विकासन्युज

युवालाई साबेल दिंदै प्रधानमन्त्री ओलीले भने-‘सबैलाई देशमै रोजगारी दिइन्छ’

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको आज उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौँतारिरहेका छन्, सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।” काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिइने उल्लेख गरे । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान् अभियानको एउटा दृष्टान्तका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भने । प्रधानमन्त्रीले प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउँदै ‘डिजिटल नेपाल’ बनाइने बताए । सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उहाँले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्व सक्रिय रहेको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ । ” मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय छन् भन्दै उनले हिंसा र आतङ्कतर्फ लागेका तत्व सफल नहुने बताए । प्रधानमन्त्री ओलीले दुई सय ४० वर्ष देशलाई अँध्यारामा राख्ने राजतन्त्र फेरि चाहियो भन्नेको पनि अब केही नलाग्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सुवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरे । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको स्पष्ट गर्दै चालू आर्थिक वर्षमा आंशिक रुपमा सो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले यो कार्यक्रमका लागि भक्तपुरका चार नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट पठाएको उल्लेख गर्दै आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गर्ने जानकारी दिए । सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाको तथ्याङ्कानुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिँदै उनले कृषिमा मात्रै १२ लाख र भवन निर्माण क्षेत्रमा सात लाखभन्दा बढी युवालाई रोजगार दिन सकिने बताए । प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, श्रम मन्त्रालयका सचिव महेश दहाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले सो कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको बताए । सो कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवाले रोजगारी पाएका छन् । करीब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगर प्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त व्यक्तिले आजै सडक खनेर कामको शुरुआत गरेका थिए । रासस

प्रधानमन्त्री ओलीको युरोप भ्रमण शनिबारदेखि, बेलायत र फ्रान्ससँग लगानी विषयमा छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लागेका हुन् । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको (२०३ वर्ष) मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ । यी विकसित मुलुकसँग नेपालले राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीको यो विदेशयात्रा हुन लागेको छ । यसअघि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए । प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवद्र्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओं) को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विट्जरल्याण्डको जेनेभामा रहने छन् । उनले आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तरराष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर हुने ठानिएको छ । जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने जनाइएको छ । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्ने उनले त्यहाँको बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीको त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणकै सिलसिलामा नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उहाँले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् । मन्त्री ज्ञवालीले भ्रमण युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने उद्देश्यमा केन्द्रित रहने बताए । भ्रमणको पूर्वसन्ध्यामा रेडियो नेपाल र नेपाल टेलिभिजनसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले जेनेभामा आइएलओको बैठकलाई गर्ने सम्बोधनमा नेपालको सो सङ्गठनसँगको सम्बन्ध र ऐक्यबद्धता तथा नेपालजस्ता अल्पविकसित राष्ट्रले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती एवं नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएका सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयलाई उठाउने जानकारी दिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले द्विपक्षीय मामिलाका साथै आर्थिक विकास र समृद्धिको बाटामा बेलायतको लगानी भित्र्याउने, द्विपक्षीय व्यापार अभिवृद्धि र प्रविधिका क्षेत्रमा सहयोगका लागि यो भ्रमण उपलब्धिमूलक हुने बताए । उनले फ्रान्समा रहँदा नेपालको आर्थिक विकास र व्यावसायिक क्षेत्रमा सहकार्यका लागि संवाद हुने जानकारी दिए । डा भट्टराईले भने, “लामो समयदेखि सीमित क्षेत्रमा खुम्चिएको नेपालको परराष्ट्र नीतिलाई अहिलेको राजनीतिक स्थिरता र समृद्धिको लक्ष्यका सन्दर्भमा त्यसभन्दा बाहिर गएर नेपाल राष्ट्र र जनताको हितमा ती सम्बन्धलाई उपयोग गर्ने नीतिअनुसार यो भ्रमण हुन लागेको हो ।” भ्रमण दलमा करीब २२ जना सहभागी हुनेछन् । रासस

५४ उत्कृष्ट महिला उद्यमी पुरस्कृत, प्रदेश नम्बर १ बाट मात्रै ११ जना

काठमाडौँ । सरकारले महिला उद्यमशीलता विकासमा हौसला प्रदान गर्ने उद्देश्यले मुलुकभरबाट उत्कृष्ट भएका महिला उद्यमीलाई सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा सातै प्रदेशबाट विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका महिला उद्यमीलाई सम्मान गरियो । उद्योगमन्त्री मातृकाप्रसाद यादवले उत्कृष्ट महिला उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गरे । पुरस्कृत हुने उत्कृष्ट महिला उद्यमीमा प्रदेश १ बाट ११, प्रदेश २ बाट तीन, प्रदेश ३ बाट १०, गण्डकी प्रदेशबाट सात, प्रदेश ५ बाट नौ, कर्णाली प्रदेशबाट छ र सुदूरपश्चिम प्रदेशबाट आठ रहेका छन् । मुलुकभरका १६५ महिला उद्यमीबाट ५४ उत्कृष्ट उद्यमीको छनोट गरिएको थियो । सम्मानित हुनेमा खाद्यान्न तथा लत्ता कपडा उत्पादन तथा सेवा क्षेत्रमा सक्रिय उद्यमी रहेका छन् । उनीहरुलाई सम्मानपत्रका साथै जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकार केन्द्रित रहेको बताउनुभयो । घरेलु उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले स्वदेशी उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तरीय बनाइनुपर्ने बताए । सरकार साना तथा ठूला उद्योगको विकास गर्न केन्द्रित भएको बताउँदै मन्त्री यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा उद्योग क्षेत्रको विकास अपरिहार्य भएको बताए । घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले रु पाँच करोडभन्दा बढी लगानी गरेको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको उनको भनाइ थियो । मन्त्रालयका सविच (वाणिज्य) केदारबहादुर अधिकारीले महिला सक्षम र सशक्तीकरण भए मात्र मुलुकले फड्को मार्ने उल्लेख गर्दै साना उद्यमीलाई सफल बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए । सरकारले कृषिजन्य तथा घरेलु उत्पादनलाई निकासी गर्न निर्यात मूल्यमा अनुदान दिइएको उनले बताए । ‘एक स्थानीय तह, एक उत्पादन’लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै सचिव अधिकारीले स्थानीय तहसँग समन्वय गरेर अगाडि बढेमा महिला उद्यमशीलता विकासमा थप टेवा मिल्ने बताए । साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले महिला उद्यमशीलता विकासबाट मात्र महिलाको आर्थिक सशक्तीकरण सम्भव भएको उल्लेख गर्दै सबै महिलालाई उत्कृष्ट उद्यमी बनाउन सबैको सहयोगको खाँचो औँल्याए । उनले महिलालाई सफल उद्यमी बनाउन महासङ्घले सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महिला उद्यमी महासङ्घकी अध्यक्ष महालक्ष्मी श्रेष्ठले समग्र मुलुकको विकासका लागि महिला उद्यमीलाई राज्यले लगानी गर्नुपर्नेमा जोड दिँदै महिला उद्यमीको क्षमता अभिवृद्धि, प्राविधिक सहायता र बजार व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक भएको बताइन् । सम्मानित महिला उद्यमी पार्वतीकुमारी चौधरीले सरकारले गरेको सम्मानबाट महिला उद्यमीलाई थप हौसला मिलेको बताइन् । महिला उद्यमी ऋण कोषबाट न्यून सङ्ख्यामा महिलाले सेवा लिएको उल्लेख गर्दै उनले ऋण भुक्तानी गर्नुपर्ने तीन वर्षको समयलाई बढाउन सरकारसँग आग्रह गरिन् । अर्का सम्मानित उद्यमी निर्मला चौहानले सरकारको साथ र सहयोगविना महिला उद्यमशीलताको विकास गर्न नसकिने प्रष्ट पार्दै सबैको सहयोगको अपेक्षा गरिन् । रासस

वान प्लस ७ प्रो अब नेपालमा

काठमाडौँ । परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषितगदैँ, वानप्लस  ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ । वान प्लस नेपाली बजारमा ६ जीबी र्याम/१२८ रोम-रु ८९००० मा र ८ जीबी र्याम/२५६ रोम -रु ९९९०० र १२ जीबी र्याम/२५६ रोम- रु १०९००० मा उपलब्ध रहेको छ ।

आरएमडीसीले फिल्ड कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम जेष्ठ २२ देखि २४ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २० वटा लघुबित्त बित्तीय संस्था र ४ वटाका लघुबित्त कार्यक्रम संचालन गरिरहेका सहकारी संस्थाहरुका प्रतिनिधि सहित ३४ जना बरिष्ठ फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले गरेका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा फरर्वाड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लि.का सहायक महाप्रबन्धक कृष्ण ्रसाद भट्टराई र जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का तालिम बिभाग प्रमुख सुदिपकुमार मण्डलले भुमिका निर्वाह गरेका थिए ।

पानी जहाज चलाउन २ करोड ६२ लाख बजेट !

काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि जम्मा २ करोड ६२ लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि पानी जहाज कार्यालयलाई ५४ लाख रुपैंयाँ चालु खर्च र २ करोड ८ लाख पुँजीगत खर्च विनियोजन गरेको हो । प्रधानमन्त्री केपी ओलीले २०७५ फागुन २ गते पानी जहाज कार्यालय उद्घाटन गरेका थिए । कार्यालयमा सहसचिवको नेतृत्वमा १६ जना प्राबिधिकहरुको दरबन्दी रहेको छ । २०७५ पुस ३० गतेको मन्त्रिपरिषद बैठकले पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले नारायणी नदिमा पानी जहाज चलाउन सक्ने प्रारम्भिक प्रक्षेपण गरेको छ । भारतको मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि(नारायणी)सम्म आउने पानी जहाजको डीपीआर तयार पारिसकेको छ । जुन ठाउँ नेपालको सिमा भन्दा ४० किलोमिटर तल बाघा भन्ने स्थानमा पर्छ । गंगा नदि बेसिनबाट कार्गाे र पेसेन्जर बोक्ने जहाज नारायणी नदि हुँदै नेपालसम्म आईपुग्ने बताईएको छ । नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला परेको बताए । ‘हामीले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला पारेका थियौं, भारतले बाघासम्मको डीपीआर नै बनाईसकेको छ’, बेलबासेले भने । यो अध्ययनले नेपाललाई गंगा नदि हुँदै बंगलादेशसम्म पानी जहाज सञ्चालनका लागि बाटो खुल्ला गरेको थियो । दासढुंगाबाट नेपाल भारत सिमा हुँदै बेथिया, धुमरिया घाट, कल्याणपुर, वैशाली हुँदै गंगा नदिसम्म पानी जहाज कुद्ने भनिएको छ । त्यो जहाज गंगा नदिबाट कोलकत्ता तथा हल्दियासम्म पुग्नेछ । यसरी पानी जहाज सञ्चालनमा आएपछि नेपाललेको आयात तथा निर्यातमा ढुवानी लागत स्वात्तै घट्ने बताइन्छ । यस अघि नेपाल भारतीय सिमाको बाल्मिकी नगरसम्म अध्ययन गर्ने भनिएको थियो । पानी जहाज सञ्चालनबारे थप छलफल गर्न भारतीय टोली मार्च ३ देखि ९ तारिखमा नेपालमा आएको थियो । पानी जहाज सञ्चालनका लागि भारतले तयार पारेको रुट प्रधानमन्त्री केपी ओलीले २०७४ चैत २३ गते गरेको भारतको भ्रमणका क्रममा इनल्याण्ड वाटर वे सम्बन्धी सहमति गरेका थिए । सरकारले पानी जहाजको सम्भाव्यता अध्ययनका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो । नेपाली भूभागमा पानीको गहिराई र नदिको चौँडाई पानी जहाज सञ्चालनका लागि उपयुक्त हुन सक्ने अवस्थामा छ । तर भारतले बिभिन्न ठाउँमा नदि तथा बाँध बाधेकाले पानीको सतह र नदिको चौँडाई कम भएकाले सिमा पारी भने केहि समस्या हुनसक्ने बताइन्छ । ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनहरुले देखाएका छन् । भारतले गंगा नदिको कालु घाटमा पानी जहाज सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गरिरहेको छ र त्यहाँसम्म २ हजार मेट्रिक टनका जहाज ल्याउने योजना बनाएको छ । पाँच सय टन क्षमताका पानी जहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा मृत्यु भएका बिमितको परिवारले अब २८ लाख पाउने

काठमाडौँ । सवारी साधनमा रहेको जोखिमलाई मध्ये नजर गर्दै सवारी दुर्घटनाबाट ज्यान गुमाउने बिमितको परिवारका सदस्यले २८ लाख रुपैयाँ हात पार्ने भएका छन् । पहिले कायम रहेको ८ लाख बीमांक रकमलाई २८ लाख रुपैयाँ बनाउन लागेको बीमा समितिले जनाएको छ । सोही निर्णयमा यातायात व्यवस्था विभागले समेत सहमती जनाएको छ । साथै, स्पाईनल कर्ड इन्जुरी (मेरुदण्ड)को समेत बीमा गर्न आवश्यक रहेको बताइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार बीमांक रकममा यसरी हेरफेर भएको हो । यसरी पाईन्छ २८ लाख २८ लाख रुपैयाँ रकम पाउन टाउको र स्पाईन कर्ड इन्जुरी भएको हुनु पर्नेछ । बिमितको उपचारको लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपचारको क्रममा बिमितको मृत्यु भएमा २८ लाख रुपैयाँ बिमाङ्क निजका परिवारका सदस्यले पाउँछन् । बिमितले मृत्युवरण मात्र गरेको अवस्थामा १० लाख रुपैयाँ छुट्याईएको हो भने उपचारका लागि मात्र भनेर ३ लाख रुपैँया छुट्याईएको छ । तर, उपचारको क्रममा स्पाईनल कर्ड इन्जुरी र टाउकोमा चोट लागेको भएमा थप १५ लाख रुपैयाँ छुट्याईएको छ । यस्तै, मोटर बीमाका कारण बिमितको मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने सम्भावना रहेको बीमा समितिले जनाएको छ ।

कानुन विपरित कार्य गर्ने उद्योगी, व्यवसायीलाई सजाय दिन नहिच्किचाउ : राज्यमन्त्री चौधरी

काठमाडौं । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य ११ औं खाद्य स्वच्छता दिवसको मनाएको छ । साे कार्यक्रममा  कृषि तथा पशुपन्छी विकासराज्यमन्त्री चौधरीले कानुन विपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन नहिच्किचाउन आग्रह गर्दै गुणस्तरीय उत्पादनलाई प्रोत्साहन र न्यून गुणस्तरको उत्पादनलाई झुक्काई विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने बताए । विभागले अझै आफ्नो भुमिका विस्तार गर्न अनुगमनलाई तिब्रता दिई आम जनसमुदायमा खाद्य स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गराई अगाडी बढ्नु पर्ने राज्यमन्त्री चौधरीले भने । उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले जनचेतनाको माध्यमबाट खाद्य स्वच्छता सम्बन्धी विषयलाई अगाडी बढाउनका लागि शिक्षणसंस्था तथा विद्यार्थीको विशेष भुमिका रहने बताए । उनले भने ‘खाद्य स्वच्छता र सुरक्षामा हाम्रो परम्परा, धर्म संस्कृति भन्दा माथि उठेर खानेबानीमा परिवर्तन गर्नु आवश्यक रहेको कुरा जोड दिँदै सबैजना नीति नियम र कानुनको दायरामा रहेर हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी निभाउन सके मात्र खाद्य स्वच्छता कायम हुन सक्छ ।’ मन्त्रीले विभागको संरचना विस्तार गरिएको बताउँदै सोही बमोजिम बढी खाद्य स्वच्छता कायम राख्न नियमित अनुगमन तथा क्वारेन्टाइन जाँचलाई अझै मजबुत बनाउने निर्देशन दिए । कार्यक्रम विभागको प्राङ्गणबाट शुरु भएको हो भने कर्मचारी, उपभोक्ता संघसंस्था, विद्यार्थी, उद्यमी, व्यवसायी लगायतका विभिन्न निकायका सरोकारवालाहरुको संलग्न प्रभातफेरी जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पुगी विसर्जन भएको थियो । सन्देशहरु समावेश भएका प्लेकार्ड सहितको प्रभातफेरीको क्रममा खाद्य स्वच्छता सम्बन्धी चेतनामुलक पर्चा सर्वसाधारणलाई वितरण गरियो । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.गोविन्दप्रसाद शर्माले मासु तरकारी र दुधमा बढी ध्यान दिएर प्रभावकारी अनुगमन गर्न सुझाव दिँदै आवश्यक सहयोगको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सभाध्यक्ष विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवसको सान्दर्भिकता उद्देश्यका साथै महिनाव्यापी भएको कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै सरोकारवालाहरुको यसमा मुख्य भुमिका हुने कुरामा जोड दिएका थिए । खाद्य स्वच्छता महिना मनाउने क्रममा स्वच्छता र गुणस्तर कायम गर्न मुख्य सरोकारवाला तथा विभाग र विभागको मातहतमा रहेका ६ कार्यालयहरु, २४ शाखा कार्यालयहरु र १२ आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट देशव्यापी रुपमा जेठ महिना भरी विभिन्न क्षेत्रमा आवद्ध व्यापारी, व्यवसायी तथा सर्वसाधारण एवं सरोकारवाला निकायबीच अन्तरक्रिया भई सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा सम्पन्न मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले उत्कृष्ट खाद्य उत्पादन गर्ने उद्योग, विशिष्ट व्यक्ति, कर्मचारी र सरोकारवाला निकायलाई पुरस्कृत तथा सम्मान गरेका हुन् । मन्त्रीले हिमालायज स्प्रिंग वाटर प्रा.लि, धुन्चे ८, रसुवा तथा घरेलु साना उद्योग मध्येबाट कंचन पाउरोटी उद्योग, बिर्तामोड ४ झापा, श्री साई ड्रीकिंग वाटर ईन्डष्ट्रिज जनकपुर, पौडेल बेकरी हेटौडा ४, मकवानपुर साइकृपा चिया उद्योग, बुटवल, रुपन्देही हुलास खाद्य उद्योग प्रा.लि. कोहलपुर, बाँके अभिषेक मौरी पालन फर्म, घोडाघोडी न.पा.२, कैलाली रनेपाल अर्गेनिक कफी प्रोडक्ट्स, तीनथाना काठमाडौंलाई प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै केन्द्रिय प्रविधि क्याम्पस धरानका सहायक डिन प्रा.डा. धनबहादुर कार्कीलाई सम्मान गरिएको हो भने विभागका काम गर्ने उत्कृष्ट कर्मचारीलाई पुरस्कार गरेका हुन् ।