विकासन्युज

राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट उद्यमी पुरस्कार-२०७६ को तयारी पूरा

काठमाडौं । राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार-२०७६’ को तयारी पूरा भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना गरिन लागेको सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीहरुलाई भृकुटीमण्डपमा भेला पारि घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तबरबाट केन्द्रीयस्तरमा शुरु गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै ३० औँ श्रृङ्खलामा आइपुगेको उनले बताए । विगतमा घरेलु तथा साना उद्योग विकास समितिले राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमका नामबाट अति महत्वपूर्ण र विशेष प्राथमिकताका साथ सञ्चालन गरिरहेको यस कार्यक्रमले मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूलप्रवाहिकरण गर्ने र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरि हौसला प्रदान गर्दै आएकोे छ । २०४६ सालदेखि कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कार समेत समावेश गरी सञ्चालन हुँदै आएको कार्यक्रमले अहिलेसम्म आइपुग्दा सयाँै लघु घरेलु तथा साना उद्यमीलाई पुरस्कृत गरी सकेको छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भएतापनि आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्याङ्क हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या तीन लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको जानकारी दिए । विभिन्न तथ्यहरु हेर्दा लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधिकरण र प्रवद्र्घन बिना स्वतन्त्र र आत्म निर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव नदेखिएको भन्दै अध्यक्षा गिरीले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर समेत श्रृजना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउने, लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ यो प्रदर्शनीको आयोजना गरिदै आएको बताए । प्रदर्शनीमा जम्मा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ । प्रदर्शनी अवधीमा १ लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी आयोजना गर्नमा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहकार्य गरिएको जनाएको छ ।

बर्जर पेन्ट एक्सप्रेसका विजेताको नामावली सार्वजनिक, कस्ले जित्यो ५ लाख बम्पर पुरस्कार ?

काठमाडौँ । बर्जर जेन्सन एण्ड निकल्सन(नेपाल) प्रालिले ग्राहक योजना अभियान ‘बर्जर पेन्ट एक्सप्रेस’का विजेताहरुको नाम घोषणा गरेको छ । बर्जर पेन्ट्सले नवीनतम उत्पादनहरुका साथसाथै उत्साहबद्र्धक ग्राहक योजनामार्फत ग्राहकहरुलाई अद्भूत तथा अनुपम कोशेली प्रदान गर्ने गरेको छ । यसैक्रममा यो योजना २०७५ सालको दशैं र तिहारलाई लक्षित गरेर संचालन गरिएको थियो । यस योजना अन्तर्गत बर्जर पेन्ट्सका ग्राहकहरुले छानिएका मुख्यब्राण्डहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिसको पक्कापक्की उपहारका साथसाथै गोलाप्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक नगद पुरस्कारहरु जित्ने अवसर पाएका थिए । योजनामा सहभागी भएका ७,५०० भन्दा बढी घरधनीहरु मध्येबाट २० जना विजेताको नाम हालै एक प्रत्यक्ष प्रशारण कार्यक्रममा गोलाप्रथा मार्फत सार्वजनिक गरिएको थियो । साथै, १० जना सान्त्वना नगद पुरस्कार विजेताहरु प्रत्येकले रु.१०,००० नगद जितेका छन् । योजना मातहत कै डिजिटल प्रतियोगितामा रोशन थापा(काठमाडौं) र सुरेश कटवाल(विराटनगर)ले रु १,००,००० लाख रुपैयाँ प्रथम नगद पुरस्कार जितेका छन् । यस्तै देवकी गुभाजु(काठमाडौं) र दधिराम पाठक(बुटवल) प्रत्येकले द्वितीय नगद पुरस्कार रु.५०,००० तथा राजु महर्जन(काठमाडौं) र राकेश बुढाथोकी(विराटनगर) प्रत्येकले तृतीय नगद पुरस्कार रु.२५,००० जितेका छन् भने १६ जना सान्त्वना नगद पुरस्कार विजेताहरु प्रत्येकले रु.१०,००० नगद पुरस्कार जितेका छन् । यसैगरी, सुमन कार्की(काठमाडौं) र लिटल फ्लावर स्कूल(नारायणघाट) ले उत्कृष्ट व्यावसायिक भवनतर्फको नगद पुरस्कार रु.५०,०००, उत्कृष्ट आवासीय भवनतर्फको विजेता प्रकाश केसी(काठमाडौं)ले नगदपुरस्कार रु.५०,००० र राकेश बुढाथोकी (विराटनगर)ले पब्लिक च्वाइस अवार्ड नगद पुरस्कार वापत् रु.२५,०००/- जितेका छन् । पुरस्कार विजेताहरुको सम्पूर्ण विवरण बर्जर पेन्ट्सको फेसबुक पेज र वेबसाइटमा प्रकाशित गरिएको छ । पुरस्कार विजेताहरुले आफूले जितेको पुरस्कार प्राप्त गर्न विजेता घोषणा भएको १५ दिनभित्रमा नजिकैको बर्जर सेल्स डिपोमा दाबी पेश गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

एनआईसी एशियाले २ स्थानमा थप्यो शाखारहित बैंकिङ सेवा

काठमाडौँ । एनआईसी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा ३० औं र ३१ औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वतीकुमारी राजवंशीलाई नियुक्त गरिएको छ । यसैगरीे, आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् । पञ्चमूलको शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा गंगाधर ढकाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमती पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् ।

सांग्रिलाको सन्ध्याकालीन तथा होलिडे काउण्टर थप, कहाँ कहाँ ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर सञ्चालन गर्दै आएकोमा देशभरका विभिन्न शाखा कार्यालयहरुमा काउण्टर थप गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ वटा शाखा कार्यलयबाट सन्ध्याकालीन काउण्टर तथा होलीडे काउण्टरहरु सञ्चालनमा ल्याएको हो । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा रहेका छन् । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ वटा शाखाहरुबाट सन्ध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर सञ्चालन गरी बैंकिङ सेवा प्रदान गरिएको जनाएको छ । व्यहोरा सहर्ष जानकारी गराउँदछौं । सार्वजनिक बिदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरिएको बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाडौँ तथा पोखरा उपत्यका एवम् बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बिहान १० बजेदेखि ३ बजेसम्म बैंकिङ सेवा खुल्ला रहेको जनाएको छ ।

नेपाल टेलिकमको मोवाइल सेवा: ‘ताप्लेजुङदेखि मुस्ताङसम्म पुग्यो टेलिकमको नेटवर्क’

काठमाडौँ । नेपाल टेलिकमले रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा बिस्तार गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पु¥याउन सफल भएको जनाएको छ । कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ । सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् । यता, ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ । ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । यसैगरी डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउने कम्पनीद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छन् ।

राष्ट्र बैंकले सिकायो नक्कली/सक्कली नोट चिन्ने उपाय

काठमाडौं । बजारमा नक्कली नोट छ्यापछ्याप्ती बढ्न थालेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई नोट पहिचान गर्ने उपाय सिकाएको हो । बैंकले सोमबार एक सय, पाँच सय र एक हजारदरका सक्कली नोटहरूमा कहाँ कस्ता विशेषता हुन्छन् र नोटलाई कसरी सक्कली र नक्कली छुट्याउन सकिन्छ भनी सुझाएको छ । सक्कली नोटमा विशेष सुरक्षा अपनाइएको हुनाले यस्ता नोट सहजै छुट्याउन सकिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘आम सर्वसाधारणले सक्कली नोट सहजै पहिचान गर्न सकुन् भनेर सक्कली नोटका विशेषताहरूका वारेमा जानकारी गराइएको हो,’ उनले भने ‘एक हजारदरका नोट दृष्टिविहिनले पनि सहजै छामेर पहिचान गर्न सक्छन् ।’

डिजिटल भुक्तानी प्रणाली विस्तार गर्न एनसीएचएल र युकेएडको सक्षमबीच सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले डिजिटल भुक्तानी प्रणाली विस्तार र प्रवद्र्धन गर्न युकेएडको सक्षमसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले कनेक्टआईपीएस ई पेमेन्ट प्रणाली प्रवद्र्धन गर्न, नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फण्ड(एसजीएफ) विस्तार गर्न एक्सेस् टु फाइनान्स(सक्षम) प्रोग्रामसँग साझेदारी सम्झौता गरेको हो । उक्त परियोजना अन्तर्गत कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीको प्रवर्द्धन गर्ने तथा त्यसको बारेमा सचेतना जगाउने र तालिम दिने एनसीएचएलले जनाएको छ । साथै, नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) निर्माण गरी लागू गर्ने र सेटलमेन्ट ग्यारेन्टी फण्डको विस्तार गर्ने बताइएको छ । उक्त परियोजनाले नेपालका बैंक वित्तिय संस्थाहरु लगायत तीनका ग्राहकहरु, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, पीएसपी/पीएसओ लगायतका विभिन्न लाभग्राही समूहहरुलाई प्रभाव पार्ने विश्वास लिइएको छ । यस परियोजनाले पीटुपी, पीटुजी, जीटुपी, सीटुबी तथा सीटुबी जस्ता कारोबारहरुलाई बृद्धि गरी डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा एनसीएचएलका सीईओ प्रधानले भने, “हामीले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीहरूको स्थापना तथा सञ्चालन गरि आएका छौं । हाल रणनीतिक रुपमा त्यस्ता प्रणालीहरूलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्थाहरू तथा भुक्तानी क्षेत्रका सरोकारवालाहरूलाई डिजिटल भुक्तानी सेवाहरू विस्तार गर्नको लागि आवश्यक मद्दत पुर्याउने रहेको छ । हाम्रो डिजिटल भुक्तानी सेवा विस्तार गर्न गरिएका पहलहरुका लागि आजको साझेदारीले मद्दत पुग्ने अपेक्षा गरेका छौं । ” सक्षमका टीम लिडर दाहालले मन्तव्यको क्रममा भने, “आरटीजीएस तथा सीएसडी प्रणालीहरूको स्थापना तथा सञ्चालनको लागि सक्षमले नेपाल राष्ट्र बैंकलाई सहयोग गर्दै आएको र हाल कार्यन्वयनको चरणमा रहेको छ । सक्षमले सहयोग गर्ने तथा मुख्य सरोकारवालाहरूसँग काम गर्ने परिकल्पना गरेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्था, पीएसपी÷पीएसओ, विभिन्न संस्था र ग्राहकहरूको लागि साझा प्रणाली उपलब्ध गराई ती संस्थाहरूले विना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्ने छ ।” सक्षम– एक्सेस् टु फाइनान्स प्रोग्राम नेपाल तथा युके सरकारबीच भएको सम्झौताको अनुसार युकेएडको सहयोगमा सञ्चालित कार्यक्रम हो । उक्त प्रोग्रामलाई लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डीएफआईडीको लागि नेपालमा कार्यान्वयन गर्दै आएको छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्धारा प्रवद्र्धित संस्था एनसीएचएलले अधिकांश बैंक तथा वित्तीय संस्थाहरू तथा केही गैर बैंकिङ संस्थाहरूको निम्ती एनसीएचएल-इसीसी, एनसीएचएल-आईपीएस तथा कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीहरू स्थापना गरी संचालन गर्दै आइरहेको छ ।