सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने नापी प्रमुख सहित ५ जना विरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाउने गरी श्रेस्ता कायम गरेको पाइएको छ । मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जग्गाको एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाई भ्रष्टाचार गरेको पाइएको छ । गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठको प्रत्यक्ष संलग्नता आयोगले आरोप लगाएको छ । उनीहरु विरुद्ध आयोगले उक्त जग्गाको मूल्य रु १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सनराइज बैंकको कमाण्ड निरज श्रेष्ठको काँधमा, बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव
काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि जेष्ठ २२ गते बुधबारको सञ्चालक समिति बैठकले निर्णय गरेको बैंकका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए । वित्तिय क्षेत्रमा श्रेष्ठले प्राप्त गरेको अनुभव र बैंकलाई अघि बढाउने योजनाका आधारमा आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको अध्यक्ष दुगडले बताए । बैंकमा जेष्ठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । बैंकले २२ दिनभित्रै नयाँ सिइओ नियुक्त गर्न सफल भएको हो । सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव संगालिसकेका छन् । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ रुपमा कार्यरत थिए । माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए । सिइओका रुपमा डेब्यु गरेको बैंकबाट एक वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका उनलाई सनराइजले दोश्रो अवसर जुटाईदिएको हो । नारायणचौर, नक्साल निवासी श्रेष्ठले तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा प्रारम्भ गरी करिब १३ बर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका छन् । तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया बैंक लि.) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेका थिए । ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए । ‘उहाँको इनर्जीबाट बैंकले नयाँ उचाई पाउँछ भन्ने अपेक्षासहित जिम्मेवारी दिएका हौं, छनौट समिति र सञ्चालक समितिबाट एक मतले उहाँलाई छानिएको छ, बैंक अझै उचाईमा जाने आश गरेका छौं ।’, अध्यक्ष दुगडले भने । यसअघि सनराइज बैंकको सीईओको कार्यभार रत्नराज बज्राचार्यले सम्हालेका थिए । बज्राचार्यकाे चार वर्षे कार्यकाल सकिएपछि कामु सीईओको जिम्मेवारी आशा राणा अधिकारीले सम्हालेकी थिइन् ।
राजधानीका तीन स्थानमा मनसुन मोबाइल मेगाअफर, एउटा किन्दा अर्को सित्तैंमा
काठमाडौँ । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हबमा जेठ २७ गतेदेखि असार १५ गतेसम्म मनसुन मोबाइल मेगाअफर सञ्चालन हुने भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइने जनाइएको छ । मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँमोबाईल साट्ने व्यवस्थापनि मोबाइल हबले मिलाएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ । केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तलामा रहेको सिटिसी मोबाइल हबमापनि अफर सहित मेला सञ्चालन हुने जनाइएको छ ।
अर्काको पासपोर्ट बोक्नेलाई विगो र ५० प्रतिशत जरिवाना सहित ३ वर्ष कैद
काठमाडौं । वैदेशिक रोजगार व्यवसायमा एजेन्ट राख्न नपाउने भएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ लाई संशोधन गरी वैदेशिक रोजगार कम्पनीले आफ्नो कर्मचारी वाहेक अन्य एजेन्ट राख्न नपाउने नयाँ व्यवस्था लागू गरेको हो । ‘ऐन संशोधन गरेर यस व्यवसायमा एजेन्ट राख्न नपाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषालले जानकारी दिए । ऐन संशोधन भएसँगै व्यवसाय कम्पनीले यससँग सम्बन्धित काम एजेन्टमार्फत गराउन नपाउने भएका हुन् । केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संसोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएको हो। ‘अब वैदेशिक रोजगारसँग सम्बन्धित पासपार्ट संकलन गर्ने सेवा शुल्क लिने काम म्यानपावर कम्पनीबाट तलव पाउने कर्मचारीले मात्रै गर्न पाउने छन्, अन्यले गर्न पाउँदैनन्,’ उनले भने । अन्य व्यक्तिले सो कार्य गरेका उनीहरूलाई ठगी र वैदेशिक रोजगारको कसुर बमोजिम कारवाही गरिने उनले बताए । ‘ठगीको कारवाही जिल्ला प्रशासन कार्यालयले गर्छ,’ उनले भने ‘वैदेशिक रोजगारसँग सम्बन्धित कसुरमा भने त्यसरी संकलन गरेको रकम तिराएर त्यसको ५० प्रतिशत जरिवाना सहित कसुरको मात्रा हेरी ३ वर्षसम्म कैदको व्यवस्था भएको भुषाल जानकारी दिए । स्वयम म्यानपावर व्यवसायी नै आफ्नो व्यवसायको नाममा ठगी गरेको उजुरी लिएर विभागमा आएपछि यस्तो कामकारवहीलाई निरुत्साहित गर्न ऐन संशोधन गरिएको उनले बताए । नेपालमा एक हजार चार सय म्यानपावर व्यवसाय रहेका छन् । विभागमा उनीहरूको एक सय ८३ जना एजेन्ट दर्ता भएका छन् । झापा, मोरङ र कास्कीमा बढी एजेन्ट दर्ता भएका छन् । यस वाहेक देशभरि छरिएर रहेका एजेन्टको त कुनै गणना नै नभएको भुषालले बताए ।
सनराइज बैंक लिमिटेडले मुलपानीमा खोल्यो नयाँ शाखा
काठमाडौँ । सनराइज बैंकले काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका पदाधिकारीहरmको उपस्थिति रहेको थियो । यो समेत गरी शाखा संख्या १०७ वटा पुगेको बैंकले जनाएको छ ।
शैक्षिक प्रमाणपत्र लिएर ऋण माग्न कोही आएनन् : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन कसैले पनि चाँसो नदिएको बताएका छन्। शैक्षिक प्रमाणपत्र राखेर सहुलियत ब्याजमा ऋण प्रभावकारी नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकार तयार भएको तर त्यसप्रति युवाहरुले चाँसो नदिएको बताएका हुन्। मन्त्री खतिवडाले अहिलेसम्म शैक्षिक ऋण पाईन भनेर कतैबाट पनि गुनासो नआएको पनि जनाए। सरकारले चालु आर्थिक बर्षको बजेटमा उच्च शिक्षा हाँसिल गरेका युवाहरुलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको हो। तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।
ठमेलमा कामना सेवाको ८७ औं शाखा बिस्तार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा ठमेलमा विहीबार ८७औं शाखा कार्यालय बिस्तार गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शाखा कार्यालय उद्घाटन तथा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।
यसकारण स्थगित भयो नेकपाको सचिवालय बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगेपनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भन्नुभयो’’, श्रेष्ठले भने, ‘‘ त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भएपनि एकछिन बसेर बैठक स्थगन गरियो ।’’ अर्को बैठक युरोप भ्रमणपछि उनका अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जाने बताइएको छ । पार्टीको आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नियमित बैठक बस्दै आएको थियो । कार्यविभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो ।