निर्धारित ड्रेशमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक, ‘भानुको बिर्खे टोपी अनिवार्य’
तनहुँ । तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उनले भने, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको छ ।’’ नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भएपनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताए । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् । कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले बताउनुभयो । शुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ अहिले नगरपालिकामा यस अभियान थालिएपनि आगामी दिनमा नगरपालिका मातहतका सबै कार्यालयमा लैजाने लक्ष्य रहेको छ–उनले बताए । सबै कार्यालयमा विद्युतीय हाजिर भानुनगरपालिकाभित्र रहेका सबै कार्यालयमा विद्युतीय हाजिरको व्यवस्था गरेको छ । भानु नगरपालिकामा रहेको १३ वटै वडा, स्वास्थ्य एकाइ कार्यालय, माध्यमिक विद्यालय २० वटा र चार प्राविधिक क्याम्पसमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नगरपालिकाले भानुका १३ वटै वडा कार्यालयमा इन्टरनेटको सुविधा मिलाएको छ । रासस
‘ओपन हार्ट सर्जरी सेवा’ धेरै अस्पतालले शुरु गरे, थोरैले मात्र टिकाएः डा. प्रेमराज बैद्य
मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले चिकित्सा क्षेत्रमा ४० बर्ष बिताइसक्नु भएको छ । क्यान्सरको सर्जन बन्छु भनेर पढ्न जाने क्रममा उहाँको छोरीलाई जन्मिएको केही समय नै मुटुमा समस्या आयो र ओपन हार्ट सर्जरी गर्नु परेको थियो । आफ्नै छोरीको ओपन हार्ड सर्जरी गर्नु परेको घटनाले उहाँको सोच बदलियो र सोही विषय पढ्नु भयो । त्यतिबेला ओपन हार्ट सर्जरीको पढाई नेपालमा थिएन, उहाँले भारतमा पढ्नु भयो । ओपन हार्ट सर्जरी र समग्र स्वास्थ्य क्षेत्रका बारेमा मुटुरोग विशेषज्ञ डा. बैद्यसँग विकासन्युजको लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: के हो ओपन हार्ट सर्जरी ? कस्तो अवस्थामा यो उपचार विधि अपनाउनु पर्छ ? शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘ओपेन हार्ट सर्जरी’ भनिन्छ। एन्जियोप्लास्टीको प्रक्रियाबाट धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा यो शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस प्रक्रियाअन्तर्गत बिना कुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ, जसको लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ । यो सर्जरी गर्नको लागि अब्बल जनशिक्ती सहितको अप्रेसन थिएटर चाहिन्छ । जन्मजात हुने ९९ प्रतिशत मुटुरोगमा ओपन हार्ट सर्जरी गर्नु पर्ने हुन्छ । मुटुको प्वाल यदी सजिलो ठाउँमा छ भने ओपन हार्ट सर्जरी गर्नुपर्दैन । यो मुटुको सबैभन्दा सजिलो सर्जरी हो, तर समयमा नगरे सबैभन्दा गार्हो भएर जान्छ। यसको सुरुवात विश्वमा कहिले शुरु भयो र नेपालमा कहिले ? ओपन हार्ट सर्जरी सबैभन्दा पहिला अमेरिकामा सन् १९५२ मा भएको थियो । दुर्घटनाका कारण एक बिरामीको मुटुमा प्वाल परेको र उनको मुटु खोलेर अप्रेसन गरिएको थियो । त्यसपछी दोस्रो पटक रसियामा १९५४ मानिसलाई बेहोस् नगरी पहिलो अप्रेसन गरिएको थियो । नेपालमा पहिलो पटक यो सर्जरी अष्ट्रेलियन समुहले वीर अस्पतालमा १९९८ मा शुरु गरेको हुन् । त्यस समयमा नेपालको पहिलो मुटुको शल्य चिकित्सक कार्डियो सर्जन दामोदर पोख्रेल हुनुहुन्थ्यो । त्यसपछि बल्ल टिचिङ अस्पतालमा १९९९ मा भगवान् कोइराला शुरु गर्नु भयो । त्यसपछी गंगालालमा पनि अप्रेसन शुरु भएको हो । नेपालमा ओपन हार्ट सर्जरीको अध्ययन गर्नुभएको डाक्टरहरु कति हुनुहुन्छ ? हाल नेपालमा ओपन हार्ट सर्जरीका डाक्टरहरु संख्या औंलामै गर्न हुनुहुन्छ । सर्जरीमा पुरै टिमको आवश्यक हुने भएकोले अझै पनि धेरै ठाउँहरुमा यो सेवा उपलब्ध रहेको छैन । संख्याको कुरा गर्नु पर्दा हाल नेपालमा यसबारे अध्ययन गरेका प्रोफेसनल डाक्टर मात्र २० जना छन् । त्यस्तै १०–१२ जना डाक्टरहरु नेपाल बाहिर काम गरिरहनु भएको छ । सरकारी अस्पतालको कुरा गर्नु पर्दा गंगलाल अस्पताल, टिचिङ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यो सर्जरी हुन्छ । प्राइभेटको कुरा गर्नुपर्दा धेरै ठाउँमा यो सेवा शुरु भएर बन्द भएको छ । कुन कुन अस्पतालमा ओपन हार्ट सर्जरी हुन्छ ? ओपन हार्ट सर्जरी यस्तो सर्जरी हो जसमा एउटा प्रोफेसनल टिमको आवश्यक हुन्छ । एकको अनुपस्थितिमा सर्जरी गर्न मुस्किल हुन्छ । धेरै अस्पतालमा सेवा शुरु भएपनि लामो समयसम्म टिकाउन सकेनन् । सरकारी अस्पतालको कुरा गर्नु पर्दा गंगलाल अस्पताल, टिचिङ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यो सर्जरी हुन्छ । प्राइभेटको कुरा गर्नुपर्दा धेरै ठाउँमा यो सेवा शुरु भएर बन्द भएको छ । अहिले आएर मेडिसिटी अस्पतालमा थोरै मात्रामा अप्रेसन हुने गरेको छ। नेपालको पहिलो ओपन हार्ट सर्जरी हुने ठाउँ वीर अस्पतालमा भने अहिले डाक्टर र टिम नभएका कारण मेसिनहरु त्यसै थन्किएर बसेका छन् । मुटुको अप्रेसन गर्ने मेसिन नेपालमा १५ वटा छन्, जसमा ५ वटा मात्र प्रयोगमा छन् । कुन उमेर समूहले यो सर्जरी गर्न सक्छन् ? रोग जन्मजात भएको खण्डमा सानैमा नै यो सर्जरी गर्नुपर्ने हुन्छ किनभने ठूलो हुँदै जाँदा यसले झनै समस्या निम्त्याउन सक्छ र अप्रेसन नै गर्न नमिल्ने सम्म हुनसक्छ । अन्य मानिसहरुमा मुटुमा प्वाल भएको अवस्थामा अप्रेशन गर्नुपर्ने हुन्छ । मुटुको ४ वटा भल्ब हुन्छ र यदी यी ४ मा कुनै एउटा बिग्रिए सामान्य औषधी प्रयोग गरेर पनि कम गर्न सकिन्छ। मुटुको धमनीमा अवरोध भएको खण्डमा हार्ट अट्याक हुने गर्दछ । रगतको धमनी बन्द छ अथवा छैन भनेर एन्जियोग्राफी गरेर मात्र पत्ता लगाउन सकिन्छ । ईसीजीबाट पनि हार्टअट्याक कहिले काहीँ पत्ता लगाउन सकिन्छ । ७० प्रतिसत भन्दा माथि ब्लक भएको खण्डमा मात्र हामीले धमनी बन्द भएको थाहा पाउँछौ, जसकारण मुटुलाई खोल्नु पर्ने हुन्छ । मुटुको सर्जरी किन महँगो छ ? सरकारले यस उपचारको लागि के कस्तो सुविधा दिँदै आएको छ ? मुटुको अप्रेसन महँगो हुनुको कारण हर्टलङ्स जोड्नको लागि एकपटक मात्र प्रयोग गर्ने सामानको मात्रै २५–३० हजार पर्छ जुन एकपटक प्रयोग गरिसकेपछी प्रयोग हुँदैन । अहिले ओपन हार्ट सर्जरी गर्न करिब २ लाखको हाराहारिमा खर्च हुने गर्दछ । सरकारले विपन्न नागरिकको लागि १ लाखसम्म अनुदान दिईरहेको छ, बिरामीले थप १ लाख रुपैंया जुटाउनु पर्ने हुन्छ ।७५ बर्ष पूरा भएका ज्येष्ठ नागरिकको उपचार निःशुल्क हुन्छ भने १५ बर्ष भन्दा मुनिका बालबालिकालाई पनि सबै निःशुल्क छ । त्यस्तै, हार्ट फाउन्डेसन र जयन्ती मेमोरियल ट्रस्टले प्रतिबिरामी १०-१० हजार सहयोग उपलब्ध गराउने गरेको छ । सर्जरी पछि निको हुन कति समय लाग्छ ? अप्रेशन गरेको १ हप्ता देखि १० दिन जति आरामा गर्नु पर्छ । यो अप्रेसनको पहिलो ३ महिना पछि बिरामीले मज्जाले कुनै पनि अवरोध बिना काम गर्न सक्छन् । कुन अवस्थामा के कारण सर्जरी गरिएको हो, त्यो कारणले के कस्तो सावधानी अपनाउनु पर्ने हो भन्ने तय गर्छ । यदी मुटुको प्वालको बन्द गराइएको हो भने त्यसको लागि कुनैपनि सावधानी अप्नाउनु पर्दैन तर मुटुको भल्ब फेरेको मान्छेले मुटुको भल्ब फेरिसकेपछी जिन्दगीभर रगत पातलो गर्ने औषधी खानुपर्छ र त्यस्तै रगत पनि जाँच गराइराख्नु पर्छ । रगत पातलो भएको अवस्थामा औषधी घटाउनु पर्ने हुन्छ। ती बिरामीले सामान्य मानिसले जस्तो काम गर्न सक्दैनन् । बल गरेर ज्यादा काम गरेको अवस्थामा उसको भल्ब फेरी बिग्रन सक्छ । मुटुको धमनीको बाईपासको अप्रेसन गरेको मानिसले पनि सावधानी अपआउनु जरुरी छ । बाइपास गरेको नशा फेरी बन्द हुन सक्छ, त्यसैले कोलेस्ट्रोल, सुगर र ब्लड प्रेसर ब्यालेन्समा राख्नुपर्ने हुन्छ । साथै उसले नियमित व्याम गर्ने, मानसिक तनाब नलिने र जिन्दगीभर औषधी खानुपर्छ । औषधी छोडेको अवस्थामा बिरामीको फेरी पनि मुटुको धमनी बन्द हुने सम्भावना हुन्छ । मुटुको धड्कन गडवड भइरहेमा एउटा पेशमेकर नामको मेसिन जोड्न सकिन्छ । यसले मुटुको धड्कनलाई कन्ट्रोल गर्छ । ओपन हार्ट सर्जरी गर्न करिब २ लाखको हाराहारिमा खर्च हुने गर्दछ । सरकारले विपन्न नागरिकको लागि १ लाखसम्म अनुदान दिईरहेको छ, बिरामीले थप १ लाख रुपैंया जुटाउनु पर्ने हुन्छ । नेपालमा मुटु रोगीको अवस्था के कस्तो छ ? नेपालमा जनचेतनाको कमी छ । देशको राजधानीमै रहेका मानिसहरु पनि अझै मुटुरोगबारे अनभिज्ञ छन् । हामीले भर्खरै पाटनमा हेल्थ क्याम्प सञ्चालन गर्दा एकजना युवकलाई भेट्टाएका थियौँ । उनको मुटुको भल्ब बिग्रिसकेको थियो, तर अहिलेसम्म उनी अस्पताल पुगेका छैनन् । नेपाल हार्ट फाउन्डेसनले जाजरकोटमा हेल्थ क्याम्प गर्दा त्यहाँ धेरै मुटुका बिरामी भेट्यौँ । नेपालमा मुटुरोगका बिरामी कति छन् ? नेपालमा कति जना मुटुरोगी छन् भन्ने तथ्याङ्क अहिलेसम्म छैन, त्यसैले तथ्यांक संकलन काम हुँदैछ । विश्वको तथ्याङ्क हेर्ने हो भने ८० प्रतिशत विकासउन्मुख राष्ट्रका मानिसको मृत्युको मुख्य कारण मुटुरोग बनेको छ । नेपालमा कति जना मुटुरोगी छन् भन्न नसकिए पनि शहिद गंगालाल र मनमोहन अस्पतालको रिपोर्ट अनुसार मुटुको भल्ब बिग्रिने रोगीको संख्या सबैभन्दा बढी छ। गंगालाल अस्पतालमा मात्र मुटुरोगको हरेक दिन २–४ वटा अप्रेसन हुने गर्दछ । मुटुको धमनीको रोगीहरु नेपालमा धेरै छन् र समयमै अस्पताल नपुग्ने कारण मानिसहरुको सानो उमेरमै मृत्यु हुने गरेको छ । मुटुरोग लाग्नुको कारण के के हुन ? मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ? मुटुरोग लाग्नुको कारणहरु धेरै छन्, हाम्रो जीवनशैली पनि एउटा कारण हो । अस्वस्थ खानेकुरा खाँदा, शारीरिक व्यायामको कमीले मुटुको धमनीको रोग लाग्ने गर्दछ । यस बाहेक वंशानुगत कारणले पनि मुटुरोग लाग्ने गर्दछ । मुटुलाई स्वस्थ राख्न हामीहरुले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ । धुम्रपान, सुर्तीजन्य पदार्थबाट टाढा बस्ने, नियमित व्यायाम गर्ने, हरियो सागसब्जी खाने, भुटेको–तारेको खानेकुरा नखाने, समय समयमा आफ्नो मुटु चेक गराएर मुटुलाई स्वस्थ राख्न सकिन्छ ।
कामपाले सबै वडा कार्यालय एउटै नमुनामा निर्माण गर्ने, प्रतिभवन साढे दुई करोड बजेट
काठमाडौं । काठमाडौँ महानगरपालिका(कामपा)ले सबै वडा कार्यालय परम्परागत शैलीको एउटै नमुनामा निर्माण गर्ने भएको छ । आफ्नै कार्यालय भवन नहुँदा धेरै वडाले भाडामा लिएर कामकाज गरिरहेकाले काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन पनि नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् । प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँलाग्ने अनुमान गरिएको छ ।चालू आर्थिक वर्षका लागि कामपाले १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा तीमध्ये भौतिक पूर्वाधार निर्माणका लागि चार अर्ब छ करोड रुपैयाँ विनियोजन समेतगरिएको छ । यसरी, काठमाडौँ महानगरपालिकाले विभिन्न सात स्थानबाट विना सूचना सेवा प्रवाह गर्दा नागरिक मर्कामा परेका छन् । वडा नं ३, ४, ८, ९, १४, १८ र २६ को कार्यालय निर्माण भइरहेको छ भने वडा नं ६, ७, १५, ३१ र ३२ का कार्यालय भवनमा तला थप्ने तयारी भइरहेको कामपाले जनाएको छ । हाल कामपामा १३ विभाग रहेका छन् । भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको कामपाले भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रिय सभागृहमा पनि छ । त्यस्तै, वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् । नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट सेवा दिँदै आएको छ। महानगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहेका छन् । महानगरको उपप्रमुख खड्गीका अनुसार भूकम्पअघि कामपाबाट उपलब्ध हुने सबै सेवा एकै स्थानबाट प्रदान गर्दै आएको भए पनि अहिले विभिन्न स्थानबाट सेवा प्रवाह भइरहेका छन् । केन्द्रीय कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल कामपालाई मासिक लाखौँ रुपैयाँ भाडाका लागि खर्चिनुपरेको छ । “नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ, त्यहीँ लिइएको हो । महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, कामपाका प्रवक्ता ईश्वर डङ्गोलले भने । रासस
स्वास्थ्य बीमा कार्यक्रम देशैभर पुग्ने, हालसम्म ४६ जिल्लाका १७ लाखले गरे बीमा
काठमाडौ । आगामी आर्थिक बर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुग्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै हाल ४६ जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई ७७ वटै जिल्लामा बिस्तार गर्ने उल्लेख गरेका हुन् । सरकारले स्वास्थ्य बीमा बोर्ड मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको छ । बोर्डमार्फत हालसम्म १७ लाख १० हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । बोर्डका प्रमुख रमेश पोखरेलले भने–‘पछिल्लो समय मुगु जिल्लामापनि बीमाको कार्यक्रम उद्घाटन गर्यौ, यसरी नै हाम्रो (विजनेश) व्यापार बढ्ने पक्का छ ।’ छोटो समयमै सबै कुरा जुटाउन केही कठिन हुने भएपनि आफूहरुमा काम गर्ने आत्मविश्वास रहेकाले देशैभरी स्वास्थ्य बीमाका कार्यक्रम सञ्चालन गर्न समस्या नहुने बताए । सरकारले प्रदान गर्ने रकम दाबी व्यवस्थापनमा मात्र खर्च हुने बीमा बोर्डले जनाएको छ । साथै, विभिन्न जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार हुँदै गएकाले आगामी दिनमा सबै जनता बीमाको पहुँचमामा आउने छन्- बोर्डका प्रमुख पोखरेलले बताए । बिमित परिवार संख्या ४ लाख ५ हजार हालसम्म बिमित परिवारको संख्या ४ लाख ५ हजार पुगिसकेको छ । बोर्डका अनुसार १७ लाख १० बजार बिमित मध्ये पुरुष ४७ प्रतिशत र महिला ५३ प्रतिशत रहेका छन् । हालसम्म बीमा शुल्क स्वरुप १ अर्ब ३५ करोड रुपैयाँ उठेको बोर्डले जनाएको छ ।
राजश्व र व्ययको अनुसूचीमा त्रुटि भएको सांसदको आरोप, अर्थमन्त्री भन्छन्- वार्षिक अंकमा तलमाथि परेको छैन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा मीनेन्द्र रिजालले अर्थमन्त्रीले आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कको अनुसूचीमा त्रुटि देखिएको बताएका छन् । अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताउँदै उनले भने, “राजश्वसम्बन्धी बजेटको अनुसूचीको अङ्क कसरी त्रुटिपूर्ण भयो यसलाई सच्याइनुपर्छ ।” अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आज(आइतबार) को बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई खतिवडाले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, त्यसैले यसलाई सच्याइसकेको बताए । यसै क्रममा डा.खतिवडाले भने, “उपकरणले जोड्नुपर्ने अङ्क हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखिएको हो । यसलाई सच्याइएको छ ।” यसैगरी, सङ्घीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण १७२ अर्ब रुपैयाँ भन्दा माथि नजाने समेत स्पष्ट पारेका छन् । राष्ट्रिय जनता पार्टी नेपाल राजपा का सांसद लक्ष्मणलाल कर्णले संवैधानिक परिषद् र न्याय परिषद्ले गर्ने नियुक्ति समानुपातिक र समावेशी नभएको बर्ताएका छन्। त्यसैगरी, संविधानको समानुपातिक र समावेशी सिद्धान्त विपरीत लोक सेवा आयोगले नौ हजार पदमा विज्ञापन खुला गरेकामा पनि आपत्ति जनाए । उक्त सङ्घीय ससंद्को बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदले दुःख पाएका छन् । आजको बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिकारीले बिग्रिएको कुर्सीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, “कुर्सी मर्मत गर्नुपर्यो भनेर कति दिन भन्ने सभामुख महोदय, ज्यान जोगाइ पाउँ ।” यसपछि सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद अमरेशकुमार सिंहले किसानले ऊखुको उचित मूल्य नपाउँदा उनीहरुको लगानी जोखिममा परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विकले लोक सेवा आयोगले खुला गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको हुँदा सच्याउन माग गरे । यसै क्रममा सांसद केदार सिग्देलले तनहुँको विकास आयोजना समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भनेका छन् । अर्का सांसद खगराज अधिकारीले हालै धनुषा र नवलपरासी जिल्लाका बालकलाई बलि दिएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना रोक्नेतर्फ सरकार गम्भीर बन्न आग्रह गरे। सांसद गङ्गा चौधरी र घनश्याम खतिवडाले संसद्ले बनाएको ऐन कानून कार्यान्वयन किन भएन भनी प्रश्न समेत गरेका छन् । रासस
सकारो फर्मन्टेड बेभरेज प्रालिका वाईन बजारमा
काठमाडौँ । सकारो फर्मन्टेड बेभरेज प्रालि, काठमाडौले नेसी नामको वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनीले काठमाडौको धुम्बराहीमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्सिङ गरेको हो । कम्पनीका सञ्चालक हरी दाहालका अनुसार नेपाली वाईन उपभोक्ताहरुको स्वाद र रुचिमा अध्ययन गरी उत्पादन सुरु गरिएको नेसीका वाईनहरु उपभोक्ताले अत्यधिक रुचाउने छन् । हाल नेसी ७५० एमएल रेड, ७५० एमएल ह्वाइट, ७५० एमएल सिस्नु र चार लिटरको बक्समा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
विधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीद्वारा ३५ लाख सहयोग
गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । उक्त विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी ३५ लाख रुपैयाँ जम्मा गरेको विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईँले बताएका छन् । यसरी पूर्वविद्यार्थीद्वारा सङ्कलित उक्त रकमले विद्यालयमा मल्टिमिडिया कक्ष, आधुनिक विज्ञान प्रयोगशाला, ई–पाटी र कम्प्युटर ल्याब स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा. हेमराज शर्माले बताए । “हामीले विगतमा जुन दुःखले अध्ययन गरे पनि अहिलेका विद्यार्थीलाई यस्तो नहोस् भन्ने हाम्रो चाहना हो”, शर्माले भने, “विद्यालयलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ ।” विद्यालयमा स्थापना गरेको मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याब तथा विज्ञान प्रायेगशाला नियमित सञ्चालनमा ल्याउनका लागि समेत पूर्वविद्यार्थीले रु ५० लाखको अक्षयकोष विद्यालयमा स्थापना गरेको शर्माले जानकारी दिएका छन्। विद्यालयमा स्थापना गरेको अक्षयकोषकोे ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षक व्यवस्थापनसँगै प्रविधिको मर्मतसम्भार गरिने विद्यालयले जनाएको छ । विद्यालयमा हाल एक मल्टिमिडिया सेन्टर, १९ थान कम्प्युटर, ४० थान ई–पाटी तथा नयाँ प्रविधिसहितको विज्ञान प्रयोगशाला रहेको छ । विद्यालयमा स्थापना भएको मल्टिमिडियामार्फत अन्य जिल्लामा नमूना रूपमा परिचित विद्यालयमा अध्यापन भइरहेको समेत प्रत्यक्षरूपमा देखाउन सकिनेछ । विद्यालयमा प्रविधि शिक्षा प्रदान गर्नका लागि प्राविधिक शिक्षक तत्काल पठाउने तयारी भएको पूर्वविद्यार्थी सङ्घले जनाएको छ । विद्यालयमा स्थानीय समाजसेवी स्व. हिरण्यप्रसाद ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका ढकाल र उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकाल र हेमराज ढकालद्वारा छ करोड २४ लाख रुपैयाँको लागतमा १६ कोठे अपाङ्गमैत्री आधुनिक विद्यालयसमेत निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । सुविधासम्पन्न भवनले मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै पूर्वविद्यार्थीले विद्यालयलाई प्रवधिमैत्री बनाउन सक्रियता देखाएका हुन् ।कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत छन् ।रासस
भ्याटमा दर्ता भएका करदाताले बायोमेट्रिक विवरण दिनुपर्ने, नयाँ प्रणालीमा गए १० प्रतिशत भ्याट फिर्ता
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर(भ्याट)छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा व्यवसाय संचालन गर्नेलाई जिम्मेवार बनाउन संचालकको बायोमेट्रिक लिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत गरिएको नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले सो कार्य अघि बढाएको हो । बायोमेट्रिक प्रणाली भनेको करदाताको आँखा, अनुहार, हात आदीको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो । सम्बन्धित व्यक्तिकाे पहिचाहन गर्ने याे आधुनिक प्रणाली हाे तर याे प्रणाली विश्वमा विवाद मुक्त छैन । भ्याटमा दर्ता भएका पुराना करदातालाई समेत बायोमेट्रिक प्रणालीमा आवद्ध गराइने छ आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार नेपालमा हालसम्म दुई लाख २५ हजार करदाता भ्याटमा दर्ता भएका छन् । ‘हामी पुराना करदाताको विवरण नयाँ व्यवस्था र प्रविधि अनुसार अध्यावधिक गर्दै लैजान्छौ । नयाँ करदातालाई शुरुमा नै बायोमेट्रिक प्रणालीमा लैजान्छौ’ ढुंगेलले विकासन्युजसँग भने भ्याटको १० प्रतिशत फिर्ता सरकारले भ्याट विलको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भुक्तानीकर्तालाई फिर्ता दिने नीति लिएको छ । ‘मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरीदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था मिलाएको छु’ अर्थमन्त्री युवराज खतिवडाले बजेट बक्तव्यमा भनेको छन् । यसअघि ठूला कर्पाेरेट हाउसहरूले पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई १० प्रतिशत क्यास व्याक याेजना ल्याएका थिए । खासगरी ठूला सुपरमार्केटमा सपिङ गर्दा भिसा कार्ड प्रयाेगकर्ताले १० प्रतिशत क्यास व्याक सुविधा पाउने गरेका थिए । हाल भ्याटमा दर्ता रहेका करदातालाई आगामी आर्थिक वर्षभित्र र आयकरमा दर्ता भएका करदाताहरूलाई क्रमशः नयाँ दर्ता प्रणालीमा विवरण अद्यावधिक गराउन लागिएको छ । कर कानुनलाई सरल, सहज तथा पारदर्शी बनाउन एकीकृत कर संहिता तर्जुमा गर्ने योजना सरकारले अघि सारेको हो । बजेटमा उल्लेखित व्यवस्था लागू गर्न आन्तरिक राजश्व विभागले काम गरिरहेको प्रबक्ता ढुंगेलले बताए । उक्त बिजक प्रणालीलाई आन्तरिक राजस्व विभागको केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरी कर परिपालना प्रणालीलाई अझ प्रभावकारी बनाउने तयारी भईरहेको उनले बताए ।