नवीकरण नगराएका निजी स्वास्थ्य संस्थालाई सात दिनभित्र बन्द गर्न निर्देशन
काठमाडौं । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिएका छन । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा सोनलले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिए मात्र शहीदको सपना पूरा हुने भएकाले त्यहीअनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताएका हुन् । यसरी आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस
काष्ठमण्डप पुनःनिर्माण पुरानै स्वरुपमा, कामपाले दियो रु ५ करोड ५० लाख
काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी तीव्ररुपमा थालिएको उक्त कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेशे शाक्यले बताएका छन् । शाक्यले भने, “निर्माणको समयमा समितिले लिएको लक्ष्यअनुरुप नै काम भइरहेको हुनाले निर्धारित समयमा नै सकिनेछ ।” अध्यक्ष शाक्यका अनुसार २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गरिनेछ । यसरी, गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । निर्माणका लागि यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम सहित चार थाम उठाइएको थियो । प्रयोग गरिएका उक्त चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ । काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुने छैन । आठ फिटभन्दामाथिका एक हजार २५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा, माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्णरुपमा क्षति पुगेको थियो । अघिल्लो वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिएको थियो । क्षमा पूजा कुनै पनि काम गर्दाको अवधिमा कुनै पनि किसिमको बाधा अवरोध नआओस् भनेर गरिने कार्य हो । रासस
जापानमा राष्ट्रिय ध्वजा वाहक उडाउने योजनाः भुतले खाजा खाने समय रोजेपछि अड्कियो
काठमाडौं । घोषित कार्यतालिका अनुसार हुन्थ्यो भने जुलाई ४ अर्थात असार १९ गते राष्ट्रिय ध्वजा फहराउँदै नेपाल बायुसेवा निगमको २७४ सिट क्षमताको ए ३३० जहाजले जापानी आकाश चुम्दै ओशाका विमानस्थलसम्म उडान भर्ने थियो । तर ‘भुतले खाजा खाने समय’ रोजिएपछि तत्कालका लागि जापान उडान सरेको छ । नेपाल बायु सेवा निगमले अगष्ट २९ तारिख अर्थात भदौ १२ गते जापानको ओशााका विमानस्थलमा पहिलो उडान भर्नेछ । ‘हामीलाई जापान उडानको अनुमति चाँडै चाहिएको थियो, अनुमति माग्यौं र पायौं पनि तर भुतले खाजा खाने समयमा परेछ, यात्रु नै नपाएपछि घाटाको व्यापार गर्न चाहेनौं, त्यसैले उडान अलि पर सारेका हौं’, निगमका प्रवक्ता नवराज कोइरालाले विकासन्युजसँग भने । निगमले जापानको ओशाकामा उडान भर्नका लागि मे ७ तारिख(२०७६ बैशाख २४) गते अनुमति पाएको थियो । निगमले मे १२ अर्थात बैशाख २९ तारिखदेखि नै टिकट बुकिङ खुल्ला गरेको थियो । तर एउटा उडानमा ३/४ जनाले मात्रै टिकट बुकिङ गराए । ‘५० जना यात्रुले मात्रै टिकट काटेका भए पनि समयमै ओशाका जाने थियौं तर प्रत्येक फ्लाइटमा ३/४ जनाले मात्रै टिकट बुकिङ गरे, त्यसकारण अहिलेका लागि उडान अलि पर सार्नुको विकल्प रहेन’, प्रवक्ता कोइरालाले भने । निगमले मंगलबार, बिहिबार र शनिबार गरि सातामा ३ वटा उडान भर्न पाउने गरि अनुमति पाएको छ । तर नेपालबाट पढ्न जाने विद्यार्थीहरुको पुरानो सिजन सकिएको र नयाँ सिजन सुरु नभएको तथा जापानीहरु घुम्न जाने समय समेत घर्किएपछि निगमको जहाजले यात्रु नपाएको हो । नेपालबाट ओशाका पुग्न ६.५ घण्टा उडान भर्नुपर्छ भने फर्कँदा ७.२० घण्टा लाग्छ । दुई तर्फी उडानमा ८० टन इन्धन खर्च हुने अनुमान गरिएको छ । २७४ जना यात्रु बोकेर एक उडान(दुई तर्फी) भर्दा करिब ४० लाख हाराहारी नाफा निस्कने प्रारम्भिक प्रक्षेपण गरिएको छ । एक उडानका लागि करिब ८० टन इन्धन खपत हुनेछ । निगमले जापानका लागि दुई तर्फी भाडा न्युनतम ७० हजार तोकेको छ । निगमले अप्रिल महिनामै ओशाका उडान गर्ने तयारी गरेको थियो तर जापानबाट अनुमति लिन ढिलाई भएपछि जुलाई ४ गतेका लागि उडान तालिका निर्धारण गरेको थियो । जापानमा ५ सय प्रतिनिधी मार्फत टिकेट बिक्रिवितरण गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले ओशाकापछि टोकियो पनि उडान भर्ने तयारी पनि अघि बढाईसकेको छ । हाल निगमसँग ए३३० जहाज २ वटा र ए ३२० जहाज २ वटा रहेका छन् । यी जहाजहरुबाट भारतको दिल्ली, बैंगलोर र मुम्बईमा उडान भरिरहेका छन् । त्यस बाहेक मलेसियाको क्वालालम्पुर, हङकङ, बैंकक, दुबई र दोहा उडान भरिरहेका छन् ।
दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै ऋद्धिसिद्धि, केही महिनाभित्रै ६० हजार उत्पादन गर्ने
हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा अहिले दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ । उक्त उद्योगले आगामी केही महिनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाएको छ । उद्योगलाई दैनिक आवश्यक पर्ने १० हजार मेट्रिक टन कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट ल्याएर भण्डारण गरिएको सो उद्योगले जनाएको छ । ऋद्धिसिद्धि ब्राण्डको सो सिमेण्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको उद्योगका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए । उनका अनुसार सिमेण्ट उद्योग व्यवस्थापनले युरोपेली प्रविधि र रोबोटको माध्यमबाट गुणस्तरीय सिमेण्ट उत्पादन गरिरहेको छ । हाल सो उद्योगको प्रशासन, प्रयोगशाला, भण्डारण, प्रविधि र श्रम क्षेत्रमा करीब ३०० ले काम गरिरहेका छन् । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगका सिमेण्ट उत्पादन हुँदै आएको थियो । रासस
जोमसोम विमानस्थल १५ दिन बन्द, धावनमार्गको तह मिलाउने
बाग्लुङ । मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भने, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ । विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो । विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए । धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ । पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ । रासस
प्रदेश ३ का मुख्य न्यायाधिवक्ता न्यौपानेले दिए राजीनामा, ‘मुख्यमन्त्री पौडेलसँग खटपट’
काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग खटपट भएपछि मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ । मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए । कार्य सम्पादन गर्ने क्रममा बेलाबेलामा मुख्यमन्त्री पौडेल र मुख्य न्यायाधिवक्ता न्यौपानेबीच विवाद हुँदै आएको श्रोतले जनाएको छ ।
माछापुछ्रेले गर्यो विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
काठमाडौं । कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाले विपन्न तथा गरिब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो । आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरिब परिवार यकिन गरी यही जेठ महिनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा आबद्ध हुँदा लाग्ने योगदान रकम पालिकाले नै भुक्तानी गरेको गाउँपालिका प्रमुख कर्ण गुरुङले बताएका छन् । गाउँपालिका स्वास्थ्य शाखाप्रमुख हरिलाल आचार्यका अनुसार उनीहरुको बीमाका लागि गाउँपालिकाले तीन लाख ७७ हजार ९५० रुपैयाँ योगदान गरेको छ । गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अति गरिब परिवारको बीमा गर्ने योजनानुसार चालू आवकोे नीति तथा कार्यक्रममा उल्लेख गरेर बीमाका लागि लाख रुपैयाँ बजेट छुट्याइएको थियो । बाँकी तीन वडालाई पनि आगामी साउनदेखि बीमा सहभागी गराउने तयारी गरिएको जनाइएको छ । प्रत्येक वडा कार्यालयले वडाअन्तर्गतका गरिब घरपरिवारको पहिचान गरी उनीहरुबाट आवेदन दर्ता गरेर त्यस्ता परिवारको आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिएको आचार्यले बताएका छन् । सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी नगरिएको र गरिब, विपन्न तथा अन्य लक्षित वर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरुको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थामा ऋण लिए नलिएको लगायतका विवरणका आधारमा परिवार छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।यसरी, कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उपचारको सेवा लिने गरेका छन् । रासस
कर्मचारीका माग सुनुवाइ नहुँदा तालाबन्दी, तल्लो मोदीखोला जलविद्युत् ठप्प
काठमाडौंं । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् ।उक्त निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गर्नुका साथै विद्युत हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत तीन दिनदेखि बन्द गराएका छन् । जुन आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने भनी तयारी गरेको थियो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत्गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने आयोजनासँग माग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले यही जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको हो । “हामी शुरुदेखि निर्माणकार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिइ बाहिरबाट कर्मचारी राख्ने काम भएको छ”, कर्मचारी सौरभ पौडेलले भने, “हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।” कर्मचारीले यसअघि यही जेठको ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर, तालाबन्दीपछि २० गते समस्या समाधान गर्ने सहमति गरे पनि कार्यान्वयन नहुने स्थिति देखिएपछि पुनः तालाबन्दी गरेको उनले बताएका छन् । उक्त आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जनाएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको तर स्थायी गरिएको छैन । “हामीले कसैलाई पनि स्थायी गरेका छैनौं”, आयोजना प्रमुख यादवले भने, “विद्युत् उत्पादनपछि नयाँ विज्ञापन गरेर स्थायी गर्ने प्रक्रिया शुरु गर्छौँ ।” अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको यादवको भनाइ छ । निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाएको र धेरै ठाउँबाट चुहिएपछि मर्मतको काम गरिरहेको छ ।त्यसैगरी, कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग समेत भेटिएको थियो । तालाबन्दीका कारण मर्मतको काम रोकिएको छ । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युत्गृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताए । यसरी, विसं २०६९ साउनमा निर्माण शुरु गरिएको उक्त आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । तर आयोजनाले प्राकृतिक, मानवीयलगायतका कारण देखाउँदै यसअघि पनि धेरैपटक उत्पादन मिति सारेको छ।अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो। रासस