मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी
काठमाडौं। शनिबार भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको हो। प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिब ६ सय बढी महिला तथा पुरुष खेलाडीहरू सहभागीता रहेको थियो। प्रतियोगिताको प्रमुख अतिथीमा एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखेको रहेका थिए।
रविन्द्र खड्का कलाकार संघको अध्यक्षमा निर्वाचित , अभिनेत्री उप्रेती उपाध्यक्षमा
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का निर्वाचित भएका छन् । तीन वर्षका लागि हुने कार्यकालका लागि खड्काले उनको प्रतिस्पर्धी सरिता लामिछानेलाई ५७ मत पछि पर्दै जीत हासिल गरेका हुन् । उपाध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले प्रतिस्पर्धी मनोज के.सी, सानुकुमार ताम्राकार, विनोदकुमार भट्टाराईलाई पछि पार्दै २४३ मत ल्याउँदै उच्च स्थान हासिल गरेकी हुन् । त्यस्तै सानुकुमार ताम्राकारले १७५ मत ल्याएर उपाध्यक्ष पदमा विजय भएका छन् । ३८७ जना कलाकारले मतदान गरेका थिए । कलाकार संघको महासचिव पदमा संजय खतिवडालाई ३१ मतले पछि पर्दै चेतबहादुर सिंहले पद हासिल गरेका हुन् । त्यस्तै सचिव पदमा पनाह अधिकारीले २५ मतले कविता गेलाल (शर्मा)लाई पछि पार्दै मनोनित भएका हुन् । कोषाध्यक्ष पदमा सुनिल कटुवाल निर्विरोध चयन भइरहेको छन् । संघको सह कोषाध्यक्ष पदमा पवित्रा आचार्यले धनबहादुर वम्जन(डि.वि)लाई ८७ मतले पछाडी पार्दै आचार्य विजय भएकी हुन् । त्यस्तै १० जना निर्वाचित सदस्यमा शितल केसीले सर्वाधिक मत ल्याएका छन् । अन्य ९ सदस्य तर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले मनोनित भएका छन् ।
एमबीबीएसका विद्यार्थी शिशिर खनाल ८ दिनपछि कीर्तिपुरको जंगलमा मृत फेला
काठमाडौं। काठमाडौं मेडिकल कलेजमा अध्ययनरत २४ वर्षीय शिशिर खनालको शव भेटिएको छ। गत जेठ् १७ देखी हराईरहेका शिशिरको शव कीर्तिपुरको पुष्पलाल चोक नजिकै भेटिएको हो। ८ दिन देखी हराईरहेका खनालको फोनको लोकेसन अन्तिम पटक ललितपुरको धोबिघाटमा देखिएको थियो। उनी चढ्दै आएको बा ८७ प- ७६०८ को रातो रङको पल्सर मोटारसाईकल केही दिन अघि कीर्तिपुर नजिकै फेला परेको थियो। शिशिरले केही समय अगाडि आफ्नो आमाबुवा दुर्घटनामा गुमाएका थिए। उनी पढाईमा अब्बल रहनुको साथै डिप्रेसनका बिरामी समेत रहेको उनको नजिकैको आफन्तले जानकारी दिएका छन्।
‘जलविद्युतमा प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्नुपर्छ’
काठमाडौं । अधिकांश जलविद्युत कम्पनीका लगानीकर्तालाई प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले जलविद्युत क्षेत्रमा लगानीको प्रतिफल पाउन समय लाग्न सक्छ भन्दै सो कुरा बताएका हुन् । जलविद्युतमा कम्तिमा ५ वर्ष घटीको कुनैपनि प्रोजेक्ट छैनन्, त्यसैले यसमा प्रतिफल लिन लामो समय कुर्नुपर्ने उनले प्रष्ट्याए । हालसम्म सरकारको जलविद्युत कार्यक्रम अन्तर्गत तीन वटा कम्पनीले सेयर निष्काशन गरिसकेका छन् । आम नेपालीलाई वित्तीय उपकरणमा लगानी गराउनलाई जलश्रोत एउटा राम्रो ठाउँ हो । तर यो पनि स्पष्ट हुनुपर्छ की सबै जलविद्युत आयोजनाहरु सबैले उच्च प्रतिफल दिने नहुन पनि सक्छन् । रेलको उदाहरण दिँदै उनले सरकारले पनि आफ्नो लगानीको प्रतिफल खोज्नलाई लामो समय पर्खिन सक्ने बताएका छन् । सरकारले गरेको लगानी पर्खेर पनि प्रतिफल लिनुपर्ने हुन्छ । जस्तै, शिक्षा स्वास्थ्यमा गरेको लगानीको प्रतिफल पाउन दशकौं कुर्नुपर्ने हुन्छ । तर नीजि क्षेत्रमा लगानी गर्दा त्यस्तो दशकौं वर्ष पर्खिनु पर्ने हुँदैन । कमोडिटी मार्केट लामो समयसम्म अनऔपचारिक ढंगले चल्यो । औपचारिक गराउँन धेरै ढिलो गरियो । औपचारिक गरिएपनि व्यवस्थित बनाउन अझै सकिएको छैन । यी मार्केटहरु भनेको जोखिममा रहेका काम गर्ने संस्थाहरु हुन् । यस्ता संस्थाहरुको नियमनकारी संस्थाहरु पनि त्यत्तिकै चनाखो र त्यत्तिकै प्रभावकारी हुनुपर्ने खतिवडाले बताए । समग्रमा वित्तीय क्षेत्रलाई सन्तुलित ढंगले चलायमान बनाउन सबै नियमनिकायहरु बलियेचएक आपसमा मिलेर गृहकार्य गर्नुपर्ने हुन्छ । मुलुकको अर्थतन्त्र उदायमान छ, आर्थिक वृद्धिदर ८.५० प्रतिशत बनाउनेमा छौं । बैंक तथा वित्तीय संस्थाहरु नाफामा छन् । जसको प्रतिबिम्ब भनेकै सेयर बजार हो । अबको काम भनेको पुँजीबजार वा धितोपत्र बोर्डलाई अझ सबल बनाउनु हो । बजारमा धेरैभन्दा धेरैको सहभागिता जुटाउनु हो । सम्पत्तिमा महिलाको हक भनेर जोड बल गरिरहेका छौं । कोही बेला घर जग्गा मा १० प्रतिशत छुट दिएर महिलाको स्वामित्व बढाउन धेरै कोसिश गरेका थियौं । त्यो कोशिस गर्दा गर्दै पछिल्लो चरणमा छुटको अनुवाद २५ प्रतिशत पुर्याईएको छ । तर त्यसको रिजल्ट हाल सरकारी घरजग्गामा महिलाको स्वामित्व ८ प्रतिशतबाट बढेर करिब २८ प्रतिशत पुगिसकेको छ । त्यस्तै, सेयर बजारमा पनि महिलाको स्वामित्व र लगानी बढाउनलाई धितोपत्र बोर्डले थप कार्य गनुपर्ने देखिएको उनले बताए । सम्पत्तिमा महिला पुरुषको हक अधिकार सम्मान गर्दै लैजाने हो भने सेयर बजारमा पनि महिलाको सहभागिता बढाउनु पर्ने देखिएकाे खतिवडाले बताए ।
राष्ट्र बैंकबाट विदा लिदै नारायण पौडेलले भने–‘तपाईहरु सबैको भलोहोस्’
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले आजबाट राष्ट्र बैंकबाट अवकाश पाएका छन् । कार्यालय नगई उनले सामाजिक सञ्जालबाट आफू सेवानिवृत भएको जनाउदै राष्ट्र बैंकमा कार्यरत सबैको भलो चिताएका छन् । ३० वर्षे सेवाअवधिका आधारमा अनिवार्य अवकाश लिनु नपर्ने गरि नेपाल राष्ट्र बैंकले २०७४ कात्तिकमा संशोधन गरेको कर्मचारी नियामावली कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि पनि त्यसको कार्यान्वयन नहुँदा पौडेलसहित चार कार्यकारी निर्देशकले आजबाट अनिवार्य अवकाश पाएका छन् । नारायण पौडेल ‘आज भन्दा ठिक ३० वर्ष अघि २०४६ जेठ २५ गते नेपाल राष्ट्र बैंकको अधिकृत तृतीय पदमा सेवा प्रवेश गरी आजबाट सेवानिवृत्त भएको छु । यस अवधिमा आदरणीय अग्रज, समकक्षी एवम् अन्य सम्पूर्ण साथीहरूसंग विभिन्न हैसियतमा संगै काम गर्ने सुअवसर प्राप्त भयो । पछिल्लो समयमा पत्रकार साथीहरुसंगको सामिप्यमा रहेर काम गर्ने भूमिकामा पनि रहेँ । सँगै रहँदा, बस्दा र सहकार्य गर्दा यदाकदा हामीबीच केही तितामिठा अनुभव पनि रहे होलान्, ती चिरकाल पर्यन्त भने होइनन् । आगामी दिन सबैका लागि शुभ हुन्, शुभ रहुन्, सबैको भलो होस्’ उनले फेसबुकमा लेखेका छन् । पछिल्लाे समय उनी राष्ट्र बैंककाे नियमन विभाग प्रमुख र प्रबक्ताकाे जिम्मेवारीमा थिए । शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक अनिर्णयकाे बन्दी बन्दा विदामा बसेका कार्यकारी निर्देशकहरु पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले निराशजनक रूपमा अवकाश पाएका छन् । उनीहरूले इच्छाएकाे अवस्थामा अदालतकाे सहयाेगमा पुर्नवहालीकाे सम्भावना रहेकाे कानुनव्यवसायीहरू बताउँछन् ।
ठमेल पर्यटन विकास परिषद्को चुनाव आज, १५ पदका लागि ३ समूहबाट ३६ जनाकाे उम्मेदवारी
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिको लागि आज निर्वाचन हुँदैछ । नयाँ बजारस्थिति मल्टि भेन्यूमा हुदै गरेको चुनावी प्रतिस्पर्धामा ७ पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिका लागि ३ प्यानलबाट ३६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा प्रकाश नरसिंह राणा, अर्जुनलाल प्रधान, र समिर गुरुङ्गबीच प्रतिस्पर्धा हुँदैछ । राणाले नेतृत्व गरेको समूहबाट ३ जना उपाध्यक्ष पदमा भविश्व शर्मा, राजुमान डंगोल र गीता गुरुङ्ग उम्मेदवार बनेको छन् । यस समूहमा महासचिवमा धुर्ब अधिकारी, सचिवमा दावाङ्ग तामाङ्ग, कोषध्यक्षमा रामकुमार थपलियाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र ब दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ्ग, कर्म घले, केशव कुमार बस्नेत, सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएको ठमेल पर्यटन विकास परिषदको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, अध्यक्षका उम्मेदवार अर्जुनलाल प्रधान समूहबाट उपाध्यक्षमा महेश महर्जन, टाँसी गुरुङ्ग, पाल्साङ गुरुङ, महासचिवमा शहदेव धमला, सचिवमा बद्री प्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु र सदस्यहरुमा गोपाल गुरुङ्ग, नरेन्द्र बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद प्रधान, कुइसाङ दोर्जे लामा र विनोद श्रेष्ठ रहेका छन् । समिर गुरुङले नेतृत्व गरेको तेस्रो समूहबाट उपाध्यक्षमा गोविन्दप्रसाद पन्थ, रन्तप्रसाद दुलाल, सुनिता श्रेष्ठ छिरिङ्ग, महासचिवमा नारायण खनाल, सचिवमा रामचन्द्र गिरी, कोषाध्यक्षमा रामशरण ढकाल, सदस्यहरुमा जनक सिं तामाङ, महेश पन्त उम्मेदवार छन् । १५ पदका लागि तीन समूह मध्ये राणाको समूहले १४ जनाको उम्मेदवारी दिएको छ । प्रधान समूहबाट १२ जनाको उम्मेदवारी परेको छ भने गुरुङ्ग समूहबाट ९ जनाको मात्र उम्मेदवारी परेको छ । व्यवसायिक रुपमा साझा हितको कुरा गरे पनि राजनीतिक पार्टीसँग निकटताका आधारमा व्यवसायहरु फुटेर चुनावी प्रतिस्पर्धामा गएको देखिएको छ । तीन वटै समूहले फरक फरक स्थानमा चुनावी पार्टी आयोजना गरे मतदातालाई प्रभावित पारेको देखिन्छ । परिषदमा ठमेल क्षेत्रका करिब ८०० पर्यटन व्यवसायी सदस्य रहेका छन् ।
आजबाट मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिता
काठमाडौं। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तरराष्ट्रिय डोजो प्रतियोगितामा आज देखी सुरु हुने भएको छ। प्रतियोगिताको लागि नेपालबाट २ प्रतियोगी छानिएका छन्। प्रतियोगितामा भारत, भुटान तथा अन्य केही राष्ट्रको पनि सहभागिता रहेको छ। नेपालबाट महिला तर्फ ३५ केजी समुहका गोंगबु डोजोकी पाल्सँग गुरुङ र २५ केजी समुहका सानीश चौधरीले भाग लिदै छन्। प्रतियोगिता २ दिन संचालन हुने कार्यक्रम संचालक छत्र आलेले जानकारी दिएका छन्।
राष्ट्र बैंकको बोर्ड बैठक निर्णयविहीन, १५१ जनाकाे नियुक्ति र २२४ जनाकाे प्रमाेशनले अवस्था फरक
काठमाडौं । शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक विना कुनै निर्णय टुङ्गिएको छ । ३० वर्षे सेवा अवधि पुरा भएका कर्मचारीलाई अनिवार्य अबकाश दिने वा नदिने भन्ने निर्णय लिने अधिकार राष्ट्र बैंक सञ्चालक समितिमा भएको सर्बोच्च अदालतको पूर्ण फैसला आएपछि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक विना निष्कर्ष सकिएकाे हाे । शुक्रबारको बोर्ड बैठकमा ३० वर्षे सेवा अवधि पुरा गरि अवकाश लिनुपूर्व विदामा बसेका चार कार्यकारी निर्देशकको विषयमा निर्णय गर्ने अजेण्डा थियो । उक्त अजेण्डामा छलफल भएको तर सबै सञ्चालकहरुको उपस्थिति नभएको कारण निर्णय हुन नसकेको एक सञ्चालकले बताए । विदामा बसेका कार्यकारी निर्देशकहरुले राष्ट्र बैंकको जागिर निरन्तता दिलाउन निकै पहल गरेका थिए । उनीहरुलाई निरन्तरता दिने वा नदिने विषयमा गर्भनरमाथि दवाव परेको थियो । चर्को दवावपछि राजधानी बाहिरको भ्रमण छोट्याएर गभर्नर चिरञ्जीवि नेपालले शुक्रबार नै राजधानी आएको थिए भने साँझ बैठक राखेका थिए । तर बैठकमा राष्ट्र बैंकको सञ्चालक समिति सदस्य समेत रहेका अर्थसचिव राजन खनाल र डा सुबोध कुमार कर्ण बैठकमा उपस्थित भएनन् । ‘सर्वोच्च अदालतले आफ्ना कर्मचारीको सेवा अवधि तोक्ने अधिकार राष्ट्र बैंकको अधिकार क्षेत्र भएको व्याख्या गरिदिएको छ । यो खुशीको कुरा हो । अब यस विषयमा के निर्णय लिने भन्ने अजेण्डा बोर्डको पूर्ण बैठकमा छलफल हुन्छ’ बैठकमा सहभागी एक सदस्यले भने । शुक्रबार बोर्ड बैठकले कुनै पनि निर्णय नलिदा विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य निराश बनेका छन् । अब उनीहरूले जेठ २६ गतेदेखि अवकास पाउने छन् । २६ गते आइतबार पनि काठमाडौं उपत्यकामा विदा परेकोले उनीहरुले अवकाश पाईसकेपछि मात्र बोर्ड बैठक बस्ने देखिएको छ । ३० वर्षे सेवा अवधिका कारण जेठ २६ गतेबाट अवकाश पाउन लागेका उनीहरु बैशाख २६ गतेदेखि विदामा बसेका छन् । यसअघि राष्ट्र बैंककले कर्मचारी नियमावली संशोधन ३० वर्ष सेवा अवधि पुरा गरेपछि अनिवार्य अवकाश लिनु पर्ने व्यवस्था खारेज गरेको थियो । तर त्यसको कार्यन्वयन गर्ने क्रममा मुद्दामामला परेपछि राष्ट्र बैंकले अप्ठ्यारोमा परेको थियो । ‘अहिले अवस्था फेरिएको छ । यो अवधिमा राष्ट्र बैंकले एक सय ५१ नयाँ कर्मचारी नियुक्ति गरिसकेकाे छ, दुई सय २४ जना कर्मचारीको प्रमोशन भएकाे छ’ स्रोतले भन्यो–‘नयाँ परिवेशमा राष्ट्र बैंकले आफ्नो आवश्यकता अनुसार निर्णय लिन्छ ।’ स्राेतका अनुसार यस बीचमा अवकाश पाएका सबै कर्मचारीलाई फिर्ता ल्याउदा राष्ट्र बैकले धान्न सक्दैन । कर्मचारी व्यवस्थापन गर्न गाह्रो हुन्छ । कोही अदालत गएर पुनः वहालीको आदेश लिएर आउँछन् भने त्यो वाध्यात्मक अवस्था हुन सक्छ ।