सिद्धार्थ बैंकको कभर सङ प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार प्रदान
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर सङ प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।
यार्सा सङ्कलनकर्ताबाट ९० लाख शुल्क उठ्यो, सङ्कलित रकम विकास निर्माणमा खर्च गरिने
रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ ले मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलन गर्न जाने संकलनकर्ताबाट ९० लाख रुपैयाँ शुल्क उठाएको छ । रकम सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि दुई हजार ५०० रुपैयाँका दरले प्रवेश शुल्क तोकिएको थियो । उक्त स्थानमा जाने सङ्कलनकर्ताबाट गाउँपालिकाले शुल्कबापत ९० लाख रुपैयाँ प्रवेश शुल्क उठाएको हो । मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन गर्न जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको छ । यो वर्ष जिल्लाभित्र र बाहिर जिल्लाबाट आएका चार हजार सङ्कलनकर्तालार्ई प्रवेश अनुमति दिइएको थियो । यो वर्ष सङ्कलनकर्ताबाट ९० लाख रुपैयाँ स्थानीय राजश्व उठेको मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिएका छन् । सूचना अधिकारी शाहीका अनुसार अघिल्लो वर्ष सुरक्षा व्यवस्थापनलगायत अन्य विषयमा कमजोरी हुँदा ६२ लाख रुपैयाँ रकम गाउँपालिकाले उठाएको थियो । जेठ १८ गतेबाट पनि यार्सा सङ्कलन गर्नका लागि सङ्कलनकर्तालाई पाटन क्षेत्र खुला गरिएको थियो । योभन्दा पछि जाने सङ्कलनकर्ताबाट समेत तोकिएको रकम उठाउने निर्णय भएकाले पाँच लाख रुपैयादेखि देखि १० लाख सम्म रकम उठ्न सक्ने भएकाले रकम एक करोडसम्म पुग्ने अनुमान रहेको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताएका छन्। उक्त प्रवेश शुल्कबापत उठेको ९० लाख रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरी २५ प्रतिशत व्यवस्थापन, ३५ प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको विकास निर्माणमा खर्च गरिने निर्णय समेत गाउँपालिकाले गरेको छ । रासस
१९ करोड रूपैयाँको लागतमा नयाँ पुलदेखि घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने
कास्की । विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको हो । पूर्वाधार विकास कार्यालय कास्कीको १९ करोड रुपैयाँको लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने कार्यालयका इञ्जिनीयर रामकुमार श्रेष्ठले बताएका छन्र । सडक स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चुनौतीको सामना गर्दै, समस्या भोग्दै र त्यसबाट पार गर्दै सरकार अघि बढेकाले आगामी वर्षबाट बजेट कार्यान्वयनमा कठिनाइ नपर्ने बताए । समयमै कर्मचारी समायोजन हुन नसक्नु, प्रदेश मातहत कार्यालय स्थापनामा ढिलाइ, ऐन कानूनको अभावलगायतका कारणबाट चालू आवमा लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । सरकारले आगामी वर्ष ३५ अर्ब रुपैयाँको हाराहारी बजेट ल्याउने तयारी गरिरहेको बताउँदै उनले चालू वर्षकै योजना तथा कार्यक्रमलाई पूरा गर्ने गरी बजेट आउने र नयाँ योजना नल्याइने स्पष्ट पारेका छन् । त्यसैगरी, गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न शुरु भएको बताउँदै आगामी चार वर्षभित्रमा बाँकी काम पनि पूरा गर्ने बताए । कार्यक्रममा पूर्वसांसद शुक्रराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङलगायतले सो सडक समयमै निर्माण सम्पन्न गरिनुपर्नेमा समेत जोड दिएका छन्र ।रासस
१४ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य सुचारु
पर्वत । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रतिनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पुनःनिर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् । छलफलका क्रममा स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकम आयोजनाले तत्काल दिने सहमति भएपछि काम सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । आयोजनाले क्षतिपूर्तिको रकम दिन ढिलाइ गर्दा आन्दोलन भएको थियो । पीडित परिवारको घरसमेतको स्थलगत अनुगमनपछि छलफल गरेपछि काम शुरु गर्न दिने सहमति स्थानीयले जनाएका हुन् । यसैगरी क्षति पुगेका छ वटा घरधनीले भने पहिल्यैदेखि क्षतिपूर्तिको रकम बुझेको बताइएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङभन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् । घर पुनःनिर्माणको काम स्वयंले शुरु गर्ने र आवश्यक रकम आयोजना दिने सहमति यसअघिनै भए पनि आयोजनाले रकम दिन ढिलाइ गरेका कारण स्थानीयले पुनःआन्दोलन गरेका हुन् । आयोजनाको काममा आगामी दिनमा अवरुद्ध नगर्ने, स्थानीयको घर पुनःनिर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तर दायित्वका काम प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भए पनि काम नभएका कारण पुनःताकेता गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरवी पौडेलले जानकारी दिए । रासस
देवः र वेष्टर्नको साधारण सभा एकै दिन, ‘प्राप्ति गर्ने प्रस्ताव पारित गरिने’
काठमाडौँ । देवः विकास बैंकको १२ औं वार्षिक साधारण सभा असार १२ गते हुने भएको छ । महेन्द्र पुलिस क्लब भृकुटी मण्डपमा साधारण सभा हुने कम्पनी सचिव सागर ताम्राकारले जनाएका छन् । सञ्चालक समितिले साधारण सभामा आव २०७४/०७५ को नाफाबाट चुक्तापूँजी २ अर्ब ५३ करोड, ३६ लाख ८० हजार ३ सय ४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार ४ सय २२ रुपैयाँ बराबरको बोनस शेयर वितरण सम्बन्धी प्रस्ताव पारित प्रस्तुत गर्नेछ । साथै, वेस्टर्न डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्न स्वीकृत प्रदान गर्ने प्रस्तावपछि साधारण सभामा राखिनछ । देवः विकास बैंकले वेष्टर्नको १ कित्ता शेयर बराबर देवःको १ कित्ता शेयर दिने गरी शेयर आदानप्रदान अनुपाप कायम गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ । यता, देवः विकास बैंक लिमिटेडसँग मर्जमा जान लागेको वेष्टर्न डेभलपमेन्ट बैंकको पनि असार १२ गते १३औँ वार्षिक साधारणसभा बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी प्लाजाको सभाहलमा बस्न लागेको हो । सभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई स्वीकृति दिने भएको छ । साथै, दुई संस्था गाभिएपश्चात डीडीए रिपोर्ट(दायित्व मुल्यांकन प्रतिवेदन)का आधारमा सेयर स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने प्रस्तावलाई पारित गर्ने छ । साथै, संस्थाको प्रस्तावित १४.७४ प्रतिशत नगद लाभांशलाई सभाले पारित गर्ने भएको छ ।
ललितपुर र काठमाडौँमा महालक्ष्मीको शाखा बिस्तार
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेलमा जेठ १५ गते तथा काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा जेठ १९ गते नयाँशाखा विस्तार गरेको छ । दुई शाखा थपिएपछि उक्त बैंकको शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय बिस्तार गर्ने जनाएको छ ।
गौतमबुद्ध विमानस्थलमा शक्ति राष्ट्रलाई भिडाउँदै सरकार: चीन, भारत, अमेरिका र युरोपियनको बिशेष चासो
काठमाडौं । सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शक्ति राष्ट्रहरुलाई भिडाउने भएको छ । विमानस्थलको व्यवसायिक सञ्चालनका लागि जी टु जी सम्झौता गर्ने नाउँमा सरकारले शक्ति राष्ट्रहरुलाई भिडाउन लागेको हो । सरकारले कुनै एक देशसँग जी टु जी सम्झौता गरेर विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागेको छैन । सरकारले त खुल्ला आव्हान मार्फत बिभिन्न मुलुकका सरकारहरुबीच प्रतिष्पर्धा गराएर विमानस्थल सञ्चालन गर्ने जिम्मेवारी दिन लागेको छ । त्यसका लागि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति समेत दिईसकेको छ । मन्त्रिपरिषदले गरेको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भने–‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दिगो र व्यववसायीक सञ्चालनका लागि सरकार–सरकार(जी टु जी) सम्झौता गर्ने कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिईएको छ । र यो सम्झौताका लागि खुल्ला आव्हान गरिनेछ र इच्छा व्यक्त गर्ने जुनसुकै मुलुकका सरकारहरुसित हाम्रो मुलुकले सहमति र सम्झौता गर्नेछ ।’ मन्त्रिपरिषदको यस्तो निर्णयसँगै अब नागरिक उड्डयन प्राधिकरणले बोलपत्र आव्हान गर्नेछ । त्यसमा बिभिन्न मुलुकहरुमा विमानस्थलहरु सञ्चालन गरिरहेका सरकारी कम्पनीहरुले मात्रै सहभागीता जनाउन सक्नेछ । त्यसरी दरखास्त दिएकामध्ये सबै भन्दा बढी प्रतिफल दिने प्रतिवद्धता गर्ने देशले विमानस्थल सञ्चालनको जिम्मेवारी पाउनेछ । दक्षिण एसियामा शक्ति सन्तुलनका लागि सामरिक महत्व राख्ने नेपाली भूमिमा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा लिनका लागि शक्ति राष्ट्रहरुले ठूलै कसरत गर्ने देखिन्छ । त्यसमा बिशेषगरि भारत, चीन, अमेरिका र केहि युरोपियन मुलुकको बिशेष चासो छ । भारतले यस अघि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा लिन चाहेको थियो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतलाई दिने तयारी गरेपछि व्यापक आलोचना भयो र उनी पछि हटेका थिए । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने जिम्मेवारी लिनका लागि चीनले बिशेष चासो राखेको श्रोत बताउँछ । भारतीय सिमा नजिकै अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पाएमा भारतलाई मनोवैज्ञानिक थ्रेट दिन सक्ने चीनियाँ बिश्लेषण देखिन्छ । त्यसो त आफ्नो छिमेकमै प्रतिष्पर्धी मुलुकले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा पाउने कुरालाई भारतले पनि कम चुनौतीका रुपमा हेरेको छैन। त्यस बाहेक अमेरिका र युरोपियनहरुले समेत गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा लिन सकिए दक्षिण एसियामा चीन र भारतलाई नजिकबाट नियाल्न पाउनेछन् । यी र यस्तै अनेकौं कारणहरु सतहमै देखिएका छन्, जसले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अब शक्ति राष्ट्रहरु भिड्ने पक्का छ जसलाई निम्तो भने नेपाल सरकारले नै दिँदैछ । यसले नेपाललाई अन्तराष्ट्रिय पर्यटनको हब होइन कि शक्ति राष्ट्रहरुका लागि संघर्षको मैदान बनाउने सम्भावना रहेको स्राेत बताउँछ । यो विमानस्थलबाट आर्थिक लाभ लिने भन्दा पनि सामरिक स्वार्थ पुर्ति गर्ने उदेश्यसहित शक्ति राष्ट्रहरुबिच नेपाललाई अधितम लाभ दिने होड नै चल्ने अड्कल गरिएको छ । जसले नेपाललाई आर्थिक लाभ त होला तर त्यसले देशको अन्तराष्ट्रिय सम्बन्ध, विदेशी नीति र सुरक्षामा भने गम्भिर संकट निम्त्याउन सक्ने आरोप लागेको छ । विमानस्थलको काम धमाधम आगामी आर्थिक वर्ष २०७६/०७७ भित्र सो आयोजना सम्पन्न गरी बिमानस्थलको काम भइरहेको छ । चालू आवमा सो आयोजनाका लागि रु ५९ करोड विनियोजित थियो र सो रकम खर्च भइसकेको छ । थप रु ७० करोड रकम आयोजनाका लागि उपलब्ध गराइएको छ । आगामी वर्ष पहिलो चरणको काम सम्पन्न गरी अन्तर्राष्ट्रिय उठान सञ्चालन गर्न आगामी आवको बजेटमा ३ अर्ब ३४ करोड बिनियोजन भएको छ । विमानस्थलको धावनमार्गमा अन्तिम कालोपत्र भइसकेको छ । यस्तै ट्याक्सी वे र अन्य भौतिक संरचनाको निर्माण जारी छ । विद्युतीय उपकरणबाहेक विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत भन्दा बढी भइसकेको छ । दक्षिण एशियाली पर्यटन पूर्वाधार आयोजनाअन्तर्गत निर्माण भइरहेको सो विमानस्थल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग निर्माण भएको छ । आयोजनाको शुरुआती लागत रु छ अर्ब २२ करोड ५१ लाख रहेको छ ।
बक्यौता उठाउन तात्यो आन्तरिक राजस्व कार्यालय, १५५ व्यवसायिक फर्मको कारोबार रोक्का गर्दै
काठमाडौँ । आन्तरिक राजस्व विभाग अन्तरगत आन्तरिक राजस्व कार्यालय ललितपुर-२ लगनखेलले बक्यौता कर नतिर्ने १५५ वटा व्यवसायिक फर्मको कारोबार, बैंक खाता र घरजग्गा रोक्का गर्ने भएको छ । करदाताहरुले लामो समयदेखि बुझाउनु पर्ने मूल्य अभिबृद्धि कर तथा आयकर रकम नबुझाएको भन्दै कार्यालयले सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशित मितिले १५ दिन भित्र बक्यौता दाखिला गर्न अथवा दाखिला गरिसकेको भए सो को प्रमाण पेश गर्नु पर्ने कार्यालयले सूचनामा उल्लेख गरेको छ । कार्यालयको सूचनालाई वेवास्था गर्दै बक्यौता कर दाखिला नगर्ने करदाताहरुलाई मूल्य अभिबृद्धि ऐन २०५२ को अफ २१ तथा आयकर ऐन २०५८ को दफा १०३ देखि १११ सम्मका तरिका अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानूनी कारवाही गरी बक्यौता असुली गर्ने कार्यालयले जनाएको छ ।