता मुर्कुची क्षेत्रमा उत्पादन हुने गरेको छ भने थापाले वर्षेनी रु पाँच करोडभन्दा बढीको तेजपात खरीद गरेर भण्डारण गरी अन्यत्र बिक्री गर्ने र प्रशोधन गर्ने कार्य गर्दै आएको स्थानीयवासी बताउँछन् । रासस