मनाइयो विश्व वाताबरण दिवस(फोटो फिचर)
काठमाडौँ । विश्व वाताबरण दिवस जेठ २२ गते देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । वाताबरण दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, मुख्यमन्त्री र सर्वसाधारणहरुले उत्साहपूर्वक सहभागिता जनाए । फोटोमा यस्तो देखियो विश्व वाताबरण दिवस । तश्वीर/रासस
सरकारलाई असहयोग आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी, साउनदेखि विकासका काम ठप्प
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारलाई असहयोग आन्दोलन गर्ने चेतावनी दिएको छ । सार्वजनिक खरिद नियमावली संसोधन विरुद्ध आन्दोलनरत व्यवसायीले राजधानीमा राष्ट्रिय भेला आयोजना गरि आफ्ना माग सम्बोधन नगरे असहयोग आन्दोलन गर्ने चेतावनी दिएका हुन् । महासंघका अध्यक्ष रबि सिंहले साउन १ गतेबाट निर्माणका सबै काम रोक्ने निर्णय गरिएको बताए । ‘हाम्रा माग पुरा भएनन् भने साउन १ गतेदेखि निमार्ण सम्बन्धी सबै काम रोक्छौं, आशा छ त्यस्तो परिस्थिती अघि नै माग सम्बोधन हुनेछन्’, महासंघ अध्यक्ष सिंहले विकासन्युजसँग भने । हाल ठेक्का पट्टा बहिष्कार गरिरहेका व्यवसायीले केहि दिनभित्रै लाइसेन्स फिर्ता गर्ने तयारी गरिरहेका छन् । उनीहरुले आफ्ना माग सम्बोधन गराउन आग्रह गर्दै सबै जसो राजनीतिक दलका नेताहरुलाई भेट गरिसकेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण लगायतसँग भेट गरिसकेका छन् । त्यस्तै, संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्कालाई पनि भेटेर उनीहरुले संसोधित नियमावलीले पार्ने असरबारे जानकारी गराएका थिए । यी हुन ठेकेदारका पाँच माग निर्माण व्यवसायीहरुले संसोधित सार्वजनिक खरिद नियमावलीका पाँच वटा बुँदामा आपक्ति जनाउँदै आएका छन् । उनीहरुले संसोधित नियमावली कार्यान्वयनमा आउनु अघिका सबै ठेक्काहरुमा अन्तिम पटकका लागि समय थप गर्नुपर्ने, नयाँ ठेक्काहरुका सवालमा बिशेष परिस्थितिमा ५० प्रतिशत भन्दा बढी समय थप गर्न सकिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, कालो सूचिमा राख्ने वितिकै नयाँ ठेक्कामा भाग लिन नपाउने व्यवस्था हटाउनुपर्ने, एउटा कम्पनी कालो सूचिमा परेपछि सो कम्पनीका सञ्चालक संलग्न कुनै पनि कम्पनीले ठेक्कामा भाग लिन नपाउने व्यवस्था हटाउनुपर्ने र ८० प्रतिशत कार्यानुभवलाई घटाएर ४० प्रतिशत बनाउनुपर्ने माग अघि सारेका छन् ।
औद्योगिक प्रदर्शनीमा उद्योग र अर्थमन्त्रीको एउटै बोली-‘निजी क्षेत्रसँग सहकार्य गर्न तयार’
काठमाडौँ । स्वदेशी वस्तुको उत्पादन बढाउँदै रोजगारीको अवसर सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी-२०७६ बुधबारदेखि शुरु भएको छ । उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा भएको मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यामबाट क्रेता र बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गरिने छ । राष्ट्रियस्तरमा मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।सतहत्तरवटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीको सहभागिता रहेको यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनको छुट्टै मण्डप रहेको छ । मेलामा महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने छ । मेलाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न कुनै कसर बाँकी नराखिने बताए । नेपाली उत्पादनको ‘ब्राण्डिङ’ गर्दै साना पूँजीबाट उत्पादन शुरु गरेका उद्योगीलाई पनि समेटेर लैजानुपर्ने बताउँदै मन्त्री यादवले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै विश्वबजारमा पुर्याउन सरकारसँग हातेमालो गर्न आग्रह गरे । सो अवसरमा अर्थमन्त्री युवराज खतिवडाले स्वदेशमा उत्पादित वस्तुको संरक्षण र प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७६/७७ को बजेटले विशेष व्यवस्था गरेको बताए । सरकारले स्वदेशमा उत्पादित वस्तुको स्वदेशमै खपत गर्नुपर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै नेपाली उत्पादनको प्रयोग गरेर गौरव गर्ने वातावरण सिर्जना गर्नका लागि गुणस्तरीय उत्पादनमा जोड दिए । उद्योग विभाग सचिव यामकुमारी खतिवडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग विभागका महानिर्देशक योगेन्द्र गौचनले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्यबहादुर कडेल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले शुभकामना व्यक्त गरे । लघु घरेलु तथा साना उद्योगका उत्पादनका २०० बिक्री तथा प्रदर्शनी कक्ष रहेको सो मेला यही जेठ २६ गतेसम्म चल्नेछ ।
महेश बस्नेत भन्छनः कुलमान घिसिङमाथी अख्तियारले छानविन गर्नुपर्छ
काठमाडौं । नेकपाका युवा नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथी अख्तियारले छानविन गर्नुपर्ने बताएका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कुलमानमाथी अख्तियारले छानविन गरि कारवाही गर्नुपर्ने बताएका हुन् । उनले सार्वजनिक लेखा समितिमा सांसद अमनलाल मोदीले ९ अर्ब बक्यौता र पथलैया ट्रान्समिसन लाइनबाट आयात भैरहेको २२५ मेगावाट विद्युत प्रयोग गरे पनि नगरेपनि प्रति युनिट ६.६८ भारु अर्थात १० रुपैंयाँ ६८ पैसा तिर्नुपर्ने कुरा उठाउँदा मोदीमाथी मिडिया मार्फत कुलमानले आक्रमण गराएको आरोप पनि लगाए । कुलमान घिसिङले नै मिडिया मार्फत आफुमाथी चौतर्फी आक्रमण भैरहेको गुनासो गरेर राम्रो कामको आडमा गलत काम ढाकछोप गर्ने प्रयास गरेको आरोप पनि बस्नेतले लगाए । सांसद मोदीलाई मिडिया तथा सामाजिक सञ्जालहरुमा तल्लो स्तरको गाली गरिनु पनि दुःखद भएको बस्नेतको तर्क थियो । कुलमानले गरेका राम्रा काममा आफ्नो पनि साथ रहेको बताउँदै बस्नेतले अमनलाल मोदीले उठाएका कुरामा गम्भिर बन्दै अख्तियार र सार्वजनिक लेखा समितिले छानविन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने माग पनि उनले गरे ।
नेशनल बाथरोग सेन्टर स्थापनाको छैठौं बर्षमा
काठमाडौं। नेशनल बाथरोग सेन्टर स्थापनाको छैठौं बर्षमा प्रवेश गरेको छ। ‘स्वास्थ्य तपाईको सेवा हाम्रो’ मुलनारा सहित २०६९ स्थापना भएको सालमा केही गरौं भन्ने उदेश्यको साथ काठमाडौंको कुलेश्वोर, ललितपुरको ग्वार्को र भक्तपुरको टोखापुखमा फार्मेसी स्थापना गरी व्यवसायिक यात्रा सुरु गरेको जनाएको छ। त्यसपछी गएर २०७० सालमा नेपालमा बाथरोगको उपचार प्रदान गर्ने केन्द्रको अभाव महशुस भएपछी २०७० सालमा नेशनल बाथ रोग सेन्टरको रुपमा स्थापित भएको सेन्टरले जानकारी दियो। भक्तपुरमा २ हजार एक सय ६१, जावालाखेलमा ६ हजार ४ सय दुई सय ७४, रातोपुलमा २६ हजार १ सय ५४, पोखरामा ४ हजार २ सय ४५, झापाको बिर्तामोडमा ६ सय १२ र निःशुल्क स्वास्थ्य शिविरहरुमा ४३ हजार दुई सय जना गरी कुल ८२ हजार ७ जनालाई बाथरोगको उपचार गरिएको अस्पतालले जनाएको छ। नेशनल बाथ रोग सेन्टरको प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा ३० लाख भन्दा बढी बाथ रोगको बिरामी रहेको र त्यसमा १ लाख मानिस मात्र उपचारको पहुँचमा रहेको बताए। वार्षिकउत्सवमा सेन्टरले आफ्नो उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो।
रमदान र ईदको अवसरमा कतार एयरवेज नेपालद्वारा सिएसआर कार्यक्रम सम्पन्न
काठमाडौँ । रमदान र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम सम्पत्र गरेको छ । अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागी आयोजना गरिएको हो । होटल अन्नपूर्णमा भएको कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गरेकी थिइन् । उक्त कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागी म्युजिकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए । सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो ।
बहिर्गमित चार कार्यकारीलाई फर्काउने राष्ट्र बैंकको तयारी, कसको जागिर कति थपियो ?
काठमाडौं । सर्वोच्च अदातलको फैसलासँगै ३० वर्षे सेवा अवधिका कारण बहिर्गमनको संघारमा पुगेका चार कार्यकारी निर्देशकलाई फर्काउन राष्ट्र बैंकले तयारी थालेको छ । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य एक महिने विदामा बसेका चार जना कार्यकारी निर्देशकहरू यहि जेठ २६ गतेबाट अवकास पाउँदै थिए । विदामा बसेका कार्यकारीहरूको अवधि चार दिन वाँकी हुँदा सर्वोच्च अदालतले ५८ वर्षे सेवा अवधि लागू गर्न बाटो खुला गरिदिएको हो । अवकाशको ३० वर्षे सेवा अवधि तथा ५८ वर्ष उमेर हद जुन अगाडि हुन्छ सोही लागू गर्ने विवाद सर्वोच्च पुगेको थियो । अदालतले ५८ वर्ष उमेर हद लागू गर्ने बाटो खोलिदिएपछि राष्ट्र बैंकले बहिर्गमनको संघारमा पुगेका चार कार्यकारी निर्देशकलाई फर्काउने तयारी थालेको हो । ‘फैसलाको पूर्णपाठ आउने बित्तिकै संचालक समिति बैठकमार्फत कार्यान्वयन गछौं, ’ राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले भने । अदालतबाट चिठ्ठी आएपछि कानुनी सल्लाह अनुसार बोर्ड बैठक बसेर निर्णय लिने उनले बताए । कहिलेको निर्णयलाई आधार मान्ने वा नयाँ निर्णय गरेर कार्यान्वयनमा लैजाने भन्ने विषयमा छिट्टै राष्ट्र बैंक बोर्ड बैठक बस्ने उनको भनाइ छ । राष्ट्र बैंक संचालक समितिको २०७४ असोज ८ गतेको बैठकले ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश पाउने कानुनी व्यवस्था हटाएर उमेरहद र पदावधि विशेषको आधारमा मात्र अवकास पाउने गरी राष्ट्र बैक कर्मचारी सेवा विनियमावली–२०६८ मा संशोधन गरि पारित गरिसकेको अवस्था छ । सर्वोच्च अदालतले गत मंसिर १८ गते राष्ट्र बैंक नितान्त स्वायत्त अधिकार क्षेत्रभित्र पर्ने विषयवस्तु भएकोले विनियमावलीमा कर्मचारीको सेवा अवधि र उमेरको हद के कति राख्ने ? भन्ने विषय राष्ट्र बैंकले निर्णय गर्न सक्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले अहिले अवकाशको संघारमा पुगेका सक्षम कर्मचारीलाई पुनवहाल गर्न सके यसबाट कर्मचारी व्यवस्थापनदेखि नीति तथा योजना बनाउन सजह हुने सम्बद्ध क्षेत्रले बताएको छ । अहिले राष्ट्र बैंकले तल्लो तहका कर्मचारीलाई कार्यकारी निर्देशकको भार सुम्पिएर काम गरिरहेको अवस्था छ । यतिमात्र होइन ३० वर्षे कार्य अवधिको विवादपछि १२५ जना कर्मचारीले अवकास पाइसकेका छन् भने अबको ८/१० महिनाको अवधिमा अरु केहीले अवकाश पाउने अवस्था छ । चार दिनपछि अनिवार्य अवकाशमा जान लागेकाहरुको कति बढ्दै छ कार्यकाल ? हाल विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य राष्ट्र बैंक फर्कन सक्ने अवस्था आएको छ । सर्वोच्चको फैसला राष्ट्र बैंकले तुरुन्त कार्यान्वयनमा ल्याए कार्यकारी निर्देशक पौडेलको सेवा अवधि साढे १ वर्ष थपिने भएको छ । नरवहादुर थापा, भीष्मराज ढुङ्गाना, भरत शर्मा आचार्यको सेवाअवधि १-१ वर्ष थपिने छ । लघुवित्त सम्हालेका अर्को कार्यकारी निर्देशक जनकवहादुर अधिकार भने ५८ वर्ष उमेर हदका कारण अवकाशमा परेका हुन् । ३० वर्षमा अनिवार्य अवकास नीति खारेज, राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशक पुनः फर्कन सक्ने
विश्व वातावरण दिवसको अवसरमा कोका-कोलाले गर्यो फोहररहित विश्वको सिर्जना गर्ने संकल्प
काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले फोहररहित विश्वको सिर्जना गर्न ‘वल्र्ड विथआउट वेस्ट’ को संकल्प गरेको छ । सन् २०३० सम्म बिक्री गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाईकल गर्ने कोका–कोलाको प्रतिवद्धता रहँदै आएको छ । सोही प्रयोजनको लागि स्थानीय समुदाय, गैह्र सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहरुको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गरी त्यसलाई सम्बन्धित ठाउँमा पुर्याउन कम्पनी लागि परेको हो । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कोकाकोला नेपालले आफ्ना सम्पूर्ण साझेदार संस्थाहरु संयुक्त रुपमा रिसाकलिङका लक्ष्य हासिल गर्न प्रयत्न गरेकोमा जोड दिएको छ । कोका–कोलाका साउथ वेस्ट एशियाको अप्सेसन भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने–‘अबका दिनमा विश्व वातावरण दिवस मनाउने तरिका भनेको हामीले वातावरणका लागि के योगदान पुर्याउन सक्छौँ भन्नेमा केन्द्रित गर्नेछौँ ।’ ‘सगरमाथा सरसफाई अभियान २०१९’को बारेमा बोल्दै पर्यटन विभागका जनरल डन्डुराज घिमिरेले भने–‘नेपाली सेना, एसपीसीसी, कोका–कोला नेपाल र बोटलर्स नेपालले सगरमाथा सरसफाई अभियानको सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरेको छ ।’ कोका–कोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले विश्वको सर्वाेच्च शिखर सगरमाथा हामी सबैको गौरब हो र यसको सरसफाईमा सहभागी हुन पाउनु एउटा अवसर समेत हो ।’ सिंहले नेपाली सेना, एसपीसीसी, नेपाल पर्वतारोहण संगठन तथा नेपाल सरकारलाई आभार प्रकट गरेका छन् । उनले निजी तथा सरकारी दुवै क्षेत्रको संयुक्त प्रयासमा यो सफल हुने बताएका छन् । साथै, कोका–कोला नेपालले २ वटा पीईटी रिसाइकिलिङ प्रोजेक्ट–नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको छ । हस्ताक्षर कार्यक्रम सम्पन्न: क्रियशनका सीईओ आनन्द मिश्रा, कोका कोला नेपालका कन्ट्री डाईरेक्टरअम्बुज सिंह र बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाईरेक्टर प्रदीप पाण्डेले ‘वल्र्ड वीथ आउटवेस्ट’ मा एमओयूमा हस्ताक्षर गरेका छन् ।