विकासन्युज

सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्गबाट ग्राहकहरुले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैँकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

दोलखा र रामेछापमा सिद्धार्थ बैंकको शाखा खुल्यो

काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ्ग सेवा तथा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन  गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको हो ।

संकटमा मैदा उद्योगी, ‘मूल्य अभिबृद्धी कर नहटाए भाउ बनाउने चेतावनी’

काठमाडौँ । नेपाल मैदा उद्योग संघले दैनिक जीवनमा नभै नहुने अत्यावश्यक खाद्य बस्तु गहुँको पिठो(आँटा) मा चालु आबदेखी मूल्य अभिबृद्धी कर लगाएकोले अरबौंको लगानी जोखिममा परेको जनाएको छ । भारतबाट बैध वा अबैध तवरबाट आउने मैदा/आँटासंग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन । स्वदेश मै आत्मनिर्भर भईसकेको आँटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपि दिंदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने निश्चित संघका अध्यक्ष माधवलाल श्रेष्ठले बताए । सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण ३८ वटा स्वदेशी मैदा उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्ने हुँदा मैदा उद्यमीहरु निरुत्साहित बनेका संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ‘सरकारी नीतिका कारण अबको केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प छैन’-संघका अध्यक्ष श्रेष्ठले भने । मूल्य अभिबृद्धी कर नहटाए अब आँटाको मूल्य केजी रु.५ देखी ६ सम्म बढ्ने संघले जनाएको छ ।

ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँ पालिका, वडा नं. २ सानथाक्रामा विहीबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ । मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा व्यवसायिक साक्षरता तालिम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले ‘आजको आवश्यकता,ग्राहकहरुमाव्यवसायिक साक्षरता’ तालिम काठमाडौँमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरिकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशीलता लगायतको विषय बस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागिता रहेको थियो । बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाडौँबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लि.ले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथै तालिम अति महत्वपुर्ण रहेको धारणा व्यक्त गरेका थिए ।

आइतबार सार्वजनिक विदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि सरकारले आइतबार उपत्यकामा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको हो । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको थियो । उपत्यकाका नेवार जातिहरुका लागि बिशेष महत्व राख्ने रातो मच्छिन्द्र नाथको जात्रा देखाउने कार्यक्रममा पनि सरकारले विदा दिने निर्णय गरेको हो ।

कान्ति लोकपथको चिल्लो सडकमा ३ महिनापछि गाडी सरर (फोटो फिचरसहित)

काठमाडौँ । ६३ वर्ष भयो कान्ति राजपथको चर्चा हुन लागेको । ६० वर्ष अघि नै ट्रयाक खोलिएको पनि हो । तर यत्तिका वर्षसम्म सहजरुपमा गाडी चल्न सकेको थिएन ।  देशमा लोकतन्त्र आएपछि नाम परिवर्तन भएर कान्ति लोकपथ भन्न थालियो । लोकतन्त्र आएको पनि १३ वर्ष भयो । देशमा लोकतन्त्र आएसँग नाम फेरिएको कान्ति लोकपथको निर्माण अब भने अन्तिम चरणमा पुगेको छ । आगामी असोज महिनादेखि सो लोकपथको चिल्लो कालोपत्र सडकमा साना र ठूला सवारीका साधन(बस र मालबाहक ट्रक) सञ्चालन हुने भएको छ । २०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भएपनि विस्फोटक पदार्थको अभावले गर्दा तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ ।  हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीकाभैरवसम्म यो सडकको लम्बाई ७९ किमि छ । त्यसैगरी टीकाभैरवदेखि ललितपुरको सातदोबाटोसम्मको दूरी ११ किलो मिटर छ । बुद्धचोकदेखि टीकाभैरवसम्म कान्ति लोकपथ आयोजना र टीकाभैरवदेखि सातदोबाटोसम्म काठमाडौँ सडक बिस्तार आयोजना र डिभिजन सडक कार्यालयले कालोपत्रे गर्ने काम गर्दैै आएका छन् । कान्ति लोकपथ आयोजनाका इञ्जिनियर एवम् सूचना अधिकारी अमिन्द्र खड्काका अनुसार हेटौंडाबाट नारायणगढ–मुग्लिन–नागढुंगासम्मको दूरी २ सय १२ किमि छ । यता, हेटौँडा–टीकाभैरव–सातदोबाटोसम्मको जम्मा ९० किमि मात्रै छ । यसकारण कान्ति लोकपथ निर्माणपछि हेटौँडाबाट काठमाडौँ उपत्यका प्रवेश गर्न १३२ किलो बाटो छोटो पर्नेछ । हेटौँडा–नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ प्रवेश गर्ने बाटोमा जस्तै कान्ति लोकपथमापनि पहिरोको जोखिम रहेको छ । कान्ति लोकपथको तीनपाने, नयाँगाउँ, छपेली, काल्भेवी, सिमात र मकवानपुर गढी लगायतका क्षेत्रमा भने पहिरोको जोखिम हुने देखिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथको कूल ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ । वि.स.०१३ मा शुरु भएको आयोजनाको ट्रयाक ०१६ मा खोलिएको थियो । पहिलो संविधानसभा चुनावपछि लोकपथ स्तरोन्नतिको बहस चलेको थियो । ०६४ मा साढे पाँच मिटर चौडाइ बनाउने योजनासहित स्तरोन्नतिको काम अघि बढेको थियो । ०६७ मा चौडाइ सात मिटर पुर्याउने योजना बनेको पाइन्छ । आर्थिक वर्ष ०७१/७२ मा कान्ति लोकपथ बहुवर्षीय योजनामा परेपछि सडकको चौडाइ साढे आठ मिटर बनाउने गरी योजना अगाडि बढेको हो । सरकारले कान्ति लोकपथको स्तरोन्नति गर्न तीन अर्ब ३५ करोड विनियोजन गरेकोमा अहिलेसम्म दुई अर्ब १५ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति हुँदै, सयौँ गाडी ओहोरदोहोर उक्त सडकमा अहिले तीब्र गतिमा काम भइरहेको देखिन्छ । कान्ति लोकपथको बारेमा जानेका/सुनेकाहरु अहिलेपनि उक्त बाटो भएर काठमाडौँ ओहोर दोहोर गरिरहेका भेटिन्छन् । ठाउँ ठाउँमा काम भइरहेको छ, अहिले नै यात्रा गर्नु सास्तीपूर्ण रहेछ–काठमाडौँबाट हेटौँडा जाँदै गरेका एक यात्री उदय रिजालले भने । बाटो अप्ठ्यारो भएपनि उक्त बाटो भएर अहिलपनि सयौँ साना तथा हल्का सवारीका साधन चल्दै आएका छन् । शब्द/तश्वीरः खेम बोलखे/विकासन्युज

वित्तीय जागरणविना विकास सम्भव छैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताएका छन् । स्याङ्जाको वालिङमा दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् । गभर्नर डा. नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिनुपर्ने उल्लेख गर्दै युवालाई अब जागिरको पछाडि दौडाउने होइन, उनीहरुलाई उद्यमशीलता र व्यावसायिकतातिर लगाउनुपर्ने आवश्यकता छ भनेका छन् । उनले नेपालीहरु अझै पनि उर्वर भूमिको प्रयोग नगरी भारतबाट आयात गरेर तरकारी, फलफूल तथा खाद्यान्नको प्रयोग गर्नुले देशको अर्थतन्त्रमाथि नकारात्मक असर परेको बताए । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले कुन दफा लगाएर उद्योगीलाई कस्न सकिन्छ भन्ने सोचका साथ दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योगधन्दाको विकास हुन नसकेको बताएका छन् । त्यसैगरी, वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सरलरुपमा कर्जा पाउने वातावरणको सिर्जना नगरेसम्म मुलुकलाई आत्मनिर्भर समृद्धि बनाउने कुरा नारामै सीमित हुने धारणा व्यक्त गरेका छन् । ग्रामीण अर्थतन्त्रको विकास र लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यले मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवर्धन, बीमा समिति र वालिङ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा वालिङ नगरपालिकाभित्र रहेका २२ बैंक तथा वित्तीय संस्था सहभागी छन् । एक्स्पोमा उद्यमशीलताका बारेमा बहस, वित्तीय साक्षरतासम्बन्धी विशेष अन्र्र्तक्रिया गरिने बताइएको छ । रासस