विकासन्युज

दिउँसो मालवाहक सवारी गुड्न रोक, ‘आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने’

काठमाडौँ । ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने उल्लेख गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार त्यस्तो रोकले आपूर्ति प्रणालीमा नै असर पर्नेछ । मन्त्रालयले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । चेम्बरले सवारी आवागमन सञ्चालनमा सहज तुल्याउन सडक निर्माण, विस्तार तथा मर्मत गर्ने एवम् अन्य पूर्वाधार विकास गर्ने, प्रविधिमा सुधारजस्ता वैकल्पिक व्यवस्था गर्नसमेत माग गरेको छ ।

दिगम्बर झाको उत्तराधिकारी खोज्दै सरकार, विवादरहित बन्ला नियुक्ति ?

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि विज्ञापन आह्वान गरेको छ । दीगम्बर झाको राजीनामापछि रिक्त भएको उक्त पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले दुई साताको समय दिएर आवेदनका लागि विज्ञापन खुला गरेको हो । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र स्नातकोत्तर उर्तीण भई कम्तीमा १० वर्ष सार्वजनिक प्रशासनको क्षेत्रमा काम गरेको व्यक्ति अध्यक्षका लागि योग्य हुने मन्त्रालयले जनाएको छ । इच्छुक व्यक्तिले असार ९ गतेभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न भनिएको छ । उम्मेदवारले आफ्नो व्यवसायिक योजना बनाई प्रस्तुत गर्नुपर्ने शर्त राखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण गत पुसदेखि कार्यबाहक अध्यक्षको नेतृत्वमा छ । गत पुस २१ गते तात्कालिन अध्यक्ष झाले राजीनामा दिएपछि यो पद रिक्त भएको हो, गत भदौमा मात्रै नियुक्ति पाएका झाले नियुक्ति पाएको ४ महिना नहुँदै राजीनामा दिएका थिए । देउवा सरकारले गरेका सबै नियुक्तिहरु खारेज गर्ने भन्दै तात्कालिन अध्यक्ष झालाई सरकारले गत बैशाखमा प्राधिकरणको अध्यक्षबाट वर्खास्त गरेपछि झाले सर्वोच्च अदालतबाट थमौती लिएका थिए । तर पछि उनी आफैंले राजीनामा गरेपछि फेरि गत भदौ २१ गते सरकारले उनैलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । सरकारले नै हटाएका झालाई पुनः नियुक्ति दिनुलाई सञ्चारमन्त्री गोकुल बास्कोटाले आर्थिक लेनदेनको प्रभावमा परेर झालाई नियुक्त गरेको भन्दै चर्को दवाव आएपछि झाले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै पदमा नरहने घोषणा गरेका थिए । उनी बाहिरिएसँगै सरकारले पुरुषोत्तम खनालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । वरिष्ठताका आधारमा पहिलो स्थानमा रहेका कार्यकारी निर्देशक आनन्दराज खनाललाई मन्त्रालयमा तानेर खनाललाई सरकारले कार्यबाहक अध्यक्ष बनाएको थियो । सूचना प्रविधिको बदलिँदो युगमा यो क्षेत्रको नियमन गर्ने प्राधिकरणको अध्यक्ष शक्तिशाली र आकर्षक पद मानिन्छ । जीएसएम मोबाइलसेवा प्रदायक, आधारभूत टेलिफोन सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक, लिमिटेड मोविलिटी सेवा, इन्टरनेट सेवा लगायतका सेवाप्रदायकहरुको सञ्चालन अनुमति दिने र नियमन गर्ने प्राधिकरणको नियमनमा बहुचर्चित नेपाल टेलिकम, एनसेल लगायतका मोबाइल सेवा प्रदायक भएकोले पनि यो क्षेत्रको नेतृत्वलाई आकर्षक मानिएको हो । नियुक्ति प्रक्रिया सुरु भएसँगै तोकिएको अवधिमा आवेदन दिने उम्मेदवारहरुमध्येबाट उपयुक्त व्यक्ति छान्ने दाबी मन्त्रालयले गरेको छ । तर सरकारको यो नियुक्ति विवादरहित बन्नेमा सरोकारवालाहरुले शंका व्यक्त गरेका छन् ।

कोरियाली भाषा परीक्षामा ८४ हजार सहभागी, नतिजा कहिले ?

काठमाडौँ । सन् २०१९ को कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा शनिवार र आइतबार एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको भाषा परीक्षार्थी ४६ हजार १९६ परीक्षार्थी सहभागी भएका थिए । दुई दिनको परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाई गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको निर्देशक खनालले जानकारी दिए । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । तीमध्ये २० जनाको आवेदन रद्द भएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशन गरिने निर्देशक खनालले जानकारी दिए । भाषा परीक्षामा उतीर्ण हुने कामदारको मात्र सीप परीक्षण गरिनेछ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।

तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न, चौथो संस्करण आगामी बर्षको जुन १२ मा

काठमाडौँ। हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण यही जेठ २३ देखि २६ सम्म विभिन्न ४३ देशका ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागितासहित काठमाडौँको सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको छ । गत बिहिबार सम्ममाननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको समुद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको प्रचुर सम्भाब्यतारहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ठ आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभवहरु प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तब्य रहेको बताए। उनले योग, आयुर्वेद, तीर्थयात्रा एवम् अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्रनै एक उत्कृष्ट गन्तब्य भएको र सो अनुभूतिका लागि नेपाल प्रमुख एवम् उद्गम स्थल भएको बताए। प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत हिमालयन ट्राभल मार्ट सहयोगी हुने विश्वास व्यक्त गरेका थिए। जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो । मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया/ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो। यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

सञ्चार जगतसँग मेयरले मागे माफी, आवेगजन्य परिस्थितिकाे भनाई फिर्ता

काठमाडौं ।  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् ।     मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए । उनले नेपालकाे ठूला राजनीतिक परिवर्तनमा सञ्चार जगतकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै इटहरी उपहमहानगरपालिकामा पनि सञ्जार जगतसँग मिलेर जान चाहेकाे बताएकाे छन् ।

भरतपुर विमानस्थलमा असार १५ सम्म बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्रै उडान

रत्ननगर । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धावनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भने । प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाइ थियो । गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ । एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिदैंछ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ । धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । “मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ”, उहाँले भन्नुभयो, “बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौँ । कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौँ ।”भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । रासस

कुलेखानी तेस्रोको पहिलो युनिटको परीक्षण सफल, आयोजना सम्पन्न हुने चरणमा

काठमाडौँ । इमान्दार प्रयास भयो भने जस्तोसुकै अप्ठ्यारो काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापित गरेको छ । निरन्तरको प्रयासपछि प्राधिकरण स्वयंले नै रुग्ण आयोजनाको सूचीमा राखेको कूल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजनाको आज सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ । निर्माण व्यवासायीको लापरवाहीका कारण विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरको प्रयासपछि आज आयोजना सम्पन्न हुने चरणमा पुर्याइएको हो । आयोजनास्थल मकवानपुरमै रहनुभएका कार्यकारी निर्देशक घिसिङले भने, “आयोजनाको पहिलो युनिटको विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको छ ।” प्राधिकरणको हरतरहको प्रयासले आज सार्थकता पाएको छ कार्यकारी निर्देशक घिसिङले खुशी व्यक्त गरे । उनले भने, “प्राधिकरण मातहतका सबै रुग्ण आयोजना अब सम्पन्न भएका छन् ।” विद्युत् उत्पादन नगरी उपकरणको ‘नो लोड टेस्टिङ’ सम्पन्न भएको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन प्राधिकरणकै प्राविधिक कर्मचारी लगेर भए पनि आयोजनालाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् । मन्त्रीको निर्देशनलगत्तै प्राधिकरणले आफ्ना प्राविधिक कर्मचारीलाई परिचालन गरी निर्माण व्यवसायीलाई समेत बाध्य पारेर काम गराउन सफल भएको हो । आज पहिलो युनिट अर्थात् सात मेगावाट क्षमताको पहिलो युनिटको परीक्षण गरिएको हो । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई गत वैशाखमा नै समाधान गरिदिएको थियो । सो समस्याको समाधान भएपछि आयोजना विद्युत् उत्पादन गर्ने चरणमा पुगेको हो । दोस्रो युनिटको पनि केही दिनभित्रै परीक्षण गरिनेछ । आयोजनाको मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ । “हामी विद्युत् उत्पादन गर्ने चरणमा आइपुगेका छौँ । लामो समयको मेहनत अब सार्थक हुने अवस्थामा पुगेको छ”, कार्यकारी निर्देशक घिसिङले भने । आयोजनाको निर्माण चालू आवभित्रै सम्पन्न हुने भएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोड ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झण्डै सात करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको शुरुको लागत रु दुई अर्ब ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ । प्राधिकरणले यसअघि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए र ३० मेगावाट क्षमताको चमेलिया सम्पन्न गरेको छ । यस्तै केही रणनीतिक महत्वका प्रसारण लाइनको पनि निर्माण सम्पन्न गरिसकेको छ । रासस

३५ लाख पर्यटक, दैनिक खर्च सय डलर र ४ लाख ९० हजारलाई रोजगारी

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर पर्यटन प्रवद्र्धन र पूर्वाधारहरुको निर्माण गरिरहेको छ । स्थापित गन्तव्यहरुको प्रचार प्रसारका साथमा उदियमान १ सय नयाँ गन्तव्यहरुमा पूर्वाधार निर्माण लगायतका काममा सरकारले बिशेष ध्यान दिएको छ । २० लाख पर्यटक भित्र्याउने योजनासहित अघि बढेको सरकारले आगामी पाँच बर्षछि ३५ लाख पर्यटक नेपाल भित्र्याउने अर्काे महत्वकांक्षी योजना अघि सारेको छ । १५ औं पञ्च वर्षिय योजना मार्फत सरकारले आगामी पाँच बर्षपछि नेपाल आउने पर्यटकहरुको संख्या बार्षिक ३५ लाख पुर्याउने लक्ष्य निर्धारण गरेको हो । पाँच वर्षमा नेपालको पर्यटन क्षेत्रमा ४ लाख ९० हजार रोजगारी सृजना हुने प्रक्षेपण समेत गरिएको छ । हाल पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा ३१ हजार रोजगारी सृजना गरेको सरकारी तथ्यांक छ । सरकारले हवाई पूर्वाधारहरुको निर्माण, पर्यटकिय क्षेत्रको प्रवद्र्धन, प्रदेश र स्थानीय तहहरुमा मार्फत पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन लगायतका योजना अघि सारेको छ । एक जना विदेशी पर्यटकको नेपाल बसाई औषतमा १३ दिन रहेको छ । पर्यटकले नेपाल बसाईका क्रममा दैनिक औषतमा ५४ अमेरिकी डलर मात्रै खर्च गरिरहेको छ । सरकारले पाँच बर्षपछि पर्यटकको नेपाल बसाई औषत बसाई १५ दिन पुर्याउने र दैनिक खर्च बढाएर एक सय डलर पुर्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यसका लागि नेपालका पर्यटकिय गन्तव्यहरुको थप व्यवस्थापन, प्रचार प्रसार, पर्यटन प्याकेज निर्माण, गुणस्तरीय सेवा लगायतका काममा ध्यान दिने सरकारी योजना रहेको छ । नेपाल भ्रमण वर्ष घोषणा गरेको भएपनि पर्यटन मन्त्री रबिन्द्र अधिकारीको मृत्युपछि अभियान सुस्ताएको आरोप लागिरहेको छ ।