विकासन्युज

सडक विस्तार अन्यौलपूर्ण, आवासको जग्गा हटाउने प्रयास

काठमाडौं । विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको छ ।नगरपालिकाको चालू आर्थिक वर्षको योजनामा वडा नं १ को कारखानाबाट रामेश्वर खड्काको घरसम्म सडक स्तरोन्नति गर्ने कार्यक्रम राखिएको छ । पाँच लाख रुपैयाँ छुट्याइएको सो योजनामा सडकको मूलविन्दु कहाँ हो र कतिसम्म विस्तार गर्ने भन्ने सूचना दायाँबायाँका स्थानीयवासीलाई नदिई बास उठ्ने गरी विस्तार गरिएको हो । उक्त नगरपालिका क्षेत्रमा पर्ने बौद्ध पिपलबोटबाट सुन्दरीजलसम्मको मूल सडक यही नगरपालिकामा पर्छ । यसैगरी जोरपाटीबाट दक्षिणढोकाको सडक पनि गोकर्णेश्वर नगरपालिकामै पर्छ । वर्षौदेखि ठेक्का लागेर पनि विस्तार हुन नसक्दा यी सडक अलपत्र छन् । सोका कारण वषौँदेखि यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । यी सडक विस्तार गरेर कालोपत्र गर्न नगरपालिकाले कुनै पहल गरेको छैन । यसरी विस्तार गर्न लागिएको सडक कतै गर्ने र कतै नगर्ने गरिएको स्थानीयवासीको गुनासो छ । एक दशकअघि आफ्नो घरमा कोही नभएको मौका छोपी सडक सीमा सारेको समूहले सारिएको स्थानमा धारा हालेको थियो । धारा भत्काएपछि सडक विस्तारका नाममा आवासको हकबाट बञ्चित गर्न खोजिएको स्थानीय लालकृष्ण मिश्रले गुनासो गरेका छन् । सडकको मुख र अन्त्यमा विस्तार नगरी बीचबीचमा मात्र विस्तार गरिएको छ । केही व्यक्तिको जग्गा सिधा पार्न नगरपालिकाले काम गर्न गठन गरेको उपभोक्ता समिति प्रयोग भएको छ । नगरपालिकाका योजना शाखा प्रमुख मीनराज कोइरालाले सडक दायाँबायाँका जग्गाधनीको सहमतिविना एउटा इँटा पनि सार्न नसकिने बताए ।यसैक्रममा,नगरपालिकाका उपप्रमुख शान्ति नेपालले सडक विस्तार गर्ने योजना भए पनि कुनै पनि व्यक्तिको घरलाई असर पुग्ने गरी विस्तार नगरिने जानकारी समेत दिएका छन् । रासस  

कोपा अमेरिकाबाट नेमार बाहिरिए, ब्राजिलमाथि थपियो ठूलो चुनौती

ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् । बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् । नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी

चीनको रु. ८३ करोडको लागतमा विद्यालय भवन निर्माण

लमजुङ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।उक्त विद्यालयको सुविधासम्पन्न भवन चीन सरकारको ८३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो । उक्त विद्यालय आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताएका छन् । निर्माण सम्पन्न भएको उक्त विद्यालयमा ३० कक्षाकोठा, २० छात्रावास कोठा, १० शिक्षक कर्मचारी कोठा, एउटा सेमिनार हल, तीन पुस्तकालय कोठा, एउटा बैठक कोठा, खाजा कोठा, शौचायलयलगायत गरी ६८ कोठा रहेको थापाले बताए ।त्यस्तै, एउटा बास्केटबलको खेलमैदान, सवारीसाधन पार्किङस्थल विद्यालयमा निर्माण गरिएको छ । विद्यालयको विभिन्न ठाउँमा १० सौर्यबत्ती जडान गरिएको छ । कामदारदेखि सबै आवश्यक सामग्री चीनबाटै ल्याई निर्माण भएको विद्यालयले जनाएको छ । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त विद्यालय विसं २०७४ बाट निर्माणकार्य शुरु गरी २०७६ जेठ २१ गते सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । २०१४ सालमा स्थापना भएको सो विद्यालय विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थीले सुविधायुक्त नयाँ भवनमा पढ्न पाउने भएका छन् । देशकै नमूना भवनमा पढ्न पाउने भएपछि त्यहाँका विद्यार्थी खुशी भएका छन् । सो माविमा प्राविधिक तथा व्यावसायिक शिक्षा आगामी साउनबाटै कक्षा १२ सम्म सञ्चालन गर्ने समितिका अध्यक्ष थापाले बताएका हुन् ।यसरी छिमेकी राष्ट्र चीनले नेपालमा उत्कृष्ट १० नमूना विद्यालय बनाउने घोषणाको कार्यान्वयन गर्दै हिमाली भेगमा दुई विद्यालय निर्माण गर्ने क्रममा लमजुङको उक्त विद्यालय निर्माण गरेको समितिले जनाएको छ । रासस

५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी, सनलाइफले दिन्छ १० लाखको सुरक्षा

काठमाडौ । महङ्गो शुल्कमा मात्र बीमा हुन्छ भन्ने भनाई सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडसँग मिल्दोजुल्दो देखिदैन । सो कम्पनीले ५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी बिक्री गर्दै आएको छ । सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने- ‘जीवनमा बीमाको ठूलो महत्व हुन्छ, हामीले आर्थिक अवस्था कमजोर भएका वर्गले समेत बीमा गर्न सक्ने गरी पोलिसी बिक्री गर्दै आएका छौँ ।’ अर्यालले बीमा वर्तमान समयमा निकै आवश्यक भएकोमा जोड दिए । ५ रुपैयाँभन्दापनि कममा बीमा: ५ रुपैयाँ भन्दा कममा १० लाख रुपैयाँ बराबरको सुरक्षा सन नेपाल लाईफले दिँदै आएको पाईन्छ । पाँच बर्षको अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा ५ लाख रुपैयाँ बराबरको जोखिम र १८ घातक रोग विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबरको सुरक्षण हुँदै आएको जनाएको छ । १६ बर्षदेखी ६५ बर्ष उमेरका इच्छुक व्यक्ती सो बीमा योजनामा सहभागी हुन सक्नेछन् । साथै, उमेरको आधारमा बीमा शुल्कमा केही तल–माथि कम्पनीले जनाएको छ ।

विश्व बैंकले गर्यो सन् २०२१ सम्मको आर्थिक वृद्धिदरको प्रक्षेपण, यसवर्ष ७.१ प्रतिशत रह्ने

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने संशोधित अनुमान प्रक्षेपण गरेको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरेर बैंकले नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक विभागले यस अघि वैशाखमा यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रह्ने तथ्यांक सार्वजनिक गरिसकेको छ । विभागले सो तथ्यांक सार्वजनिक गरेपनि आगामी आवको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान प्रस्तुत गरेका थिए । विश्व बैंकको पछिल्लो प्रक्षेपणले लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकेपनि नेपालको अर्थतन्त्र केही उस्किएको तथ्यांक सार्वजनिक गरेको छ । बैंकले आगामी आव २०७६/७७ मा ६.४ प्रतिशत आर्थिक वृद्धि रह्ने समेत प्रक्षेपण गरेको छ भने आव २०७७/७८ मा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर रह्ने अनुमान गरेको छ । कार्यक्रममा डा. खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धि दीगो विकास हुनुपर्ने बताए । बैंकले यस वर्ष ४.१ प्रतिशत मूल्य वृद्धि रहने अनुमान गरेको छ । नेपाल सरकारले भने साढे चार प्रतिशत मूल्य वृद्धि रह्ने तथ्यांक सार्वजनिक गरेको छ । विश्व बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको दीगो विकासका लागि तीव्रगतिमा काम गर्नुपर्ने बताए । अहिले जति विकास भएका छन्, यसलाई दीगो बनाउदै यसबाट अझ बढी प्रतिफल लिने बनाउनु पर्ने हुन्छ,’ डा. खतिवडाले भने ‘ विश्व बैंकको यो डकुमेन्टमा धेरै कुरा आएका छन् । नेपालको पूर्वाधार निर्माणदेखि सामाजिक पक्षलाई समेत समेटेर बनाइएको प्रतिवेदनले नेपालको विकासमा थप टेवा पुग्छ । विस्तारै हाम्रो अर्थतन्त्र बढ्दै छ । स्रोत र साधन निश्चित छन्,’ उनले थपे ‘संघीयतालाई संस्थागत गर्न चुनौती छ ।’ आर्थिक विकासमा समानुपातिक सहभागिता आवश्यक रहेको उनको भनाइ छ । देशको अर्थतन्त्र बढ्दै गएपनि स्रोत व्यवस्थापनमा तथा राजस्व संकलनमा भन्सारमा निर्भर हुनुपरेको उनले बताए । कार्यक्रममा विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन एजिमेनारीले व्यापार घाटा नेपालका लागि चुनौतीपूर्ण भएपनि दीगो विकास लक्ष्य प्राप्त गर्न तिव्र गतिमा विकास निर्माणका काम गरिनु पर्ने बताइन् । विश्व बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले कमजोर निर्यात, अस्वस्थ प्रतिष्पर्धाको बजार र महिला सहभागिता निकै कम हुनु नेपाली अर्थतन्त्रका लागि चूनौती रहेको जानकारी दिइन् ।

चार महिनामै भित्रिए १० हजार विदेशी पर्यटक

काठमाडौं । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महिनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट भने आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्माले बताए । उनका अनुसार हिमपातका कारण मौसम ढिलो शुरु भएकाले सोचेजति पर्यटक आउन, होटल व्यवसायी समयमा गाउँ फर्कन सकेनन् । लमजुङ बेंसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । यस्तो परिस्थितिमा पनि पर्यटकको आगमनमा कुनै गिरावट आएको भने पाइएन ।यसरी अहिलेको मौसममा सबैभन्दा बढी इजरायली नागरिक ६०७ भित्रिएका छन् । सबैभन्दा कम भियतनामी २१३ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । यो मौसम जनवरीबाट शुरु भई मेमा सकिने गर्छ । सिजनको पहिलो महिना जनवरीमा सबैभन्दा कम जम्मा ४७२ मनाङ भित्रिएका थिए भने सबैभन्दा बढी अप्रिलमा पाँच हजार ९८ पर्यटक भित्रिएका धारापानी पर्यटक प्रहरीले जनाएको छ । यो सिजनमा जर्मन, फ्रान्स, ब्रिटिश, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा सात देशका नागरिक मनाङ आएका हुन् । अत्यधिक हिमपातले पर्यटक आवागमनमा प्रभाव पारेको हो । केही दुःखद् घटना घटे पनि आवागगमन निरन्तरता रहिनै रहेको कुरा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताएका छन् । उनका अनुसार हिमपातको प्रभावमा पनि पर्यटकको चहलपहल प्रभावकारी रह्यो । रासस

‘अप्रिलिया स्ट्रोम’ स्कूटर नेपाली बजारमा, असार मसान्तसम्मको लागि २ लाख २४ हजार मूल्य कायम

काठमाडौँ । दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अप्रिलियाको उच्चस्तरीय इटालियन रेसिङ टेक्नोलोजी भएको ‘अप्रिलिया स्ट्रोम’ स्कूटर नेपाली बजारमा सार्वजनिक गरेको छ । बिहीबार पुल्चोक स्थित लबिन मलमा एक समारोहका बीच दुगड ब्रदर्स एण्ड सन्स प्रालिका अध्यक्ष मोतिलाल दुगडले उक्त स्कुटर सार्वजनिक गरेका हुन् । उक्त अवसरमा उनले भने-‘यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुनेछ ।’ सोही कार्यक्रममा दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विवेक दुगडले नेपाली बजारका लागि अप्रिलिया स्ट्रोमको विशेष मूल्य असार मसान्तसम्मको लागि २ लाख २४ हजार ९ सय कायम गरिएको जानकारी दिए । उनले भने-‘अप्रिलियको प्रिमियम प्रोडक्ट विशेष मूल्यमा नेपाली ग्राहकलाई उपलब्ध गराउन सकेकोमा खुशी छौँ ।’ त्यसैगरी कम्पनीका हेड अफ अपरेशन(भेस्पा/अप्रिलिया) विजय महतोले कम्पनीको बजार बिस्तारका बारेमा जानकारी गराए । हाल २२ वटा विभिन्न शाखा तथा डिलर मार्फत बिक्री वितरण गरिरहेको र आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा शाखा तथा डिलरहरुको  बिस्तार गर्ने बताए । यस्ता छन् विशेषता स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको अप्रिलिया स्ट्रोम स्कुटर आरामदायी रहेको निर्माण कम्पनीले जनाएको छ । यसमा १२५ सीसीको आधुनिक प्रबिधिको प्रि भल्व इञ्जिन जडान गरिएको छ । अप्रिलिया स्ट्रोम म्याट रातो र पहेँलो आकर्षक ग्राफिकमा उपलब्ध गरेको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले जनाएको छ । १२ इञ्चको फराकिलो स्पोर्टस अलोय ह्वील भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम रोड र अफ रोड दुबै बाटोका लागि उपयुक्त रहेको तथा राइड अरु भन्दा सुरक्षित र आरामदायी हुने कम्पनीले जनाएको छ ।

आज १५ अर्बको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । एक सातामा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । रिपो बिहीबार अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । जेठ ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बजारमा लगानी योग्य तरलता बढी भएमा तरलता प्रशोचन गर्ने गर्दछ । यसको मापनको लागि राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको छ । अन्तर बैक कारोबार ५ प्रतिशतभन्दा माथि ब्याजदर गएमा राष्ट्र बैंकले बजारमा तरलता पठाउने गर्छ भने ब्याजदर तल ओर्लिएमा बजारबाट पैसा खिच्ने गर्दछ । ब्याजदर करिडोर उच्च विन्दु सातलाई मानिएको छ भने तल्लो विन्दु तीनलाई मानिएको छ । ५ भने मध्यम विन्दु हो । आज हुन लागेको रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।