विकासन्युज

पर्यटन क्षेत्रको कुम्भमेला ‘हिमालयन ट्राभल मार्ट’ आजदेखि, ४३ देशको सहभागिता

काठमाडौँ । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सोल्टी क्राउन प्लाजामा यही जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७०० ले सहभागिता जनाउने मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुँदै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो । मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी ९बीटुबी० मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ । नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए । मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन् । यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ ।

लोकप्रिय बजेटमा ब्लण्डरः कसले डुबायो अर्थमन्त्रीलाई ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबाट अर्थमन्त्री डा. युवराज खतिवडाले तारिफ नै पाईरहेका छन् । चालु आर्थिक वर्षको बजेट संसदमा पेश गर्दा सांसददेखि नागरिक र कर्मचारीसम्म उनको आलोचनामा उत्रिएका थिए । नेकपाको घोषणा पत्र लत्याएको आरोप उनीमाथी थियो, त्यसैले कार्यकर्ता नै बजेटका विपक्षमा कुर्लिरहेका थिए । वृद्ध भत्ता र कर्मचारीको तलब नबढेकोमा उनी आलोचनाको शिकार बनिरहेका थिए । तर यसपाली, अवस्था फेरिएको छ, तलब बढेकाले कर्मचारी खुस भएका छन्, वृद्ध भत्ता वृद्धि गरिएपछि कार्यकर्ताले बजेटको बचाउ गरिरहेका छन्, स्थानीय पूर्वाधार साँझेदारी कार्यक्रमले ६ करोड पाएपछि सांसदहरु दंग पर्दै बजेटका पक्षमा सतिसाल झै उभिएका छन् । स्वदेशी उद्योगलाई संरक्षणको नीति लिएपछि उद्योगी व्यवसायीले खुलेरै बजेटको समर्थन गरेका छन् । पूर्वाधार विकासमा बजेटलाई केन्द्रित गरेसँगै विज्ञहरुले पनि बजेटको बिरोध गर्न सकिरहेका छैनन् । सडक, उर्जा, पर्यटन, कृषि र रोजगारीलाई बजेटले उच्च प्राथमिकता दिएको देखियो । त्यसकारण यसपाली सत्तापक्षले मात्रै होइन, प्रतिपक्षकै धेरै सांसदले बजेटको तारिफ गरे । काँग्रेसका वौद्धिक सांसद प्रदिप गिरीको धारणा होस वा डा. नारायण खड्काकै विचारलाई हेर्दा पनि हुन्छ । सिमित नेताहरुले आफुलाई अरु भन्दा भिन्न देखाउनकै लागि ‘बिरोलो बाँधेर श्राद्ध’ गर्ने परम्परालाई निरन्तता दिएका मात्रै हुन् । कतिपयले इतिहासकै उत्कृष्ठ बजेट भनेर टिप्पणी गरिरहेका छन् । उत्कृष्ठ होला नहोला तर यसपालीको बजेटले सबैलाई खुसी बनाउन सफल भएको तथ्यलाई भने स्विकार गरिएकै छ । अब प्रश्न उठ्छ, सबै खुसी भएको बजेटमा ब्लण्डर कसरी भयो ? कार्यक्रम राम्रा आए, तर प्राविधिक त्रुटीले त्यसलाई छायाँमा पारिदियो । आखिर किन भयो त बजेटमा ब्लण्डर ? आर्थिक सर्वेक्षणदेखि सुरु भएको ब्लण्डर बजेट वक्तव्य हुँदै आर्थिक विधेयकसम्म निरन्तर जारी रह्यो । विज्ञ अर्थमन्त्रीको उपाधी पाएका खतिवडाले बजेट लेखनमा कोर टिम बनाएका थिए । हरेक दिन आधा रातसम्म काम गरे । चार पाँच जनाको टिमले अत्यन्तै गोप्य ढंगले काम गर्यो । त्यसकारण बजेटबारे बजारमा कुनै सूचना चुहिएन, बजेटमा के आउँदैछ भन्नेबारे कसैले सुइकोसम्म पाउन सकेनन् । तर बजेटमा केहि ब्लण्डर देखिए । बजेटमा जे नहुनुपर्ने थियो त्यहि भयो, २०७५ साउन १ गतेदेखि लागु हुने गरि कर्मचारीको तलब वृद्धि गरियो । हिसाब किताब मिलानमा गम्भिर त्रुटी देखियो, बाल मृत्युदरलाई बढाउने लक्ष्य राखियो, आर्थिक सर्वेक्षणमा अर्बलाई खर्ब लेखियो । सांसदलाई वितरण गरिएका आर्थिक सर्वेक्षणदेखि बजेट वक्तव्यहरुमा हातले केरमेट गरि सच्याउने काम गरियो । आखिर किन भयो विज्ञ अर्थमन्त्रीको लोकप्रिय बजेटमा यस्तो ब्लण्डर ? यो अञ्जानबस भएको गल्ति थियो की नियोजित थियो ? आर्थिक सर्वेक्षणदेखि सुरु भएको ब्लण्डर श्रृंखला बजेट वक्तव्यसम्म दोहोरिएपछि अर्थमन्त्री पनि आश्चर्य प्रकट गरेका थिए । जेठ १६ गते आफ्नो कोर टिमसँग समिक्षाका लागि बसेका मन्त्री खतिवडाले गोपनियता कायम गरेकामा धन्यवाद दिए पनि गल्ति दोहोरिएकामा आश्चर्य प्रकट गरेको श्रोतले बतायो । ‘बजेट सम्बन्धी सूचना चुहिएन तर यतिधेरै गल्ति कसरी भयो, म आफैं अचम्बित भएको छु’, अर्थमन्त्रीलाई उदृत गर्दै श्रोतले भन्यो । को को थिए कोर टिममा ? अर्थमन्त्रीले बजेट निर्माणका लागि बनाएको कोर टिममा अर्थ सचिव डा. राजन खनाल र राजश्व सचिव लाल किशोर घिमिरेका अलवा बजेट महाशाखा प्रमुख हरिशरण पुडासैनी, राजश्व महाशाखा प्रमुख निर्मलहरी अधिकारी, अन्तराष्ट्रिय अािर्थक सहायता महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र ठुला करदाता कार्यालयका प्रमुख धनीराम शर्मा थिए । त्यस्तै, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेल पनि सुरु देखि नै बजेट निर्माणको कोर टिममा सहभागी थिए । सबै आफ्ना र विश्वासिलाहरु सहभागी भएको बजेटमा गम्भिर त्रुटी भेटिनुको कारण के हो ? आफ्नाहरु सबै हुस्सु भए वा नियोजित रुपमा त्रुटी देखाईयो ? यो प्रश्नको जवाफ पेचिलो बनेको छ । लोकलाई रिझाउने बजेट तयार पार्दा प्राबिधिक रुपमा कसरी त्रुटी हुन पुग्यो ? यसको खोजी गर्ने जिम्मा भने अब स्वयं अर्थमन्त्रीकै काँधमा आईपुगेको छ । सुरक्षा निकायमा हुन्थ्यो भने यस्तो त्रुटिका लागि कारवाहीको भागीदार हुनुपर्ने थियो । निजामतिमा के हुन्छ त्यो हेर्न बाँकी छ । श्रोतका अनुसार अर्थमन्त्री डा.खतिवडा पनि यतिबेला त्रुटी कसरी भयो भन्नेबारे गहन अध्ययनमा जुटेका छन् । उनले त्रुटी गर्नेहरुको पहिचान मात्रै गर्छन् की कारवाही पनि गर्छन त्यो पनि पर्खाइको विषय बनेको छ । किन भने यसपाली एक पटक मात्रै गल्ति भएको छैन्, आर्थिक सर्वेक्षणमा देखिएको गल्ति बजेट वक्तव्यसम्मै पुगेको छ र त्यसले आर्थिक ऐनलाई पनि छाडेको छैन् ।

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ३ जनाको उम्मेदवारी, को-को चुनाव उठे ?

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुन लागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए । यस्तै, तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठको उम्मेद्वारी परेको छ । महासचिव पदका लागि धु्रव अधिकारी, सहदेव धमला र नारायण खनालको उम्मेद्वारी दर्ता भएको छ । सचिव पदका लागि दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी तथा कोषाध्यक्ष पदका लागि रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालको उम्मेद्वारी परेको छ । सदस्य आठ पदका लागि भने १८ को उम्मेद्वारी परेको पूर्वअध्यक्ष थपलियाले बताए । शनिबार हुने निर्वाचनमा ८१२ ले मताधिकार प्रयोग गर्ने परिषद्ले जनाएको छ ।

पाँचथरका २ विद्यालयमा गुरुहरुको सम्मानमा ३ लाखको अक्षयकोष

काठमाडौँ । पाँचथर जिल्लाको २ विद्यालयका भूतपूर्व विधार्थीहरुले आफ्ना २ गुरुहरुको सम्मानमा अक्षयकोष स्थापना गरेका छन् । सिद्धदेवी मावि नवमीडाँडा र लुम्फाबुङ मावि पाँचथरका शिक्षक स्व. देवीप्रसाद खनाल र स्व. तेजमान आङदेम्बेको नाममा दुबै विद्यालयमा १ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोष स्थापनाका अभियन्ता, सिद्धदेवी माविका पूर्व विधार्थी तथा सोही विद्यालयका पूर्व शिक्षक प्रजापति खनालका अनुसार अक्षयकोषमा रहेको रकमको ब्याजबाट प्राप्त रकम प्रत्येक वर्ष विद्यालयमा उत्कृष्ठ नतिजा ल्याउने गरीधब तथा जेहेन्दार विधार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ । सो कोषमा खनालले ५१ हजार जम्मा गरेका छन् भने अरु भूपू विधार्थीहरुको समेत गरी २ विद्यालयमा १ लाख ५० हजारका दरले ३ लाखको कोष स्थापना गरिएको हो । अक्षयकोषका अभियन्ता प्रजापति हाल काठमाडौँमा बस्दै आएका छन् भने अर्का अभियन्ता नेत्रप्रसाद खनाल अमेरिकाको ट्याम्पा युनिभर्सिटीमा सहायक प्रोफेसरका रुपमा कार्यरत छन् ।

१३ नेपाली रसियामा अलपत्र, ‘काम मिलाइदिन आग्रह गर्दा उल्टै म्यानपावरको धम्की’

काठमाडौँ । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् ।बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाडौँका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन् । दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ । ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ भन्दै आए पनि अहिलेसम्म पूरा तलब नपाएको उनीहरुको भनाइ छ । रसिया ओर्लनेबित्तिकै कम्पनीको आधिकारिक प्रतिनिधि नआइ  एजेन्टलाई लिन पठाइएको थियो । “रसियाको विमानस्थलमा झरेपछि रसियन एजेन्टले हामीलाई सेन्टपिटरवर्ग जाने ‘ट्रेन’मा चढाएर छाड्यो”, अलपत्र परेका कामदार प्रेमबहादुरले भने, “त्यसपछि फेरि भारतीय एजेन्ट आएर हामीलाई लग्यो, काम लगाइदिने आश्वासन दिएर उ पनि फरार भयो ।” कामको आश्वासनमा मेनपावर कम्पनीले पठाएको ४०० अमेरिकी डलर अमृक सिंह भन्ने सो भारतीय एजेन्टलाई दिइएको उनले बताए । खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । काम नपाएर अलपत्र परेका कामदारलाई पटक/पटक डेरा सारिएको उनको भनाइ थियो । अलपत्र कामदार प्रेमबहादुरले भने, “हामी यहाँ आएदेखि नै काम दिनुको सट्टा दुई पटक डेरा सार्यो ।” तत्कालका लागि खानाका केही प्रबन्ध गरेको भए पनि केही दिन अघिमात्रै आएको रसियन एजेन्टले मङ्गलबारदेखि खाना खान दिन नसक्ने र खानाको आफै व्यवस्था गर्न भनेको अलपत्र परेका कामदारको भनाइ छ । खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन् । “रोजगारदाता कम्पनी र कामदारबीच सेवा सुविधाको सम्बन्धमा दोहोरो सम्झौता भएको छ”, प्रेमबहादुरले भने, “तर कम्पनीले हामीलाई सम्झौता अनुसारको व्यवहार गरेको छैन ।” दुई पक्षबीच भएको सम्झौताअनुसारको काम गर्ने वतावरण निर्माण गरिदिन पटक÷पटक म्यानपावर कम्पनीसँग आग्रह गरे पनि बेवास्ता गर्दै आएको उनीहरुको भनाइ थियो । “हामीले पटक/पटक मेनपावर सञ्चालकलाई काम दिलाइदिन आग्रह गरेकाछौँ, उसले विभिन्न बहानामा टार्दै आएको छ”–अलपत्र परेका अर्का कामदार बोम देवान राईले भने, “म्यानपावर सञ्चालकले उल्टो हामीलाई धम्क्याउँदै आएको छ ।” सो म्यानपावर कम्पनीले रसियाको सेन्ट पिटरवर्गस्थित फाइनभल कम्पनीबाट ‘गार्मेन्ट टेलर’को पदमा ४० पुरुष कामदारको माग ल्याएको थियो । म्यानपावरले चर्को सेवा शुल्क लिएर दुई चरणमा ३४ नेपालीलाई रसिया उडाएको थियो । पहिलो चरणमा गत फागुन २९ गते २५ युवा र गत चैत ७ गते नौ युवालाई रसिया उडाएको थियो । वैदेशिक रोजगार विभागले रु १० हजार सेवा शुल्क लिएर कामदार पठाउन उक्त म्यानपावर कम्पनीलाई स्वीकृति दिएको भए पनि कामदारसँग रु एक लाख ६० हजारदेखि तीन लाख २५ हजारसम्म असुलेको अलपत्र परेका कामदारले आरोप लगाएका छन् । उल्टो हप्काउँछन् दूतावासका कर्मचारी दुई देशबीचको सम्बन्धलाई सुधार गर्दै जुनसुकै पक्षमा समस्या आइपरे कूटनीतिक ढङ्गबाट समाधान खोज्नका लागि क्रियाशील हुनुपर्ने नेपाली दूतावाससमेत अलपत्र कामदारको उद्धारमा मौन रहेको छ । आफूहरु तीन महिनादेखि अलपत्र परेको पटक÷पटक जानकारी गराउँदा पनि दूतावासले कुनै चासो व्यक्त नगरेको पीडित कामदारको भनाइ छ । ‘सुतेर तलब पाइन्छ भनेर आएको’ भन्दै हाम्रा पीडालाई हावामा उडाइ दिन्छन् ।” “अलपत्र परेर दूतावासमा हारगुहार गर्दा उल्टो दूतावासका कर्मचारीले हप्काउछन्”, अर्का कामदार विनोद गुरुङले भन्नुभयो, “काम गर्नका लागि सहजीकरण गरिदिनुको सट्टा ‘काम गर्न नजानेको भए किन आएको त’, ‘सुतेर तलब पाइन्छ भनेर आएको’ भन्दै हाम्रा पीडालाई हावामा उडाइ दिन्छन् ।” मस्कोस्थित नेपाली दूतावासले आफूहरुको समस्या समाधान गर्न कुनै चासो व्यक्त नगरेको पीडित कामदारको गुनासो छ । उद्धार गरेर आफूहरुलाई नेपाल फर्काइदिन उनीहरुले नेपाल सरकार र मस्कोस्थित नेपाली दूतावाससमक्ष आग्रह गरे । खाना होइन, ‘म्यानपावरको धम्की’ खान बाध्य आफूहरुलाई शर्त अनुसारको काम मिलाइदिन पटक/पटक आग्रह गरे पनि म्यानपावर कम्पनीले पनि कुनै वास्ता नगरेको उनीहरुको भनाइ छ । “काम दिने वा काम दिन नसके स्वदेश फर्काउने कुरै गर्दैन म्यानपावर सञ्चालक”, पीडित कामदारहरुले एकैस्वरमा भने, “उल्टो जे गर्छस् गर भनेर धम्क्याउँछ, हामी खाना होइन, बारम्बार ‘म्यानपावरको धम्की’ खान बाध्य छौँ ।” म्यानपावर सञ्चालकले कुनै अवस्थामा नेपाल फर्केको खण्डमा ‘बौद्ध आउने होइन’ भन्दै धम्क्याएको उनीहरुको गुनासो छ । त्यसोतः रसियामा नेपाली कामदार अलपत्र पारेको सो म्यानपावर कम्पनीलाई पछिल्लो समय वैदेशिक रोजगार विभागले विवरण नबुझाएको भन्दै अनलाइन कारोवार बन्द गरिदिएको छ । रसियामा नेपाली कामदार अलपत्र पारेको सो म्यानपावर कम्पनीलाई पछिल्लो समय वैदेशिक रोजगार विभागले विवरण नबुझाएको भन्दै अनलाइन कारोवार बन्द गरिदिएको छ । कारोबार बन्द गरिएका ४८ वटा म्यानपावर कम्पनीको सूचीमा काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालि (दर्ता नं १३९८/२०७४/०७५) २५ औँ नम्बरमा छ । काम नपाएर अलपत्र परेका कामदारलाई छिट्टै नेपाल फर्काउने गरी पहल भइरहेको मेनपावर सञ्चालक पासाङ शेर्पाको भनाइ छ । उनले भने, “हामी निरन्तर रोजगारदाता कम्पनीको सम्पर्कमा रहेका छौँ । काम नपाएका १३ जनामध्ये केहीलाई कम्पनीले अर्को काम दिन्छु भनेको छ, काम नपाउने कामदारलाई नेपाल फर्काउछौँ, अलपत्र परेका कामदारलाई खाना बस्नको कुनै समस्या छैन् ।” स्वदेश फर्कन चाहने कामदारलाई १५ दिनभित्र नेपाल फर्काइने उनको भनाइ थियो । रासस

जेठ २९ बाट नहुने भो काठमाडौँ-धनगढी उडान, सकिएन विमानस्थल स्तरोन्नतिको काम

अत्तरिया । एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए । उनका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको हो । तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूलै जहाज पार्किङ गर्न सकिने जनाइएको छ । मौसमले साथ दिएमा अबका पाँच दिनमा विमानस्थलमा हवाई उडान सञ्चालन हुने गरी काम भइरहेको निर्माण कम्पनी लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इञ्जिनीयर सचिन थापाले बताए । उनले वर्षा भएमा विमानस्थल मर्मत तथा स्तरोन्नति कार्य लम्बिने जानकारी दिए । काठमाडौँ–धनगढी–काठमाडौँ दैनिक पाँच हवाई उडान हुने गरेका थिए । रासस

वातावरण जोगाउने नाममा विकास रोकियोः उपाध्याय

काठमाडौं । कुनै पनि वृहद भौतिक संरचना निर्माण गर्दा जंगल नासिन्छ नै । निजगढ अन्तरराष्ट्रिय विमानस्थल बनाउदा पनि रूख काटिने नै हुन्छ, यो के अचम्म भयो र१ यति लाख उति लाख रूख काटिदै छ भनेर हल्ला चिच्याहट चलिरहेको पनि देखिन्छ । तर खास कुरा के भने कति हेक्टर जंगल काटिदै छ र पुनः वृक्षारोपण गरेर जंगलको क्षेत्रफल घटाईने कसरी गरिदै छ पो भन्नुपर्छ । रूख गनेर काम छैन, चाह्यो भने रूख त करोड वटा १ महिनामै रोप्न सकिन्छ । यस्ता लाख करोड रूख भन्ने आंकडा पस्कदा लेम्यानलाई नकारात्मक र दिग्भ्रमित पार्ने ध्येयले प्रचारमा ल्याईएको छ । रूख संख्या अंकको कुनै सिंग्निफिकेन्स नै छैन, दिग्भ्रमित पार्न बाहेक । रूख बुट्यान यति लाख उती करोड भनेर, गनेर मतलब छैन । भन्न के पर्छ भने यति क्षेत्रफल जंगल नासिन्छ र ईआईए गरेर पुनः रूख यति समय भित्र रोपेर पूर्ति गरिनेछ भन्नु मुख्य हो । रूख मान्छे हैन नि काट्नै नहुने ? एयरपोर्ट आकाशमा हैन जमिनमा बनाईन्छ र जमिनमा निर्माण गर्दा केही नासिन्छ र त्यसलाई पूर्ति गर्न वृक्षारोपण गरिन्छ । नकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नेहरू विकास विरोधी मात्र हैन, नेपाल हितविपरित दिमाग खियाउने रोगीहरूका बगाल कहलिन्छन् । रूख जंगलको संरक्षण गर्नुपर्छ, मतलब यसलाई विवेकपूर्ण उपयोग गर्दै पुनस्र्थापित गर्दै रहनुपर्छ, यो छुनै नहुने स्रोत हैन । नेपाली नेता र प्रशासकलाई भ्रम छ, पर्यावरण भनेको रूख विरूवा मात्र हो । त्यसैले वातावरण मन्त्रालयलाई भकुण्डो बनाईने गरिएको छ, कहिले कहॉ कोचेर कहिले कहॉ फालेर । यसको संस्थागत संस्कृति , विज्ञता , संगठन पद्दति सबैमाथि बारम्बार बलात्कार हुदै आएको छ । त्यस्तै , विज्ञान र प्रविधि भनेको मोबाईल र ईन्टरनेट मात्र हो भन्ने बुझाई नेपाली शासक वर्गमा छ । त्यसैले विज्ञान र प्रविधि मन्त्रालयले न दह्रो मन्त्री पायो वा न दिईयो र न त्यसले सही मान्यता वा स्थान पायो । कहिले कताको पुच्छर , कहिले रौं , कहिले नंग जस्तो कुनै अर्को बेप्रसंग छेउपुच्छर नमिल्ने मन्त्रालयको छिँडिमा यो कोचिन पुग्छ । मुलुकको प्राविधिक वैज्ञानिक क्षमताको जगेर्नामा यस्ता प्राविधिक निकायप्रति हुदै गरेका काम कार्यवाही लज्जास्पद छ। अहिले वातावरण मन्त्रालय वनको छिँडीमा र विज्ञान प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयको भर्यांग मुनि ठाउँसम्म पाएछ, अहिलेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराको राजमा । हामी त निर्लज्ज हौं नै लाज नलाग्ला, तर तिब्र विकसित विज्ञान प्रविधि र यसले वातावरणसंग हातेमाले गरेर हिड्नुपर्ने युगमा पनि दुनियॉले नेपालीको यस्तो मति देख्दा खित्का छाडेर हासिरहेका हुन्छन् है ।

पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।