विकासन्युज

आर सिरिजका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने ओपोको घोषणा, यस्तो छ नयाँ योजना ?

काठमाडौं । ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भर्खरै रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । रेनो र रेनो १०एक्स जुमका लागि चलिरहेको चर्चाकाबीच उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत, उपभोक्ता माझ आफ्नो सेवा पु¥याउने सोचका साथ कम्पनी परिवर्तन उन्मुख भएको हो । ओपोका उपाध्यक्ष शेन यिरेनका अनुसार रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक बिक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको हो । ओपोको ‘क्लासिक हलमाकर्’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् । ओपो रेनो सिरिजको ५जी–रेडी भर्जनपनि सार्वजनिक गर्ने ओपोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४-ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी र्याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तीब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ । ओपो रेनो १०एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडी+ एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ । प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफ र १.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स ५८६ सेन्सरको प्रयोग गरिएको छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ ।

नेपाल आईडलका विजेता रवी र प्रतिस्पर्धी अस्मिताको ‘हामी किसानी’ गीत सार्वजनिक

काठमाडौं । गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ युटुव मार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । नेपाल आईडलका विजेता रवी ओड र प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छ । काठमाडौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ । भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरु देख्न सकिन्छ । उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाँउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पशुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहित गरेका छन् । पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाँउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाँउमा बाझो हुदै गएको छ । गाँउ घरमा बृद्धबृद्धा तथा बालबालिका मात्रै रहेको यथार्थलाई प्रस्तुत गरेका गीतकारले भने । भिडियो हेर्न क्लिक गर्नुहोस् ।

१०० मेगावटको नीलगिरि हाइड्रोपावर निर्माण शुरु, चार वर्षभित्रै सक्ने लक्ष्य

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।नीलगिरिपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिएका छन् । त्यस्तै, नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पु¥याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पु¥याउन काम शुरु गरिएको छ । यसरी, डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११।५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताएका छन् । “नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ ।” पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी गर्न र आवत–जावत गर्न सहज भएको छ । १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ । चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ ।उक्त आयोजना आगामी चार वर्षभित्र पूरा गरिने लक्ष्य छ । विकट भएर पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताए । ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाका लागि ठेकेदार कम्पनीसमेत छनोट भइसकेको छ । यहाँबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशनमा पु¥याई केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । नारच्याङमा हाल दश वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, चार मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेको समेत स्थानीयवासी सुवास विश्वकर्माले बताएका हुन् । रासस द्धारा

योगीकोटी-धकधई प्रसारण लाइन संचालनमा, भैरहवा क्षेत्रको विद्युत् आपूर्ति सुधार हुने

काठमाडौं । रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी-धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । औद्योगिक क्षेत्रको रुपमा तीब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट संचालनमा आएको हो । भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र ९सेज०मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ । योगीकुटी-धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘योगीकुटी सबस्टेसनबाट ४/५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने माग अनुसार विद्युत आपूर्ति गर्न सकिरहेका थिएनौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन संचालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङ लगायतका समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’ उनले भैरहवा सेज परिसर भित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३/११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ । नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा संचालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए । बझाङको बाघथला सबस्टेसन संचालन सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि निर्माण गरिएको बाघथला सबस्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा ल्याइएको हो । सबस्टेसनबाट बुंगल नगरपालिका र केदारस्यूँ, वित्थडचिर,थलारा तथा दुर्गाथली गाउँपालिका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिए । उनले बैतडीको खोर्पेबाट करिब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत् लगेर बाघथला सबस्टेसनमार्फत वितरण गरिएको बताए । सबस्टेसन निर्माणका लागि २०७४को वैशाखमा ५ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुर्खेतको बबियाचौर सबस्स्टेसनको निर्माण सम्पन्न सुर्खेतको ग्रमिण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३/११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको छ । सबस्टेसनबाट सुर्खेतको चार गाउँपालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । वीरेन्द्रनगरबाट बबियाचौरसम्मको करिव ४० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । लाइन निर्माणमा वन क्षेत्रको प्रयोग लगायतका कारणले समस्या छ । यसले गर्दा निर्माण प्रभावित भएको सिंहले बताए । उनले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधानका लागि पहल भइरहेको र निर्माणमा कुनै अवरोध नभएमा तीन महिनाभित्रमा बबियाचौरमा विद्युत् पुर्याउन सकिने बताए । त्यसपछि सबस्टेसन चार्ज गरी संचालनमा आउने छ । सबस्टेसन निर्माणका लागि २०७२मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनबाट विद्युत वितरणका लागि टेण्डर भइसकेको सिंहले बताए ।

बीमा संस्थानद्धारा राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजनाबारे छलफल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्वारा राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना सम्बन्धमा सरोकारवालहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा संचालन कार्यविधि अनुसार नागरिक लगानी कोषबाट जारी गर्दै आएको नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना आगामी दिनमा राष्ट्रिय बीमा संस्थानबाट जारी तथा कार्यान्वयन गर्नको लागि आयोजना गरिएको थियो । उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरुमा निजामती किताबखानाको प्रतिनिधी, नेपाली सेनाको प्रतिनिधी, नेपाल प्रहरी प्रतिनिधी नागरिक लगानी कोषको कर्मचारी र अर्थमन्त्रालयको प्रतिनिधीको सहभागिता रहेको थियो। त्यसैगरी, बीमा संस्थानका नायब  महाप्रबन्धक महेश रिमालले स्वागतका साथै उक्त कार्यक्रमको उद्धेश्य माथि स्पष्ट पारेका थिए । आयोजक राष्ट्रिय बीमा संस्थान र सरोकारवालाहरु बीच अण्डरराइटिङ्ग, दावी, बीमा शुल्क जम्मा गर्ने लगायत अन्य बीमा सञ्चालन सम्बन्धी विविध विषयमा रहेर छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो। उक्त कार्यक्रममा बीमा संस्थानको तर्फबाट अण्डरराइटिङ्ग विभागको सह व्यवस्थापक विन्दु शर्माले बीमा अण्डरराइटिङ्ग सम्बन्धी स्पष्ट पारेका थिए भने दावी सम्बन्धी दावी विभागका सह व्यवस्थापक शिशिर देवकोटाले स्पष्ट पारेका थिए । त्यस्तै, नागरिक लगानी कोषको तर्फबाट व्यवस्थापक गोपाल घिमिरेले बीमा शुल्क जम्मा गर्दा आईपर्ने समस्या सम्बन्धी  कुरा राखेका थिए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाबाट आएको जिज्ञासालाई आयोजकको तर्फबाट संस्थानका प्रशासक कविप्रसाद पाठकले सम्बोधन गर्नुका साथै उक्त कार्यक्रमको सञ्‍चालन संस्थानको बजार व्यवस्थापन विभागका व्यवस्थापक अवि केशर ओलीले गरेका थिए ।

सहयोगि विकास बैंकको कामु सीईओमा सुन्दर खड्का, बैंकिङ क्षेत्रमा ३० वर्ष बढीको अनुभव

काठमाडौं । सहयोगि विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको सीईओ पदको कार्यभार विनय रिजालले सम्हालेका थिए । उनले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । सोही रिक्त हुन आएको सीईओ पदमा संस्थाले जेठ २६ गतेदेखि लागू हुने गरी कामु सीईओको रुपमा खड्कालाई नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का नागरिक लघुवित्त वित्तीय संस्थाको पूर्व एमडी र अरनिको डेभलमपेन्ट बैंकको पूर्व डीसीईओ थिए । त्यस्तै, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेका खड्का सूर्य डेभलपमेन्ट बैंकमा पूर्व सीईओको रुपमा कार्यरत थिए ।

स्वेडा लघुवित्तको विशेष साधारण सभा असार ३ गते, के-के छन् प्रस्ताव ?

काठमाडौँ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा असार ३ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय धादिङ धुनिवेशी नगरपालिका ६ धार्केमा अपरान्ह १ बजे साधारण सभा हुने जनाएको छ । साधारण सभामा एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्जर वा प्राप्ती गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थाको पूँजी बृद्धि गर्ने र सोही अनुसारको अनुपात कायम गर्ने प्रस्ताव सञ्चालक समितिले पेश गर्ने बताइएको छ । साथै हकप्रद बापतको सेयर खरिद गर्ने हक अरुपलाई बिक्री वा हक हस्तान्तरण बारेपनि छलफल हुने जनाइएको छ ।

नेप्सेको प्रष्टीकरण : अनलाइन प्रयोगकर्ताले १ मिनेट छिटो सूचना पाउँछन्

काठमाडौं । अनलाइन प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने तथ्य खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका अनलाइन प्रयोगकर्ताहरुले सामान्य प्रयोगकर्ताभन्दा १ मिनेट छिटो सूचना पाउने गरेको प्रष्ट पारेको हो । अनलाइन प्रयोगकर्ताले हेर्ने गरेको तथ्यांक र वेभसाइटमा देखिएको तथ्यांकमा फरक आएको समाचारका बीच नेप्सेले त्यस्तो फरक स्वाभाविक रहेको भन्दै आफ्नो सिस्टममा प्राविधिक समस्या नरहेको प्रष्टिकरण दिएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले ट्रेड क्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगकर्ताले जुनसुकै देशमा पनि वेभसाइट प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने गरेको र कुनै देशमा यो समय १५ मिनेटसम्म फरक पर्ने गरेको भन्दै नेप्सेको सिस्टममा भने त्यस्तो फरक १ मिनेट मात्रै रहेको बताए । उनले कुनै देशमा शुल्क तिर्नेहरुका लागि छिटो र नतिर्नेहरुका लागि ढिलो डाटा डिस्प्ले हुने व्यवस्था रहेको समेत जनाएका छन् । नेप्सेको यो स्पष्टिकरणले गर्दा युजरनेम र पासवर्ड नलिई सामान्य तरिकाले ब्रोकरमार्फत् कारोबार गर्दै आएका लगानीकर्ताहरुलाई अनलाइन प्रणालीमा सिफ्ट हुने दवाव पर्ने भएको छ ।